चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता सम्मानित – Dcnepal

चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता सम्मानित

काठमाडौं । जर्मनीमा सम्पन्न चेम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडीलाई नेपाल गोजुरियो कराते डो संघले मंगलबार सम्मान गरेको छ । २ अक्टोबरमा भएको प्रतियोगितामा नेपालबाट तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले चार स्वर्ण र दुई काँस्य पदक जितेको थियो । तीनै खेलाडीले दोहोरो पदक जितेका थिए ।

मन्डेकाजी श्रेष्ठले सिनियर एकल काता र ३० वर्षमाथि उमेर समूहको एकल कातामा गरी दुई स्वर्ण जितेका थिए । मन्डे १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् । मुकुन्द्र महर्जनले कुमुतेको ३० वर्षमाथि स्वर्ण तथा ७५ केजीमा काँस्य हात पारेका थिए ।

मुकुन्द्र १३औं सागका कांस्य विजेता हुन् । सुमन तिमल्सिनाले एकल कातातर्फ आफ्नो उमेर समूहमा स्वर्ण तथा सिनियरमा कांस्य प्राप्त गरेका थिए ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, नेपाल गोजुरियो कराते डो संघ तथा एसियाली गोजुरियो कराते महासंघका महासचिव विआर मित्रले प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

सोही अवसरमा नेपाली टोलीका अफिसियल स्वच्छम गुरुङ पनि प्रशंसापत्रबाट सम्मानित भए । पदक विजेता तीनै खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो