व्यंग्य : खै के खै के

डिसी नेपाल
७ कार्तिक २०७८ ७:३४

सरकार गठन भएको सय दिनमा गनिने र हनिमुन पिरियड भनिने अबधी सकिएको अबसर पारेर प्रमुख प्रतिपक्षी दलका नेता बालकोटे कामरेडले आफ्नोे दलले चाहेमा बढीमा एक हप्ताभित्र सरकारलाई ढाल्ने र यस्ता अबैधानिक गठबन्धनलाई तुरुन्तै फाल्ने अनि जनताका सबै समस्याका मूहानहरुलाई आफूलेमात्रै टाल्ने अद्भूत क्षमता आफूसित भएपनि चूनाव जितेर मात्रै त्यस्तो कदम चाल्ने उद्घोष गरेको सुनियो।

चुनाव जितेर झण्डै साँढे तिन वर्ष शासन गर्ने आसनमा बसेर भाषण गर्दागर्दै र सबैलाई अति हेपेर सरकारी ढुकूटीमा चर्दाचर्दै अध्यादेशबाट फुस्केर जाँदा नै चूनाव जितेपछि जनताको लागि कस्तो काम गर्ने बानी छ भन्ने ससाना नानीहरुलाई पनि राम्ररी जानकारी हुन आयो।

जे भएपनि हनिमुनको लागि बधाइ दिनपर्ने बेलामा ढाल्ने कुरा बोलेर मौखिक छुरा चलाउनूभन्दा सय दिन पूरा गरेकोमा बधाइको लागि कन्जुस्याइँ नगरेको भए बेश हुन्थ्यो भन्नेहरुपनि भेटिए।

त्यसो त यसभन्दा अगाडिपनि चार पटक हनिमुनको अनुभव लिएर अहिलेपनि यही पिरियडसम्म सरकार बचाइ सकेका र असक्षम भन्ने पगरीलाई आफ्नै पेवाजस्तो गरी एकलौटि रुपमा पचाइ सकेका सरकार प्रधानको लागि कुन हनिमुन कुन के? कहिले हनिमुन नमनाएका र त्यहाँ पुगेर सहभागिता नजनाएका मान्छेहरुलाई पो ठूलो अचम्मको बिषय होला। अनुभवी र पटकेको लागि जस्तोसुकै चटके हनिमुन भएपनि खासै अर्थ राख्ने कुरो भएन।

शायद चाहेपनि र नचाहेपनि फर्किफर्कि बालुवाटार र सिंहदरबारमा हावा खाएर बसेपनि अनि बिरोधीले जतिसुकै निहु खोजेर अप्ठ्यारो पार्न कम्मर कसेपनि र सबै बल लगाएर घुँडा धसेपनि खप्पर बलियो भएपछि कसैको केही नलाग्ने रहेछ।

यस्तो हनिमुन मनाउन र सरकारमा बसेर गनाउन नपाएर मरिहत्ते गर्नेहरुको लामै लर्को देखिएको बेलामा अपुताली परेजस्तै गरि आएको मौकामा काम देखाउनुकोे सट्टा सबैथोकमा झर्को मान्दै गाँजाको सर्को लगाएर चर्को निन्द्रामा परेजस्तो हनिमुन भएर पनि बधाइ दिन गाह्रो परेको भन्ने खै के खै के जस्तो बहुलट्ठी तर्कमा जनताको चाहिँ पटक्कै बिश्वास छैन।

चुनावमा मतपत्र लुट्ने, अरु दलका समर्थकहरुलाई कुट्ने चुट्ने, अलिकति बिरोध गर्यो कि गोलीले भुट्ने आदि अनुभवले खारिनुको साथै मतपत्र खोस्ने, त्यसमा आगो झोस्ने, समानताका ठूलाठूला गफ दिएर आफन्तलाईमात्रै पोस्ने जस्ता ज्यादै उन्नत कार्यहरु गर्दै मतपत्र टोक्ने र त्यसको आधारमा छोरी बुहारी बोक्ने ज्यादै लोकतान्त्रिक संस्कारको अभ्यास गर्दै आएका हुनाले आउँदो चुनावमा जनताले यिनलाई निराश पार्ने अनि यिनी आफैंले सोचेको स्थानमा झार्ने सम्भाबना भने देखिन्न।

यो हनिमुन सरकार प्रधान एक्लैको हनिमुन पनि होइन। यो त गठबन्धनका सबै शिर्ष नेतृत्वको सामुहिक हनिमुन हुनपर्ने र यसले यिनीहरु सबैको मनलाई छुनपर्ने हो। यही कारणबाट यो हनिमुनलाई सरकार प्रधानले मेरोमात्रै एक्लो हनिमुन हो भन्न नमिलेपनि यसबाट टन्न फाइदा उठाउन चाहनेमा गठबन्धनका सबै शिर्ष नेताहरु लालायित हुनू जनताको लागि ज्यादै सुखद खबर हो।

सरकार गठनको परमादेशपनि जनताकै लागि हो,गठबन्धनको गठनपनि जनताकै लागि हो, सरकारमा भागबन्डा पनि जनताकै लागि हो, गठबन्धनमा जति दलहरु भएपनि तीनतीन महिनासम्म सरकार प्रधान एक्लैले जम्मा चारजना मन्त्रीको भरमा सरकार थाम्नु र कुर्सी फुस्केला भनेर सरकालाई पूर्णता दिनलाई काम्नुपनि जनताकै लागि हो अनि किस्ताबन्दीमा मन्त्री थप्दै र अरु जेसुकै भएपनि कुर्सी तलमाथि नपरोस् भनेर अनेक किसिमका मन्त्र जप्दै मन्त्रिपरिषद बिस्तार गरेर हनिमुन मनाउन सक्नु आदि सबै जनताकै लागि हो भन्ने जनताले राम्ररी बुझेका छन्।

सरकार प्रधानमात्रै होइन गठबन्धनमा नारिएका र सरकार हाँक्ने दलका रुपमा अघि सारिएका शिर्षहरुबाटपनि सबैथोक जनताकै लागि तयार पारिएका हुनाले कुर्सीमा मात्रै ध्यान दिएर आँशु झारिएका भनेर लगाइएका आरोप झुटा हुनाले गठबन्धनमार्फत सत्ताको बाजी मारिएका हुन् कि भन्ने शंका जनताको मनमा छैन।

कुर्सीमामात्रै ध्यान भएकोले ज्यान फालेर र हत्ते हालेर सबै तहका कुर्सी आफू र आफ्नोे दल बाहेक अर्काले नपाओस् र अरुलाई देखाइदेखाइ नखाओस् भन्ने बाहेक अरु कुरामा कुनैपनि शिर्षको चासो नभएकोले जनताको नासो स्वरुप पाएको कुर्सी आउँदो चुनावमा गलपासो नबनोस् अनि कसैलेपनि असक्षम नभनोस् भनेर खै के खै के मा बिशेष जोड गर्न खोजेका हून् कि भन्नेपनि जनतालाई लागिरहेको छ।

अहिले सबै दलका शिर्षहरुमा एउटा अद्भूतको क्षमता देखिन थालेको र तलसम्मकालेपनि त्यस्तै कदम चालेको देखिन्छ। आफ्नोे क्षमता योग्यता योजना देश र जनताप्रतिको दृष्टिकोण आदि जनतालाई बताउने अनि त्यसमार्फत चुनावी भबिष्यको बाटो तताउने भन्दा अर्कालाई गाली गरेर सबैलाई सताउने गजबको राजनैतिक संस्कारको बिकास भइरहेको र यही नै सबैथोकको निकास हो भन्ने दृढ धारणा देखिनु जनताको लागि ज्यादै हितकारी कदम हो।

त्यही भएर सबै दलका सबै नेता कार्यकर्ताहरु आफ्नो बिरोधी र सम्भाबित बिरोधीहरुलाई खूइल्याउने, नंग्याउने, एकअर्कालाई खिसीट्यूरी गरेर मुख बंग्याउने, भण्डाफोर गर्ने, चाहिँदो नचाहिँदो दोषारोपण गर्ने, आफू बाहेक अरु सबैको गल्ती कमजोरी मात्रै औंल्याउने, बिहान उठेदेखि राति नसूतेसम्म एकअर्काको कुभलो चिताउने र मूखले सबै बिरोधीहरुलाई बिताउने, चुनावमा सबैको पत्तासाफ हुने जानकारी अहिलेबाटै गरेर नथाक्ने, चुनाव हुनु कहिले हो अहिले नै आफ्नोे बहूमत आएको सपना देख्ने र त्यो बाहेक अरु केही जपना समेत नगर्ने आदि आदि मात्रै गरेको हेर्दा छोरो पाउनु कहिलेकहिले कन्दनी बाँध्न धाउनु अहिले भनेजस्तो पो देखिन्छ।

अघिल्लो चुनावमा जितेर संसदको एक अबधी कुर्सीको लूछाचुँडी र एकअर्काको खूट्टा तान्न र एकअर्कालाई छिर्की हान्न बाहेक अरु कूनै काम नगरी सकिने पक्का भएकोले यस्को उल्टो धक्का कमसेकम आफूलाई नपरोस् अनि जनताको भोटले कमसेकम आफ्नोे दानापानी नहरोस् र कुनैपनि हालतमा आफ्नो बिरोधीहरुको गर्जो नटरोस् भन्नूको साथै अहिलेबाटै बिरोधीहरुको भोटको मेलो नसरोस् भन्ने पबित्र खै के खै के जस्तो राजनैतिक भावना जनताले पटक्कै बुझेका छैनन्।

सबै दलका शिर्षहरुले आफ्नोे वास्तबिक अबस्थाको राम्रोसित मुल्यांकन गरेर नै आउने र जनताले भोट हाल्न धाउने बेलै नभइकन रातोदिन चुनावको रटना गर्न थालेको देख्दा शिर्षहरुले आफूमाथि नसोचेको घटना हुनसक्ने हो कि भनेर सोच्न सुरु गरिसकेका हुन् कि भन्ने मुर्खहरुले हाम्रा शिर्षहरुलाई चिनेकै रहेनछन् भनेर बुझिदिन पर्ने हुनसक्छ।

आफू र आफ्नोे ज्यादै लोकप्रिय दलले चाहनेमात्रै हो भने ढिलोमा सातदिन भित्र अहिलेको गठबन्धनको सत्ताको पत्ता साफ गर्न सक्ने बालकोटे कामरेडको भनाइ ज्यादै सही हो। यसकासाथै आउँदो निर्बाचनमा गत निर्बानमा भन्दापनि बढी सिट ल्याएर देशैभरि हिट खाँदै अझ बलियो सरकार बनाएर सबैलाई देखाइदिने उनको भनाइ अझ खरो भएको भन्ने जनताको दरो मत रहेको देखिन्छ।

त्यति ठूलो उद्देश्य राखेको हुनाले मात्रै आफ्नोे सरकार ढल्दापनि चुप लागेर बसेको र बालुवाटारबाट बालकोटतिर गुन्टा कसेको भन्नेपनि जनताले बुझिसके। त्यही कारणलेमात्रै आफ्नोे दल टुक्रिँदा र आफ्नै दलका नेताहरु दल फुटाएर आफ्नै बिरुद्धमा डुक्रिँदा पनि चुप लागेर बसेको भन्नेपनि जनतालाई थाहा छ।

दुइ तिहाइ बहुमत हुँदा केही गर्न नसकेको भन्दापनि अरुले काम गर्न नदिएको र यसलाई सकारात्मक रुपमा नलिएको हूनाले अब शतप्रतिसत ल्याउने र यसअघिको भन्दापनि कडा तरिकाले सबैतिर भ्याउने पुनित कार्यमा जनताको साथ र सहयोग नहुने कुरै आएन।

यसको लागि एकछापे मतपत्र छाप्ने र आफ्नोे औकात नाप्ने कामको थालनी भइसक्यो रे भन्ने खबरपनि बिरोधीहरुले चलाउने हुनाले तिनीहरुलाई उठ्नै नसक्ने गरि गलाउने योजना गोप्य भएपनि अलिअलि चुहिएको र यसबाट बिरोधीहरुको सोच नै कुहिएको भन्ने आरोप यिनका लठैतहरुले सबैलाई लगाउन भ्याइसकेको उडन्ते खबरको सत्यतामा जनताको अति दिलचस्पी भएको देख्दा मनभित्र जति जोडले ढ्यांग्रो ठोकेको भएपनि बालकोटे कामरेडको देखावटी आत्मबिश्वासलाई मान्नैपर्छ र यिनले सोचेको खै के खै के पक्का पुग्छ भनेर जान्नैपर्छ भन्ने जनताको बलियो धारणा छ।

अब आउने चुनावमा हार्ने छूट नभएको हूनाले जोसित जस्तोसूकै गुट बनाएर भएपनि चाहेजति लुट मच्चाएर जसरी जे गरेर सकिन्छ त्यही गरेर चुनाव जित्नै पर्छ भनेर कार्यकर्ता तताउने गरेपनि मौका पायो कि भेटेसम्मका सबैलाई सताउने र अस्थिर मनस्थिति भएजस्ता कुरामात्रै बताउने गरेर स्वघोषित महान नेता समेत भनिने खूमलटारे कामरेडको अहिलेबाटै चुनावको तयारी सुरु भइसकेको देखिन्छ।

आफ्नोे चोर बुद्धिसहितको गफ अबपनि सबैले पत्याउने र यसैको आधारमा सत्ता हत्याउने निकै अग्रगामी सोचसहित अघि बढ्दापनि चूनावमा जनताले लत्याउने हुन् कि भन्ने डरले यिनलाई पछ्याएको भनिहाल्न नमिलेपनि यिनले भने जसरी नै चुनाव जित्नेमा गनिहाल्न चाहिँ जनतालाईपनि अप्ठ्यारो परेजस्तो छ।

यस्तै ढूलमूले चाला कायम रहने हो भने आफूपनि नासिने र छलछामको भरमा यहाँसम्म ल्याएको दलपनि मासिने सम्भावना देखेर कहिले कोसित कहिले कोसित गाँसिने गर्दै जोगाएको दल नामक बिर्ताबाट फिर्ता भइएला र भबिष्यमा उठ्न नसक्ने अबस्थामा गइएला भन्नेपनि यिनलाई लागेको हुनपर्छ भनेर खै के खै के खालको यिनको मनको कूरो ठ्याक्कै थाहा पाउने जमातकोपनि कुनै कमी छैन।

यिनलाई कहिले मर्न मन लाग्ने,कहिले सरकार हाँकेर त्यसमा मजाले चर्न मन लाग्ने, कहिले गतिलो उत्तराधिकारी पाएमा साँढे तीन दशकसम्म निर्बिरोध रुपमा बसेको अध्यक्षको कुर्सीबाट स्वेच्छाले झर्न मन लाग्ने, कहिले चोरी डकैती लूटपाट असुली हत्या आदि जेपनि गर्न मन लाग्ने, कहिले जसको जेपनि हर्न मन लाग्ने र कहिले जतिसुकै अनैतिक कामको लागिपनि अघि सर्न मन लाग्ने हून्छ रे भनेको कतैकतै सुनेपनि जनताले चाहिँ पत्याएका छैनन्।

अनेक तिकडम गरेर बनाएको र कुनै जमानामा देशकै ठूलो दलको रुपमा उपस्थिति जनाएको यिनको दल अहिले निकै टूक्रामा बाँडिएको र चौबाटोमा आएर भाँडिएको हुनाले यिनलाई चुनावी भबिष्यप्रति त्यति बिश्वास नभएपनि जनतालाई यिनीप्रति पूर्ण बिश्वास रहेको पाइन्छ।

चुनावमा मतपत्र लुट्ने, अरु दलका समर्थकहरुलाई कुट्ने चुट्ने, अलिकति बिरोध गर्यो कि गोलीले भुट्ने आदि अनुभवले खारिनुको साथै मतपत्र खोस्ने, त्यसमा आगो झोस्ने, समानताका ठूलाठूला गफ दिएर आफन्तलाईमात्रै पोस्ने जस्ता ज्यादै उन्नत कार्यहरु गर्दै मतपत्र टोक्ने र त्यसको आधारमा छोरी बुहारी बोक्ने ज्यादै लोकतान्त्रिक संस्कारको अभ्यास गर्दै आएका हुनाले आउँदो चुनावमा जनताले यिनलाई निराश पार्ने अनि यिनी आफैंले सोचेको स्थानमा झार्ने सम्भाबना भने देखिन्न।

आउँदो चुनावसम्म गठबन्धन कायम रहन्छ भनेर जतासुकै भन्दै हिँडेपनि बिगतका गठबन्धनका अनुभवीहरुले यसलाई ठूलो बिषयको रुपमा गन्दै बसेको नदेखेर गठबन्धन नभए हत्पती चुनाव नजितिने भएर हो कि अरु कारणले हो यिनको छाती भत्भती पोलेको हुनाले यिनले यस्तो खै के खै के बोलेको भन्ने बिरोधीहरुको भनाइमा जनताको पटक्कै बिश्वास छैन।

ललिता निवास जग्गा प्रकरणको अदालती फैसला र चौध सांसदको पद खारेजी सम्बन्धि मुद्दाको नतिजा कुरेर भाइभतिजालाई दलका पद बाँड्दै हिँडेका कोटेश्वरे कामरेडलाई चाहिँ त्यति चुनाव लागेजस्तो नदेखिएपनि एक्लै चुनावमा जाँदा नसोचेको चाला भएर पराजयको माला भिर्न नपरोस् भनेर गांसिने जोडिको खोजी भइरहेको भन्ने जनतालाईपनि लागेको छ।

यस्तै खै के खै के अबस्था देखिएपनि मन्त्री पदको बिक्रीबाट पाएको नगद पचाउने र मन्त्री पद नपाएर भाँडिएकाहरुबाट दललाई बचाउने कामपनि मिलाउनै पर्यो अनि आफूले छाँट्दै आएको आदर्श अनुसारको भरोसापनि सबैलाई दिलाउनै पर्‍याे।

अर्को गठबन्धनको मधेशवादी दलबाट मन्त्री पद पड्काउनेहरुका कारण अध्यक्षलाई खुट्टा अड्काउने र नेता कार्यकर्ता भड्काउने धेरै भएपनि नगदको चारो बाहेक अरुथोकबाट चित्त बुझाउन गाह्रो हुने कुरा राम्ररी बुझेका अध्यक्षले यसैको खै के खै के आश्वासनद्वारा समस्या सुल्झाउँदै गएको देखेर त्यताका जनतालेपनि निकै राहत महसुस गरेका छन् रे भन्ने सुनिन्छ।

खै के खै के अबस्थाबाट सरकार हांकिरहेका सरकार प्रधानलेपनि सरकारको पूर्णता पछि हनिमुन समेत मनाएर बालुवाटारमा आराम गरिरहेका र सरकारको कामभन्दा दलको महाधिबेशनलाई प्राथमिकतामा राख्न अघि सरिरहेका देखेर जनताले स्याबासी दिएका छन्।

यति योग्य र दूरदर्शी सरकार प्रधान भएपछि देशले अग्रगामी छलांग मार्न र सबै समस्याहरुलाई निर्मुल पार्न अरु कोहिपनि चाहिँदैन भन्ने कुरा दार्चुलाको तूइन काण्डमा देखाएको ब्यबहार, एमसिसीप्रतिको ब्यबहार, संसदको गतिरोध प्रतिको ब्यबहार, प्रधान न्यायमूर्तिलाई दिएको भागबन्डा, बेमौसमी बर्षा पीडितको हवाइ निरीक्षण र कर्मकाण्डी आश्वासन, सरुवा बढूवा र नियुक्तिहरुमा गरिएको भागबन्डा आदिबाट प्रष्ट भएकै छ।

कुर्सी जोगिन्छ र माखो मार्नेसम्मको काम नगरिकन त्यसको सुख भोगिन्छ भने जोसित जस्तोसूकै भागबन्डा गरेर बसिबसी सुनको अण्डा हातलागि गर्दै देश र जनतालाई डण्डा चलाएर ठण्डा बनाउन पछि नपर्ने यिनको बानी छ रे भन्ने खै के खै केवाला बिरोधीहरुको भनाइमा खासै सत्यता छैन भन्ने जनताको भनाइ छ।

संबैधानिक मुद्दाहरु देखाएर र गठबन्धनको पक्षमा असंबैधानिक पैmसलाहरु लेखाएर सरकार लगायत सबै ठाउँमा भागबन्डाको सुबिधा लिँदै आएका र तिनै मुद्दाहरुका आडमा सरकार प्रधान लगायत सबै शिर्ष भनिएका नेताहरुलाई तर्साएर खाएका प्रधान न्यायमूर्तिले न्यायालयको मान मर्यादा इज्जत प्रतिष्ठा आदि सबैलाई धेरै माथिल्लो उचाइमा पुर्याएको सबै शिर्ष नेतृत्वले अनूभव गरिरहेको हुनुपर्छ।

यही कामको लागि नै लेनदेनको आधारमा यिनलाई कहाँ कहाँबाट टपक्क टिपेर सर्बोच्चमा थपक्क बसाल्ने यिनै शिर्ष नेताहरुलाई मुद्दा मामिलाबाट तल खसाल्ने ग्यारेन्टी बाहेक अरु कुनै काम नगरी भेटेसम्मको नगद खल्तीमा पसाल्ने अत्यन्त कानून सम्मत कार्य भइरहेकोमा कसैलेपनि गलत अर्थ लगाउनु भनेको प्रतिगामीहरुलाई सघाउनु बाहेक अरु हुनै सक्दैन। त्यही भएर जनतापनि खै के खै के अबस्थामा पुगेको धेरै भइसकेको छ रे भन्ने सुनिन्छ। कुरो चाहिँ के कसो हो थाहा भएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *