दसैंका बेला सर्वाधिक बज्ने गीतहरू

डिसी नेपाल
२६ असोज २०७८ १५:०९

काठमाडाैं । नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन्। हरेक वर्ष दसैं अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन्।

दसैंका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन्। यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन्। बर्सेनि दसैंलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन्। दसैंका अधिकांश गीतमा जन्म गाउँ छाडेर विदेशीएका वा काम विशेषले टाढा रहेकाहरूको कथा समेटिएको पाइन्छ।

महान पर्व विजयादशमी अर्थात् बडादसैंमा मालाश्री धुनले बेग्लै उत्साह थप्छ। रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैंको रौनक भित्र्याउँछ भन्दा अत्युक्ति हुँदैन। करिब चार सय वर्ष पुरानो मानिएको मालश्री धुनको पनि बेग्लै महत्व छ। यहाँ दसैं महसुस गराउने केही गीतसंगीतको चर्चा गरिँदैछ।

दसैं आयो

नेपाली फिल्म ‘मुग्लान’मा समावेश ‘दसैं आयो’ गीतले घर आँगनमै दसैं भित्रिएको अनुभूत गराउँछ। लोकनाथ सापकोटाको शब्दको यो गीतमा उदितनारायण झा तथा दीपा झाले स्वर दिएका छन्। यसमा संगीत सुरेश अधिकारीकाे छ। रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूति एवं घर-परिवारको खुसियाली समेटिएको गीतको भिडियो पनि उत्तिकै मार्मिक छ । यो गीत घन्किन थालेपछि दसैंको अनुभूति हुने गरेको छ। आजभन्दा १८ वर्ष अगाडि तयार भएको गीतले डिजिटल पुस्तामाझ पनि यस गीतको उत्तिकै वर्चश्व छ।

विछोडको पीडा

स्वरसम्राट नारायणगोपालको स्वर रहेको ‘विछोडको पीडा’ पनि दसैंमा बज्ने गीतमध्येको एक हो। नारायणगोपालसँगै दिलमाया खातीले स्वर भरेको यस गीतले दसैंमा गाउँ फर्किरहेका युवाहरूको प्रतिनिधित्व गरेको छ। ‘विछोडको पीडा नसकी खप्न दसैंको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । यो गीत ४० वर्षअघि रत्नशमशेर थापाले लेखेका थिए।

वर्षमा दिनमा लै लै

दसैं-तिहारको उत्साह, उमंग र दु:खलाई प्रतिनिधित्व गर्ने यो गीतमध्येको एक हो सुगम पोखरेलको यो गीत। उनकै संगीत तथा स्वर रहेको गीतलाई रवि श्रेष्ठले लेखेका हुन्। परदेशीले घर-परिवारप्रति पोखेको वेदनासहितको यो गीतमा दसैंमा छोराको बाटो कुरिरहेका आमाबाबु मात्र होइन, तिहारमा माइतीको पर्खाइमा रहेका चेलीको भावनासमेत समेटिएको छ।

दसैं नै हो कि यो मेरो दशा

दसैंको अर्को पाटोलाई कमेडी शैलीमा चित्रण गरिएको गीत हो यो ‘दसैं नै हो कि’। योगेश्वर अमात्यले स्वर दिएकाे याे गीतमा दसैंको उत्साह उमंगसँगै आर्थिक व्ययभार थपिने यथार्थलाई समेटिएको छ। आयस्रोत कमजोर भएका मानिसहरूका लागि दसैं दशा बनेर आउने यथार्थलाई यो गीतमा उतारिएको छ।

रातो टीका निधारमा

दसैंमा बज्ने गीतमध्ये ‘रातो टीका निधारमा’ मा सबैभन्दा अगाडि आउँछ। यसमा दसैंको उत्साहलाई चित्रण गरिएको छ। दुई दशक अगाडि अशोक शर्माले निर्देशन गरेकाे अल्लारे चलचित्रमा समावेश गीतमा राजेश हमाल र करिश्मा मानन्धरको नृत्य देख्न पाइन्छ । गीतलाई सहदेव ढुंगानाले लेखेका हुन् भने शम्भुजित बाँस्कोटाको संगीत छ। उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका छन्।

याे गीतलाई अशोकले नै पुनः रि-क्रिएट गरेर आफ्नो फिल्म ‘रातो टीका निधारमा’ मा राखेका छन्। गीतकाे नयाँ भर्सनमा गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर दिएका छन् । नयाँ भर्सनको गीतमा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *