राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी

डिसी नेपाल
२४ असोज २०७८ १३:३०

काठमाडौं। बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन्। ‘महानायक’ उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ। गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे।

हमालका फ्यानले उनलाई सामाजिक सञ्जालमार्फत धम्की दिन थालेपछि दीपाश्रीसँग अन्य विकल्प नै रहेन । यस्तै भएको छ पछिल्लो समय पनि अभिनेता सलोन बस्नेतलाई।

बालकलाकार हुँदै आफ्नो फिल्मी यात्रामा रहेका सलोनले आइतबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै राजेश हमालका फ्यानसँग माफी मागेका छन्। उनले हमाललाई महानायक नमान्नु सचेत मनको निर्णय नभएको भन्दै आफूलाई माफी दिन दर्शकसँग आग्रह गरेका छन्।

केही समययता उनको फिल्मलाई दर्शकहरूले बहिष्कार गर्ने घोषणा गर्दै आएका छन्। फलत: उनको फिल्मको सार्वजनिक गीत र ट्रेलरमा नकारात्मक कमेन्ट धेरै छन् भने लाइकको तुलनामा डिसलाइक बढी।

किनकि केही दिनअघि सलोनले आफूले खेलेको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक कार्यक्रममा महानायकको परिभाषा थाहा नभएको प्रतिक्रिया दिएका थिए।

योभन्दा अघि भने यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा अभिनेता भुवन केसी र शिव श्रेष्ठले एक अर्कालाई महानायक र गौरी मल्ललाई महानायिका भनेपछि राजेश हमालका फ्यान भड्किएका थिए।

सलोनले राजेश हमालका फ्यानबाट निरन्तर साइबर बुलिङ भएको भन्दै माफी माग्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जनाएका छन्।

यस्ताे छ सलाेनकाे भनाइ

माफ गरिदिनुस् नेपाली जनता, समय विडम्बनाको थियो । म अल्मलिएका थिएँ र बुझ्न सकिनँ । मेरो हुर्काइ यही ठाउँमा भयो । म तिनै इतिहासका मायामा बढ्दै गएँ । म बुझ्न सक्ने हुनुभन्दा अगाडि नै एक महान व्यक्तिले ‘नेपालीबाबु’ नामक सिनेमामार्फत सिनेमा संसार बुझाइ दिनुभयो ।

‘कर्म’ नामक सिनेमामा काम गर्दा आफ्नो बुवा हुँदाहुँदै अर्का महान हस्तीका लागि आफ्नो शिर मुन्डन गरे र उनैले सिनेमाका लागि गरिने त्याग र यसको महत्व बुझाए । जीवनमा सबैभन्दा बढी सिनेमा (कर्णवीर, ठूले, आशीर्वाद, हामी तीन भाइ, अनमोल आदि), सिनेमा जगतकै सबैभन्दा सफल अग्रज व्यक्तिसँग काम गर्ने मौका पाएँ र उहाँबाट सच्चा नायकका सिप सिक्न पाएँ ।

मेरो पिँढीको सबैभन्दा भाग्यमानी कलाकार लाग्थ्यो आफू । मलाई थाहा थिएन, दिन यस्तो आउला जब मैले उहाँहरूमा फरक छुट्याउनु पर्नेछ भनेर । मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बोल्न पनि जानिन ।

मेरो अहं, मेरो गर्व, मेरो धर्म, मेरो कर्म सबै जहाँ सिकें त्यो मुहारलाई १, २ र ३ गरेर छुट्याउनु मेरो हैसियतभन्दा धेरै माथिको कुरा लाग्यो । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहन्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमाबाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो, मलाई गलत नबनाइदिनु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *