घर परिवार सूचीकरण कार्य ९० प्रतिशत सम्पन्न

डिसी नेपाल
१५ असोज २०७८ २१:५०

काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणअन्तर्गत घर तथा घर परिवार सूचीकरण गर्ने कार्य ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

घर तथा घर परिवार सूचीकरणका लागि यहाँका गाउँगाउँमा सुपरिवेक्षक खटाइएकोमा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको हो । सूचीकरणका लागि गत भदौ ३० देखि ८० जना सुपरिवेक्षक गाउँगाउँमा परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “सुपरिवेक्षकले गर्ने सूचीकरणको काम अन्तिम चरणमा छ, हालसम्म ३५ हजार परिवार सङ्ख्या दर्ता भइसकेको छ ।” असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर र जनगणना परिवार सङ्ख्या गणना गर्ने काम भइरहेको प्रमुख पन्तले बताए। उनले भने, “पहिलो चरणमा मुख्य गरी घर तथा परिवारको गणनाको काम भइरहेको छ ।”

यसका साथै घरको विवरण, घरमूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सुपरिवेक्षकले सोध्ने गरेका छन् । गाउँगाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई सङ्कलन गरेको तथ्याङ्क भर्नेमा भने समस्या भइरहेको पन्तले बताए । भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको छ ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरिवेक्षकलाई तथ्याङ्क भर्न समस्या देखिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *