कप्तान किरण भन्छन् : सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ

डिसी नेपाल
१५ असोज २०७८ ७:४६
280
Shares

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ)ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताएका छन्। बिहीबार प्रतियोगिताको प्रि-म्याच पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले साफका सबै खेल महत्त्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका हुन्।

‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन्। हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ’, राष्ट्रिय टोलीका नियमित कप्तान किरणले भने। १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलि (शुक्रबार)देखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने तालिका रहेको छ। नेपालले शुकबार नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ।

खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए। ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ’, राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ क्याप जितेका गोल रक्षक किरणले भने।

यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए। ‘पक्कै पनि उनीहरू (माल्दिभ्स)लाई घरेलु मैदानको फाइदा हुनेछ। उसका घरेलु समर्थक हुनेछन् तर त्यसले फरक पर्दैन’, किरणले भने।

यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए। ‘हामीले राम्रो तयारी गरिरहेका छौँ । सबैलाई थाहा छ, हामी फाइनलमा पुगेका छैनौँ। हामी आफ्नो राम्रो खेल दिनेछौँ । माल्दिभ्स साविक विजेतासमेत हो। ऊ राम्रो छ । माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको साथ छ। माल्दिभ्ससँग केही उच्च प्रदर्शन गर्ने खेलाडीसमेत छन्। साविक विजेता (माल्दिभ्स)सँग खेल्न कठिन हुन्छ’, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरीको अनुपस्थितिमा श्रेष्ठले भने।

यस्तै, प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन्। ३० असोजसम्म चल्ने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, आयोजक माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । भुटान र पाकिस्तान भने यस पटक प्रतियोगितामा समावेश छैनन्। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *