कथा : शरणार्थी शहरको खोजीमा – Dcnepal

कथा : शरणार्थी शहरको खोजीमा

‘देशकै मान्छे बस्न नपाइने देश कसका लागि हो? कि त सरकारले नदीले बेघर बनाएका यी जम्मै परिवारलाई पुनःसंस्थापनको व्यवस्था गरोस् होइन भने सबैलाई गोली ठोकेर मारोस् नत्र भने यो ठाउँबाट कुनै कारण हटने छैनौं ।हामीलाई सकारले सहयोग नगरे मृत्यु सिवाय हाम्रो हातमा यो जग्गा छोडेर जाने कुनै विकल्प छैन।’

जियाभुडुली नदी वारीपारिका छपडीमा आदौदेखि बसोबास गर्दै आएका अनेकौं परिवार आज विस्थापित भएर कहाँ र कता पुगे होलान भन्ने कुरा हामीले अड्कल काटनु त्यति सजिलो छैन। नदीको दुवै तर्फको विस्तृत र व्यापक अञ्चलमा खासगरी गाई-भैंसी र कृषिकर्म नै उनीहरूको सबैथोक थियोे भन्दा हुन्थ्यो।

हालको नामेरी निकुञ्जदेखि अरुणाचल प्रदेश राज्यसम्म जोडिएको यस मैदामी क्षेत्रमा उसबेला जङ्गली-हात्ती र गैडाकोभन्दा पनि बाघ-भालुको सन्त्रास थियो।गाउँ-बस्तीमा मानिसको आवत-जावत पातलो हुनाले जीव-जन्तुहरूले निर्धक्कसँग बिचरण गर्ने गर्थें। त्यसकारण मानिस हिडेकाबेला कतै कसैको बोलिको आवाजसम्म सुन्दा पनि ठूलो आड हुन्थ्यो।

नत्र बाघ-भालुसँग भेट नहोस् भनेर ईष्टदेवलाई घरैमा पूजाअर्चना गरेर बाटो लाग्नुपर्ने स्थिति थियो ।तर पनि कहिले कहीँ मानिस र जीव-जन्तुहरू बाटाघाटामा मीत लाउनु नपुगेका होइनन्।

त्यसबेला भुडुली नदीमा पक्कीपुल बनिसकेको थिएन।डुङ्गाको भरमा मानिसको आहोर दोहोर हुन्थ्यो। कतिपल्ट त्यसरी नदी वार-पार गर्दा डुङ्गा घोप्टिएर मानिस नदीमा डुबेर मरे ,लापता भए कति जनालाई मर्नु न बाच्नु भएर अरूले उद्धार गर्थे भन्ने कुरा आजका मान्छेलाई दन्तेकथा जस्तोमात्रै हुन्छ किनकि अहिले नदीमाथि जोरजोरै पक्कीपुल उभिएका छन।

एउटामा घरिघरि रेलगाडी गुडछ र अर्कामा मान्छे मटर-गाडी र अरू सबैथोक भ्याइनभ्याई दगुर्छन्। यसरी देश र मुलुकमा विकास आयोसुख पाइन्छ भनेर मानिस बुरूक्क बुरूक्क उफ्रिए। तर विकास र विनाश सँगसँगै हिडेका हुदा रहेछन कि क्याहो?

अहिले नदीमा पुल उभिएकोछ ।यो पुलले धेरैजसोको मुखको माढ खोसिएको छ।ठेला,गोरु-गाडी ,घोडा-गाडी सबैको काम हरायो।घाटै उठेपछि काम कहाँ हुने।धेरै परिवार अकमक्क परे,अलपत्र बने।उल्लेख्य के छ भने त्यो समयमा बालिजोडी, पानपुर ,लालेटापु र लाउके छपडीमा मान्छे छिर्नु नसक्ने झोडी थियोे रे।परन्तु पुल बनिसकेपछि बाटो बनिदै गयो अलकतराले बाटो लिपियो।

तर केही बुढा-पाकाहरु अब यहाँ बस्ने परिवेश हरायो रोग आउँछ, हैजा आउँछ भन्दै अन्यत्र बसाइँ सरेको पनि देखियो। यसबेला सारा अञ्चलमा बाटो-घाटो,बिजुलीको व्यवस्था झलमल्ल भयो। तर नदीले किनारामा कटौती गरेर त्यहाँका गाँउहरू जस्तै मुकुवा छपडी, सिरुवानी, कलारीघाट, ताराजान र अन्य धेरै गाउँ नदीमा एकाकार बनायो।

यसरी मानिसले नदीमा सर्वस्व हराएर बिचल्लीमा परे।त्यसरी बेपत्ता भएर कोही बाटोकिनारमा टासिएर ,कोही नदी किनारमा गासिएर कतै झुन्डिएर मरणासन्न अवस्थामा जीवन गुजारा गर्दै छन्। कति परिवार कता पुगे भन्नेसम्म पत्तो भएन। धेरै मानिस नयाँ जग्गा खोज्दै लोहितमुखतिर पुगेका छन भन्ने सुनिन्छ। त्यहाँ पनि नयाँ र पुराना भन्दै मानिसहरू बीच निकै संघर्ष भैरहने गर्छ।

अघिदेखि बस्तै आएकाले नयाँ जानेको सातोपुग्लो लिन्छन्।भर्खर भर्खर पुगेकाहरू नयाँ जग्गामा भय, सङका र अनिश्चयता भोगिरहेका हुन्छन्। कोही त्यँहाको परिवेश र परिस्थितिसँग मिल्दैनन मिल्न सकदैनन् र अर्कातिर जाने गर्छन्।

तर उनीहरूले आफ्नो प्यारो गाउँ बस्ती गुमाएको पीडा र परिवेश पनि सँगसँगै बोकेर हिडेका हुन्छन्। फेरि अञ्जान ठाउँमा पुगेर वन-जङ्गल सफा पार्दै नयाँ जीवनयात्रा शुरू हुन्छ उनीहरूको ।यसरी यो एउटै ज्यानले कतिपल्ट जीवनयात्रा शुरू गर्दै अन्त्य गर्दै गर्नु पर्ने हुन्छ मानिसले केही थाहा हुँदैन।

अस्थिरता मनमा छाइ रहन्छ तर पनि जीवन त अन्त्यसम्म चल्नैपर्छ प्राण रहुन्जेल।यसरी त्यहा केही काल बिताएपछि विस्तार विस्तारै अस्थिरता मनबाट मेटिदै जान थाल्छ।परन्तु कहिले टुंगिएको हुँदैन।

अनि सुख-दुख, हाँसो -पीडा जस्ता समस्याहरू जँहा पनि हुन्छन् नै। त्यहाँ पनि मानिसलाई बाढी आउने नदीले माटो काटने समस्या छँदैछ। केही बर्ष अघिदेखि लोहितमुख नदीले पनि त्यहाँका मानिसलाई नपीरेको होइन। तर यसपाला देखि गाँउपट्टि नै नदी मोडिएको देखेर गाँउलेहरू भयरहित हुन सकेका कहाँ छन र।

त्यसउसले गाउँमा दुःख नदिने,अनिष्ट नगर्ने र नदी गाँउ देखि तर्किएर पर पर जाउ भन्दै नदी पुजन गर्दै र प्रार्थना गर्दै अाएको देखिन्छ ।तर किनकिन नदी झनझन अाक्रोशित भएको देखेर उनी अचम्मित हुन्छन्।

एकदिन धन मिलिले खबर कागज पढदै गर्दा एउटा लेखमा उसका नजर ठोक्कियो। ‘भौतिक सुख र प्रकृति विनष्ट,,शीर्षक लेख ध्यानसँग पढदै गयो। सभ्यताको उन्नति हुनुको सँगसँगै मानिसको जीवन धारणाको मानदण्ड पनि उन्नत हुन थाल्यो। तर यी कार्यहरूले प्राकृतिक परिवेशमा पनि व्यापक रूपमा क्षति पुर्याएकोछ।

आगो र कृषि कार्यको प्रभावले वन-जङ्गल ध्वंस ,जलवायु परिवर्तन बाढीको प्रकोप वृद्धि सुखाग्रस्तता जस्ता नयाँ नयाँ समस्याका सृष्टि हुदैछन् ।बाढीको प्रकोप बृद्धि भन्ने बाक्यले उसको मनमा पिरोल्नु थाल्यो ।किनभने बर्सेनि यी समस्या अाफ्नै गाँउठाँउमा बडेको उसले निकैअघिदेखि ख्याल गर्दै आएको छ।

एकदिन बर्षाको याममा धन मिलि नदीतटमा घुम्दै पुग्छ।बिहानीपाख कलिलो घाम रातोअनुहार पारेर पानीमा खेलि रहेको छ।पानी त्यो अनुहार बोकेर नाच्दै उफ्रिनु गर्दै गाउतिर लम्किँदैछ। हेर्दाहेर्दै ऊ उभिएको जमिन उक्किदै नदीमा बिलिन हुँदैछ। देख्ता यस्तो अनुमान हुन्छ कि अति शीघ्र गाँउले नदीको रूप लिन्छ।

नदीको यस्तो आक्रोशित रूप देखेर धन मिलिलाई भय, शङका, आतङकले एकैचोटि झम्टनु पुग्छन्। यस्तो भयङकर परिस्थितिमा ऊ त्यहाँ स्थिर भएर एकैछिन उभिन सकेन। मानौ नदीले विकराल रूप लिएर उसैलाई झम्टि रहेछ।

धन मिलिलाई भित्रभित्रै यो परिस्थितिको लागि सम्पूर्ण दोषी आफैं रहेछु कि क्याहो भन्ने लागि रह्यो ।यसरी उसको मन अघि धेरै वनपाखा मासेकोमा आत्मग्लानिले भरिएपछि मानसिक सन्तुलन गुमाए जस्तो भयो।अनि एकदिन अचानक नदीमा हाम फालेर आत्महत्या गरो भन्ने हल्ला मच्चियो ।

तर उसको शव भने धेरै दिनसम्म कतै फेलापर्न सकेन। कहिलेकाहीँ भने साझ-बिहान नदीधारमा धन मिलिले रूखका बिरुवा सार्दै गरेको कसैकसैले देख्छन रे भन्ने सुनिन्छ। त्यसघटनाको केही बर्षभित्रै सारा अञ्चल नदीले सखाप पार्यो । जम्मै मानिस घरका न घाटका भए।अनि आश्रय खोज्दै सिमन छपडीमा सुकुम्बासी भएर पस्न बाध्य भएका छन्।

धेमाजी जिल्ला पुग्नु भन्दा प्रायः आधाकिलोमिटर यता मुलसडकमा हात हातमा बेनर-पोस्टर लिएर प्रतिवादी जुलुस निस्केको छ। त्यो जुलुस सहर नपुगी जिल्ला कार्यालयतिर मोडिन्छ।त्यँहा पुगेपछि प्रतिवादी नारा चर्किन्छ-सिमन छपडी वनभूमि रक्षा गर,वनभूमि वेदखल मूक्त गर,जिल्ला प्रशासन हाय-हाय आदि आदि।

एकक्षणमा जिल्ला अधिकारी आएर प्रतिवादीहरूसँग देखा दिन्छ ।अनि अती शीघ्र वनभूमि वेदखलकारी माथि कानुनी कार्वाही गर्ने वचन दिएपछि जुलुस मौन हुन्छ।

लोहितनदी किनारमा अर्को जुसुल निस्केको छ।उनीहरू कसैको हातमा थाल-बटुको छ,कसैले काखीमा बच्चा चेपेका छन् हलो-कोदालो, कुम्लो -कुटुरो बोकेर चिच्याउदैछन्। उनीहरूले नदीमा सर्वस्व गुमाएर सिमन छपडीको वनभूमिमा मर्नु न बाच्नु भएर बस्न थालेको महिनादिन नपुग्दै जिल्ला प्रशासनले त्यो जग्गा छोडने आदेश जारी गरेपछि त्यँहाका मानिस यसरी प्रतिवादमा उत्रिएका देखिन्छन्। प्रतिवादी दलकी नेता नोमा गगै सञ्चारकर्मीसँग आफ्नो माँग यसरी खुलासा गर्छे – ‘आफ्नै देशमा बस्न नपाइने देश कसका लागि हो?’

कि त सरकारले नदीले बेघर बनाएका यी जम्मै परिवारलाई पुन:संस्थापनको व्यवस्था गरोस् होइन भने गोली ठोकेर मारोस नत्र हामी यो जग्गा छोडेर कहीँ जाने छैनौं

यसघडी नोमा गगै डेरिडालाई सम्झिन्छे…डेरिडाको संसार शासन गर्ने कस्तो क्षमता रहेछ।उनको विचारको शासन दर्शनको आँगन संसारभरिका पीडित मानवहरूको निम्ति , मानवताको निम्ति हुर्किएको रहेछ। हो- यस बर्तमानमा प्रकृतिको जथाभावी ध्वंस गर्नु भनेको मानव जातिकै ध्वंस हुनु हो चाहे त्यो जुनसुकै देशमा नहोस न किन ।परन्तु ती मानिस जो बेघर भएका छन् आश्रयहीन हुन पुगेका छन्।

आज विज्ञान र वैज्ञानिक सभ्यता उन्नत सभ्यता भन्ने घमण्डलाई व्यंग्य गर्दै गाँस न बास भएका मानिसको हालत कस्तो हुन्छ भन्ने पीडालाई उपलब्धि गर्दै क्षमा गर्न नसकिने अपराधलाई दिने क्षमा नै प्रकृत क्षमा हो भनेका छन्।

धन्य हो सर्वस्व गुमाएकाहरूका निम्ति डेरिडाको खुला सहर अथवा शरणार्थी नगरलाई।त्यो नगरमा पुगेर मानिसले अधि भोगेको यातना,पीडा र भयबाट मूक्तिको सुनिश्चिति प्राप्त गरून्। त्यहाँ रात दिन काटनु मात्रै होइन बास र गाससँगै स्वास्थ ,शिक्षा र मानवीय मूल्य पनि टिकेको होस्।

यसरी डेरिडाको विचारको शासनले विश्वभरिका आश्रयहीन मानिसलाई छोएको देखेर आज नोमा गगैलाई किनकिन आफ्नो देशको शासकभन्दा यहीँ देशको भूमिपुत्र हु भन्ने घमण्डको पर्खालभन्दा डेरिडालाई धेरै नजिकको आफन्त रहेछ भन्ने लागि रहेछ।अनि यी सबै दीनदुखि मानिसको निम्ति आफैले शरणार्थी सहर बनाउने कल्पना गर्न थाल्छे। त्यो सहर सायद प्रकृतिको बीचमा होस।

आजको जस्तो कंक्रीट, पक्का, इटाको सट्टा प्रकृतिभित्रै पूर्वीय सभ्यताका ऋषिमुणिको आश्रम जस्तै स्वच्छतापूर्ण परिवेश होस जहाँ कुनै वनस्पतिको क्षति पुगेको नहोस ।यस्तो सहर निकुञ्जमा पनि निर्माण गर्न सकिने सपना देखेर नोमा आफैं पुलकित बन्छे। यस क्षण उसले आफैंभित्र डेरिडालाई प्राप्त गरे जस्तो महसुस गर्छे।अनि दुखैदुखभित्र पनि सुखानुभूति अनुभव भै रहन्छ ।त्यसबेला पर कतै मधुर स्वरमा प्यासीको गीत बजेको सुनिन्छ।

‘कोही आँखामा नदी बग्छ कोही आँखामा छाँगो
कोही आँखामा मोह रस छ कोही आँखामा आगो।
भन तिमीलाई के भनेर सम्बोधन गरू म
तिम्रो गुनको गीत नगाई कसरी मरू म।’

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो