बंगलादेशलाई रोक्दै फाइनलमा स्थान बनाउने यस्तो छ नेपाली टोलीको रणनीति

डिसी नेपाल
२६ असोज २०७८ १८:००

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितका साथ साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन् । नेपालले बुधबार राउन्ड रोबिनको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । बंगलादेशविरुद्ध बराबरीले मात्र पनि नेपाल शीर्ष दुईमा रहँदै फाइनल प्रवेश गर्नेछ ।

‘सर्वप्रथम नेपालीहरुको महान पर्व बडादसैँको सम्पुर्णमा शुभकामना,’ किरणले भने, ‘बंगलादेशविरुद्धको खेलका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका छौं । आशा छ टोलीले राम्रो प्रदर्शन गर्दै फाइनलमा स्थान बनाउने छ ।’

पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल भारतसँग निराश भएको थियो ।

नेपाल तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । समान तीन खेलमा समान ६ अंक जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । भारत पाँच अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश चार अंक बटुल्दै चौथौ स्थानमा छ । अंकविहीन श्रीलंका अन्तिम स्थानमा छ ।

‘हामीले टोली रणनीतिअनुसार नै भारतविरुद्ध धेरै रक्षात्मक खेल्यौ । बंगलादेशको खेल हाम्रा लागि महत्वपूर्ण छ र हामी स्पष्ट तीन अंकका लागि खेल्छौ,’ श्रेष्ठले भने, ‘प्रतियोगितामा शीर्ष चार प्रवेश गर्नका लागि सबै टोलीको सम्भावना बाँकी छ । अन्य टोली (माल्दिभ्स, भारत र बंगलादेश) जित्नै पर्ने दबाबमा भए पनि हामीलाई एक अंकमात्र पनि फाइनल प्रवेशका लागि पर्याप्त बन्नेछ ।’

नेपालसँगको हार वा बराबरीले बंगलादेशको फाइनल प्रवेश गर्ने लक्ष्यमा पूर्णविराम लाग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *