अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल

धनकुमार कार्की
९ कार्तिक २०७८ २१:१८

काठमाडौं । नेपालमा अवैध शरणार्थीका लागि उर्वर भूमि बन्दै गएको छ । द्वन्दग्रस्त मुलुकका नागरिकहरु असुरक्षित महशुस गरी भारतको बाटो भई नेपाल प्रवेश क्रम बढ्दै गएपछि उर्वर भूमि बन्न थालेको हो ।

नेपालको भिसा नीति उदार रहेको र खुला सिमाना रहेका कारण द्वन्दग्रस्त मुलुकका नागरिकलाई नेपाल आएर बस्न सहज भएको छ । नेपालमा खुला सीमानाको कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै जान थालेका छन्  । असोज र कात्तिक मात्रै द्वन्दग्रस्त मुलुक अफगानिस्तानका नागरिकहरु नेपालमा आएका थिए ।

उनीहरुलाई संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर)ले अस्थायी बसोबास दिएपछि थप अफगानी नागरिकहरु नेपाल आएको र उनीहरु मध्ये ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ । अहिले उनीहरुलाई डिपोर्ट गर्ने कि नेपालमै रहनदिने भन्ने बारेमा अध्यागमन विभागमा छलफल भैरहेको छ ।

‘अफगानी नागरिकलाई डिपोर्ट गर्ने कि के गर्ने भन्ने बारे अझै छलफल चलिरहेको छ’, अध्यागमन विभाग स्रोतले भन्यो ।युएनएचसिआरले डिपोर्ट नगर्न नेपाल सरकारलाई दबाब दिइरहेका कारण पनि उनीहरुबारे अध्यागमन विभागले कुनै पनि निर्णय गरेको छैन ।

गृहमन्त्रालयका अनुसार अहिले नेपालमा १० देशका २० हजार भन्दा बढी शरणार्थी रहेका छन् । त्यसमा अफगानी नागरिक पनि थपिएका हुन् । अहिले आठ देशका नागरिक भने अवैध हुन् । सरकारले भुटान र तिब्बतका शरणार्थीलाई मात्र नेपालले मान्यता दिएको छ । म्यानमार, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, यमन, इराक, इरान, श्रीलंका र सोमालियाका गरी ६ सय ७८ शरणार्थी पनि नेपालमा अवैध हुन्  । नेपालमा द्वन्द्वग्रस्त देशका शरणार्थीहरू थपिने क्रम बढेको छ । उनीहरूमध्ये कतिपय भारत हुँदै स्थलमार्गबाट भित्रिने गरेका छन् भने कतिपय पर्यटकका रूपमा आएर यहाँ शरणार्थी बनेर बसेका छन् ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट शरणार्थीहरू नेपाल आउन सक्ने जोखिम गृह मन्त्रालयले आँकलन गरेपनि त्यसलाई रोक्न सकेन  । ‘मन्त्रालयले सीमा क्षेत्रमा निगरानी बढाउन निर्दैशन दिएको थियो तर केही व्यक्तिहरु नेपाल छिरेको पाइयो’, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने । उनका अनुसार अहिले पक्राउ परेका अफगानीलाई कानुनी कारवाही अघि बढाइनेछ । तर कस्तो कारवाही हुन्छ भन्ने बारेमा उनले बोल्न चाहेनन ।

अवैध शरणार्थीको संख्या बढ्दै गर्दा नेपालमा सुरक्षा चुनौती पनि बढ्न थालेको छ । खासगरी शरणार्थीलाई प्रयोग गरी कुनै आतंकवादी समूहले आपराधिक गतिविधि गराउन सक्ने सुरक्षा अधिकारीहरूको चिन्ता छ । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनैपनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन तर युएनएचसिआरले नेपाल आएका वेवारिसे विदेशी नागरिकलाई अस्थायी बसोबासको कार्ड बनाइन्छि ।

सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिएको छ । यही फाइदा उठाएर यूएनएचसीआरले अस्थायी बसोबासको कागजात बनाइदिन्छ । प्रहरीका लागि भने यो चिन्ताको विषय बन्ने गरेको छ । ११ जना अफगानी नागरिक पक्राउ परेपछि प्रहरीमा यो चिन्ता झन थपिएको छ । प्रहरीले दिएको जानकारी अनुसार उपचारको निहुँमा आफ्नो मुलुक छाडेर भारत आइपुगेका ७ अफगानी नागरिक सुनौली–बेलहिया नाका हुँदै काठमाडौं आइपुगेका थिए । त्यसअघि असोजमै दुई जना नेपाल आएका थिए । उनीहरुले नै अन्य अफगानीलाई नेपाल आउन प्रेरित गरेका हुन् । असोजमा आएका उनीहरुले यूएनएचसीआरबाट अस्थायी बसोबासको प्रमणपत्र लिइसकेका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता डराएर मुलुक छाड्नेहरू विभिन्न देश पुगे पनि शरणार्थी बनेर समूहगत रूपमा नेपाल भित्रिएको यो पहिलो पटक हो । अहिले आएका बाहेक नै ५५ जना अफगानी नागरिक नेपालमा शरणार्थीको रुपमा बस्दै आएका छन् ।

उनीहरुले नै अन्य नागरिकलाई नेपाल ल्याउने संभावना पनि उत्तिकै रहेको प्रहरीले जनाएको छ । ‘यहाँ रहेका शरणार्थीहरुको पनि ट्रयाक रेकर्ड हेर्दैछौ अबथ प आउन नदिने सबै तहमा परिपत्र भैसकेकोछ’, नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । अफगानी शरणार्थीको अतिरिक्त अहिले म्यान्मारबाट आएका रोहिंग्या शरणार्थीको मार पनि नेपालले खेपिरहेको छ ।

काठमाडौको कपन क्षेत्रको सुकुम्वासी बस्ती नै उनीहरुले कब्जा गरिसकेका छन् । रोहिंग्यालाई एक समूहले नेपालको सीमा सम्म ल्याइदिने अर्को समूहले झापाबाट काठमाडौंसम्म ल्याएर उनीहरूलाई संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर)को महाराजगन्जस्थित कार्यालय छेउमा पुर्‍याएर छाडिदिने गरेका छन् । त्यसबापत दुई लाख ५० हजार बंगलादेशी टाका (करिब साढे दुई लाख नेपाली) लिने गरेको भन्दै प्रहरीले एउटा समूहलाई पक्राउ समेत गरेको थियो । नेपालमा रोहिंग्या शरणार्थीहरुको संख्या करिब ६ भैसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *