नवरात्र : असत्यमाथि सत्यकाे जित

डिसी नेपाल
२१ असोज २०७८ ७:१०

हिन्दु परम्परा अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुने हुनाले नवरात्रको पहिलो दिनलाई घटस्थापना भनिन्छ। यो दिनलाई जमारा राख्ने दिन भनेर पनि चिनिन्छ। प्रतिपदा तिथि आरम्भको सोह्र घडी छोडेर मात्र जमारा राखी घटस्थापना गर्नु उत्तम मानिन्छ।

द्वितीया युक्त प्रतिपदा तिथिमा घटस्थापना गरी जमारा राखेमा ठूलाठूला यज्ञ गरेको फल मिल्नेछ। कसैलाई सन्तानको इच्छा छ भने अपरान्हको समयमा घटस्थापना गरोस्। सकिन्छ भने नान्दीमुखी श्राद्ध तथा मातृका पूजागरी जमारा राख्नु राम्रो मानिन्छ।

घटस्थापनाकै दिनमा नवदुर्गा मध्ये प्रथम देवी शैलपुत्री देवीको पूजा आराधना गर्ने परम्परा रहिआएको छ। यसैगरी द्वितीया तिथिदेखि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी,कालरात्रि, महागौरी र सिद्धिदात्री यी नौवटी देवीको नवरात्रका प्रतिपदादेखि नवमीसम्मका तिथिमा क्रमैले पूजा गर्ने चलन छ।

सकिन्छ भने नवरात्रभर उपवास गरेर पूजा गर्दा उत्तम मानिन्छ। सकिँदैन भने फलाहार , एक छाक सात्विक भोजन गरेर नवरात्रमा दुर्गा पूजन गर्नु उत्तम मान्निछ। नवरात्रिका कुनै तिथि घटबढ भई अष्टरात्र र दशरात्र भए पनि नवरात्र पूजा गर्न केही फरक पर्ने छैन भन्ने शास्त्रमा पाइन्छ।

विशेष गरेर शरदमा आश्विन शुक्लपक्षको शारदीय, हेमन्तमा माघ शुक्लपक्षको हैमन्तिक, वसन्तमा चैत्रशुक्लपक्षको हैमन्तिक र गृष्ममा आषाढ शुक्ल पक्षको गृष्मीय गरी वर्षमा चार नवरात्र पर्दछन्।

आश्विन शुक्लपक्षको शारदीय नवरात्रमा देवीले भोजन गर्ने, चैतको वासन्तिक नवरात्रमा देवी शयन गर्ने, असारको गृष्मीय नवरात्रमा देवी भगवती कोल्टे फेर्नु हुन्छ भन्ने विश्वास रहिआएको छ।

त्यसकारण यी चारैवटा नवरात्रको उत्तिनै महत्त्व रहेको छ। नेपाली जनजीवनमा भने आश्विन शुक्लपक्षको नवरात्रले विशेष महत्व पाएको छ। देवीपुराणमा सुमेधा ऋषिको वचन अनुसार आश्विनशुक्ल प्रतिपदा तिथिको शुभदिनबाट चण्डिका पूजन आरम्भ हुन्छ भनिएकाले आश्विन शुक्ल प्रतिपदाबाट नै नवरात्रको आरम्भ हुने मानिएको छ।

यो नवरात्रमा दुई वर्षदेखि दश वर्ष उमेर सम्मका नौवटी कन्या कुमारीलाई पूजा गर्दा भोजन गराउँदा र दान गर्दा यस लोकमा उन्नतिका साथै परलोक पनि सुध्रन्छ भन्ने मान्यता छ। सबै जातका कन्या कुमारी पूजा गर्नु उत्तम मानिन्छ।

नवरात्रमा चाण्डालकी कन्या पूजा गरेमा अकाल मृत्यु हट्ने, शूद्रकी कन्या पूजा गरेमा सन्तान प्राप्त हुने, वैश्यकी कन्या पूजा गरेमा धनलाभ हुने, क्षेत्रीकी कन्या पूजा गरे जय मिल्ने र ब्राह्मणकी कन्या पूजा गरे सिद्धि प्राप्त हुनेछ भन्ने विश्वास रहिआएको छ।

नवरात्र व्रत बस्न, दशैँ मान्नको लागि गुरु, शुक्र अस्तले रोकिँदैन । तमोगुणी भक्तले तन्त्रोक्त विधिले पशुयज्ञ गरेर मात्र देवीका प्रसादका रूपमा पशुको मासु भोजन गरेतापनि आफ्नो आत्मोन्नति चाहने सात्विक भक्तले कुभिन्डो नरिवल आदिको बलि दिने विधान पनि रहेको पाइन्छ।

महाष्टमी, महानवमी र विजया दशमीका दिन महाकाली , महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा गरिन्छ। महाष्टमीको मध्यरात्रिमा कालरात्रि देवीको विशेष पूजा गरिन्छ। महाष्टमीको मध्यरात्रिमा कालरात्रि देवीको विशेष पूजा गरिन्छ।

महाष्टमीको दिन लडाईँमा प्रयोग हुने कोतघरमा सुरक्षित रहेका हतियारको पूजा गरिन्छ। त्यस्तै किसानले कादालो, खुकुरी, बन्चरो, हँसिया, खुर्पा आदि संगीतकर्मीले वाद्य सामग्रीको पूजा गर्ने चलन छ। त्यस दिनमा नै घरमा जुठो गर्न नहुने भएकाले दही चिउरा खाने चलन छ ।महानवमी सिद्धिदात्री देवी र महालक्ष्मी देवीको पूजा हुन्छ।

त्रेतायुगमा रामरावणको युद्ध र द्वापर युगको अन्त्यमा कौरव पाण्डव बीच दाजुभाइ दाजुभाइमा महाभारतको लडाईँ भएको थियो। त्यो धर्म युद्ध थियो। अधर्म र धर्मको बिचको लडाईँ थियो। अन्त्यमा धर्मकै पक्षको विजय भयो। यस युद्धमा कौरव पक्षका एघार अक्षौहिणी र पाण्डव पक्षका सात अक्षौहिणी गरी जम्मा अठार अक्षौहिणी सेनाको विनाश भयो।

त्यतिमात्र नभई हात्ती घोडा लगायत अरू जीव जन्तु पनि नाशिए। कतिपय बालबालिका टुहुरा बने। अनि कयौँ नारीहरूको सिंदूर पुछियो। परिवार र समाज विथोलियो।

अतः विथोलिएको मानसिकतालाई संयमित बनाउन ऋषिमुनिहरूले रामायण र महाभारतका प्रसिद्ध पात्रहरूको नाम स्मरण गरेर एउटा श्लोक संरचना गरे हिजोआज विजया दशमीका दिनमा महासरस्वतीको पूजा गरी नवदुर्गा विसर्जन पछि दुर्गाप्रसादको रूपमा मान्यजनका हातबाट टीका प्रसाद लगाई शुभाशीष दिने चलन छ।
शुभाशीष दिने मन्त्रः–

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे,
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते,
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।

तिम्रो आयु द्रोणपुत्र अश्वत्थामा जस्तै होस् , दशरथका समान लक्ष्मी स्थिर बनून् । रामचन्द्र जस्तै शत्रुलाई नाश गर्ने शक्ति प्राप्त होस् , वायुसमान तीव्र गतिले चल्न सक्ने तागत मिलोस् , दुर्योधनको जस्तो अरूलाई मान गरेर आफ्नो वशमा पारी काम पट्याउन सक्ने चलाख बुद्धि प्राप्त होस्, कर्णवीरसमान निर्धक्कले दान गर्न सक्ने क्षमता बनोस् , बलरामसमान बल बढोस्, युधिष्ठिर जस्तै सत्यमा रहन सक्ने आचरण बनोस् , विदूरसमान विद्या प्राप्त होस्, नारायणसमान कीर्ति फैलियोस् । भनेर आशीर्वाद दिने चलन छ ।

निवसतु तव गेहे निश्चला सिन्धुपुत्री ।
प्रविशतु भुजदण्डे कालिका वैरी हन्त्री ।।
तव वदनसरोजे भारती भाति नित्यं ।
नचलतु तव चित्तं पादपद्यं मुरारे ।।
।। अस्तु ।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *