व्यग्य : सबैथोक बिक्री, जनतालार्ई मात्रै फिक्री – Dcnepal

व्यग्य : सबैथोक बिक्री, जनतालार्ई मात्रै फिक्री

प्रधानन्यायमूर्तीले पत्रकार सम्मेलन गरेर सबैको पोल खोलखाल पारेर अहिलेसम्म छलछाम गर्दै सबैतिरबाट चोक्टा खाएर बसेकाहरुलाई झोलमा डुबाउने ब्यबस्था गरिदिन्छु र सबैले भनेका कूराहरु छरपष्ट पार्न अघि सरिदिन्छु भनेर सरकार प्रधानलाई बालुवाटारमै गएर थर्काए अनि केही भन्नै र गर्नै नसक्ने गरी मुखभरीको जवाफ फर्काए भन्ने सुनेर जनता ज्यादै खुसी भए रे। सबै नेताहरु यसैमा खुसी भएपछि जनता खुसी नहुने कुरै भएन।

नेताहरुको खुसी नै जनताको खुसी हो भनेर त्यसै भनेको होइन रहेछ। परमादेश गर्नु अघि सरकार प्रधानले केके भने, कोटेश्वरे कामरेडले के–के भने, खुमलटारे स्वघोषित महान नेता कामरेडले के–के भने, ललिता निवास प्रकरणको फैसला के कारणले अहिलेसम्म रोकियो, सभामुखबाट भएका महान कार्यहरु अन्तरगतको ज्यान मुद्दा किन अड्किरहेको छ, कोटेश्वरे कामरेडसहितका चौधजना माननीयहरुलाई पुरानो दलले निष्काशन गरेको मुद्दा किन थाँती बसेको छ, अध्यादेशबाट भएका संबैधानिक नियुक्तिहरुको खारेजी सम्बन्धि मुद्दा किन त्यसै बसेको छ आदि आदि सबैको बारेमा पत्रकार सम्मेलन गरेर साबिती बयान दिए जसरी बोल्छु र आफू लगायत सबैको पोल खोल्छु भन्दै कड्किएपछि अनि सरकार प्रधानसमेत तर्सने गरी पड्किएपछि हाललाई मार्ग प्रशस्तको बिषय सेलायो अनि प्रधान न्यायमूर्तीको घुर्किले शिर्ष भन्ने सबै नेताहरुलाई खेलायो जस्तो छ।

सबै ऐतिहासिक खाले पात्रहरुको जमघट भएको शासन ब्यबस्था र देशको अबस्था हेर्दा कसले कसलाई कहिले के–के गुन लगाएर मुखमा नुन पारेको छ उसैले आफ्नो इच्छा अनुसारको नगद झारेको छ अनि मनले चिताएको आशनमा बस्ने बाजि मारेको छ भन्ने राम्ररी बुझ्न सकिन्छ।

प्रधान न्यायमूर्ती पड्कनासाथ र सरकार प्रधानको बोली घाँटीमै अड्कनासाथ गठबन्धनका अन्य शिर्ष नेताहरुलाई बोलाएर लौ प्रधान न्यायमूर्तीले बिताउने जस्तो भएकोले अरु न्यायमूर्ती र वकिलहरुलाई उचाल्न चिताउने काम तुरुन्त बन्द गराउन पर्यो नत्र तपाई हामीले आफ्नो कामको लागि भनेर राखेको मान्छेसित आफै डराउन पर्ने अबस्था आयो भन्दै कराएर हिँड्नपनि भएन भनेर सम्झाए रे भन्ने खबरमा सत्यता चाहिँ भएजस्तो कसैलाईपनि लागेको र कसैलेपनि यस बारेमा थप जानकारी मागेको देखिएन।

सर्बोच्चमा न्यायमूर्तीहरुले इजलास बहिष्कार र कानून ब्यबसायीहरुले बहस बहिस्कार गरेर यिनको राजीनामा मागेकोमा राजीनामा नदिने र सडकमा कोही कराउँदैमा भाग्ने खालको निर्णय नलिने यिनको सोच ज्यादै लोकतान्त्रिक देखिन्छ। जुन प्रक्रियाबाट नियुक्त भइयो र यदि गइयो भनेपनि त्यहि प्रक्रियाबाट गइयो नत्र गइन्न भन्ने यिनको भनाइ एकदम ठिक हो।

त्यसैपनि उनलाई कहाँकहाँबाट टिपेर यहाँसम्म ल्याइ पुर्याउँदा कसकसको खल्तीमा कतिकति पर्यो र दलको लागि भनेर कति झर्यो भन्ने यिनै शिर्षहरुलाई राम्ररी थाहा छ रे भनेर जसले जति बताएपनि र बिरोधीले यो बिषयलाई जति तताएपनि जनताले पत्याएका छैनन्।  नेताहरुले राजनीतिको ब्यापार गर्न खोलेको पसल बारेका नचाहिँदा कुराहरु असल जनताले चियोचर्चो गर्न थाल्यो भने उनीहरुको राजनीतिक फसल राम्ररी नफल्ला भन्ने जनतालाई थाहा छ।

यति योग्य सरकार प्रधान, त्यति नै योग्य गठबन्धनका अन्य शिर्ष नेताहरु,त्यस्तै योग्य प्रमुख प्रतिपक्षी दलका नेता, त्यस्तै योग्य अन्य साना दलका नेता आदि सबै मिलेर र आफ्नो भागमा आएको नगद सर्लक्क निलेर अति योग्य ब्यक्तिलाई नियुक्ति गरेपछि यस्तो नतिजा बेहोर्न पाउनुलाई उहाँहरुले सामान्य रुपमा लिएको हुनाले न्यायालयको अबस्था सुधार्नतिर खासै ध्यान दिएको देखिएन भन्ने अरु बिभिन्न खाले अति योग्य ब्यक्तित्वहरुले गर्ने गरेको टिप्पणीलाई जायज मान्न पर्छ।

अहिलेका प्रधान न्यायमूर्ती ज्यादै अनुभवी र योग्य भएर नै राजनीतिका महान खेलाडीहरुले छानेका र उहाँहरुको छनौटलाई सबैले भित्री मनबाटै मानेका हुन् भन्ने कुरा सबैले जानेका छन्। कानून पढेरपनि सोचे जसरी अघि बढेर जान नसकेपछि सामान्य कानून ब्यबसाय गर्दागर्दै नगर पञ्चायतको कानूनी सल्लाहकार भएको बेलादेखि नै हरेक कानूनी बिषयमा बल्छी अड्काउने र काम हात पर्नासाथ नगद पड्काउने उनको राम्रो बानी रहेछ।

त्यसै समयदेखि आफैं कानून ब्यबसायी, आफैं कानूनी सल्लाहकार, आफैं बिचौलिया, आफैं सबै ठाउँबाट भागबण्डामा लिने र हातमा परेको नगद बराबरको सेवा दिने कानून ब्यबसायी भनेर उहिलेदेखि चिनिएका र पैसावाल झगडियाहरुद्वारा मजाले किनिएका अनुभवी कानून ब्यबसायी रहेछन्।

एकजना प्रधान न्यायमूर्तीको उमेर बिवादमा मुद्धा हाल्न लगाएर उनलाई गाल्न सफल भएर त्यो मुद्दा फिर्ता लिइदिएको पूरस्कार स्वरुप पुनराबेदन अदालतमा न्यायाधिशको नियुक्ती पड्काउन सफल यिनले कहिले तास खेलाडीको पक्षमा फैसला गर्ने, कहिले तस्करको पक्षमा फैसला गर्ने, कहिले कर छल्नेको पक्षमा फैसला गर्ने,कहिले लागु औषध कारोबारीको पक्षमा फैसला गर्ने, कहिले बन्यजन्तुको चोरी शिकारी र तस्करको पक्षमा फैसला गर्ने जस्ता ऐतिहासिक र चर्चित फैसलाहरु गरेर धेरै पटक न्यायिक टिप्पणीमा परेर पनि दिनदिनै प्रगतिको पथमा अगाडि बढ्दै र सर्बोच्चसम्मको सिँढी चढ्दै आइपुग्नु सामान्य कुरा होइन।

यिनका फैसलाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै संधैभरि चर्चाको बिषय हुँदै आएको र भनेजति नगद बूझाउन नसक्ने पीडितहरु फैसलाबाट रुँदै आएको बारे पहिले देखि नै सबैले सुन्दै आएका हुन्। हातमा आएको र आफूले पाएको नगद एक्लै नखाने र आफ्नो बृत्ति बिकास गर्नसक्नेकहाँ नगद नबोकी नजाने यिनको ज्यादै असल बानीलाई सबैले मन पराएको हुनाले यिनलाई सबैले अति योग्य ठहर्याएको हो रे भन्ने सुनिन्छ।

आफ्ना चर्चित फैसलाहरु बापत प्राप्त भएको अकुत नगद एक्लै नपचाएर आफूलाई माथि तान्ने सर्बोच्चका न्यायमूर्तीहरुका साथै राजनीतिका शिर्ष नेतृत्वहरुलाई समेत राम्रोसित भाग लगाएपछि आफूमाथि लागेका सबै दाग मेटाएर माग गरे अनुसार सर्बोच्चको न्यायमूर्ती भएर सबैको इच्छापूर्ती गर्दै गएपछि अरुका अगाडि यीनको फुर्ती बढ्नु स्वाभाबिक हुने भइहाल्यो।

सर्बोच्चमा आउनको लागि सबै दलका शिर्ष नेतृत्वको द्रब्यमोह पूरा गर्नै पर्यो र संसदीय सुनुवाइमा भागलिने सबै माननीयहरुको पनि गच्छे अनुसारको आर्थिक गर्जो टर्नै पर्‍याे। न्याय परिषदका महानुभावहरुको पनि मूख टाल्नै पर्यो र सहयोग पुर्याउने सानाठूला सबैको खल्तीमा औकात अनुसारको नगद हाल्नै पर्यो। यी सबै सुकार्यहरु पूरा गरेर बल्ल सर्बोच्चमा पुगेपछि यीनले गरेका फैसलाहरु निकै प्रख्यात भएका छन्।

यसो हेर्दा यिनी मान्छेपनि निकै दयालु खालका नै देखिन्छन् र यीनका फैसलाहरुपनि प्राप्त नगदकै आधारमा लेखिन्छन् भनेर प्रख्याती कमाएका अनि यसैमा मजाले सबैलाई बाँडिचुँडी गरेर रमाएका हुनाले यिनको कुरा काटेपनि काम बिगार्ने धृष्टता कसैले गरेको पाइँदैन। इजलास भेट्नासाथ हाकाहाकी खाने र भनेजति पाएपछि दाताको हितमा जुन बाटोपनि जाने यिनको क्षमतालाई मान्नैपर्छ भन्ने अनुभवीहरु निकै पाइन्छन्।

सर्बोच्चमा न्यायमूर्ती भएर यिनी आएको देख्दैमा चकित खाएका भुक्तभोगीहरु थोरै समयमै यिनी प्रधान न्यायमूर्ती भएर सर्बोच्च लगायत सम्पूर्ण न्याय क्षेत्रको नेतृत्वमा पुगेको देख्दा अब माथिदेखि तलसम्म न्यायको किनबेच खुला रुपमा ज्यादै शानदार किसिमबाट हुने भयो र पैसा खर्च गर्न नसक्ने न्याय किन्न नसकेर रुने भयो भन्नेमा ढुक्क परेका थिए। उनीहरुको सोचाइ मिल्न गएको र न्यायमूर्तीहरुले एउटै फैसलामा करोडौं निल्न सकेको देख्ने सुन्नेहरुको लागि यो कुनै अचम्मको बिषय भएन।

प्रधान न्यायमूर्तीले दैनिक सयौं मुद्धाको पेशी तोक्ने र प्रत्येक पेशी बापतको शुल्क अघिल्लो दिन नै बिचौलियामार्फत ठोक्ने अनि नगद दाताको मुद्धाको ग्यारेन्टी बोक्ने काम दैनिक करोडौंमा हुँदा हिसाब गर्नको लागि क्याल्कुलेटरको डिजिटलेपनि नभ्याउने र सानोतिनो मेहनतले गोरु नब्याउने कुरा सबैका अगाडि छर्लंग नै छ।

यीनका भाइ ज्वाइँ साला जेठान आदि समेतका नजिकका नातेदारहरु नै सबैभन्दा ठूला बिचौलिया भएको र धेरै ठूलाठूला मुद्धाहरुको अग्रिम भुक्तानी यिनीहरुमार्फत नै गएको भन्ने सुनिन्छ। पेशी तोक्नको लागिमात्रै यत्रो बूझाउने झगडियाले फैसला गर्नेलाईपनि छूट्टै बूझाउन पर्यो, वकिललाई बुझाउन पर्‍याे, त्यही अनुसार अदालतका तलसम्मका कर्मचारीहरुलाई समेत बुझाउन पर्यो भनेपछि न्यायको दररेट सामान्य ब्यक्तिको सोचभन्दा निकै माथि रहेको बुझिन्छ।

कुनैपनि काम गरेपछि त्यो अनुसारको दाम हाँसिहाँसी हाम गर्ने अनि ठाउँठाउँमा बाँड्ने र मनग्गे नगद नपाए सबैतिरको काम भाँड्ने यिनको बानीलाई न्याय क्षेत्रमा निकै असल मानिन्छ। पेशी तोकेर र आफैंले फैसला ठोकेर अहिलेसम्म यिनले कमाएको नगदको अन्दाजमात्रै गर्ने हो भनेपनि यिनले त्यसै यति बलियोसित खुट्टा जमाएको होइन रहेछ भन्ने प्रष्ट बुभ्न र सुनेर हर्षित हुन सकिन्छ।

नगदकोसाथै जग्गा जमिन सुनचाँदी हिरामोती आदि पनि प्रशस्त मात्रामा लिएको र त्यसको आधारमा न्याय दिएको भन्ने शुभ समाचारहरुपनि प्रशस्तै सुन्न पाइन्छ।

बालकोटे कामरेडको पालामा संबैधानिक नियुक्तिलगायतमा भागबण्डा पाएपछि र त्यसबाट भरपुर फाइदा आएपछि त्यो भन्दा ठूलो भागबण्डा आउने गरी परमादेश गरेको र त्यसबाट सरकारकै भागबण्डामा चरेको आरोपले यहाँसम्मको लफडा आइलागेको र ओरालो लागेजस्तो देखेपछि सबैजना यिनीमाथि जाइलागेको मात्रै हो।

सर्बोच्चमा न्यायमूर्तीहरुले इजलास बहिष्कार र कानून ब्यबसायीहरुले बहस बहिस्कार गरेर यिनको राजीनामा मागेकोमा राजीनामा नदिने र सडकमा कोही कराउँदैमा भाग्ने खालको निर्णय नलिने यिनको सोच ज्यादै लोकतान्त्रिक देखिन्छ। जुन प्रक्रियाबाट नियुक्त भइयो र यदि गइयो भनेपनि त्यहि प्रक्रियाबाट गइयो नत्र गइन्न भन्ने यिनको भनाइ एकदम ठिक हो।

राजनैतिक दलहरुसित महाअभियोग लगाउने र सहकर्मी न्यायमूर्तीहरुसित आन्दोलन गरेर भगाउने तागत नभएको देखेर त्यसो भन्नुलाई यिनको ठूलै साहस मान्नपर्छ। यसबाट न्यायप्रेमी जनतापनि आनन्दित भएका छन्।

सबैद्वारा शिर्ष भनिएका र यिनलाई तानतुन र मानगुनसहित प्रशस्त आर्थिक लाभ हासिल गरेर त्यहाँसम्म पुर्याउनेमा गनिएका नेताहरुले सुरुमा केही गरी पो हाल्छन् र जनताको पक्षमा केही कदम चाल्छन् कि जस्तो देखिएकोमा अहिले त सबैको मुखमा बिर्को लागे जस्तो भएको छ।

यिनीबाट कानूनी सुरक्षापनि पाइने र यिनलाई नियुक्ति गर्दा अरुबाटभन्दा बढी नगदपनि खाइने हुनाले आँखा चिम्लेर गरिएको नियुक्तिमा केही बोल्न र मन लागे जसरी मुख खोल्न पनि भएन। नैतिकताको कुरा गरौं भने नैतिकता भन्ने शब्द नै आफ्नो शब्दकोषबाट मेटिसकेको र सबै पदहरु बिक्री गरेर राम्रो शुभलाभ भेटिसकेको अबस्था छ।

त्यही भएर स्वतन्त्र न्यायालयको बिषयमा बोल्न मिल्दैन भनेर मुखले भनेपनि वास्तबमा यो लफडाले आफूलाई निल्दैन भन्ने यकिन गरेपछि मात्रै बोल्न सुरु गर्ने होलान् भन्ने एकथरी गुरुहरुको भनाइमा सत्यता हूनसक्छ भन्ने जनतालाई लागेको छैन।

सर्बोच्चमा भएका मध्ये लगभग सबै न्यायमूर्तीहरुले यिनले तोकेका सबै इजलासहरु बहिस्कार गरेर असहयोग गर्दै ज्यादै राम्रो काम गरेको हुनाले त्यती दाम कमाएका छैनन् होला भन्ने जनतालाई लागेको छ। यिनीहरु ज्यादै नैतिक, आर्थिक रुपमा ज्यादै चोखा, निष्पक्ष न्याय दिने, कसैसित एक सुका नखाइ काम गर्ने, कूनैपनि बिचौलियाहरुबाट प्रभाबित भएर न्याय सम्पादन गर्ने आदि गुणले भरिपूर्ण हुनुका साथै न्याय निसाफमा परिपूर्ण भएजस्ता देखिन्छन्।

वास्तबमा उहाँहरुपनि दलको झण्डा बोकेर, नेताहरुलाई आफ्नो दररेट तोकेर, बिचौलिया मार्फत पाएको नगदको आधारमा  फैसला ठोकेर र मजाले शुभलाभ धोकेर यहाँसम्म आएका अनि यसैको आधारमा न्यायमूर्ती भएर त्यहाँ बस्न पाएका महानुभावहरु नै हुन्।

त्यसरी नै बिद्वान कानून ब्यबसायी भनिने र सबैभन्दा बढी दलाली गर्नेमा गनिने महानुभावहरुलेपनि बहस बहिस्कार गरेर प्रधान न्यायमूर्तीको राजीनामा माग्नु ज्यादै जायज छ। यिनीहरु जत्तिको नैतिकता भएका त अरु कूनैपनि प्राणी हुँदै हुँदैनन् भने जसरी प्रस्तुत हुने यिनीहरु जति झुट बोल्ने, बिचौलियाको भूमिका निभाउने, हाकाहाकी दलाली गर्ने, जुधाउने बजाउने, छिटो मुद्धाको फैसला हुन नदिने कोही हुँदैनन् भनेर यिनीहरु माथि लागाउने गरिएको लान्छनामा जनताको पटक्कै बिश्वास छैन।

यी सबै प्रकरणले मुद्धा मामिलामा फसेका र कहाँकहाँबाट आएर अत्यन्त दुखकष्टकासाथ आफ्नो मुद्धाको फैसला कुरेर बसेका जनतालाई परेको मर्का बारे ज्यादै चर्का कुरा गर्ने शिर्ष लगायतका नेता, प्रधानलगायतका न्यायमूर्ती, कानून ब्यबसायीहरु आदिलाई कुनै चासो र सरोकार हुनपर्ने बिषय नै होइन जस्तो देखिन्छ।

न्यायालय लगायत सबै ठाउँमा यही रित चल्दै आएको र यसैबाट उहाँहरुको लागि सबैखाले शुभलाभ फल्दै आएको अनि यसरी नै शासन ब्यबस्थामा भएकाहरुको भाग्य बल्दै आएको हुनाले यसलाई नौलो मान्ने मुर्खता जनताले गर्न हुँदै हुँदैन। न्याय क्षेत्रको मात्रै कुरा गर्दा अरु सरकारी क्षेत्रले आफूबाट जनताको पक्षमा भइरहेका ब्यबहारहरु सबैको अगाडि नल्याएकोमा चित्त दुखाउलान् भन्ने डरपनि हुन्छ।

छोटकरीमा भन्नपर्दा सरकारी छाप चल्ने प्रत्येक सानादेखि ठूलासम्म सबै निकायहरुमा जनताको करबाट पालित पोषित र जनताको सेबक भनेर घोषित सबैले जनतालाई दिने सेवा र सुबिधाहरु लगायत सबैथोक खुलेआम बिक्री गरिरहेको अनि जनता त्यसको फिक्रीमा सेवा सुबिधा किन्न नसकेर मरिरहेको अबस्थामा न्यायालयको मात्रै कुरा गर्दा अन्याय हुनसक्ला कि?

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो