कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून – Dcnepal

कोरोनाको कारण अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

काठमाडौं । कोभिड–१९ का कारण चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। “गत वर्ष यात्रुको चाप कम अग्रिम टिकट खुलाइएको थिएन”, उनले भने। यस वर्ष यात्रुलाई घर फर्कन समस्या नहुने उनको भनाइ छ ।

यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दशैँमा घर फर्किनेमध्ये विद्यार्थीको सङ्ख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको सङ्ख्या न्यून छ। कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताए। उनले भने, “घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दैआएका छौँ ।”

सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए। थोरै सङ्ख्यामा यात्रुले अनलाइन टिकट काटेका छन्। पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ। यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ। “ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन्”, भुसालले भने।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो