सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी विजयी

डिसी नेपाल
२३ असोज २०७८ २२:३९

काठमाडौँ । धनगढीमा आयोजित प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । फाइनल खेलमा शनिबार डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । उपाधिसँगै डोटीले पुरस्कार स्वरुप नगद एक लाख रुपैयाँसहित ट्रफी पाएको छ । डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने कैलाली र कञ्चनपुरको भलिबल टोलीले समान २५र२५ हजार रुपैयाँसहित ट्रफी पाएका छन् । विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डोटीका प्रसान्त साहु घोषित भइ पुरस्कृत भए । त्यसैगरी कञ्चनपुरका सन्तोष महता उत्कृष्ट ब्लकर, कैलालीका महेश खत्री उत्कृष्ट लिफ्टर, डडेल्धुराका वीरबहादुर विक उत्कृष्ट स्पाइकर र डोटीका प्रशिक्षक अनिल जोशी उत्कृष्ट प्रशिक्षक घोषित भइ पुरस्कृत भएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह लगायतले पुरस्कार वितरण गरेका थिए । खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार भएको प्रतियोगितामा प्रदेशका सबै नौ जिल्लाका भलिबल टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर तयार गरिने सुदूरपश्चिम प्रदेशको भलिबल टोलीले प्रदेशको प्रतिनिधित्व गर्दै आगामी दिनमा हुने राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी गराउने खेलकुद परिषद्ले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *