यमराजले पनि विदा पाउने यमपञ्चक र भाइ टिकाकाे महत्त्व – Dcnepal

यमराजले पनि विदा पाउने यमपञ्चक र भाइ टिकाकाे महत्त्व

तिहार पर्व नेपाली हिन्दु धर्मावलम्बीहरूको दशैँ पछिको ठूलो पर्व हो। हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट विकृत हुँदै तिहार शब्द बनेको पाइन्छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्तिक शुक्लपक्षको द्वितीया तिथि भाइटीकासम्म पाँचदिन मानाइन्छ।

यो पर्वलाई पाँचदिनसम्म मनाउने पर्व भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ। कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारलाई यमपञ्चक भनेर मनाउँदै आएको छ। यो पर्वलाई दीपावली नामले पनि चिनिन्छ।

यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको छ। यही दिनमा भगवान धन्वन्तरीको अवतार भएको हुनाले यसलाई धन्वन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ। यसै दिनमा साँझको समयमा घरको मूलद्वारमा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्दछन् भन्ने विश्वास रहिआएको छ।

प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मनाउँदै आएको पाइन्छ तिहारपर्वले एकातिर मानव तथा पशु बीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले प्रष्ट्याएको पाइन्छ तिहारपर्वको साँस्कृतिक महत्त्वमा जब कृषकको आफ्नो खेतिमा धान उमारेर अन्न्न भित्र्याउने समय हुन्छ तब उसको खुसी उमङ्गको सीमा रहँदैन यस खसीको अवसरमा दशैँ तिहार दुबै पर्वमा देवी दुर्गाका विभिन्न रूपहरूको पूजा आराधना गरी सम्पत्तिकी देवी लक्ष्मीको पूजा आराधना गर्ने परम्परा रहिआएको पाइन्छ।

यसैगरी यो तिहारपर्वको वैज्ञानिक महत्त्व पनि त्यतिकै रहेको देखिन्छ। चराहरू भनेका वातावरण सन्तुलनका प्रतीक हुन्। बालीनालीमा लाग्ने कीराहरू खाइदिएर चराहरूले किसानहरूलाई सहयोग पु¥याउने गरेको चराहरूले मौसम सन्तुलनको दिशामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।

यमपञ्चकको पहिलो दिन कागतिहार हो । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । कार्तिककृष्ण त्रयोदशीका दिन काग पूजा गरिन्छ काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसले अन्नबालीमा लागेका कीरा फट्याङ्ग्रा खाइदिन्छ । काग यमराजको प्रिय भक्त पनि हो । त्यस्तै यमपञ्चकको दाश्रो दिन कार्तिककृष्ण चतुर्दशीमा कुकुर पूजा गरिन्छ ।

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिदैन कुकुरले विभिन्न अपराध गर्ने अपराधी पत्ता लगाउने, घरको रेखदेख गर्ने, कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्व सूचना समेत दिन्छ । कुकुरलाई भैरवको वाहका रूपमा चिनिने हुनाले कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना खुवाइ पूजा आजा गरी माला लगाइदिने चलन छ ।

यमपञ्चकको तेस्रो दिन गाई तिहार तथा लक्ष्मीपूजा पर्दछ। गाईतिहार र लक्ष्मीपूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर आँगन लिपपोत गर्ने गाइको गहुँत सबैतिर छर्केर आफ्ना घर कोठा चोटा पवित्र पार्ने सँस्कार रहिआएको छ। यसकारण गाईलाई लक्ष्मी गौमाताको रूप मानेर यसदिनमा गाईको पूजागर्ने चलन छ।

कार्तिक कृष्ण औँसीको रातलाई अत्यन्त अँध्यारोको रातका रूपमा लिइन्छ यो अन्धकार रातलाई उज्यालो पार्न घर घरमा बत्तिबाली लक्ष्मीको आह्वान गरिने चलन छ। यसबाट कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतना शक्तिको प्रकाशले हटाउनु पर्ने सन्देश पनि पाइन्छ । यमराजले यमपञ्चकका पाँचदिन आफ्नी बहिनी यमुना कहाँ बसेको कारण यसदिन मृत्यु हुने कुनै मानिसले नरक दुःख पीडा भोग्नु नपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने चलन चलिआएको पाइन्छ।

दीपावलीका दिनमै चेलिवेटीहरू मीलेर घर –घरमा भैलो खेल्ने चलन छ। वर्षका चार महत्त्वपूर्ण रात मध्ये लक्ष्मीपूजाको रात्री सुखरात्री हो । यमपञ्चकको चौथो दिन गोरुपूजा वा गोवद्र्धन पूजा हो । यसदिनमा घर घरमा गाईको गोबरले गोबर्धन पर्वतको प्रतिमा बनाई पूजा गर्ने चलन छ । यसै दिनमा वर्षभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहार गोरुको पनि विशेष पूजा गरिन्छ । यस रात्रीमा पुरुषवर्ग घर घरमा गई देउसी खेल्ने परम्परा रही आएको छ ।

तिहारको अन्तिम दिन भाइतिहार पर्दछ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई विशेष मान सम्मान साथ विधिपूर्वक पूजा आजा गर्ने मेवा मिष्ठान्न आदि मनपर्ने कुरा खुवाउने दिदी बहिनीलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ। भाइतिहार दियो कलश र गणेशको पूजा गर्ने ,यमराजको आह्वान गर्ने , बिमिरो ओखर, तेल दूबोको घेरा लगाउने , मखमलीको माला,सप्तरङ्गी टीका लगाएर आफ्ना दिदीबहिनी र दाजुभाइको सुख समृद्धि आरोग्य एवं दीर्घायूको कामना गर्ने परम्परा रहिआएको छ।

भाइटीकाकै दिनमा प्रातःकालमा स्नान गरी अष्टचिरञ्जीविको पूजा गरेर सबै भन्दा पहिला दियो कलश गणेशको पजा गरेर विमिरोको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा आखरको तथा यमराजको पुजागरी कालको बाटो छेक्ने चलन छ । पानी तथा तेलको सात घेराले दाजुभाइलाइ छेक्ने चलन छ फूल ,अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिने र सगुनको रूपमा दही पिलाउने चलन रहिआएको छ।

भाइटीकाको दिनमा दाजुभाइलाई लगाइदिने मखमली सयपत्री तथा दुबोको मालाको छुट्टै महत्त्व रहेको पाइन्छ। मखमली कहिल्यै ओइलाउदैन , सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दुबो सधैँ हरियो बस्छ दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै सप्तरङ्गी टीका लगाउने चलन छ। यसरी दाजुभाइ प्रतिको प्रेम रङ्ग जस्तै गाढा भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन छ यसले आयु बढाउनुका साथै राष्ट्रियता पनि झल्काउँछ।

दाजुभाइ दिदीबहिनी नहुनेहरूले काठमाण्डौको रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्ने परम्परा रहिआएको छ। यसकारण हाम्रो हिन्दु परम्परा अनुसार विभन्न चाडपर्वहरू मध्ये यो तिहार पर्व धार्मिक साँस्कृतिक पर्वको रूपमा चिनिदै आएको पाइन्छ।
।।अस्तु ।।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो