दशैंसँग जोडिएको हाम्रो समाजशास्त्रीय महत्त्व – Dcnepal

दशैंसँग जोडिएको हाम्रो समाजशास्त्रीय महत्त्व

दशैं भन्ना साथ हिन्दु नेपालीहरुको एउटा विशिष्ट र साझा पर्व हो भन्ने बुझिन्छ। केटाकेटीहरुको लागि नयाँ लुगा लगाउने मिठो खाने, मामाघर जाने, बिवाहित महिलाहरुको लागि माइत जाने अथवा प्रदेशमा रहेकाहरु आफ्नो घर आउने इत्यादी।

वास्तवमा दशैं हामी नेपालीहरुको एउटा संस्कृति मात्र नभएर पहिचान पनि हो। हाम्रा नेपाली दाजु भाइ दिदीबहिनी संसारका जुनुसुकै कुनामा रहेपनि दशैं मनाउँछन् र उमंगका साथ शुभकामना आदन प्रदान गर्दछन्।

दशैं किन मनाउन थालियो ?

विजया दशमी को दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।

त्रेता युगमा यही दिनमा भगवान श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ। श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पुकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ।

समाजशास्त्रीय महत्त्व कस्तो छ?

दशैंमा आफूभन्दा ठूला र मान्यजनको हातबाट टिका र आर्शीवाद ग्रहण गरिन्छ। दशैँ हाम्रो राष्ट्रिय सांस्कृतिक पर्व हो। यसको आफ्नै मौलिकता भएकाले विश्वभर रहेका नेपालीहरुले कुनै न कुनै तरिकाबाट यो पर्व मनाइरहेका छन्।

नेपालमा रहेका विभिन्न जाति, जनजातिहरुले आ–आफ्नो तवरले यो पर्व मनाउँछन्। दशैंले मान्यजन प्रति श्रद्धा, सद्भाव र सानाप्रति स्नेह बढाउने गर्दछ। त्यतिमात्र नभएर समाजका सबै समुदायबीच भाइचारा, एकता र अपनत्वको बोध गराउने भएकाले संस्कृति र संस्कारसँगै समाजशास्त्रीय महत्व रहेको छ।

दशैंले संस्कृतिसँगै सामाजिकरणलाई सहयोग गर्दछ। सम्वन्धको सुधार, समाजको मान्यगन्यप्रति सद्भाव र समपर्णको भाव दर्शाउँछ। समाजको एकताको रुपमा पनि यो चाडको ठूलो महत्व रहेको छ। छिन्नभिन्न भएको समाजलाई जोड्ने परदेशमा रहेकाहरु मातृभूमी आउने एउटा माध्यमपनि हो।

दशैंको अर्को महत्व भनेको परदेशमा रहेका नेपालीहरु जुनसुकै जात वर्णको भएपनि उनीहरुले नेपाली र हाम्रो पर्व भनेर योे पर्व मनाउने गरिन्छ। यो कुराले पनि हाम्रो सामाजिक पक्षलाई न्याय गर्दछ।

जमरा, टीका किन लगाइन्छ ?

टीका भनेको साधनाको पर्व मानिन्छ। घटस्थापनादेखि नवरात्रीसम्म जमरा राखिएको ठाउँहरुमा विभिन्न देवीहरुको पूजा आरधाना गरिन्छ। अनि दशौँ दिनको विजय वडा दशैंको अवसरमा उक्त जमरालाई समृद्धि र प्रसादको रुपमा ग्रहण गरिन्छ। उक्त प्रसाद ग्रहण गर्दा त्यसमा दही र ‘अक्षत’ चामल मिश्रित टिका लगाइन्छ।

‘अक्षत’ अर्थात् क्षेत नभएको, नटुक्रिएको अक्षेता लगाइन्छ। जातजाति अनुसार कुनै समुदायले सेतो अक्षेता कसैले रंग लगाएर रातो अक्षेता लगाउने चलन छ। जमरा भनेको प्राचीन अनुभवको आधारमा जस्तो सुकै कठिन ठाउँहरुमा पनि उम्रन्छ।

नेपालको सबै भूभागहरुमा उम्रन्छ। यसलाई संस्कृतमा ‘यव’ भनिन्छ। जौको जमरा आयुर्बेदिक हिसाबले पौष्टिक खाद्यपदार्थ पनि हो। त्यसैले जौलाई स्वास्थ्यका दृष्टिले पनि आयुर्बेदिक औषधि मानिन्छ। यसमा रहेको कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु जस्ता पदार्थहरुले हाम्रो स्वास्थ्य सन्तुलित पनि बनाउँछ।

वैदिक ग्रन्थहरुमा पनि जौलाई रोग,व्याध हटाउने यज्ञ–यज्ञादिमा पवित्र र उपयोगी अन्नका रुपमा जौलाई चिनिएको हुनाले धार्मिक महत्व रहेको छ। त्यसैले हामी समृद्धिको सगुनको रुपमा जमरालाई ग्रहण गर्छौँ।

(संस्कृतविद डा.गोविन्द टण्डनसँग गरिएको कुराकानीमा आधारित)

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो