व्यंग्य : जेठान देबो भवः

डिसी नेपाल
३० असोज २०७८ ९:५९

आखिरीमा बेकारका हल्ला र बकवास सुनेकै र प्रधान न्यायमूर्तीको कोटाबाट पदपूर्तिको लागि चुनेकै हो भन्ने बजारे आरोपकै भरमा जेठान साहेबले राजीनामा दिए अनि तिन दिनपनि मन्त्री पदको राग नलिइकन बिश्राम लिए। यत्तिकै भरमा र नैतिकता खतरामा पर्ने डरमा राजीनामा दिँदै अनि यसैगरि बिश्राम लिँदै जाने हो भने मन्त्री, राजदूत, संबैधानिक नियूक्ति, राजनैतिक नियुक्ति, राम्रो ठानिएका र राम्रो आमदानी हुने भनेर माानिएका मुख्य मुख्य मन्त्रालय कार्यालय बिभाग अड्डा आदिमा हाकिमका कुर्सी खाली भइसक्ने कुरा जनतालाई चाहिँ थाहा छैन।

यस्तामा सबै सरकारको पालामा पुरानालाई हटाउने, आफ्नालाई जबरजस्ती त्यसमा खटाउने, त्यहाँबाट उसले दातालाई गुलियो चटाउने र आफूलाई तोकिएको कामभन्दापनि चारैतिरबाट नगद जम्मा गर्नेतिर मात्रै ध्यान दिएर कार्यकालको समय कटाउने गर्दै आएको भनेर संसारमै परिचित ठाउँमा नैतिकता देखाउने र सपथ ग्रहणको तेश्रो दिनपनि पूरा नहुँदै मन्त्रीजस्तो लाभदायक पदबाट राजीनामा दिएर इतिहासमा नाम लेखाउने काम भएकोमा जनताको ठूलो चित्त दुखाइ छ।

सबै तहका अदालतहरुबाट हुने सबै फैसलाहरुमा बिचौलिया र सेटिंगमार्फत फैसला गर्ने न्यायमूर्तिको खल्तीमा मुद्दाको आकार प्रकार अनुसारको नगद पूर्ति भएर नै श्रीमानहरुको यत्रो आर्थिक फूर्ती देखिएको भन्ने संधैभरि सुनिएको भएपनि जनतालाई कुनै बिश्वास लागेको छैन।

हालका प्रधान न्यायमूर्ती त पाइलै पिच्छे कमाउने, हरेक फैसलाको फाइदामा मजाले आफ्नो अधिकार जमाउने, फैसलापछि सानो होइन ठूलै लाभमात्रै समाउने र जति विवादमा पर्यो उति खुसी भएर रमाउने आदत भएका सारै असल योग्य र क्षमतावान ब्यक्ति रहेको पाइयो।

प्रधान न्यायमूर्ती हुनासाथ श्रीमतीको जघन्य हत्या अभियोगमा जन्म कैद पाएका आफ्नो जुवा पार्टनर पूर्व डिआइजी साहेबका कलेज पढ्ने नाबालक छोराहरुलाई अबिभावकको कमी हुन्छ कि क्या हो भन्ने चित्तमा लागेकोले आधा सजायँपनि पूरा नहुँदै कैद मुक्त गर्ने अत्यन्त उदाहरणीय फैसला सुनाएकाले यिनी अत्यन्त दयालु समेत भएको पुष्टि हुन्छ।

जुवाको खालमा भेटेर गोरु बेचेको साइनो भएका ब्यक्तिको छोराहरुको लागि त चित्तमा यति ठूलो दया लाग्ने व्यक्तिलाई आफ्नो सहोदर जेठानप्रति कति ठूलो प्रेमभाव होला भन्ने जोकोहिलेपनि सहजै कल्पना गर्न सक्ने बिषय हो।

यति सामान्य माया प्रेमको भावनालाई पनि बुझ्न नसक्ने निर्दयीहरुले मात्रै यो बिषयलाई अनावश्यक रुपमा उचालेर बिचरा जिन्दगी भर निष्ठाको राजनीति गरेर सरकार प्रधान सरहकै हैसियतमा रहेका अत्यन्तै जनप्रिय नेतालाई राजीनामा दिन र राजनीतिबाटै सन्यास लिन बाध्य पार्ने स्वार्थीहरुलाई दैवलेपनि आफ्नो नजरबाट झार्ने र उनीहरुको प्रार्थनालाई कुनै फल नदिइ टार्ने निश्चित छ।

बालकोटे कामरेडको बलियो सरकारमापनि संबैधानिक नियुक्ति लगायतका ठाउँहरुमा भाग पाउँदै आएकोमा केही मन्त्रीको कोटापनि माग गर्दा नपाएपछि चरित्रमा मात्रै दाग लाग्न गएको भनेर चित्त दुखाएर बस्न बाध्य हुन परेको बिषयलाई ठूलो बनाएर बिरोधीहरुले हल्ला गरेको र त्यसबाट कानूनीमात्रै नभएर राजनैतिक क्षेत्रमापनि मजाले चरेको पुष्टि भयो रे भन्ने कुरामा जनताको पटक्कै पत्यार छैन।

आफ्नो प्रिय जेठानलाई आफ्नो कोटाबाट मन्त्री बनाउन,त्यस पूनित कामको लागि गठबन्धनका शिर्ष नेताहरुलाई मनाउन,उनलाई प्रजातान्त्रिक दलका ठूला नेता भनाउन र यो ज्यादै सराहनिय कार्य हो भनेर जनाउन लरतरो ज्वाइँबाट हुनसक्ने काम नै होइन। त्यस हिसाबले सोच्ने हो भने जेठानभन्दा ज्वाइँ ज्यादै महान रहेछन्।

बालकोटे कामरेडको दोश्रो अध्यादेश बिरुद्धको फैसलामा फिरादीले मागसमेत नगरेको बिषयमा प्रबेश गरी अध्यादेश मार्फत संविबधान संसद प्रचलित कानुन आदिको सारै राम्रो र अलि नयाँ खाले ब्याख्या गरेर सरकार गठन, सपथ ग्रहणको समय आदि सबैको साइतसमेत निकालेर दिएको ऐतिहासिक परमादेश गरे बापत सानोतिनो अतिरिक्त पारिश्रमिकले काम चल्ने र त्यतिले मेहनत अनुसारको फल फल्ने कुरै आएन। ठूलो काम सम्पन्न गरेपछि ठूलै नाम र ठूलै दाम हातलाग्नू स्वाभाविक नै हो। यत्तिपनि नभए काम गर्नुको स्वाद नै आउँदैन र दिनदिनै गरिने यस्ता कामहरुको बारेमा जनताले पत्तै पाउँदैन भन्ने सिद्धान्तले मजासित काम गर्दै आएको छ।

आफू जुनसुकै महत्वपूर्ण पदमा पुगेपनि श्रीमती, छोराछोरी, गर्लफ्रेन्ड,ज्वाइँ, बूहारी, बाबुआमा, नजिकका भित्रिया र बिचौलिया, सालासाली आदि सबैको भाग पुर्याइ सकेपछि सासूससूरा, जेठान आदिको पालो आउने र त्यही अनुसारको हिस्सा पाउने गरेको देख्दै र सुन्दै आएका जनताले जेठानको समेत पालो आयो भनेपछि त्यसभन्दा नजिकका सबैको अति सुन्दर किसिमको आर्थिक ब्यबस्था भइसकेको अबस्था रहेको बुझेका छन्।

यो अति राम्रो अभ्यास भएको र पहिलेदेखि अहिलेसम्म यसैगरी शानदार तरिकाले गएको अनि भविष्यमापनि यसैगरि चलिरहने र सबैतिरबाट नगद फलिरहने पक्का भएकोमा जनतालाई गर्ब लागेको छ। आफूले भोट हालेका आफ्ना प्रतिनिधिहरुले नोट फलाएकोमा हर्षले गद्गद् भएका जनतालाई प्रधान न्यायमूर्तीले परमादेशमार्फत बालकोटे कामरेडको सरकार ढलाएको, त्यसबापत सरकारमा हिस्साको लागि अहिलेका सरकार प्रधानलाई गलाएको र तर्साएर आफ्नो हैकम चलाएकोमा पनि जनता प्रफुल्ल भएका छन्। जनताको भोट, आफ्नो संबैधानिक अधिकार र क्षमता भन्दापनि दयामायाबाट सरकार प्रधान हुन पुगेका ब्यक्तिबाट देश र जनताको लागि योभन्दा असल र उदाहरणिय कार्य के नै हुन सक्ला र?

बजारे हल्लालाई पत्याउने हो भने प्रधान न्यायमुर्तीले जेठान र एउटा अत्यन्त बिश्वासिलो बिचौलियाको लागि समेत दुईवटा मन्त्रीको कोटा मागेको अबस्थामा बिरोधीहरुले रिसइवी दागेको कारणले एउटा मन्त्रीमा चित्त बुझाउने तर सम्धि र भिनाज्युलाई राजदूत नबनाएमा चिन्ताले रोएर आँखा भिजाउने घुर्की देखाएपछि सरकार प्रधानले स्विकार गरिसकेको अनि हाललाई यति चाहिँ आफ्नो कोटामा झरिसकेको भनेर ढुक्क हुँदै पहिलो लटमा जेठानलाई मन्त्री पदको सपथ ग्रहण गराउने योजना कार्यान्वयन भइहाल्यो।

सरकारको हनिमुन अबधीको झण्डैझण्डै उत्तरार्धमा सरकारले पूर्णता पाएको र अति सक्षम ब्यक्तिहरु सरकारमा आएको अनि यसबाट देशैभरि खुसीयाली छाएको समयमा कहाँकहाँबाट जेठानको नाम लिएर माहौल तताउने र चाहिँदो नचाहिँदो कुरा जनतालाई बताउने गरेर गोप्यता भन्नेपनि केही चिज हुन्छ भनेर हेक्का नराख्दा शक्ति पृथकिकरणको ठेक्का लिएर बसेकाहरुलाई अप्ठ्यारोमा पार्ने नकाम भएकोमा जनता दुखी छन्। अरु कूनैपनि बिषयमा जनताको केही गिन्ती नराखेपनि यसमा चाहिँ जसलाई जे दिएपनि केहि छैन भन्ने जनताको बिन्ती सुनिदिएको भए के बिग्रन्थ्यो होला र?

कथित शोषक र सामन्तको नाममा मानिसका टाउको गिँडेर र त्यसको सजायँबाट बच्न लूकिलूकि हिँडेर पक्राउ परी लामो कैद सजायँ पाएर छूटेका अनि सक्कली राष्ट्रवादीको खोल ओढेर जनताको भोट लुटेका बालकोटे कामरेडलाई आफ्ना कतिपय असंबैधानिक निर्णयहरु उल्टिने र धेरै निहूँ खोज्दा न्यायालयबाट अझ नराम्ररी गुल्टिने डर भित्री मनमा हुँदै होला।

वाइड बडी र न्यारो बडीको फाइल दरो चालाले खुल्यो भने शरीरमा भालाले घोचेभन्दा अनि अहिले जसरी सोचेभन्दा फरक परिस्थितिले अप्ठ्यारोमा परिएला भन्ने डर हालका सरकार प्रधानलाई पनि हुँदै होला।

स्वघोषित महान नेतासमेत भनिने खुमलटारे कामरेडलाई पारिवारिक मोजमस्तीको लागि सत्र हजारको बली र क्यान्टोनमेन्टको अरबौं भ्रष्टाचारका फाइलहरु खूलेमा अहिलेसम्मका पोल खुलेर सधैं चोक्टाको गफ दिँदा झोल हातपर्ला र खुमलटार दरबारबाट जेलतिर आफ्नो बसाइँ सर्ला भन्ने डर मनभित्र हुँदै होला।

रअको प्रयोगको लागि समर्पित हतियार र सत्र हजार हत्याका बरिष्ठ मतियार भनेर चिनिने अनि बिदेशीहरुबाट प्राप्त डलरमा किनिने भनेर प्रख्याती कमाएका र बिदेशीको माउथपिस हुन पाएकोमा खुसी हुँदै रमाएका कतै नबिकेर जसपाका सहअध्यक्ष हून पुगेका बाँदरको पुच्छर सरहको डाक्टरी डिग्रीधारी भट्टराई थरी गोरखाली कामरेडलाईपनि यो सहित ललिता निवासको मुद्दा ब्युँझिएला भन्ने डर हुँदै होला।

जसपाका अर्का सहअध्यक्ष भनिएका र मधेशको मुद्दामा सबैभन्दा अवसरबादिमा गनिएका यादवथरी पूर्ब कामरेडलाई आफ्नो प्रतिकुलको कुनै निर्णय भइदिएमा अनि आफ्नो समर्थक ठानिएका माननीयहरु मिठो घाँसको लोभले अन्तै पोइल गइदिएमा अहिलेसम्म दिइएको गफले काम नदिने डर मनमा हुँदै होला। ठूला आदर्श र नैतिकताको गफ दिंदै अनि जता केही फाइदा पाइन्छ त्यहि बाटो लिँदै आएका कोटेस्वरे कामरेडलाई पनि ललिता निवास प्रकरणको फाइल खुल्यो भने राजनीतिबाट धेरै माइल टाढा पुगिएला भन्ने डर भित्रि मनमा हुँदै होला ।

सर्बोच्चमै हेर्दाहेर्दैमा रहेको हत्या अभियोगको मुद्दाको फैसला छिटो भयो र आफ्नो प्रतिकूलमा गयो भने सभामुख हूं भन्दै कसरी मूख देखाएर हिंड्नु भन्ने डर मनमा हूंदै होला। यस्ता होनहार शिर्ष नेतृत्वको टाउकोमा झुण्डिएको तरबारलाई भूत्ते साबित गर्दै अध्यादेश ल्याउने प्रधान न्यायमुर्तीले सरकार र अरु महत्वपुर्ण नियुक्तिहरुमा आफ्नो हिस्सा खोज्नूलाई जनताले असम्भव बिषय मानेका अनि उनले कूनै अर्घेल्याइं गरेको ठानेका छैनन्। आखिर सबैचिजको मुल्य चूकाउन पर्ने कुरा लुकाउन सकिने बिषय नै पनि होइन ।

आफ्नो प्रिय जेठानलाई आफ्नो कोटाबाट मन्त्री बनाउन,त्यस पूनित कामको लागि गठबन्धनका शिर्ष नेताहरुलाई मनाउन,उनलाई प्रजातान्त्रिक दलका ठूला नेता भनाउन र यो ज्यादै सराहनिय कार्य हो भनेर जनाउन लरतरो ज्वाइँबाट हुनसक्ने काम नै होइन। त्यस हिसाबले सोच्ने हो भने जेठानभन्दा ज्वाइँ ज्यादै महान रहेछन्।

यस्ता पूण्यकर्म अरुले नगरेको र आफन्त देवो भवः गर्न अरु अघि नसरेको भए पो यसो कुरा गर्नपनि सुहाउंछ । यहां त यस्तो कार्य प्रधान न्यायमुर्तीले मात्रै पहिलो चोटि गरेजस्तो देखिएर यस्तो सूकर्ममा आफ्नो नाम नै नआउंदा र सोझासिधा जनताले कुनै जानकारी नपाउंदा शिर्ष नेतृत्वले कति चित्त दुखाएका होलान् भन्नेतिरपनि यसो बिचार पुर्याइदिएको भए कस्को के बिग्रन्थ्यो होला र ?

सरकार प्रधानकी प्यारी अर्धांगिनीले आफ्नो कोटा लिएर र सबै मूख्यमूख्य नियुक्तिमा ध्यान दिएर सामान्य ब्यक्तिहरुले सोच्नै नसक्ने स्तरको शूभलाभ गर्ने गरेको झटा समाचारहरु निकै पढ्न पाइरहिएकै छ रे । उनैले सबै ठाउँका सबैखाले सरुवा बढुवाहरुमापनि हस्तक्षेप गरेर ठूला मुख बाउँदै चरेर अति चोखो आमदानी गरिरहेका समाचारहरुपनि झुटा नै हुन् रे।

सरकार प्रधानका अति प्रिय सालाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सबै खरिद र ठेक्कापट्टामा स्वयम् सेबकको हैसियतमा प्रवेश गरी ठूलो कमिशन हातलागि गर्नुलाई आफ्नो नैसर्गिक अधिकारकै रुपमा सदुपयोग गरिरहेको अनि भिनाजुको छत्रछायाँको प्रतापले मजासित अकल्पनीय नगदमा चरिरहेको भन्ने समाचारमापनि कुनै सत्यता हुन सक्दैन रे।

देशमै सबैभन्दा बढी कुटनीतिक क्षेत्रको जानकार भएर नै सरकार प्रधानकि सासूआमा सबै राजदूतहरु फिर्ता आइसक्दापनि दूताबास धानेर र अघिल्लो सरकार देखिको निर्देशन मानेर आफ्नो क्षमता देखाउँदै आइरहेकि अनि ज्वाइँ साहेबको जयगान गाइरहेकी छन् रे।

स्वघोषित महान नेताका छोरीहरु, बुहारी, ज्वाइँहरु, भाइ, भतिजा, सम्धि आदिलगायत झण्डै दुई दर्जन आफन्तहरुले पाएको र बसिबसी खाएको सरकारी ओहोदाको साथै सरकारी सुबिधाहरु, त्यसको आडमा उठाएको अरबौं नगद, विभिन्न शिर्षक र अपारदर्शी योजनाहरुबाट हुने आमदानीको हिसाब किताब राख्ने फुर्सद नभएपछि यस सम्बन्धी खबरहरुलाई पनि उडन्ते र बतासे हल्लाको रुपमा बूझिदिनै पर्छ।

आफूलाई अत्यन्त आदर्शवादी भनेर नथाक्ने कोटेश्वरे कामरेडको नयाँ दलबाट मन्त्री हुन नपाउने माननीयको पैसा बुझाउन नसकेकोले मन्त्री पद पाइएन भन्ने भनाइलाई राम्ररी सुन्ने हो भने कसकसले कहाँकहाँबाट चपाउने गरेका रहेछन् भन्ने थाहा भइहाल्छ।

सत्ता गठबन्धनको जसपा नामक दलभित्रका हस्तिहरुले मन्त्री खाएर जनताको नाममा गर्ने गरेका मस्तीहरुका बारेमा आएका समाचारहरुमा त विश्वास लाग्ने कुरै भएन। हाकाहाकी नगद खाने र मन्त्री हुन पाएन कि अर्कै दलतिर जाने बिषय त नौलो पनि होइन। यस दलमा श्रीमती र गर्लफ्रेन्डहरुलेपनि राम्रो मौका पाएर चौका हानिरहेका छन्।

त्यसो त संसदमा झण्डै तीनबीस जति श्रीमान श्रीमतीका जोडीले जनताको प्रतिनिधि भएर यथेष्ट सेवा पुर्याइरहेका छन्। प्रदेश तह र स्थानीय तहका नेता कार्यकर्ता र कर्मचारीहरुमापनि खोजी गर्ने हो भने यस्ता नजिकका आफन्तहरुको उत्साहजनक उपस्थितिले आफन्त देबो भवः लाई चरितार्थ गरेका अनगिन्ती उदाहरणहरु पाइने र सबै ठाउँमा मिलीजुली खाइने हुनाले जनता आनन्दित छन्।

अचेल त आफ्ना नजिकका नातेदार बाहेक अन्यलाई फाइदाजनक ठाउँमा नियुक्ति दिएको देखियो वा कतै समाचार लेखियो भने त्यस्तालाई दिमाग खुस्केको ठान्नु जनताको नियती नै हुनु ज्यादै राम्रो हो।

यसो हेर्दा मातृ देबो भवः,पितृ देबो भवः र आचार्य देबो भवःभन्ने पुरानो उक्तिलाई सरकारका अंगहरुमा नयाँ ढंगबाट क्रमशः बिस्थास्पित गर्दै लगेर पत्नी, पुत्रपुत्री, ज्वाइँ, बुहारी, सालासाली, जेठान, सासू ससूरा, गर्लफ्रेन्ड, नजिकका बिचौलिया आदिलाई देबो भवःको काीिटमा चढाउने र यस्तो अभ्यासलाई अझ सकेसम्म बढाउनेमा शिर्ष नेतृत्वको होडबाजी भएको देखिनु नयाँ देबो भवःहरुको लागि ज्यादै खुसीको खबर हो।

सबै नयाँ देबो भवः हरुले योग्यता क्षमता नभएपनि राम्रराम्रा नियुक्तिहरु खाइरहेको र नियुक्तिकर्ताको भजन गाइरहेको भएपनि यसपाली जेठान देबो भवः अरुभन्दा अलि ओजनदार देखिएको मात्रै हो। त्यसैले यसलाई कसैलेपनि नकारात्मक तरिकाबाट लिइदिने कष्ट गरेर आफ्नो समयमात्रै नष्ट गर्ने काम गरेर कुनै फाइदा हुँदै हुँदैन भन्ने जनताको जोडदार सिफारिश छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *