अरु पार्टीलाई आसन, समाजवादीलाई गाली र बहिष्कार

डिसी नेपाल
३ कार्तिक २०७८ १५:५६

काठमाडाैं। एमाले कास्कीले दसैँ तिहारलगायत सबै चाडवाडलाई लक्षित गरी बुधबार चियापान कार्यक्रम आयोजना गर्‍यो ।

एमालेले चियापानमा जिल्लास्थित सबै सक्रिय राजनीतिक पार्टीलाई आमन्त्रण गरेको थियो । समारोहमा सबै राजनीतिक पार्टीलाई आसन ग्रहण गराइयो । सरकारका उपसचिवसमेतको आसन ग्रहण थियो । तर एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई बहिष्कार गर्‍यो । नेकपा एसको नामसमेत लिएन ।

सुरुदेखि नै वर्गशत्रुका रूपमा समाजवादी पार्टीलाई लिइएको छ । त्यतिमात्रै होइन, कार्यक्रमका वक्ताहरूले नेकपा (एस) को खोइरो खने । एमाले महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट पार्टी फुटाएर विरोधी पार्टीलाई सत्ता सुम्पिने माधव समूहको गठबन्धन चकनाचुर हुने दाबी गरे । ‘एमालेविरुद्ध जुन गठबन्धन बनेको छ, यो गठबन्धन धेरै दिन टिक्नेवाला छैन । यो चकनाचुर हुनेवाला छ । यो गठबन्धन मुलुकको विकास र समृद्धि रोक्नका लागि हो । मुलुकको राजनीतिक स्थायित्व धराशायी बनाउन हो,’ उनले थपे, ‘यो अराजकतालाई बढावा दिनका लागि हो । सामाजिक सद्भावलाई खलवल्याउने र विदेशीको इसारामा घुँडा टेक्ने गठबन्धन हो । एमाले यसको विरुद्ध लाग्छ ।’

एमाले सचिव पृथ्वीसुब्बा गुरुङले एकीकृत समाजवादीले कम्युनिष्टको आदर्शविपरीत काम गरेको आरोप लगाए । ‘अहिले एमाले विभाजित गरेर कम्युनिष्ट भन्ने शक्तिहरूले दलाल नोकरशाही पुँजीपतिहरूको संरक्षण गरिरहेका छन् । विदेशीको इसारामा नाच्ने पार्टीको नेतृत्वमा सरकार बनाएका छन्,’ उनले भने, ‘यो सरकार दलाल नोकरशाही पुँजीवादीहरूको हो । यसविरुद्ध एमाले लाग्नुपर्ने छ ।’ उनले माओवादी र एकीकृत समाजवादी कुनै पनि हालतमा कम्युनिष्ट हुन नसक्ने बताए ।

पूर्वगृहमन्त्री अधिकारीले एमालेको विभाजन सेटिङबाट गरिएको भन्दै त्यो नस्वीकार्ने बताए । एमाले महासचिव ईश्वर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वगृहमन्त्री खगराज अधिकारीलगायत कार्यक्रमको वक्ता थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *