मन्त्री आलेद्वारा बेपत्ता शेर्पालाई श्रद्धाञ्जली अर्पण

डिसी नेपाल
२३ कार्तिक २०७८ १२:१३

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले खराब मौसम र हिमपातका कारण सोलुखुम्बुको मेरापिक (६४७० मि) आरोहण गरी फर्किने क्रममा बाटोमै बेपत्ता भएका छेतेन शेर्पालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शेर्पा इभेन्ट अर्गनाइजरले सोमबार बौद्धस्थित शेर्पा गुम्बामा स्व.छेतेन शेर्पाका लागि श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिएको थियो । कार्यक्रममा मन्त्री आले मगर, पर्यटन क्षेत्रका उच्च निकायका व्यक्तिबाट समेत श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

‘हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनका लागि १८ जना युवा सोलुखुम्बु पुगेका थिए । शेर्पा ईभेन्ट अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाका अनुसार उक्त परियोजनामा ७ जिल्लाका १८ जना युवाहरु मध्ये सहभागी सदस्य सोलुधुकुन्डा नगरपालिका–२ मोपुङ, सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरि फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका थिए ।

शेर्पा इभेन्ट्स अर्गनाइजर, एडभेन्चर भिक्टोरि टिम र परिवारको पहलकदमीमा पर्यटन निकायसँग सम्बन्धित संघ संस्थाहरु, नेपाल पर्वतारोहण संघ (एनएमए), टान आदिको सहयोगमा उनको खोजिकार्य गरिएको थियो । तर, बेपत्ता शेर्पा नभेटिएको हुँदा परिवारको सल्लाह बमोजिम मृत्यु भएको घोषित गरि छेङ्गा पूजा गरिएको हो ।

शेर्पा ईभेन्ट अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाका अनुसार सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरा पिक हिमालमा शेर्पा तथा नेपाली गीत संगीतको विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउने योजनाका साथ आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री आलेले हिमाल आरोहणको क्रममा बेपत्ता भएका परिवारलाई दिइने १५ लाखको बीमालाई बढाएर ५०–६० लाखसम्म बनाउने प्रतिवद्धता गरेका छन् ।

उता, स्व.छेतेन शेर्पाका भाइ पासाङ्ग काजी शेर्पाको समेत दुबै मृगौला फेर्नुपर्ने भएकाले मन्त्री आलेले सहयोग गर्ने बताएका छन् । उनले मृगौला फेर्न लाग्ने सबै खर्च सरकारबाट निःशुल्क गराइदिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *