सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिँदै

डिसी नेपाल
२८ कार्तिक २०७८ १८:२८

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ । कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिँदैछ ।

प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए । भण्डारी र सांसद पदम रोकायाले गएको असोज १० गते प्रदेशसभामा सिञ्जा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८ दर्ता गराएका थिए । सो विधेयकलाई पूर्णता दिन आइतबार कनकासुन्दरी गाउँपालिकामा सुझाव सङ्कलन कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।

सुझाव सङ्कलन कार्यक्रममा प्रदेशसभा संसदीय टोलीसहित सिञ्जा सभ्यताका जानकार व्यक्ति, आठै स्थानीय तहका जनप्रतिनिधि, सञ्चारकर्मीलगायत सरोकारवालाको सहभागिता रहने अध्यक्ष शाहीले बताए । विधेयकमाथि सुझाव सङ्कलन कार्यक्रमको समन्वय तथा पत्राचार गर्ने जिम्मा पत्रकार महासङ्घ जुम्लालाई दिइएको छ । कनकासुन्दरी–४ लामाथाँडामा सुझाव सङ्कलन कार्यक्रम सुरु हुने भएको छ । सिञ्जा सभ्यताको संरक्षण तथा विकासका लागि विधेयकमा उल्लेख भएका विभिन्न बुँदामाथि छलफल तथा छुटेका विषयवस्तु समेट्ने गरी सुझाव सङ्कलन हुनेछ ।

नेपाली भाषाको उद्गमस्थल सिञ्जाको विरासतलाई जोगाउन सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक कोसे ढुङ्गा साबित हुने पूर्वमन्त्री भण्डारीले बताए । विधेयकले खस संस्कृतिको संरक्षण, ऐतिहासिक विषयमाथि छलफल, सिञ्जा सभ्यताको प्रचारप्रसार तथा ऐतिहासिक पर्यटकीय गन्तव्य बनाउनसमेत विधेयकले महत्व भूमिका खेल्ने बुझिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *