व्यंग्य : मुद्दा अड्कायो, माल पड्कायो

डिसी नेपाल
२८ कार्तिक २०७८ ७:३६

सर्बोच्चका प्रधान न्यायमूर्तीको राजीनामा माग्ने र रिसइबी दाग्ने विद्वान वकिलहरुपनि बिचौलिया भएर टन्न खर्च गर्न सक्ने झगडियाहरुको पछिपछि भाग्ने गर्छन् रे भनेर बिरोधीहरुले भनेको जनताले पटक्कै पत्याएका छैनन्।

विद्वान वकिलहरुका अध्यक्षले त न्यायालयमा बिचौलियाका नाइके नै प्रधान न्यायमुर्ती हुन् र भ्रष्टाचारीका नाइकेपनि उनी नै हुन् भनेर ठूलोठूलो स्वरमा चिच्याउँदै र उनको बिरुद्धमा देशैभरिका विद्वान वकिलहरुलाई समेत घिच्याउँदै जोडदार आन्दोलन चर्काइरहेका अनि यसैबाट राजीनामा दिन प्रधान न्यायमूर्तीलाई थर्काइरहेका छन् रे भन्ने सुनिन्छ।

संबैधानिक रुपमा नियुक्ति हुने प्रकृया र पदमुक्त हुने प्रकृया राम्ररी बुझेका प्रधान न्यायमूर्तीका सहकर्मी र सहधर्मी न्यायमूर्तीहरुले राजीनामा नदिइ त हुँदै हुँदैन भनेर आआफ्नो किसिमबाट आन्दोलन गरिरहेका र जनताको न्याय पाउने हक मिच्दै जनताकै करबाट आउने सुबिधामा चरिरहेका, न्यायालयको बेथितीको दोषजति प्रधान न्यायमूर्तीलाई मात्रै थोपर्न अघि सरिरहेका र न्याय पाउनबाट बन्चित भएर जनता चाहिँ मरिरहेका छन् रे भन्ने नचाहिँदा हल्लाहरुमा पनि जनताको बिश्वास छैन।

संबिधान, ऐन, कानून, बिधि, प्रकृया आदि सबैका ज्ञाता मानिएका,देशका सबैभन्दा विद्वान बर्ग भनेर जानिएका, निश्पक्ष न्याय निशाफ गर्ने ब्यक्तित्वहरु भनेर ठानिएका भएपनि लामो समय अघिदेखि सबैभन्दा बढि घुस्याहा र बिचौलियाको आरोपले गर्दा बिवादमा तानिएका भनेर हल्ला चलेपनि कसैले भेटेको देखेको नहुनाले पत्याइहाल्ने अबस्था छैन। न्यायालयका प्रमुख ब्यक्ति बिचौलियाको नाइके हो भने न्यायालयमा काम गर्ने जति अरु सबै बिचौलिया हुन् भनेर बुझिने तर्क राख्नेहरुले न्यायालयको अनूभव चाख्ने मौका पाएका रहेछन् कि क्या हो भन्नेहरुका कुरा पत्याउने मानिसहरु भेटिन मुश्किलै पर्छ।

प्रधान न्यामूर्तीको राजीनामा मागेर इजलास बहिस्कार गरिरहेका न्यायमूर्तीहरुपनि त्यसैगरि भागबण्डामा चरिरहेका अनुभवी कलाकारहरु नै हुन् भन्नेपनि सुनिन्छ। उहाँहरुपनि राजनैतिक दलहरुको केन्द्रीय सदस्य, बिभिन्न तहका पदाधिकारीहरु, प्रतिनिधिहरुको साथै सांसदसमेत भइसकेका र भबिष्यमा प्रधान न्यायमूर्ती हुने ग्यारेन्टिकासाथ टन्न नोटले भरिएको ठूलै ब्रिफकेस बोकेर आआफ्नो दलको शिर्ष नेताहरुको भित्री कोठामा गइसकेका ब्यक्तिहरु हुन्।

आफ्नो हातमा मुद्दा आएपछि र यसबाट झर्नसक्ने नगदको अनुपात थाहा पाएपछि सकेसम्म मुद्दा तन्काउने र सकभर फैसला ढिला गर्दै थन्काउने ब्यबस्था मिलाएर झगडियालाई वर्षौं झुलाउने अनि बिचौलियामार्फत सबै सेटिंग मिलेपछिमात्रै फैसला हुने बाटो खुलाउने विद्वान वकिलहरुले प्रधान न्यायमूर्तीलाई अदालतमा पस्न र आफैंले तोकेको बेन्चमा बस्न नदिने समेतको आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्नु ज्यादै राम्रो हो। माथिदेखि तलसम्मका कानून ब्यबसायीहरु एकै ड्यांगका मूला भएकाले कोहीभन्दा कोहीपनि कम छैनन् भनेको ठिकै होकि जस्तो पो देखिन्छ।

न्याय निसाफ बेचेर टन्न खाने र त्यसको केही हिस्सा बोकेर शिर्ष नेताहरुकहां जाने निकै खारिएका अनि योग्यहरुलाई पन्छाएर अगाडि पारिएका र योग्यता नपुगेपनि न्याय परिषददेखि संसदीय सुनुवाइ समितिबाटसमेत सहजै उचालेर तारिएका अनि सबै भ्रष्टहरुको मिलेमतोबाट किनुवा पदवाला न्यायमूर्तीहरुको समूहमा नारिएका अत्यन्त सक्षम ब्यक्तित्वको प्वाँख भिरेर योग्य देखिन खोजेपनि जनताबाट असक्षमको तहमा झारिएका महानुभावहरुको झुण्डमात्रै हून् भन्ने भनाइ मान्न जनता तयार छैनन्।

मुख्य दलको भागबण्डामा परेर र दलको नेताको आदेश अनूसार काम गर्ने बाचा गरेर नियुक्त भएका न्यायमूर्तीहरुले प्रधान न्यायमूर्तीले मात्रै भागबण्डा खाए अनि सबै सुबिधाहरु एक्लै पाए भनेपनि त्यहाँ भएका सबै न्यायमूर्तीहरुले मजाले खाँदै आएको चाल पाउने प्रशस्त बिचौलियाहरु उनीहरुको वरिपरि घूमिरहेका र न्याय खरिदकर्ताहरुको गनिनसक्नु नोट चुमिरहेका हुन्छन् रे भन्ने सुन्दा जिब्रो टोक्नु र केके जाति सोचेर पाप बोक्नु बाहेक जनताले अरु केही गर्न सक्ने कुरै आएन।

ज्यादै वरिष्ठ भनेर जानिएका र बेलाबेलामा बारको नेतृत्वको लागि समेत छानिएका विद्वान वकिलहरुले एकछत्र रुपमा संचालन गरिआएको कानूनी बिचौलियाको जालो भत्काएर हालका प्रधान न्यायमूर्तीको सालो जेठान भाइ ज्वाइँ र अरु नजिकका नातेदारहरुका साथै केही भित्रियाहरु प्रयोग गरी बिचौलियाको माखे साँग्लो तोडेको अनि बिचौलियाको सबै काम आफू र आफन्तहरुतिर मोडेको, अति विद्वान बिचौलिया वकिलहरुको लागि ज्यादै झिना मसिना मुद्दाहरुमात्रै छोडेको अनि प्रधान न्यायमूर्ती भएपछि आफू र आफन्तले अरबौंको सम्पत्ति जोडेको खप्न नसकेर यो स्थितिको सिर्जना हुन गएको भन्ने मुर्खहरुलाई कसरी सम्झाउन सकिन्छ र?

बढी लाभदायी र बढी नगद प्राप्त हुने मुद्दाहरु आफन्तको दलाली मार्फत एक्लै हसुरेर सल्टाउने अनि जताबाट बढी नगद प्राप्त हुन्छ फैसलाको पासा त्यतै पल्टाउने गरेपछि विद्वान वकिलहरु र अरु न्यायमूर्तीहरुले राजीनामा नमागेर भयो त? उनीहरुले जे गरे ठिक गरे। बाँडिचुँडी सबैको भाग पुर्याएर नखाएपछि र न्याय बिक्रीको मिठो स्वाद आफ्नालाई मात्रै चखाएपछि यस्तो अबस्था नआए के आउँछ त? अहिलेसम्म भएका प्रधान न्यायमूर्तीहरुले अघिल्लो दिन अग्रिम भुक्तानी ठोकेर मात्रै भोलिपल्ट पेशी तोकेर मुद्दाको पैmसला गर्ने चलन पुरानै हो रे भन्ने सुनिएपनि कसैलाईपनि प्रत्यक्ष थाहा नभएकोले यसै हो भनेर सकिन्न।

प्रधान न्यायमूर्तीको लागि काम गर्ने नजिकका नातेदार बिचौलियाहरु कोही राजधानीका मुख्य स्थानहरुमा आलिशान कार्यालय नै खोलेर मोलमोलाई गरिरहेका र कोही पाँचतारे होटलमा बिहानदेखि साँझसम्म बसेर मोलतोलमा चरिरहेका अनि कुरा मिलेपछि नोटले भरिएका थैला बाकस र ब्रिफकेश बोकेर झरिरहेका देख्नेहरुका गफ सही हुन् कि होइनन्, थाहा भएन। दाताको पक्षमा फैसला गरेर बैंक खाता बढाउने न्यायमूर्तीहरुले नजिकका नाताका नाममा नगद थुपारेको भन्ने धेरै अघिदेखि सुनिँदै आएपनि पत्याउनेहरु धेरै कम छन्।

पारिश्रमिकको रुपमा गरगहना र घरजग्गा लिएको र त्यसैको आधारमा न्याय दिएको भन्नेपनि धेरै अघिदेखि सुनिएकैले खासै नौलो भएन। सरकारी जग्गा बेचेर खानेहरुलाई ललिता निवासको सरकारी जग्गा बेच्न सहयोग पुर्याए बापत पारिश्रमिकमा जग्गा लिएर आपतमा परेकोले जग्गा फिर्ता गरेर चोखिएका र अत्यन्त इमान्दार भनेर जोखिएका न्यायमूर्ती त अहिलेपनि पूरा नैतिकता देखाउँदै र आफूजस्तो चोखो कोही नभएको समाचार लेखाउँदै राजनैतिक दलको आडमा फूर्तिसाथ न्यायको बिक्री कार्य इज्जतसाथ संचालन गरिरहेकै छन्। यसलाई कुनैपनि तहको न्यायालयमा नौलो घटना मान्न र अन्यथा ठान्न छोडिसकिएको धेरै समय भइसकेको छ।

उहाँहरुले जस्तो फैसला सुनाएपनि बिरोध गर्यो भने अदालतको मानहानी हुने हुनाले कसैलेपनि जानी नजानी बिरोधमा बोल्न र आफूलाई लागे अनुसार मुख खोल्न हुँदै हुँदैन भन्ने सबैलाई राम्ररी थाहा छ। प्रधान न्यायमूर्तीले आफ्ना नातेदार बिचौलिया सुराकमार्प मजाको नगदी खुराक हात पारेपछि पेशी चढेको मुद्दा बेन्चमा झर्नासाथ र न्यायमूर्तीको हातमा पर्नासाथ फैसला गर्नासाथ कति हात पर्छ भन्ने बाहेक न्यायमूर्तीको दिमागमा अर्को बिषय हुँदै हुँदैन रे भनेर थाहा पाउनेहरुको दिमागलाईपनि मान्नै पर्छ।

आफ्नो हातमा मुद्दा आएपछि र यसबाट झर्नसक्ने नगदको अनुपात थाहा पाएपछि सकेसम्म मुद्दा तन्काउने र सकभर फैसला ढिला गर्दै थन्काउने ब्यबस्था मिलाएर झगडियालाई वर्षौं झुलाउने अनि बिचौलियामार्फत सबै सेटिंग मिलेपछिमात्रै फैसला हुने बाटो खुलाउने विद्वान वकिलहरुले प्रधान न्यायमूर्तीलाई अदालतमा पस्न र आफैंले तोकेको बेन्चमा बस्न नदिने समेतको आन्दोलनका कार्यक्रमहरुको घोषणा गर्नु ज्यादै राम्रो हो। माथिदेखि तलसम्मका कानून ब्यबसायीहरु एकै ड्यांगका मूला भएकाले कोहीभन्दा कोहीपनि कम छैनन् भनेको ठिकै होकि जस्तो पो देखिन्छ।

अहिले सर्बोच्च न्यायालय, बार एसोसियन, सर्बोच्चका न्यायमूर्तीहरु आदि सबैको नाटकको मुख्य निचोड नै भएभरका सबै बिचौलियाहरुलाई प्रधान न्यायमूर्तीले भाइ भतिजा ज्वाइँ जेठान साला आदिलाई प्रयोग गरेर अघोषित रुपमा हटाएको, ठूलो धनराशी आउने मुद्दाहरु जति एक्लै ठटाएको, नगण्य आमदानी हुने मुद्दाहरु अरुलाई दिएर अलिअलि गुलियोमात्रै चटाएको, सरकारसित बार्गेनिंग गरेर आफन्तहरुलाई संबैधानिक नियुक्तिहरुमा अटाएको, उस्तै पर्दा दिनमा अरबौंसम्मपनि उनको पेटमा अटाएको, न्यायाधीशहरु घुस खान्छन् र हामीले घुस खुवाएपछि हामीले भनेको बाटोमा जान्छन् भनेर सार्बजनिक टेलिभिजनको अन्तरवार्तामा निसंकोच बोल्ने स्वघोषित अति विद्वान वकिल बिचौलियाको समूहको आमदानी घटाएको आदि जस्ता अदृश्य आरोपहरु नै मुख्य झगडाका कारणहरु हुन् भन्नेहरुका कुरा सुन्ने फुर्सद कसलाई होला र?

आफ्नो पालामा दूधले नुहाएर कार्यकाल पूरा गरेर गएका र अहिले आफ्नै घोषणाले चोखो साबित भएका पूर्व प्रधान न्यायमूर्ती र न्यायमूर्तीहरुको बक्तब्य भनाइ अन्तरवार्ताहरु हेर्दा सुन्दा सर्बोच्चलगायतका न्यायालयमा यस्ता सेटिंगहरु यस पटक मात्रै भएको पक्का ठहर्छ।

हुँदाहुँदा उमेर ढाँटेको बिवाद, पटक पटक नागरिकता लिएर भएको बिवाद, शैक्षिक प्रमाणपत्रको बिवाद आदिमा परेर र छानबिनलाई अटेर गरेर बसेका अनि फूर्ति गर्दागर्दै एउटा सामान्य कर्मचारीको एकपाना पत्रले घरतिर पसेकाहरुलेपनि ठूलो अर्तिबूद्धि र आदर्शका गफ छाँट्ने अनि दिन दहाडै दुनियालाई ढाँट्ने अत्यन्त पुनित कार्य गरिरहेको देख्दा ओरालो लागेको मृगलाई बाच्छालेपनि खेद्छ भनेको गलत होइन रहेछ भनेजस्तो देखिन्छ। धेरै दूधलेमात्रै नुहाउँदापनि दूध कुहिएपछि कति नराम्रोसित गन्हाउँछ भन्नेकुरा दूधको बढी संगत गर्नेहरुलाई अझ राम्रोसित थाहा भएको हुनु पर्छ।

प्रधान न्यायालयमा यतिका दिनसम्म यत्रो गोलमाल भइरहेको र न्याय प्रणाली नै कुबाटोतिर गइरहेको आफ्नै आँखा अगाडि देख्दादेख्दै अनि संसारभरिका समाचार माध्यमहरुले लेख्दालेख्दैपनि अहिलेसम्म सरकार र अन्य सरोकारवाला निकायहरुले कूनै अत्तोपत्तो नपाएको देख्दा अदालतमा बिचाराधीन कुनैपनि बिषयमा बोल्न हुँदैन भनेको ठिक साँचो रहेछ भनेर जनताले बुझिदिन पर्छ।

वाइड बडी र न्यारो बडीका मुद्दा, क्यान्टोनमेन्टको आर्थिक घोटालाका मुद्दा, बालुवाटारको ललिता निवासको जग्गा प्रकरणको मुद्दा, चौध सांसदहरुको पद खारेजीको मुद्दा, सभामुखको ज्यानमारा मुद्दालगायतका मुद्दाहरु पेशी नचढाइ अहिलेसम्म थामथुम पारेर मिलाएको हुनाले सबै शिर्ष भनिने नेताहरुको मुख खोल्नै नमिल्नेगरी सिलाएको र यसैले प्रधान न्यायमूर्तीलाई ठूलै शक्ति दिलाएको भन्ने बजारे हल्लाका पछाडि दौडेर कसैलाई फाइदा छैन।

त्यसमाथि मलाई चलायौ भने परमादेश गर्नुभन्दा अगाडि अहिले सत्ता गठबन्धनमा रहेको पन्चतत्वहरुले केके भनेका थिए र यसबाट कसकसले केके फाइदा लिए अनि केकेमा भागबन्डा मिलाउने बचन दिए भन्ने कुरा पत्रकार सम्मेलन गरेर छरपष्ट पारिदिन्छू अनि सबैलाई उठ्नै नसक्ने गरी झारिदिन्छु भनेर प्रधान न्यायमूर्तीले सरकार प्रधानलाई भनेका थिए रे भन्ने अर्को बजारे हल्ला सुनेर पनि केही काम छैन। त्यही भएर सरकार प्रधान लगायत गठबन्धनका पन्चतत्वहरुको बोली नफुटेको र प्रधान न्यायमूर्तीलाई निकासको लागि अनुरोध गर्नसम्मपनि शक्ति नजूटेको रहेछ भन्ने त जनताले पत्याउने कुरै आएन।

अदालतमा यत्रो लठाबज्र हुँदापनि सबै दलका शिर्ष हौं भनेर कुर्लने र सोझासिधा जनताको अगाडि आकाशको तारा नै झार्छौं भन्दै आफ्नो क्षमता र औकात भन्दा बढी उर्लने सबै नेताहरुले अहिलेको अदालतको रमिता नदेखेका हुन् कि आफैंले सिर्जना गरेको रमाइलो गाइजात्रा मानेर हेर्दै मनोरन्जन लिइरहेका हुन् त्यो त उनिहरुलाई नै थाहा होला।

संबिधानको अपब्याख्या गर्दै र लिलाम बढाबढको तरिकाले नियुक्ति खरिद गर्नेबाट प्राप्त नगदमा चर्दै आएका शिर्ष लगायतका ठूला नेताहरुलाई प्रधान लगायतका न्यायमूर्तीहरुको कृयाकलापबाट राष्ट्रको प्रतिष्ठा कति तल गिरेको र कसकसले कत्रो कलंक भिरेको छ भन्नुभन्दा आफ्नाे  खल्तीमा के कति छिरेको छ भन्ने मात्रै चिन्ता हुनु ज्यादै उच्च तहको नेतृत्व क्षमता उजागर हुनु हो।

प्रधान न्यायमूर्तीलाई राजीनामा दिनु र अब आरामसित बिश्राम लिनु भन्नपनि नसक्ने अनि संबिधान अनुसार महाअभियोग लगाउने बारेपनि कतै केही नबक्ने गरेको देख्दा राजनैतिक नेतृत्व उहाँहरुले दावी गरेजस्तै अति सक्षम रहेकोमा जनतालाई अब कुनै शंका रहेन।

आफ्नो नेतृत्वमा रहेको अदालतका परिचरदेखि कर्मचारीहरुसम्म र कानून ब्यबसायीदेखि न्यायमूर्तीहरुसम्म बिरोधमा लागेको अनि राजीनामा नदिइ हुँदैन भन्दै बिरोधमा जागेको बिषयलाई अनेक तिकडमयुक्त कदम चालेर र आर्थिक लगायतका बिभिन्न खाले तुरुप फालेर थामथुम पार्ने प्रयास गरेपनि सफल नभएपछि कुनै हालतमा राजीनामा नदिने अनि संबैधानिक बाहेक अरु निकासको बाटो नलिने प्रधान न्यायमूर्तीको अडान ज्यादै जायज छ। सुरुको न्यायमूर्ती नियुक्ति देखि यहाँसम्म आइपुग्दा भएको खर्च र मेहनतलाई मध्य नजर राखेर हेर्दा यो कदम सही हो।

आफू अति योग्य सक्षम क्षमतावान र दक्ष हुनुको साथै ज्यादै नैतिकवान भएकोले यहाँसम्म नियुक्त हुन सकेको र यति योग्य व्यक्ति न्यायालयको लागि अझै आवश्यक छ भनेर मात्रै राजीनामा दिन्न भन्दै बकेको भन्ने कुरा सबैले बुझिदिन पर्छ। सबैै लाज शरम इज्जत प्रतिष्ठा मान मर्यादा नैतिकता आदि सबैको ज्यादै राम्रो ज्ञान भएका खानदानी परिवारका प्रधान न्यायमूर्तीलाई यस्ता कुनैपनि बिषयको ख्याल राख्न नजान्ने ब्यक्तिहरुले माग्दैमा र हावादारी तरिकाले बिरोध गरेर जाग्दैमा राजीनामा दिइ हाल्न अनि नगदले त्यस्ताको मुख टाल्न त हुँदैहुँदैन।

बरु मान प्रतिष्ठा इज्जत नैतिकता बिर्सेर एउटा कुनामा लुकेर भएपनि पेशी तोक्दा आउने नगद ढुकेर र न्यायालयको नेतृत्वबाट चुकेर भएपनि सकेसम्म कुर्सी त छोड्न हुँदैहुँदैन। अहिले यसो गरेर टिक्न नसके भबिष्यमा यो कुर्सी लिलाम बढाबढमा बिक्न नसक्ला भनेर डराउने र हामीजस्तो नैतिकता भएका यो दुनियामा कोही छैन भनेर कराउने अनि यत्रो समस्या परेको बेलामा कताकता हराउनेहरुलाई मर्का पर्न सक्छ।

अहिलेको समयमा सर्बोच्च न्यायालयबाट भागबण्डा आउने राजनैतिक मुद्दा र मजाले नगद आउने प्रकारका मुद्दा बाहेक अरु मूद्दाहरु पेशीमै नचढ्ने र दर्ता भएपछि कहिले अघि नबढ्ने गर्छन् अनि भनेजति दाम चढाउन नसक्नेहरु तारिक खेप्दाखेप्दै मर्छन् भन्ने हल्लामा जनताको पटक्कै बिश्वास नभएपनि कानून ब्यबसायी र न्यायमूर्तीहरुले बिचौलियामार्फत रकम प्राप्त नभएसम्म फैसला नगरी मुद्दा अड्काउने, बसिबसी भनेजति माल पड्काउने,अरुका बिचौलियाहरुलाई मर्का पारेर भड्काउने र आर्थिक लेनदेनबाट चाहेको पद छड्काउने कामहरु खुलेआम रुपमा गरेका हुनाले सबैलाई आजको दिन देख्ने महान सौभाग्य प्राप्त भएको हो भन्ने जनताको भनाइ सून्ने फुर्सद कसलाई होला र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *