कृति समीक्षा : घाम अस्ताएको होइन – Dcnepal

कृति समीक्षा : घाम अस्ताएको होइन

अष्ट्रेलियामा बसेर अंग्रेजी भाषामा विद्यावारिधी गरी हाल दमक बहुमुखी क्याम्पसमा अंग्रेजी विषयकै अध्यापनमा रमाइरहेकी छिन् डा. व्यन्जना शर्मा। धनकुटामा जन्मिए पनि शिक्षाको बाटो पहिल्याउँदै उनी काठमाडौं आइन् र उच्चशिक्षाको लागि अष्ट्रेलिया पुगिन्। त्यहाँ बसेर विद्यावारिधी गर्ने क्रममा उनले आफ्नी आमाको देहावसानको खबर सुनिन्।

मातृशोक परेका बेलामा त्यस दुःखद घडीबाट उम्किन उनले आफ्नो वेदनालाई अक्षरमा पोखिन् र ठीक आठ वर्ष पश्चात् त्यो वेदनाले घाम अस्ताएको होइन नामबाट जन्म लिन पुग्यो। अनवरत रुपमा साहित्यको जगेर्नामा तल्लीन डा. शर्माका अनेकौं लेखहरु पत्रपत्रिकामा, अनलाइन न्युज पोर्टलहरुमा छाप्पिए पनि घाम अस्ताएको होइन उनको पहिलो कृतिको रुपमा पाठकमाझ चिनिएको छ।

वि.सं २०७८ साल असोजमा ओरिएन्टल पब्लिकेसनले निकालेको उक्त कृति आत्मसंलाप विधा अन्तर्गत पर्दछ। आत्मसंलाप अर्थात् आफूसँगै गरिने वार्तालाप। यो कृति आत्मसंलाप विधा अन्तर्गत यस कारण पर्न गयो किनभने यसभित्र रहेका ३१ वटा चिठी डा. शर्माले आफ्नी स्वर्गीय आमालाई लेखेकी हुन्।

आफ्नी आमाको अस्तित्व यस भौतिक संसारमा अब नरहेको कुरा स्वीकार्न उनलाई हम्मेहम्मे परेको बेलामा आफूलाई सम्हाल्न र मन बहलाउन उनले आफ्नी आमासँगको दूरी मेटाउने कोशिस गरिन्, सीधै आफ्नी मुवाँसँग नै कुरा गर्ने निधो गरिन्, चिठी मार्पmत। तिनै चिठीहरुको सङ्कलन हो यो कृति।

मानव जगत्मा आमा जस्तो प्रिय सायदै अरु कोही होला। आमाका बारेमा शब्दमा भूमिका बाँधेर केही लेखेर पुग्छ जस्तो मलाई लाग्दैन, यसको वर्णन गरी साध्य छैन। विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूलाठूला साहित्यकारहरुले आमालाई नै मुख्य स्थान दिइएको पाइन्छ। विश्व चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफ्नो प्रसिद्ध उपन्यासको नाम ‘आमा’ राखेर आमाको क्रान्तिकारी भूमिकालाई दर्साएका छन्।

त्यस्तै विश्वसाहित्यमा नोबेल पुरस्कार विजेता पर्ल एस बकले पनि आफ्नो ‘द गुड अर्थ’ नामक उपन्यासबाट आमाको महानताको चर्चा गरेकी छन्। चीनको अमुख ठाउँमा पहिरो जाँदा पहिरोले पुरिएको अवस्थामा पनि एउटी आमाले आफ्नो छोरोलाई स्तनपान गराएर बचाएको घटना त हामी सबैलाई अवगत नै छ।

यस्ता कैयौं सत्य घटनाहरु छन् जसले आमाको आफ्नो सन्तानप्रतिको निस्वार्थ मायालाई दर्साउँछ। त्यस्तै, एउटी छोरीले आफ्नी आमाप्रतिको माया र श्रद्धालाई शब्दमा उतारेर उनको चिरशान्तिको कामना गर्दै लेखिएको कृति हो यो।

संसारका सबै मानिसलाई आफ्नी आमा सबैभन्दा महान् लाग्छ र यो स्वभाविक पनि हो। डा. शर्माले पनि आफ्नो बाल्यकालको सम्झना गर्दै, आफ्नी आमाको दुःख र परिश्रमले नै आफू सफल भएको बताउँछिन्। जस्तै दुःख कष्ट पनि खपेर आपूmलाई खरो रुपमा जस्तोसुकै अग्नि परीक्षामा उतार्न सफल आफ्नी आमालाई उनले सहनशीलताको प्रतीक मानेकी छिन्। “हजुर मेरो आदर्श, पथप्रदर्शक र प्रेरणाकी श्रोत हुनुहुन्थ्यो। हजुरलाई म उच्चकोटिको महिलाको रुपमा हेर्दछु।” (पृ.४८)

समाजसेवामा रमाउने, शिक्षा प्राप्तिका लागि दिनरात खटिने, हार्मोनियम बजाउँदै भजनमा मन्त्रमुग्ध हुने आफ्नी बहुमुखी प्रतिभाशाली आमालाई उनी लेख्छिन्, “मेरा आँखामा हजुरका मातृ व्यक्तित्व, शैक्षिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्व, सांगीतिक व्यक्तित्व र साहित्यिक व्यक्तित्व बसेका छन् ।”(पृ.४९)

आफ्नो प्रिय मान्छे आफूबाट सधैंका लागि बिदा हुँदाको अवस्था साँच्चै नै हृदयविदारक हुन्छ । त्यसपछिका केही दिन आफूलाई सम्हाल्न निकै गाह्रो हुन्छ । त्यस प्रिय मान्छेसँग बिताएका पल, ऊसँग गरेका कुरा, ऊसँग सम्बन्धित हरेक कुराले हामीलाई गाँजिरहन्छ । हामीलाई त्यसबाट उम्किन निकै सकस पर्छ । यस्तै अवस्थाबाट गुज्रिएकी थिइन् डा. शर्मा पनि ।

यस्तो कठिन परिस्थितिमा उनलाई सम्हाल्न, सान्त्वना दिन उनका श्रीमान, छोरा र छिमेकी ब्रुस साथमा थिए । सुरूका केहि रात उनले छर्लंगै आफ्नी आमालाई सम्झेर उज्यालो पारिन्, त्यसपछि कहिले ती सम्झनाहरू स्लीपिङ ट्याब्लेटसँग घोलिए त कहिले जीवन–मृत्युका किताबहरुका पानासंग पल्टिए ।

“खुदा करे जीन्दगीमे ये मकाम आए, तुझे भुल्नेकी दुवा करूँ, और दुवामें तेरा नाम आए” भनेझैं डा. शर्माले त्यो पिर र वेदनाबाट मुक्त हुन खोजे पनि उनलाई हरपल आफ्नी आमाको यादले तड्पाउँथ्यो । हरेक कुरामा उनी आफ्नी ममतामयी मातालाई देख्थिन् । पार्कमा भुर्र उडेर आउने चरादेखि अँध्यारोमा प्रकाश पार्ने उज्यालोसम्म हरेक कुरालाई उनले आफ्नी आमाको विम्बको रुपमा देख्न थालिन् ।

“म हरेक उज्याला वस्तुमा अचेल हजुरको प्रतिविम्ब देख्छु, घना अँध्यारोलाई चिरेर निस्कने सानो भन्दा सानो उज्यालो धर्सोदेखि लिएर झलमल्ल लाग्ने घाममा आफ्नी मुवाँलाई नै पाउँछु ।” (पृ. ८९) “काममा जाँदा बाटोमा देखिएका रुखका हरेक पातमा, हरेक बत्तीका उज्यालोमा हजुरको अंश छ जस्तो लागिरह्यो । अनि मैले हजुरलाई उज्यालोमा रुपान्तरित गरें ।” (पृ.१८)

आफ्नो जीवनको सबभन्दा सुन्दर क्षण सम्झिंदै डा. शर्मा लेख्छिन्, “छात्रावासमा बस्दा बुवाले लेख्नुभएको यो कविताले त्यतिबेलाको हाम्रो पूर्ण परिवारको चित्रण गर्छ ।

छात्रावास रमाइलो कती थियो हामी जहाँ बस्तथ्यौं
कोठा चार थिए सबैजना मिलि बेला बुझी पस्तथ्यौं
भान्साका कति काममा मन दिने छोरी थिई अञ्जना
खानामा झगडा अनेक निहुँले गर्दै रुने रञ्जना
मेरा साथ हिँडाइमा सँग हुने छोरो थियो रञ्जन
खेलाडी डुलुवा निरञ्जन थियो, सानी सुखी व्यञ्जना ।” (पृ.५५)

आफ्नो बुवाले देख्नुभएको आफ्नो छवीलाई सुरक्षित राख्ने प्रयास जीवनभरि नै गरिरहने बताउने लेखक शर्मा जीन्दगीको मैदानमा खरो उत्रिएर आफ्ना मातापिताका सपना साकार पार्न सफल भएकी छिन् ।

किताबमा एक दुई ठाउँमा अध्यात्मिक कुराहरु पनि समावेश गरिएको छ । मान्छेको शरीर मरेर गए पनि उसको आत्मा यतैकतै कुनै वस्तुमा हुन्छ र हाम्रो नजिक हुन्छ । आफूले चिताएको कुरा ठ्याकठ्याकी पुग्न थालेपछि उनलाई आफ्नी मुवाँ आफूसँगै भएको कुराको भान हुन थाल्यो।

त्यसपछि उनले अनेक लेखहरू पढ्न थालिन्, मृत्युपछिको सत्य पत्ता लगाउन । सायद यही अध्यात्ममा आधारित भएर उनले आफ्नो कृतिको नाम घाम अस्ताएको होइन राख्न पुगिन् । घाम अर्थात् आफ्नी आमा र अस्ताएको होइन अर्थात् अस्तित्वहीन हुनुभएको होइन । यो मेरो आफ्नो बुझाई हो ।

कलेबरको हिसाबले हेर्ने हो भने यो एक बसाईमा नै पढिसक्ने किताब हो । १०२ पन्नाको किताबमा केही यस्ता रोमाञ्चक तथ्यहरु पनि छन् जसले यो कृतिलाई अझ बढी चाखलाग्दो बनाएको छ । “शोकाकुल समयमा पाँचवटा अवस्था हन्छन् अरे अस्वीकार, क्रोध, घुर्की, निराशा र स्वीकार ।” (पृ.११)

शोकाकुल परिस्थितिलाई पराजित गर्ने क्रममा उनले अध्ययन गरेका किताबहरूको नामलाई रेफरेन्सको रुपमा छुट्टै पछाडि राखिएको छ भने तिनै किताबका अंशलाई पनि समावेश गरिएको छ । “एलिसन डुबोइसले भने अनुसार हाम्रो मृत्युपछिको जीवन पनि हामी जीवित हुँदाको जस्तै हुन्छ अरे ।” (पृ.५८)

यो कृति पढिसकेपछि मेरो मनमा धेरै प्रश्नहरु उब्जिएका थिए। कतिपय कुराहरु यहाँ आत्मीय र व्यक्तिगत छन् त्यसैले पाठक र लेखकको सम्बन्धको कदर गर्दै मैले मेरा प्रश्नहरुलाई अनुत्तरित नै राख्न ठीक ठानें ।

प्रियजन गुमाउनेहरुप्रति समर्पित यो कृतिलाई उनले त्यस अकल्पनीय पीडामा आफूलाई डुब्नबाट बचाएर सकुशल किनारामा ल्याउने डुंगाको रुपमा पाठकमाझ चिनाएकी छन् । पीडामुक्त हुन उनले पीडकलाई नै आफ्नो पीडा चिठी मार्फत लेखेकी छन् तर के यस्तो पीडालाई अक्षरको पखेटा दिँदैमा ती सबै पीडाहरु आफूबाट पर उडेर जान्छन् र ?

सरल भाषाशैलीमा लेखिए तापनि पाठकले कहीँ कतै बनावटी पो हो कि भन्ने आभाष गर्न सक्छन् किनभने दुःख परेको बेलामा उनी आफ्ना पितासँग सम्पर्कमा आउँदिनन् र दाजु–दिदीलाई साथ दिन उनी नेपाल पनि आउँदिनन्, यद्यपी नेपाल आउने उनको लगभग टुङ्गो भैसकेको थियो । लेखाई पूर्ण रुपमा खारिएको देखिँदैन । सामान्य गल्ती त छँदैछ, यसको अतिरिक्त पनि ध्यान दिनुपर्ने कुराहरु धेरै छन् ।

आमालाई सम्झिने क्रममा उनले अमेरिकी पप गायक माइकल ज्याक्सनको गीतलाई नेपालीमै उल्था गरेर लेखेकी छिन् । सम्झनाले समर्पित उक्त गीतलाई अंग्रेजीमै लेखेर वा त्यसको बोल मात्र लेखेर र त्यसको अर्थलाई चाहीं नेपालीमा लेखिदिएको भए यहाँ कपिराइट जस्तो भारी शब्द पाठकको दिमागमा आउने थिएन।

खैर, गल्ती र कमी कमजोरी नै सफलताको कडी हो, यसैलाई मध्यनजर गर्दै डा. शर्माका आगामी लेखहरु परिस्कृत हुनेछन् भन्नेमा म विश्वस्त छु । यो सुन्दर र सरल रचनाको लागि लेखकलाई धेरै धेरै शुभकामना ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो