चार वर्षदेखि अलपत्र बन्यो गोकर्णेश्वरमा सुनको छाना लेपन

डिसी नेपाल
२१ कार्तिक २०७८ १७:४३

काठमाडौं।गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न सुरु भएको काम चार वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन गरी छाना फेर्न सहयोग जुटाउने उद्देश्यले महायज्ञ गरी सुरु भएको काम अझै पूरा हुन सकेको छैन । विसं २०७४ फागुन २३ देखि चैत दुई गतेसम्म यही प्रयोजनका लागि मन्दिर प्राङ्गणमा महायज्ञ गरिएको थियो । महायज्ञबाट खर्च कटाएर रु तीन करोड बचेको थियो ।

झिँगटीको छानाबाट पानी चुहिएर ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिरका काष्ठकला, मन्दिरको गाह्रो एवं मूर्तिमासमेत क्षति हुन थालेपछि छाना फेर्ने अभियान सुरु भएको हो । प्यागोडा शैलीको तीनतले मन्दिरको माथिल्लो दुई तलाको छाना फेरि सकिएको छ । माथिका दुई तला सानो छ । सबैभन्दा तलको फराकिलो छाना आधा फेरेर दुई वर्षअघिदेखि अलपत्र छ । काम अघि बढ्न सकेको छैन । गोकर्णेश्वर नगरपालिका–४ को अध्यक्षसमेत रहेका  मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ पहिले बजेट अभाव भएर काम रोकिएको स्वीकार गरे । अहिले बजेट व्यवस्थापन भए पनि जनशक्तिका कारण काम ढिलाइ भएको छ ।

“हालसम्म पौने नौ किलो सुन छानामा लेपन भइसकेको छ, अझै करिब सात किलो सुन लाग्ने अनुमान गरिएको छ, पहिलो चरणमा जम्मा २१ किलो सुन लाग्ने प्रारम्भिक अनुमान गरिए पनि करिब १६ किलो सुनले पुग्ने देखिएको छ, त्यसकै लागि पनि सहयोग जुटाउन नसकेर केही ढिलाइ भएको हो, अब बजेट व्यवस्थापन भएकाले काम हुन्छ”, उनले भने । अलपत्र छानाको काम अघि बढाउन सहयोग नजुटेपछि गत आर्थिक वर्षका लािग नगरपालिकाले रु तीन करोड विनियोजन गरे पनि काम हुन सकेन ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा पनि रु एक करोड बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७६/२०७७ मा विनियोजन गरेको रु तीन करोड परिषद् बसेन भन्ने बहानामा एक पैसा पनि नआएको गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वाङ्गीण विकास समितिका अध्यक्ष कोमलबहादुर विष्टले बताए । महायज्ञकै क्रममा २२ तोला सुन सहयोगस्वरुप सङ्कलन भएको थियो । महायज्ञमै प्राप्त भाँडा बेचेर रु ३९ लाख आम्दानी भएको पनि समितिले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *