चिसोमा लाग्ने मौसमी रुघाखोकी र बच्ने उपाए

तर्कबहादुर थापा
२४ कार्तिक २०७८ ७:४६

काठमाडौं। आजभोली चिसो सुरु भएको छ। विशेष गरी कात्तिक महिना लागेपछि हरेक दिन चिसोले आफ्नो साम्राज्य फैलाउँदै गएको छ। चिसोले साम्राज्यमात्र फैलाएको होइन्, आफ्नो प्रभाव पनि मानव जीवनमा प्रत्यक्ष पार्न थालेको छ।

हुन त हरेक मौसमको परिवर्तन हुने समायावधिमा मानिसको शरीरले आफूलाई पनि परिवर्तन गर्न खोजेको हुन्छ। तर, पनि विशेष गरी चिसो मौसम सुरु भएपछि मानिसको शरीरले आफूलाई पनि त्यो अनुसार ढाल्न थालेपछि सुरु हुन्छ ‘कमन कोल्ड’। जसलाई चिसो लाग्नु वा रुगा लाग्नु पनि भनिन्छ।

सरकारी तथा निजी अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आजभोली यस्तै विरामीको चाप हुने गर्छ। दिनमा आएका विरामीको धेरै प्रतिशत कमन कोल्डका विरामी आउने गरेको सिभिल अस्पतालका डा. सुमन मरहठ्ठा बताउँछन्।

उनका अनुसार चिसो मौसम सुरु भएपछि हरेक वर्ष झै यो वर्ष पनि कमन कोल्डका विरामी आउन थालेका हुन्। कात्तिकबाट सुरु भएको उक्त समस्या झण्डै फागुनसम्म रहने उनले बताए। ‘विशेष गरी चिसो मौसम सुरु भएपछि कमन कोल्डका विरामीहरु आउने गर्नु हुन्छ।’ उनले भने, ‘चिसोका कारण बाथरोगका विरामी पनि अलि बढी आउनुहुन्छ।’

केही वर्ष यता फैलिएको कोरोना भाइरसको लक्षण र कमन कोल्डको लक्षणहरु एउटै हुने भएकाले पनि सर्वसाधरण आत्तिएको पाइने गरेको उनको भनाइछ। उनी आफूले काम गरेको आधारमा कोरोना सुरु भएपछि कमन कोल्डलाई पनि अलि बढी ख्याल गर्ने गरेको पाएको बताउँछन्।

कारण के हुन् ?

‘रुघा सबैलाई लाग्छ र लाग्नै पर्छ भन्ने होइन,’ डा. मरहट्ठाले भने, ‘यो कसलाई कति पटक लाग्छ भन्ने कुरा उसको स्वास्थ्य अवस्था र रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ। जसको प्रतिरोधात्मक क्षमता राम्रो छ। उसलाई जस्तोसुकै भाइरस भए पनि लाग्दैन। जसको प्रतिरोध क्षमता कम छ, रुघाले गाँजेको पाइन्छ।’

‘रोग लागेर उपचार गर्नु भन्दा पहिला रोग लाग्न नदिनु नै बुद्धिमानी मानिन्छ,’ डा मरहट्ठाले भने, ‘रुघाखोकी लाग्नु पछाडिका कारणहरु थाहा पायौँ र कारणहरुको राम्रोसँग निदान गर्‍यौँ भने हामी रुघाखोकी लाग्नबाट बच्न सक्छौं।’

उनका अनुसार रुघाखोकी लाग्नुको मुख्य कारण भनेको चिसो हो। चिसो मौसममा फ्रिजमा राखेका चियो पेय पदार्थ सेवन गर्नाले रुघाखोकीलाई सबै भन्दा सजिलो तरिकाले हाम्रो शरीरमा आक्रमण गर्न सक्छ। त्यसैले चिसोबाट सधै बच्न सक्नु पर्छ। यस्तै कब्जियत हुनु, आवश्यकता भन्दा बढी खानु, प्रोटिन जस्तै, माछा, मासु, अन्डा आदि धेरै खानु, कृतिम चिल्लो जस्तै घिउ, तारेभुटेको खानु पनि रुघाखोकीका कारण बन्न सक्छन्।

के हुन् लक्षण

मुख्य लक्षण हाछ्यूँ आउनु, नाक पोल्नु र चिलाउनु हो। भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाश थापा भन्छन्, ‘नाक बन्द हुनु, टाउको भारी हुनु, दुख्नु, नाकबाट पातलो पानी बग्नु, आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, शरीर भारी हुनु, थकान हुनु, शरीर गल्नु, केही दिनपछि नाकबाट गाढा पहेंलो सिंगान आउनु मौसमी रुगाखोकीका लक्षण हुन्।’

उनी अगाडि थप्छन्, ‘यतिमात्र नभएर घाँटीमा कफ जम्नु, गन्धको अनुभव नहुन, स्वादको अनुभव नहुनु, हल्का जरो आउनु, खोकी लाग्नु पनि मौसमी रुगाखोकीका लक्षणहरु हुन्।

डा. थापा रुघा खोकी शरीर शुद्धीकरण गर्ने प्रक्रिया पनि भएको बताउँछन्। उनले भने, ‘रुघा हाम्रो शत्रु होइन मित्र हो। रुघा सरल समस्या हो। यसले सही उपचार पाएको अवस्थामा २४ घण्टामै सजिलै निको हुन्छ।’

रुघा लाग्दा गलत आहारसँगै औषधि प्रयोग गरेमा यसको रुप परिवर्तन हुने र यसले शरीरका विभिन्न ठाउँमा समस्या सृजना गर्नसक्ने थापाको भनाइ छ। उनले भने, ‘रुघा बिग्रेर घाँटीको समस्या, नाकको समस्या, ब्रोनकाइटिस हुँदै फोक्सोसम्म पुग्छ। फोक्सो सुन्निएर निमोनिया जीर्ण रोगमा परिणत हुन्छ। त्यसैले रुघाको सही उपचार हुनुपर्छ।’

उपचार विधि

रुघा लाग्दा तातो पानीको बाफ लिनु पर्ने सल्लाह दिन्छन् डा. थापा। उनले भने, ‘बाफ लिएमा नाक खुल्ने र श्वास फेर्न सजिलो हुने हुन्छ। तातो पानीमा ज्वानु, जिरा, धनिया, ल्वाङ, सन्चो आदि राखेर बाफ लिन सकिएको अवस्थामा अझ बढी प्रभावकारी हुन्छ।’

यस्तै, डा. थापाका अनुसार टाउको, निधार, घाँटी र छातीलाई न्यानो बनाउने। निधार र छातीमा हत्केलाले सेक्ने। धुलोधूवाँमा नबस्ने। सधैं स्वच्छ धुलोधुवाँरहित ठाउँमा मर्निङवाक गर्ने अथवा योग व्यायाम गर्ने जसले शरीरलाई बलियो र तातो बनाउने गर्छ। तातो पानीमा कागती र मह मिलाएर प्रति घण्टा एकएक गिलास पानी लिन सकिन्छ। न्यानो लुगा लगाउने। निधारसम्म छोपिने गरी टोपी लगाउने।

के खाने के नखाने

रुघा लाग्दा कफ जम्मा हुने र त्यसले धेरै असर गर्ने हुँदा कफ निवारक भोजन खानु पर्ने डा. थापा सल्लाह दिन्छन्। उनले भने, ‘कोदो, गहुँको रोटी, हरियो सागसब्जी तरकारी, बिहानबेलुकी तातो पानीमा आधादेखि एक चम्चा मह राखेर पानी पिउने। पानी मन तातो खाने गर्नाले कफ जम्मा हुन पाउँदैन्। जसका कारण रुघाखोकी चाडैँ सञ्चो हुन्छ।’

‘यस्तै, नखाने कुराहरुमा कफ कारक भोजन भनिन्छ। जस्तै दुग्ध पदार्थ, चिनी, हलुवाई मिठाई, माछा, मासु, अन्डा, सेतो मैदाबाट बनेका खानेकुराहरु खान हुँदैन्।’ थापाले भने, ‘चिसोको कारण बढी रुघाखोकी लाग्ने भएकाले बरफ, आइसक्रिम, फ्रिजमा राखेका खानेकुरा नखाने। एक साथ धेरै थरी खाना मिलाएर नखाने। चिल्लोमा तारेभुटेको तेलिय खाना पनि खान हुँदैन्। खाने कुराले पनि हाम्रो स्वास्थ्यको गडबढीमा ठूलो महत्व राख्ने भएकाले यस्ता कुरामा ध्यान दिन सकेमा मौसमी रुघाखोकी जस्ता समास्याबाट मुक्ति पाइन्छ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *