हत्या गरी आँगनमै पुर्ने दुई पक्राउ
काठमाडौं। सिन्धुपाल्चोकमा एक पुरूषको हत्या गरी उनैको घरको आँगनमा गाडेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको हत्या गरी फरार रहेको आरोपमा काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसङ्खुपाखर–७ का छिरिङ तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
गत असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पुरिएको अवस्थामा शव फेला परेको थियो । घरअगाडि आँगनमा मानिसको दुवै खुट्टाको औँला मात्र देखिने गरी खाल्डो खनी बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको शव फेला परेको थियो । घरअगाडि शव फेला परेपछि प्रहरीले केनाइन महाशाखा, काठमाडौँमा समन्वय गरी विशेषज्ञसहित कुकुरको टोली झिकाई अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल वरपर रहेका छरछिमेकका मानिसहरुले तीन दिन अघिदेखि मृतकको घरमा दुईजना अपरिचित पुरुष आउनेजाने गर्ने गरेको भन्ने सूचनाका आधारमा थप अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रनाउ बस्नेतले बताए । मृतक दाहालले प्रयोग गर्ने मोबाइल मृतकका साथमा फेला नपरेको तर मोबाइल भने चालु नै रहेकाले सोही मोबाइलको लोकेसनका आधारमा काभ्रेका मगर पक्राउ परेका थिए । मगरलाई सोही दिन साँझ ७ बजे नै मेलम्चीस्थित हेलम्बु बसपार्कबाट पक्राउ गरिएको उनले बताए ।
मगर पक्राउ परेपछि उनकै बयानका आधारमा सिन्धुपाल्चोकका तामाङलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ नारायणटारबाट असोज २८ गते पक्राउ गरिएको हो । मृतक दाहाल र आरोपीहरुबीच दाहालको घर बनाउन ठेक्का लिने सहमति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आरोपीहरुले असोज १९ गते राति नै दाहालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Facebook Comment