संस्मरण यात्रा : एक संक्षिप्त समीक्षा

डिसी नेपाल
२७ कार्तिक २०७८ ८:०८

सृर्जनशील साहित्य अनुरागी स्रष्टा सुधा भट्टराई ज्यूका कविता, कथा, निबन्ध, यात्रा, जीवनको पाइलापछि हालसालै प्रकाशित ‘संस्मरण यात्रा‘ जस्ता कृतिहरुबाट नेपाली बाङ्मय क्षेत्रमा उदयीमान उहाँको कृति संस्मरण यात्रा आध्योपान्त अध्ययन गरी संक्षिप्त समीक्षा लेख्ने आँट जुटाएको हुँ।

पुस्तकको सन्दर्भमा अगाडिको आवरण पृष्ठमा आकाशे रंगमा आकाशझैं अथाहा विशाल छ। पहेंला र सुन्तले रंगको समिश्रणमा संस्मरण यात्रा पुस्तक शीर्षकका मुनि सुधा भट्टराई लेखिएको सिङ्गो पृष्ठभूमिलाई झण्डै ढाक्ने गरिको आसामको राजधानी गुहाटीको कामख्या देवी मन्दिरको गुम्बज शैलीको झण्डै खरानी रंगको गजुर साथै पूर्वमा क्षितीजसम्म नै जोडिए जस्तो त्यो विशाल शहरको भान हुने फोटो राखिएको छ, भने पछाडिपट्टिको आवरण पृष्ठ पनि आकाशे रंगकै छ। सिरानमा स्रष्टाको सुन्दर तस्बिर साथै त्यसमुनि जन्म, शैक्षिक योग्यता, शिक्षण सेवा,संघ/संस्थामा आबद्ध र कृति विवरण राखिएको छ। यो पुस्तक प्रकाशक ओरिएन्टल पब्लिकेशन हाउस, बागबजार, काठमान्डौले गरेको छ।

भौतिक पक्षमा पुस्तकको आकार सुहाउँदो भइकन गाता कोटेड र भित्री पृष्ठका कागज र अक्षर टाएप स्तरीय लाग्छन्। पुस्तकको मूल्य रु. ३०० तोकिएको छ। शैक्षिक पक्षमा यस पुस्तकको भूमिका तथा शुभकामना लब्ध प्रतिष्ठित द्वय व्यक्तित्व प्रा.डा. ज्ञानु पाण्डे र प्रा.डा. गोविन्दराज भट्टराई ज्यूद्धारा लेखिएको छ।

यो यात्रा संस्मरण पुस्तक १५५ पृष्ठमा २६ वटा मूल शीर्षकमा र ४६ वटा उप-शीर्षकमा खण्ड खण्ड गरी लेखिएको छ र, समष्टिमा भन्नुपर्दा भूमिका लेखन र शुभकामना लेखनले पुस्तकको समिक्षा, विवेचना तथा समालोचना आदि उल्लेख भइ सकेको भन्ने पुस्तकको अध्ययन पश्चात अनुभूत हुन आउँछ। यो यथार्थ पनि हो।

यस संस्मरण यात्रा शीर्षकको पुस्तक भित्र लेखक आफूले आफ्नो जीवनकालमा स्वयंमले अतीतदेखि वर्तमानसम्ममा भोगेका दुःख सुखका अनुभूतिहरुलाई आफूनै मौलिक स्वच्छतामा उदार मन भावनाले निर्भीक र निडर भइ ती अनुभूतिहरुलाई ऊर्जाका रुपमा लिई स्वतन्त्र शैलीमा लेखिएको जीवन यात्राको यात्रा वर्णनमा पनि कौशलता पूर्वक वर्णन गरिएको अध्ययन गर्न पाइन्छ। आत्मा कथाले भरिएका विविध शीर्षकहरुमा यी सब भविष्यका सन्ततिका लागि प्रेरणादायी आनन्दानुभूति प्रदान गर्ने आधार बन्दछन, किनकी दुःखपछि अवश्य सुखको अनुभूति गर्न पाइन्छ भन्ने सन्देश पनि यस भित्र विविध सन्दर्भमा लेखिएको पाइन्छ।

नेपालको पूर्वी पहाडी जिल्ला ईलामको याङ फिक्कलको तत्कालीन उच्च र शिक्षित परिवारमा जन्मी हुर्किएकी (छोरी) कृतिकारले गुनासो पोख्नुभए झै लाग्छ, पहिले पहिले छोरीले शिक्षा पाउदैनन्थे, तर आफूले त परिस्थितिवस अर्थात शिक्षित परिवार भएकाले पढ्न पाए तापनि ६ कक्षादेखि पढ्न लेख्नमा बञ्चित भइयो र आमाको घरधन्दामा सहयोगी बन्नुप¥र्योदेखि लिएर विवाह बन्धनमा बाँधिनु, घर गृहस्थि, सन्तान प्राप्ती, दीर्घ रोगी, औषधि उपचार, रोगको निदान, पुनःर्जन्म, पुनः पढ्न पाउने अवसर, १० वर्षसम्मको बनारस बसाइ अनि त्यसपछि काठमान्डौंको परिवेशमा उच्च शिक्षा आर्जन, प्रतिष्ठित विद्यालयमा सेवा, स्थायी रुपमा बसोवासको व्यवस्था, छोराछोरीको विवाह आदिदेखि आफू शिक्षण सेवाबाट निवृत भएपश्चात संस्मरणः यात्राको लागि स्वदेशका केही प्रसिद्ध स्थलदेखि मानव सीप र कौशलताले सिंगारिएको मलेशियाको भ्रमण हुँदै क्यानडा, अस्ट्रेलिया एवम् भारतको आसाम राज्यका केही महत्वपूर्ण स्थलहरुको भ्रमण नै यसको पृष्ठभूमि बनेको पाइन्छ।

त्यस्ता अविष्मरणीय घटना क्रमका साथै यात्राः स्मरणका विम्बहरुको चित्रण भनौ वा वर्णन। उहाँका अनेक सफलताका पाटाहरु देखिन्छन्। तीनै सफलताका पाटाहरुले ऊर्जा दिई आत्माद्धारा प्रस्फूटित शक्ति नै सक्तिशाली भई उभिएको अनुभूत गर्न सकिन्छ, किनकी मन र बुद्धिले सक्तिशाली भई पुरुषबादी समाज भित्रैबाट माथि उठ्न सफल संस्कार, संस्कृतिसँग भिज्दै र मनन् गर्दै बुझि छोरा/छोरी र बुहारीको सह-अस्तित्वको प्रश्न खडा गर्नुभएको छ। साहित्यानुरागी सर्जक डा. गोविन्दराज भट्टराई ज्यूको शुभकामना सन्देशमा कृतिकारको प्यारो भान्सा शीर्षकमा भएको विभेदलाई “हामी आफैं ता त्यस्ता बनिएका थिएनौ, समाजको त्यस्तो साँचोमा हालेर बनाएको होला। विस्तारै यो पुरुष केन्द्रित समाजको सोच बदलौ।” यो साँचो फेरौँ।

पुस्तक अध्ययन गरी सक्दा सक्दैको अन्तिममा ‘मेरो प्यारो भान्सा’ शीर्षकले छोराछोरीबीचको विभेद अन्त्य गरी समानताको आव्हान गरेझैँ लाग्दछ। पुस्तक सुनमा सुगन्ध थप्दा कस्तो होला भनेझै यस सस्मरणको यात्रा वर्णन जसरी सलिल रुपमा रोचकता पूर्वक वर्णित सस्मरणमा ठाउँ ठाउँमा तस्बीर पनि राखिनाले मन खुशीले गदगद हुन्छ, किनकि तस्बीर त आफै पनि स्वतः बोल्दा रहेछन । त्यसैले कृति सुन्दर, परिस्कृत र पठनीय छ।

यसरी नै साहित्य साधना र सिर्जनामा लागि रहनुहुनेछ । सफलताको कामना गर्दछु । छिटै अर्को कृतिको प्रतीक्षामा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *