महान् चाड दसैँ र दुर्गासप्तशतीको महत्त्व – Dcnepal

महान् चाड दसैँ र दुर्गासप्तशतीको महत्त्व

नेपालीहरुको महान चाड विजया दशमी १० दिनसम्म धूमधामले मनाइन्छ। घटस्थापनामा जमरा रोपेर सुरु हुने यो पर्व दशमीको दिन मान्यजनहरुबाट टीका तथा जमरा लगाएर समाप्त हुन्छ। विजया दशमी असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा मनाइन्छ।

विजयादशमीका अवसरमा सारा नेपाली के हिन्दू के बौध्दमार्गी सबै हर्ष, विश्राम र आनन्दको मुडमा हुन्छन्। यस अवसरमा काठमाडौंबाट लाखौं मानिसहरु विभिन्न जिल्लास्थित आ, आफ्नो घर फर्कन्छन् परिवारसँग बसेर हर्षोल्लासका साथ पर्व मनाउन। त्यसैले अरु दिन भीडभाड देखिने काठमाडौंका सडक दशैंको समयमा सुनसान देखिन्छ।

यसकारण पनि दसैँ हाम्रो निम्ति कति महत्वपूर्ण राष्ट्रिय पर्व हो भन्ने कुरा प्रमाणित हुन्छ। यस अवसरमा शक्ति पीठहरुमा भने भक्तजनहरुको भीडभाड देखिन्छ। त्यस्तै पसल, पसलमा नयां लुगा तथा खाद्यसामग्रीहरु किन्न मानिसहरुको त्यत्तिकै भीड देखिन्छ।

दसैँ एक महत्वपूर्ण सामाजिक पर्व पनि हो। दशैंका अवसरमा कतिपय नातेदारहरु टाढा, टाढाबाट टिका थाप्न आफूभन्दा ठूला, बडाकहाँ आइपुग्छन् । परिवारजन, दाजु, भाई, दिदी बहिनीहरुको भेट, घाट हुन्छ । कतिपय मानिसहरु विदेशबाट समेत दशंैताका पारेर घर फर्कने गर्छन्।

यसरी पारिवारिक मिलन, सामाजिक भेटघाट तथा तास खेल्ने चंगा उडाउने निहूँमा साथी, भाइहरुकावीच पनि यस अवसर पारेर एक ठाउँमा जम्मा हुन्छन्।

वडादसैँको आध्यात्मिक महत्व पनि निकै ठूलो छ । दसैँको समयमा शक्तिकी देवी महाकाली, विद्याकी देवी महासरस्वती तथा धनकी देवी महालक्ष्मीको पूजा, आराधना गरिन्छ। विजयादशमीमा धर्म, अर्थ र काम तीनै पुरुषार्थहरुको प्राप्तिका निम्ति देवी, देवताहरुको उपासना गरिन्छ।

देवी दुर्गाले तीनै देवीहरुको प्रतिनिधित्व गर्छिन्। सो अवसरमा पाठ गरिने तीनै देवीहरुको स्तुती गरिएको एक मन्त्र पनि छ :

ऊँ महाकालीमहालक्ष्मीमहासरस्वतीस्वरुपायै चण्डिकादेव्यै नमः

हिन्दूहरुको मुख्य आराध्य त्रिदेवमा विष्णु, ब्रह्मा र शिव पर्छन्। यी त्रिदेवले क्रमशः सत्वगुण, रजोगुण र तमोगुणको प्रतिनिधित्व गर्छन्। विष्णुले सत्वगुण लिएर जगतको पालन गर्छन् भने ब्रह्माले रजोगुणव्दारा सृष्टि गर्छन्। त्यसैगरी महादेव अर्थात् शिवले तमोगुणको सहायताले संहार गर्छन्। सृष्टि, स्थिति र प्रलय यी तीन प्रकृया विश्वब्रह्माण्डमा नियमति र निरन्तर चलिरहन्छ।

महाकाली वा महादेवी महादेवका अर्धांगिनी हुन् भने महालक्ष्मी विष्णुकी अर्धांगिनी र महासरस्वती ब्रह्माकी अर्धांगिनी। वास्तवमा परमात्मा एकै भएता पनि त्यसमा शक्तिको रुपमा स्त्री र चेतनाको रुपमा पुरुषको परिकल्पना गरिएको पाइन्छ। एउटै परमात्माको चेतनालाई शिवले जनाउँछ भने शक्तिलाई देवीले जनाउँछ। जसरी चेतना र शक्ति एकै हुन् त्यसैगरी महादेव र महादेवी पनि एउटै हुन्।

विजयादशमीका अवसरमा घर, घरमा दुर्गासप्तशतीको पाठ गरिन्छ। कुल सात सय श्लोक भएको यो ग्रन्थ मार्कण्डेय पुराणमा आधारित छ।
मार्कण्डेय ऋषि भन्छन् :

सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोस्तु ते ।।

हे नारायणी तिमी सबैप्रकारका मंगल प्रदान गर्ने मांगलमयी हौ । कल्याणदायिनी शिवा हौ। सबै पुरुषार्थहरु सिध्द गर्ने शरणागतवत्सला तीन नेत्र भएकी गौरी हौ । तिमीलाई नमस्कार छ।

दुर्गासप्तशतीको कथाअनुसार देवीले विष्णुमायाको रुप लिएर मधु र कैटभरुपी दैत्यलाई मार्छन्। त्यसैगरी लक्ष्मीको रुप लिएर शुम्भ, निशुम्भ दैत्यलाई मार्छन् । दुर्गासप्तशतीलाई चण्डी पनि भनिन्छ।

यसमा ७ सय श्लोकलाई १३ अध्यायमा विभाजित गरिएको छ भने त्यसलाई तीन चरितमा बांडिएको छ । ती तीन विभाग मध्ये पहिलो देवी महाकालीसँग सम्बन्धित छन् भने दोश्रो महालक्ष्मी र तेश्रो महासरस्वतीसँग।

यी तीन विभागले धर्म, अर्थ र काम गरी तीन पुरुषार्थको प्रतिनिधित्व गर्छन् भने त्यसैगरी यसले ऋग्वेद, यजुर्वेद र सामवेद गरी तीन वेदको प्रतिनिधित्व गर्छ। ओम्, ह्रिम, क्लिम यसको बीजमन्त्र मानिन्छ।

देवी दुर्गा मातृशक्ति एवं असीमित शक्तिका प्रतीक मानिन्छ । मानवीय शक्ति सीमित मानिन्छ भने दैवी शक्ति असीमित हुन्छ । उनी मूल प्रकृति हुन् । सम्पूर्ण व्यक्त प्रकृतिका मुल कारण । उनी तिनै शक्ति हुन् जसले समग्र विश्वब्रह्माण्डलाई चलायमान बनाउँछ।

दुर्गा सप्तशतीको कथाअनुसार घरवार त्यागेर विरक्त भएका समाधि नामक वैष्य र दरवार त्यागेर विरक्तिएका राजा सुरथको एक जंगलमा मेधा ऋषिको आश्रममा भेट हुन्छ। राजालाई आफ्नै दरवारका मन्त्रीहरुले धोका दिएर राजकाज खोस्छन् भने वैष्यलाई आफ्नै पत्नी र पुत्रहरुले धोखा दिएर घरबाट निकालेका हुन्छन्।

यसरी आफ्नै मानिसहरुले धोखा दिई राज्यबाट निस्कासित गरेका भएता पनि वैष्य र राजा आफूहरुलाई उनीहरुकै चिन्ताले सताएकोमा आश्चर्यमा पर्छन्। उनीहरुले यसको कारण के हो भनी ऋषिलाई सोध्छन्। मेधा ऋषिले भन्छ, देवी विष्णुमाया को महामायाका कारणले गर्दा प्राणिहरुलाई यस्तो आशक्ति हुनगएको हो। दुबैजनाले ती महादेवी मातृशक्तिकाबारेमा जान्न उत्सुक हुन्छन्।

यसरी ऋषिले उनीहरुलाई देवीमहात्म्य वा सप्तशतीको कथा सुनाउंछ जसमा तीन उपकथाहरु हुन्छन्, जसमा देवीमाताले देवताका शत्रु अर्थात् असुरहरुलाई मार्छन्।

पहिलो कथामा देवीले विष्णुको कानबाट उत्पन्न भै ब्रह्मालाई आक्रमण गर्न खोज्ने मधु र कैटभ नामक दुई दैत्यहरुलाई विष्णुको सहायताले विष्णुमायाको रुप लिई मार्छन् । यहाँ विष्णुको कानबाट उत्पन्न दैत्य भन्नाले मानिसको आफ्नै इन्द्रीय विषयहरुमा आशक्त भै आसुरी रुप लिएको संकेत बुझ्न सकिन्छ।

हाम्रो इन्द्रीय शास्त्र विहित वृत्ति देखिएमा देव र स्वाभाविक वृत्ति देखी कामना पूर्ति गर्नेतिर प्रवृत्त भए आसुरी प्रवृत्तिको मानिन्छ। हिन्दू धर्मका ग्रन्थहरुमा कतिपय कुराहरु सांकेतिकरुपमा कथा आदि रोचक प्रसंगद्वारा बुझाउने प्रयास गरिएको हुन्छ।

दुर्गासप्तशतीले धर्म, अर्थ र काम जस्ता तीन पुरुषार्थ मात्र नभै परम पुरुषार्थमा गनिने मोक्ष वा मुक्तिको समेत मार्ग देखाएको छ । बाह्रांै अध्यायमा देवीले भन्छिन्ः जसले यी तीन कथाहरुको अध्ययन गर्छ, त्यसका सम्पूर्ण कामनाहरुमात्र पूर्ति नभै मोक्ष समेत प्राप्त गर्दछ ।
पशुबलीबारे दुर्गासप्तशतीमा उल्लेख छैन

कतिपय मानिसहरु दसैँ पशुबली दिएर मनाउने र मासु, च्युरा खाने पर्वकोरुपमा लिन्छन् । तर दुर्गासप्तशतीमा त्यसप्रकार पशुवलिको कुनै प्रसंग उल्लेख भएको पाइँदैन । दुर्गासप्तशतीको अध्याय १३ को श्लोक ९ मा भनिएको छः

राजा सुरथ र समाधि वैष्यले मेधा ऋषिबाट ज्ञानगुणका कुरा सुनिसकेर नदी किनारामा गै निराहार बसी एकचित्त भै देवीको मूर्ती बनाई त्यसमा धूप, दीप आदिव्दारा पूजा गरी आफ्नै शरीरको रगतव्दारा बलि चढाउंछन् र देवीव्दारा वरदान प्राप्त गर्छन् ।

यहाँ आफ्नो शरीरको रगत भन्नाले एकचित्त भै सम्पूर्ण शक्ति लगाएर देवीको आराधना गर्ने भन्ने सांकेतिक अर्थ बु्झ्न सकिन्छ । तर कतिपय मानिसहरुले यसलाई बलि चढाएपछि देवी खुसि हुने अर्थ लगाएका छन्, जुन शास्त्र अनुकुल छैन । वास्तवमा वलि भनेको उपहार हो, त्याग र वलिदान हो ।

हामीले आफ्नो काम, क्रोध, लोभ, मोह, मात्सर्य आदि दुर्भावना त्याग्न सके अर्थात आफ्ना इन्द्रीयहरुलाई वशमा राखी विषयहरुबाट हटाउन सके ईश्वर प्रसन्न अर्थात् आत्मज्ञान हुन्छ भन्ने सांकेतिक अर्थकोरुपमा यसलाई लिन सकिन्छ ।

तसर्थ दसैँलाई सके साकाहाकरीरुपमा नसके कमसे कम देवी, देवताको मठ, मन्दिर पशुवलिव्दारा अपवीत्र नबनाई मनाउन सके देवी अत्यन्तै प्रसन्न हुन्छिन् । शायद त्यसैले होल भारततिर दशैंमा नवरात्रीका नौ दिन नै ब्रत बस्ने गरिन्छ र माछा, मासु खाइँदैन ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो