कार्तिक स्नान, दीपदान तथा व्रतको महत्त्व

डिसी नेपाल
३ कार्तिक २०७८ ६:३९

कार्तिकमासलाई हिन्दु सनातन परम्परा अनुसार पाप नाश गराउने र पुण्यको वृद्धि गराउने महिनाको रूपमा लिइएको पाइन्छ। आषाढ शुक्लपक्षमा भगवान विष्णु शयन गर्नुहुन्छ भने कार्तिक महिनाको एकादशीमा भगवान विष्णु जाग्नु हुन्छ।

यसकारण कार्तिक मासलाई भगवान विष्णुको प्रिय मास भनेर चिनिन्छ। यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा अर्चना गरी अकाशदीप बाल्ने प्रचलन रहिआएको छ। कार्तिक महिनामा जसले प्रातःकालमा ब्रह्ममुहूर्तमा उठेर स्नान गरेर दीपदान गर्दछ उसको सम्पत्ति वृद्धि भइ यो लोक र परलोकमा पनि सुख शान्ति मिल्दछ भनेर शास्त्रले बताएको पाइन्छ।

कार्तिक महिनामा नदी, तलाउ, धारो, कुवा आदिमा गएर प्रातः कालमा जसले स्नान गर्दछ उसका सम्पूर्ण पितृ खुसी भइ उसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन भन्ने धार्मिक मान्यता रहिआएको छ। सकिन्छ भने एक महिना सम्म मौन स्नान गर्ने स्नान गर्दाः

कार्तिकेऽहं करिष्यामि प्रातः स्नानं जनार्दन ।
प्रीत्यर्थं तव देवेश दामोदर मया सह ।

यो मन्त्र जप गर्दै स्नान गरेमा जनार्दन भगवान प्रसन्न हुनुहुन्छ भन्ने शास्त्रीय मान्यता छ । सकिन्छ भने कार्तिक महिना भरि नै दैनिक सन्ध्या, स्नान, जप, विश्वदेव पूजा,अतिथिको सत्कार र देवपूजन यी छ कर्महरू प्रत्येक दिन गर्नु अति उत्तम मानिन्छ । शास्त्रमा भनिएको पनि छः

सन्ध्या स्नानं जपश्चैव देवतानां च पूजनम् ।
वैश्वदेवं तथाऽतिथ्यं षट् कर्माणि दिने दिने ।।

यसरी नै कार्तिक मासमा तुलसीको विशेष महत्त्व रहेको छ , कार्तिक मासमा सबै देवताहरू र तीर्थहरू तुलसीमा बस्दछन् तुलसीको स्पर्शमात्र गर्दा पनि सबै व्याधि नष्ट हुन्छ भन्ने शास्त्रको मान्यता छः ‘तुलसी स्पर्शनेनैव नश्यन्ति व्याधयो नृणाम्।’ तुलसीले अहोरात्र नै अक्सिजन दिने हुनाले घर वरपर तुलसी रोप्नाले दुषित वातावरण हटाइ वातावरण शुद्ध पवित्र पार्ने हुनाले तुलसीको वैज्ञानिक महत्त्व पनि रहेको पाइन्छ। जुन घरमा तुलसी छ त्यो घर तीर्थ हो ।

यदि घरमा तुलसी रोपेको छैन भने त्यो घरमा यमराजका दूतको बास हुन्छ भनिएको छ । आर्युेवेदमा पनि तुलसीलाई अमृत भनेर बताएको छ। खोकी, कफले दुःख दिएमा तातो पानीमा तुलसी राखेर पिउँदा निको हुन्छ।

पाचन क्रियामा सहयोग पुर्याउँछ रगत शुद्धिका लागि पनि तुलसीको प्रयोग गरिन्छ । यसकारण तुलसीलाई महाऔषधिको रूपमा पनि लिइन्छ । तुलसीलाई एकादशी , औँसी, पूर्णिमा, संक्रान्ति, आइतबार र शुक्रबार यी दिनमा टिप्न हुदैन भनेर शास्त्रले बताएको छ । धर्मशास्त्रमाः

यन्मूले सर्व तीर्थाणि यन्मध्ये सर्वदेवता ।
यदग्रे सर्ववेदाश्च तुलसी त्वां नमाम्यहम् ।।

तुलसीको फेदमा सबै तीर्थको वास हुन्छ, तुलसीको मध्य भागमा सबै देवताको बास हुन्छ, माथिल्लो भागमा चारैवेदहरू बस्दछन् त्यसकारण हे तुलसी! तपाईँलाई नमस्कार छ भनेर प्रत्येक दिन तुलसीको पूजा गर्नाले भक्ति र मुक्ति मिल्दछ।

यसकारण तुलसीको पात, फूल, मूल हाँगा बोक्रा जरा, र माटो सबै पवित्र हुने भएकाले कार्तिक मास भरि नै तुलसी पूजन गर्नाले सर्वार्थ सिद्धि प्राप्त हुने कुरा शास्त्रमा उल्लेख छ।  पुराणादि शास्त्रमा व्रत एवं तपको दृष्टिले कार्तिक महिनाको धेरै महत्त्व बताइएको छ । स्कन्दपुराण अनुसारः

मासानां कार्तिकः श्रेष्ठो देवानां मधुसूदनः ।
तीर्थ नारायणाख्यं हि त्रितयं दुर्लभं कलौ ।।

अर्थात् भगवान विष्णु एवं विष्णु तीर्थ समान कार्तिकमासलाई श्रेष्ठ एवं दुर्लभ मास मानिएको छ । कार्तिकमास कल्याणकारी मास भनेर मानिएको छ । कार्तिकमास समान दोश्रो मास छैन , सत्ययुग समान अर्को युग छैन, गंगा समान अर्को कुनै तीर्थ छैन र वेद समान कुनै शास्त्र छैन भनिएको छः

न कार्तिसमो मासो न कृतेन समं युगम् ।
न वेदसदृशं शाास्त्रं न तीर्थ गंगया समम् ।।

कार्तिकमासको महत्त्वका विषयमा पद्यपुराण, स्कन्दपुराणमा विस्तृत रूपमा बताइएको पाइन्छ। कार्तिकमासमा भक्तहरू ब्रह्ममुहूर्तमा स्नान गरेर राधा दामोदरको पूजाआराधना गर्दछन्। कलियुगमा कार्तिकमास व्रतलाई मोक्ष दिने सबभन्दा सरल माध्यम भनेर बताइएको पाइन्छ।

पुराण अनुसार कार्तिक मासलाई चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षलाई प्रदान गर्ने मासको रूपमा लिइएको पाइन्छ। स्वयं नारायणले ब्रह्मालाई, ब्रह्माले नारदलाई र नारदले महाराज पृथुलाई कार्तिक मासको महिमा बताउनु भएको कुरा पुराण आदिमा उल्लेख पाइन्छ।

शास्त्रमा दुःखको निवृत्तिको लागि कार्तिकमासमा ब्रह्ममुहूर्तमा स्नान गरेर भगवान श्रहरिको पूजा गर्नाले कार्तिकमासमा व्रत गर्ने व्रतालुले अक्षय नवमीमा अमलाका फेदमा भगवान कार्तिकेयका कथा सुन्नु,कुमार कुमारी एवं ब्राह्मणलाई भोजन गराउनु अति उत्तम मानिएको छ। स्कन्दपुराणको वैष्णवखण्डमा कार्तिक व्रतको महत्त्व यसरी बताइएको छः

रोगापहं पातकनाशकृत्परं सद्बुद्धिदं पुत्रधनादिसाधकम् ।
मुक्तेनिदानं नहि कार्तिकव्रताद् विष्णुप्रियादन्यदिहास्ति भूतले ।।

अर्थात् यस मासलाई रोग विनासक मास भनेर चिनिन्छ सद्बुद्धि प्रदान गर्नेवाला लक्ष्मीको साधक तथा मुक्ति प्रदान गर्ने मास भनेर पनि चिन्न सकिन्छ। कार्तिकमासमा दीप दान गर्नु अति उत्तम मानिएको छ। यो मासमा आकाशदीपको पनि अति महत्त्व रहेको पाइन्छ।

कार्तिमासभर स्नानपश्चात् बेलुकाको समयमा दीपदान गर्ने, तुलसीको मठमा दीप जलाउने, तुलसीको मठ छैन भने घरको छतको पूर्वपट्टि या उत्तर पट्टि महालक्ष्मीलाई सम्झेर बत्ति बाल्नुपर्दछ।

घरवरपर पीपल वृक्ष रहेको छ भने पीपलको वृक्षको फेदमा दीप जलाउनू पवित्र नदी, तलाउ वरिपरी पनि कार्तिकमास भर दीप जलाउनाले पुण्यप्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ।

कार्तिकमासमा व्रत गर्ने व्रतालु भूमिमा शयन गर्नु उत्तम मानिएको छ । भूमि शयन गर्नाले जीवनमा सात्विक भाव जाग्दछ। भूमि अर्थात् प्रभुका चरणमा शयन गर्नाले भयबाट मुक्त भएर जीवनमा आनन्द प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

कार्तिकमास पवित्रमास भएकाले ब्रह्मचर्यको पालना गर्नुपर्दछ। यस मासमा व्रतालुले चना, मटर, मासको दाल, मुसुराको दाल आदि भक्षण नगर्नु भन्ने शास्त्र वचन रहेको छ । कार्तिमास भरि व्रतालुले नित्य श्रीहरि विष्णुको सङ्कीर्तन गर्नुपर्दछ।
।। अस्तु ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *