व्यंग्य : मनको बाघ

डिसी नेपाल
२४ असोज २०७८ ७:५३

अहिले चल्तीमा देखिएका बामपन्थी दलका शिर्ष कामरेडहरुले नियम कानुन खल्तीमा राखेर एकअर्कालाई तारिफ गर्दै नंग्याउने र जहाँ गयो त्यहीँ गाली गरेजस्तो गरेर तारिफ गर्न नपाए नाक मुख बँग्याउने तरिकाले जनतालाई सारै राम्रो मनोरञ्जन दिइरहेका छन्।

कतै केही र कुनै हिसाबले पनि छेउटुप्पो मिलेको नदेखिएपनि दलको एकता गरेर सबै असमझदारी र बिसंगतीहरुलाई निलेको भनेर सबैले आश्चर्य मान्दै अनि यो एकता लामो समय टिक्दैन भन्ने जान्दै भएपनि विश्वास लागेजस्तो गरिदिएका थिए। दलको एकीकरण भएपछि एकअर्कालाई झुक्याउने र फाइदा जति आफैंले बुक्याउने तर्फ मात्रै ध्यान गर्दागर्दै एकता लामो समय टिक्न र मुखले बोले जसरी बजारमा बिक्न सकेन।

बाहिर एकताको गीत गाउने र भित्र चाहिँ घोर बिरोधमा तारिफ गर्दै मुख बाउने गर्दागर्दै अनि हामी सबै एकअर्काका अभिन्न भन्दाभन्दै दल टुक्रिएर छिन्नभिन्न भयो। ज्यादै फुर्तिलो र जनताको हितमा काम गर्न अनि उस्तै परे त्यसको लागि मर्न पनि तयार रहेको सरकार प्रधानको नाटक गर्दागर्दै र सबैलाई हप्किदप्की पारेर सत्तामा चर्दाचर्दै बिकसित अनेक कारणले शानकासाथ बालकोट फर्केर अनि कार्यकर्ताहरुका अगाडि बार्दलीबाट झर्केर गरेको सम्बोधनबाट सबै बिरोधीहरु थर्केर र आफ्नै नीतिको पक्षमा सबैजना चर्केर लाग्ने उद्घोष गरेपछि खुमलटारे कामरेड र कोटेश्वरे कामरेडले बालकोटे कामरेडको तारिफको मात्रालाई अझ चर्काउँदै लगेको पाइयो।

बालकोटे कामरेड त उसैपनि आफ्ना पूर्ब सहकर्मीहरुको तारिफ गर्नमा माहिर भएकोले र उनको पनि तारिफको पारो चढ्दै गएकोले अहिले एकअर्काको तारिफमा कसले जित्ने अनि कसको तारिफले कस्को भविष्य बित्ने हो भन्ने जनताले बुझ्न खोजेको र यिनीहरु मध्ये कुन वरिष्ठ कामरेडले वास्तबमा के रोजेको होला भन्नेपनि सबैले बुझ्ने प्रयास गरिरहेका हुन् कि जस्तो देखिन्छ।

आफ्नो क्षमता भन्दा माथि उफ्रिएर चम्किँदा र कसैको साथ नलिइ चाटुकारहरुको भरमा मन लागे जसरी एक्लै लम्किँदा परमादेशको सामना गरेर बालुवाटार छोड्दै फेरि यसैगरि बालुवाटार भित्रिने कामना सहित बालकोट पुगेपछि परमादेश दिने सर्बोच्च न्यायमूर्ति, परमादेशबाट सरकार प्रधानको जागिरमा भर्ती हुने बुढानिलकण्ठे सभापति, स्वघोषित अत्यन्त जनप्रिय खुमलटारे कामरेड, जीवनभर दुख गरेर खाइखेली गरेको दल त्याग गरेर बिपक्षी गठबन्धन तिर पोइल गएका कोटेश्वरे कामरेड आदिलाई बालकोटे कामरेडले गरेको तारिफ साँच्चै नै तारिफ गर्न लाईककै देखियो।

चुनावमा अर्को पक्षलाई तर्साउने र बिरोधीहरुमाथि ढुंगा मुढा बर्साउनेदेखि लिएर मतपत्र चपाउने र मतपेटी साटेर अरुलाई धपाउने सम्मका सबै हतकन्डा प्रयोग गर्न छुट भएकोले चुनाव जित्न सबैखाले लुट गर्न कुनै प्रतिबन्ध नभएकोले बिभिन्न स्वार्थले फुट भएकाहरुसँगपनि एकजुट हुन सकिने तुरुप फालीरहेका छन् । चुनावमा पत्तासाफ भइयो भने सत्तामा कहिल्यै पुगिन्न भनेर यिनलाई पनि मनको बाघले राम्ररी निदाउन दिए जस्तो देखिन्न।

परमादेश जारी गर्ने प्रधान न्यायमूर्तिलाई हाकाहाकी बिपक्षीहरुसित मिलेको र देशी बिदेशीहरुबाट निकै ठूलो फाइदा निलेको भनेर तारिफ गरेको सुनियो। परमादेशबाट बनेका र धेरैले असक्षम भनेका सरकार प्रधानलाई बोकेको कुन्नि के ले मृग मार्दैन अनि यस्तो सुस्त गतिको सरकारले जनताको कुनैपनि समस्या टार्दैन र यस्ता स्वार्थीहरुको साथ सहयोगले समृद्धितिर एक पाइलोपनि सार्दैन भनेर तारिफ गरेको सुनियो।

स्वघोषित महान नेता भनिने खुमलटारे कामरेडलाई अत्यन्त खुराफाती, पदलोलुप, लोभी, स्वार्थी, युद्धको धङ्धङीबाट बाहिर निस्कन नसकेको, स्वदेशी बिदेशी प्रतिक्रियाबादीहरुबाट संचालित, जनाधार खुस्किसकेको, आफूले साथ दिएर एकता नगरिदिएको भए शिला खोज्न पर्ने अबस्थामा पुगिसकेको, त्यति हैसियत नभएपनि दया गरेर आफू सरहको हैसियत दिँदा फूलेर थामिनसक्नुभएको, आफैंलाई हटाएर र धुलो चटाएर एक्लै ठूलो भाग खान खोजेकोले उनीभन्दा धेरै भोटो फटाएर यहाँसम्म आएको ब्यक्तिलाई नाग्लो ठटाएर तर्साउन खोजेकोले आफ्नो इच्छा अनुसार खटाएर राख्न खोज्दा अटेर गरेर हैरान पारेकोमा हावाले बढारेर अलपत्र पारेको आदि आदि भनेर दैनिक ठुलो तारिफ गरेको सुनिँदै आएको छ।

कोटेश्वरे कामरेडलाई त अडान नभएको, इमान जमान नभएको, दुच्छर बिरोधीहरुको पुच्छर भएर हिँडेको,औकातभन्दा बढि मान सम्मान खोजेको,ढुलमुले चरित्र भएको, जुन थालमा खायो त्यही थालमा प्वाल पार्ने, लुब्ध, छुद्र आदि भनेर तारिफको पुल बाँधेको सुनियो।

अचानक एकता गरेर एकअर्कासित लभ परेको र बिना कुनै स्वार्थ देश र जनताको लागि मात्रै एकता गरेको अनि जेटका दुई पाइलट भएर एकीकृत दल हाँक्न अघि सरेको जस्ता उद्गारहरु व्यक्त गर्दै कोटेश्वरे र उनी सरहका अरु वरिष्ठहरुलाई मान्छे नगनी अनि उनलाई पनि केही इज्जत दिन पर्छसम्मपनि नभनी तारिफ गर्दै हिँडेको देखिन्थ्यो।

बालकोटे कामरेडले किड्नी फेरेको र किड्नीले राम्रो गर्ने कुरा सबैले हेरेको दिनबाट एकीकृत दलका शिर्ष नेताहरु बालकोटे कामरेडसित भड्केको अनि सबै समस्याको जड त्यही किड्नीमा गएर अड्केको र त्यही कारणले खासगरी खुमलटारे कामरेडको दिमाग सड्केको भन्ने एकाथरी मानिसहरुको भनाइमा खासै सत्यता नभएपनि कुरा काट्नेहरुलाई के चाहिन्छ र?

त्यो बेलादेखि अहिलेसम्म बालकोटे कामरेडलाई पनि अरु कामरेडहरुले निरंकुशताबादी, अहंकारी, स्वेच्छाचारी, भ्रष्टाचारी, सघीयता बिरोधी, गणतन्त्र बिरोधी, लोकतन्त्र बिरोधी, झुटो बोल्न अत्यन्त सिपालु, लाज शरम पचाएर निर्धक्क हिँड्न सक्ने, हाँडीघोप्टे, मैँ खाउँ मैँ लाउँ बाहेक अरु ध्यान नभएको आदि आदि भन्दै दिल खोलेर तारिफ गरेको देखियो सुनियो।

बिभिन्न भेलासभा समारोह,सार्बजनिक स्थल, राजनैतिक जमघट आदि जस्ता सबै कार्यक्रमहरुमा एकअर्कालाई जानेसम्मको र भित्रि मनले मानेसम्मको तारिफ गरेको सुन्दा एकअर्काको सम्पूर्ण खुबी थाहा पाएर सर्पको खुट्टा सर्पले मात्रै देखे जसरी चुपचापसित एकै ठाउँमा अटाउनु सारै राम्रो काम हो। बालकोटे कामरेडको फेरिएको किड्नीले राम्रोसित काम नदिएको भए उनको तारिफमा अरु कामरेडहरुले यति धेरै राम्राराम्रा शब्दहरु खर्च गर्ने कष्ट गर्ने नै थिएनन्।

त्यसो भएको भए एक अर्काको तारिफबाट एकअर्काको बिशिष्ट खुबीहरुको बारेमा जनताले थाहै नपाउने हुनाले जनतालाई त्यसै भेँडाबाख्रा जसरी अत्तो न पत्तोसित धपाउने र कामरेडहरुको खुबी राम्ररी नबुझेका जनताका नाममा ठूलो बजेट चपाउने ब्यापक सम्भावना हुन सक्थ्यो।

कामरेडहरुले एकअर्काको भयानक तारिफ गरेर एकअर्काको असली क्षमताका बारेमा जनतालाई जानकारी गराएर जनतालाई निकै ठूलो गुन लगाउनु भएको र कति क्षमतावान कामरेडहरुलाई अमूल्य भोट दिएर यहाँसम्म पुर्याइएको रहेछ भन्ने कुरामा जनतालाई जगाउनु भएकोमा जनता कृतज्ञ छन्।

यसो हेर्दा अहिलेसम्म कामरेडहरुको आधाआधी खुबिहरु मात्रै जनता सामु आएको हुनाले आगामी चुनावसम्म आइपुग्दा तारिफको पारो चढ्दै गएर जनतालाई सुन्नपनि गारो पर्ने हो कि जस्तो पो देखिन्छ त।

कामरेडहरुले अहिलेलाई भन्दापनि आगामी चुनावलाई केन्द्रबिन्दुमा राखेर एकअर्काको तारिफ गरेका र यही तारिफले चुनाव जितिन्छ भनेर ढुक्क परेका हुन् कि जस्तो देखिन्छ। बालकोटे कामरेड यही स्थितीमा दुइ तिहाइ सहितको बहुमत ल्याउने र त्यसैको आधारमा सबैतिर भ्याउने ध्याउन्नमा लागेर आफू सरहका अरु दलका कामरेडहरु र सरकार प्रधानको तारिफमा ज्यान फालेर अनि सकेसम्मका जोडदार कदम चालेर समर्पित भएरै लागेका छन्।

यिनका कुरा अनुसार बहुमत नआउने कुरै छैन। जति बहुमत ल्याएपनि र भएभरका मन्त्रालय र राजनैतिक नियुक्तिहरु भ्याएपनि अलिकति अप्ठ्यारो पर्नासाथ सबैको तारिफ गर्दै संसद बिघटन गरिदिएपछि र आफूपनि सामान्य कामरेडमा झरिदिएपछि तारिफ गर्ने माननीयहरुको संख्या बढ्ने नै भयो।

चुनावमा जनतामा जानपर्छ र त्यहाँ अलि बिकाउ खाले नारा लानपर्छ भनेर नै अरु कामरेडहरुको तारिफमा यति सुन्दर शब्दहरुको प्रयोग भइरहेको हो। यिनका केही सहयोगी कामरेडहरुको पनि अरु दलका बरिष्ट कामरेडहरुलाई तारिफ गर्नसक्ने क्षमता अद्भुत नै देखिन्छ। यो टोलीको बोली सुन्दा सबैले चुनावमा आफ्नो औकात थाहा पाएको हुनाले यिनिहरुलाई भित्री मनको बाघले खाएको पो हो कि जस्तो छ।

खुमलटारे कामरेडले अरु कामरेडहरु र खासगरी बालकोटे कामरेडको खोइरो खनेर तारिफको ओइरो बर्साएको र आपूmलाई अरु जस्तो लरतरो कामरेड नठान्न तर्साएको सुन्दा ज्यादै सही नै लाग्छ। यिनले पनि अरुको तारिफ र आफ्नो बखान गर्दै जसरी पनि पहिलो संबिधान सभा चुनावकै तरिकाले जित्ने पक्का गर्नको लागि सबैखाले धक्का दिनु भनेर आफ्ना चेला चपेटाहरुलाई निर्देशन दिइसकेका र दललाई त्यही स्थितिमा पुर्याउने बिश्वास लिइसकेका छन्।

चुनावमा अर्को पक्षलाई तर्साउने र बिरोधीहरुमाथि ढुंगा मुढा बर्साउनेदेखि लिएर मतपत्र चपाउने र मतपेटी साटेर अरुलाई धपाउने सम्मका सबै हतकन्डा प्रयोग गर्न छुट भएकोले चुनाव जित्न सबैखाले लुट गर्न कुनै प्रतिबन्ध नभएकोले बिभिन्न स्वार्थले फुट भएकाहरुसँगपनि एकजुट हुन सकिने तुरुप फालीरहेका छन् । चुनावमा पत्तासाफ भइयो भने सत्तामा कहिल्यै पुगिन्न भनेर यिनलाई पनि मनको बाघले राम्ररी निदाउन दिए जस्तो देखिन्न।

कोटेश्वरे कामरेडले अनेक छल गरेर दल फुटाएको भएपनि बल्लबल्ल जुटाएको बलियो समूह पुरानै डेरातिर फर्केको हुनाले यिनीपनि बालकोटे कामरेडको जोडदार तारिफमा चर्केको फल चुनावमा पाइने हो कि होइन भन्ने दोधारमा देखिन्छन्। केही नभएपनि एउटा छानेको मन्त्री दिने आश्वासनबाट यता आउन मानेको भनेर सबैले ठानेको समूहलाई मन्त्रीको भाग पुर्याउन नसक्दा आफ्नै निधारमा दाग लाग्ने डरले दोधारमा परेका कामरेडलाई पनि अप्ठ्यारै छ।

यता अदालतले संसद पद नै खुस्काइदिने हो कि भन्ने चिन्ता,उता जसरीपनि मन्त्री हुन मात्रै कुरा चपाएका भएपनि मन्त्री हुन नपाएका होनहार कामरेडहरुले देखाउने सामान्य सोचभन्दा बाहिरका प्रतिक्रिया, बालकोटे कामरेडले बेलाबेलामा अति होच्याएर गर्ने तारिफ र आगामी चुनावसम्म दरिलो खुटटा टेक्न आर्थिक रुपले भरिलो ब्यक्तित्वहरुको खोजी र गठबन्धनमा योगदानको आधारमा मन्त्री संख्या पाउन हजार विन्ती गर्दापनि सांसद संख्याको गिन्ती अनुसारको कोटा मात्रै पाइन्छ भनेर बढी संख्यावालाहरुले औकात देखाइदिएको हुनाले यिनलाई पनि धेरैतिरबाट मनको बाघले लखेटिरहेको छ रे भन्ने सुनिन्छ।

धेरै बर्ष अघिदेख नै असक्षमको पगरी भिरिसकेका र भाग्यको भरमा पाँच पटक बालुवाटार छिरिसकेका सरकार प्रधानलाई परमादेशको काकताली परेर अपुतालीमा सरकार प्रधानको कुर्सी फेला पारेका उनलाई महाधिबेशनमा दलको सभापतिको कुर्सी फुत्केला भन्ने बाहेक अरु बिषयमा चिन्ता गरेर निद्रा नलाग्नु भन्दा सरकार प्रधानको कुर्सी ओगटेर कुनै काममा नजाग्नु मै आनन्द आउने गरेको देखिन्छ।

परमादेशदाताको नाताले सँबैधानिक नियूक्तिमा जस्तै सरकारमापनि मन्त्री भागको माग गरेर आफूमाथि लागेको अदृश्य दागलाई अझ चहकिलो पार्न र सके दुइ नभए एक भएपनि मन्त्रीको कोटा आफ्नो लागि झार्न अनि अरु कामहरुमा जस्तै यसमा पनि तर् मार्न लागिपरेका प्रधान न्यायमूर्तिको इच्छालाई सकारात्मक रुपमा लिइदिन पर्छ।

प्रत्येक फैसलामा जित्ने झगडियाको फाइदा अनुसारको हिस्सा हातलागि गर्दै आएको सुनिएको हुँदा यसमा छुट्टै किस्सा कसरी होला भनेर बिरोधीहरुले चलाएको हल्लामा जनताको पटक्कै बिश्वास छैन। यिनिहरुलाईपनि आफ्नै खालको मनको बाघले पछ्याइरहेको देखिन्छ।

अहिलेको राजनैतिक चहलपहलमा सबै दलहरुले आ आफ्नो भेला, छलफल, सम्मेलन, अधिवेशन आदि गरिरहेका र यसैमार्फत सकेको हैसियत अनुसार चरिरहेका देखिन्छन्। यसमा खागगरी कामरेडहरुको जमघट अलि छुट्रटै र इज्जतिलो देखिएको छ।

भर्खरै सकिएको र अध्यक्ष त देउता नै हुन् भनेजस्तो गरी बकिएको बिधान महाधिवेशन वा खुमलटारे कामरेड पुगेका जमघटहरु वा कोटेश्वरे कामरेड संलग्न उनको दलको जमघट होस् त्यो हेर्दा र देख्दा जनता चाहिँ ज्यादै प्रभावित भएका र सबैको अझ बढी समर्थक भएर गएका छन्।

हिजोअस्तिसम्म फाटेको चप्पल र टालेको लुगा लगाएर लुखुर लुखुर पैदल वा बस ट्याम्पो आदिमा झुण्डिएर हिँडेका देखिने कामरेडहरुको महँगो सुटेड बुटेड पहिरन, सबैका आ आफ्ना निजी गाडीहरु, महँगा चश्मा घडी ल्यापटप मोबाइलहरुका कुरा गर्नै परेन।

बिहानदेखि बेलुकासम्मको चौरासी ब्यन्जनसहितको खुराक, तारे होटलको बसाइ, राजधानी भित्र बाहिर हवाइ साधनमा मात्रै ओहोर दोहोर आदि देख्दा कामरेडहरुले छोटो समयमा सारै प्रगति गरेको फोटो देख्दा आफ्नो फाटेको भोटो हेरेर भएपनि कामरेडहरुको प्रगतीमा जनताले अति नै गर्ब गरेका छन्।

सबै शिर्ष नेता र उनीहरुभन्दा अलि तलका नेताहरुले एकअर्काको तारिफमा आफू बाहेक अरु सबैजना पाइला पाइलामा चुकेको, जनताका काममा आफ्नो मात्रै छाती फुकेको, जनताले आफू बाहेक अरु सबैलाई थुकेको,चुनावको नतिजा सबैलाई छोडेर आफैंतिरमात्र झुकेको, आफू बाहेक अरुले बोलेकोलाई भुकेको आदि आदि भनेपनि सबैको मनमा चुनावको सम्भावित नतिजा सम्झेर ठूलै मनको बाघ लुकेको भन्नेमा जनतालाई कुनै शँका छैन।

तैपनि आफूलाई मनको बाघले घिच्याएको कल्पनामा डुबेर नै शिर्ष नेतृत्वका कामरेडहरु एकअर्काको तारिफमा यति ठूलो स्वरमा चिच्याएको भनेर दोष लगाउने मुर्खहरुलाई के भन्न सकिन्छ र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *