रैथाने धामी झाँक्री उपचार प्रणालीको बैज्ञानिक पक्षबारे

डिसी नेपाल
३० कार्तिक २०७८ ९:२१

आज वैज्ञानिकहरू आफै भन्ने गर्दछन् कि नेपाल जस्ता मुलुकको दुर्भाग्यपूर्ण बर्तमानको धेरै कारणहरू मध्येको एक कारण त्यहाँको परम्परागत धामी, झाँक्री लगायतका उपचार पद्धतिभित्र रहेको वैज्ञानिक पक्ष संस्थागत गर्न नसक्दा आज मुलुक बिदेशी माफियाको एकाधिकार बजार बनिदियो। मुलुकको आफ्नो सबलता पढे लेखेका र उच्च सरकारी, गैरसरकारी र मूलतः कूटनीतिक तहमा निर्णायक स्थानमा रहेका आफ्नै बुद्धिजीवी भनिएकाहरूको षड्यन्त्रमा परेर कहिल्यै मुलुकको संवृद्धिको लागि उपयोग हुन सकेन।

वैदिक अवधारणामा प्रकृतिमा अनगिन्ती ब्रह्माण्डहरू छन्। प्रत्येक ब्रह्माण्ड अण्डाको आकारका रहेका हुन्छन्। प्रत्येक ब्रह्माण्डको संरचनामा आगो, पानी, पृथ्वी, वायु, आकाश, मन, बुद्धि, अहङ्कार र अचेतनको अस्तित्व भेटिन्छ। सृष्टिको सुरुवातदेखि आजको समयसम्म प्रकृतिमा अस्तित्वमा आएका सबै घटनाका छापहरू सूक्ष्मरूपको स्मृतिको रूपमा प्रकृतिको गर्भमा भण्डारण हुने गर्दछ।

जुन अनन्त रहन्छ। त्यसलाई हामी संस्कार भन्ने गर्दछौं। प्रकृतिमा पुराना सभ्यताहरू लगायत त्यहाँ घटेका सम्पूर्ण गतिविधिहरूको सम्झनाहरू सूक्ष्म रूपमा भण्डारण रहेको हुँदा मानसिक रूपमा प्रकृतिको स्मरणमा रहेको सामूहिक अचेतन वा कलेक्टिव अनकन्सेन्ससको स्तरमा पहुँच गर्न सम्भव बन्छ। योगको मान्यताअनुरूप हरेक बस्तुका तीन गुणहरू हुन्छन्। तिनै गुणका आफ्नै अद्वितीय विशेषताहरू हुन्छन्। जसमा तम गुणले स्थिरता, रज गुणले गतिशीलता र सत गुणले स्थिरता र गतिशीलता बिचको पूर्ण चेतनको अवस्थालाई जनाउँदछ।

ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा पहिलेको अन्धकारको अवस्था वा डार्क स्पेसलाई योगको अवधारणाले एक ब्रह्माण्डीय सुपर कम्प्युटर मान्दछ। उक्त डार्क स्पेस (महत) मा नै ब्रह्माण्डका सम्पूर्ण स्मरणहरूको भण्डारण हुने गर्दछ। महतमा सुरक्षितरूपमा भण्डारण रहेको स्मरणहरू गतिशीलता वा रज गुणका कारण प्रकृति सम्मको पहुँचमा हुन्छन्।

सृजनात्मक कम्पन भनिने स्थिरता र गतिशीलता बिचको संयोजनकारी राजसी गुणका कारण महतमा सुरक्षित स्मरणहरूको प्रतिलिपिहरू प्रकृतिसँगै जोडिन पुग्दछन्। स्मरणको प्रतिलिपिहरूको स्थिरता वा तम गुणको कारण डार्क स्पेसमा (महत) रहेका सम्पूर्ण स्मरणको प्रतिलिपिहरू प्रकृतिको गर्भमा हर समय उपलब्ध हुने गर्दछन्।

परम्परागतरूपमा हाम्रा धामी झाँक्रीहरूले देवी देवताको भाकल, पूजा आदि गर्ने, बिरामीलाई मनोरोगवाट (भूत, प्रेत, मसान, पिचास, डर, चिन्ता आदि) वाट मुक्त गर्न कर्मकाण्डी देखिने अचेत दिमागलाई ट्रान्स–स्टेटमा पुर्‍याएर अचेतन दिमागसँग सीधा संवाद गरी मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण गर्ने, हिप्नोटिजम गर्ने, अचेत दिमाग र कलेक्टिव अनकन्सेन्ससबीच सम्पर्क कायम गरी दरिलो आत्मबल निर्माण गर्ने, घरेलु जडीबुटीमार्फत एलर्जीका प्रभाव, हानिकारक जीवाणु र रोगाणुको प्रभाव घटाउने र त्यसले जन्माएको रोग, विकृति र मनोदशाको उपचार गर्ने गरेको यथार्थ आज आएर हामीले बुझ्न सकेका छौं।

यसरी डार्क स्पेसमा सुरक्षित सामूहिक स्मृति, विचार आदि स्मरणहरू सामुहिक अचेतन वा कलेक्टिव अनकन्सेन्ससको रूपमा प्रकृतिमा उपलब्ध हुन सम्भव बन्छ।
प्रकृतिमा उपलब्ध सामूहिक अचेतन वा कलेक्टिव अनकन्सेन्सससँग मानिसले आफ्नो मानसिक पहुँच सामान्य अवस्थामा पुर्‍याउन सक्दैन। सोको लागि एक साधकले जस्तै आफ्नो चित्तलाई सात्विक–सात्विकको स्तर अर्थात् आत्म ज्ञानको प्राप्तिको स्तरमा पुर्‍याउन जरुरी हुन्छ।

त्यसको अर्थ हो सांसारिक नभएर आध्यात्मिक क्षमताको निपुणताको जरुरत। योग वा ध्यानजस्ता विधिवाट आफ्नो सम्पूर्ण शरीर र मस्तिष्कमा सामान्य–जस्यता, सन्तुलन र बुद्धिमत्ता कायम गरी रज र तम दुवै गुणलाई घटाएर प्राप्त राजसी गुणलाई यहाँ सात्विक–सात्विकको स्तर भनिएको छ। जुन अवस्थामा आनन्द वा ब्लिसको अवस्थामा पुग्न सकिन्छ। त्यति बेला मानिसले आफ्नो पूर्ण चेतनाको उपयोग गर्न सक्ने मान्यता योगको छ।

सामुहिक अचेतन वा कलेक्टिव अनकन्सेन्ससको भण्डारमा विगतमा प्रकृतिमा जीवित रहेका मानवहरूको समेत स्मरण रहेकाले तिनीहरूको स्मरणमा समेत मानसिक रूपमा पहुँच पु¥याउन सम्भव हुन्छ। भूतको अर्थ विगत लाग्ने हुँदा विगतका मानव जातिको स्मरणलाई कतिपय सन्दर्भमा भूत भनिएको देखिन्छ। सामूहिक चेतनासँग संसर्गमा रहने मानसिक चेतनाले पृथ्वीको पन्चतत्वसँग कुनै पनि हदको सञ्चार वा संसर्ग कायम गर्न सक्ने देखिँदैन।

समाजको मान्यतामा रहेको कुनै समय वा स्थानमा देखा पर्ने भनिएको भूत वा प्रेत–आत्मा तसर्थ मानसिक सञ्चार वा संसर्गको उत्पादन हुन सक्दैन। सात्विक–सात्विक आनन्द वा ब्लिसको अवस्थामा नभएर अन्य प्रकृतिको अर्ध चेतन अवस्थाको कुनै अर्कै प्रकारको मानसिक सोचको अनुभूतिको उपजको रूपमा मानिसमा भूत वा प्रेत–आत्माको सिकार बनेको प्रकृतिको अवधारणा विकास भएको देखिन्छ।

आत्मा र चेतना सम्पूर्ण जीवित प्राणीमा रहने गर्दछ। वैदिक मान्यतामा देवहरू, गन्धर्वहरू, दैत्यहरू आदि धर्म वा अधर्मको सन्दर्भको व्याख्यामा उपयोग गर्न नभएर मानिस जस्तै आत्मा र चेतना हुने सम्पूर्ण प्राणीहरू जस्तै पंक्षीहरू, कमिलाहरू, सूक्ष्म जीवहरू र रूखहरू आदिको एक अर्काको सह–अस्तित्वको लागि एक आपसको भूमिका दर्साउँन प्रयोग गरिएको बुझिन्छ। सम्पूर्ण प्राणीबीचको आत्माको अन्तरसम्बन्धको वैज्ञानिक पक्षबारे गहिरो ज्ञान दिने यी शब्दहरूको अर्थको पहिचानमा हुन पुगेको कमजोरीले त्यसलाई देवत्वको रूपमा गलत व्याख्या गरिएको भेटिन्छ।

राक्षस शब्द वास्तवमा ’रक्षा’ बाट आएको हो। जसको अर्थ रक्षासँगै सम्बन्धित देखिन्छ। असुर शब्दले दैत्य, दानव र राक्षस लाई नै जनाउँदछ। यिनीहरू पनि जैविक र पर्यावरणीय सुरक्षा सम्बन्ध कै शब्दहरू हुन्। हावा, वायु, वायुका देवता र प्राणलगायतको अर्थ दिने मरुत् तथा बहुरूपी, प्रलयकारीरूपको संज्ञा दिने रुद्र समेत सम्पूर्ण प्रकृतिका जीवित प्राणीको सुरक्षा र ध्वंस सँगै सम्बन्धित बुझिन्छ।

आवृत्ति–शक्तिले (पूजा, पाठ, मन्त्र) समेत सुरक्षा सन्दर्भको, तन्त्र मतलब कुनै साधनको प्रतिनिधित्व गरेको देखिन्छ। हाम्रा परम्परागत रैथाने उपचार प्रणालीको सन्दर्भमा यी शब्दहरू हाम्रो शरीरमा हर्मोन, इन्जाइम, एलर्जीका प्रभाव, शरीरका हानिकारक जीवाणु र रोगाणु, त्यसले जन्माएको रोग, विकृति र मनोदशाको हालत, रोगका कारक, रोगका नाशक, शरीर तथा पर्यावरणको लागि लाभकारी जीवाणु प्रवर्द्धक एवम् मनोवैज्ञानिक तथा आध्यात्मिक वृत्ति विकासको उत्प्रेरकका विषय बस्तुआदि सँगै सम्बन्धित रहेको प्रस्ट हुन्छ।

जब मानिसमा अज्ञानता हाबी हुन्छ, अज्ञानताको बीचमै लिइने निर्णयहरू त्रुटिपूर्ण हुन सक्दछन्। हाम्रा दैनिक जीवनमा आइलाग्ने विषय बस्तुहरू वारेको निर्णय गर्ने समयमा गलत र सही छुट्टाउने क्षमताको अभावमा हामीमा तत्काल विकास भएको भ्रमका कारण गलत निर्णयमा पुग्नु मानिसको स्वाभाविक दिन चर्या नै हो।

जब मनको कुरा आउँछ, आत्मा बलको कुरा आउँछ वा दृष्टि भ्रमको कुराहरू आउँछ हाम्रो संज्ञानात्मक कौशलताले समेत जरुरतअनुरूपको सूचनाको अभावमा फरक निष्कर्ष निकाल्ने गर्दछ। यसैबीच मानिसको दिमागको रचनात्मक शक्तिको क्षमता आफैमा एक अजिब क्षमता रहेको यथार्थ हामीले भुल्नु हुँदैन।

मानसिक शक्तिको प्रभावमा रहने मानिसको मनको पाँच अवस्था हुने गर्दछ। क्षिप्त (अशान्त), विक्षिप्त (दुबिधामा रहेको, विचलित), मुग्ध (भ्रमित), एकाग्र (एकोहोरो निश्चित विषय बस्तुमा केन्द्रित) र निरुद्ध (नकारात्मक, शान्त)। मानिसको मन फरक फरक अवस्थामा रहँदा उसले फरक फरक प्रकृतिका सोचहरू र अनुभवहरू प्राप्त गर्ने गर्दछ। तसर्थ आफ्नो मनको फरक अवस्थामा मानिसले एकै घटनाको पनि फरक फरक अनुभूति प्राप्त गर्न सम्भव रहन्छ।

घटनाको यथार्थ एउटा रहेता पनि मनको कुनै अवस्थामा मानिसका झूटा अनुभूति, बिचार र तर्कहरूले घर गर्न सम्भव बन्छ। मानिसले खाने खाना, जडीबुटी, रक्सी, लागूपदार्थ, जीवन शैली, तत्कालीन समयका व्यवहारिक वा मनोवैज्ञानिक परिस्थिति आदि समेतले मानिसमा फरक प्रकृतिको गहिरो अवास्तविक अनुभूति छोडिदिन सक्दछ। साँझको बेलाको अँधेरोमा एउटा डोरीलाई सर्प देखी झस्कनेदेखि एउटा हरियो सापलाई हरियो बिरुवाको हाँगो ठानी समात्न पुग्ने अनि सातो पुत्लो उड्ने घटनाको सिकार बन्ने परिस्थितिको सहजै विकास हुन सक्छ।

त्यस्तै गाउँघरमा माओवादी आतङ्क चरम सीमामा पुग्दा रोडमा बसको टायर आवाज निकाली पन्चट हुँदा गाउँमा बम पड्केको ठानी मानिस आतङ्कित हुने भाग्ने गर्दथे। अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कँदा कुई गर्दछ। एक क्षणिक काल्पनिक घटनाको प्रभावले कतिपय अवास्तविकता वास्तविक बनिदिएर मानिसमा मनोवैज्ञानिक तथा संज्ञानात्मक समस्याको कारक बन्नेसमेत गरिदिन्छ।

मानिसको दिमागका विभिन्न अवस्थाहरू रहन्छन्। पहिलो निन्द्रामा सपनीमा रहेको अवस्था। दोस्रो, सपनी नदेखेको निन्द्राको अवस्था। जसलाई सुषुप्त अवस्था भन्ने गरिन्छ। तेस्रो अवस्था छ, जाग्रत् वा सामान्य दैनिकीको ब्युँझिएको समयको अवस्था। ननिदाएको वा ब्युँझिएको अवस्था । मानिसको दिमाग एक अवस्थावाट अर्को अवस्थामा प्रवेश गर्दै गर्दासमेत बीचमा कुनै अवस्थावाट गुज्रन जरुरी पर्दछ। उक्त अवस्था अर्ध–चेतनाको अवस्था हो।

अर्ध–चेतनको समयमा मस्तिष्कमा आत्म–सचेतता रहँदैन। न त मस्तिष्कले बाहिरवाट प्राप्त सूचनाप्रति कुनै प्रतिक्रिया नै दिँदै गरेको हुन्छ। इन्द्रीयहरू मार्फत प्राप्त सबै सूचनाहरूमा पूर्णतया प्रतिक्रियात्मक विहीन बनिरहेको हुन्छ।

हाम्रा समाजका विज्ञान र मेडिकल पढेका कतिपय फन्डितहरु त अझै हाम्रा परम्पराको चुरो यथार्थ समाजमा जान नदिन यसलाई रुढीवादी भ्रम भन्दै विदेशी ओखती र सामानको नेपाललाई मनोपली बजार बनाउन कम्मर कसेर लागिरहेका छन्। आफ्नो दलाली धर्म पूरा गरिरहेका छन्।

मानिसको चेतन दिमाग तर्कसङ्गत दिमाग हो। एक आलोचनात्मक सोच पैदा गर्ने दिमाग। अन–कन्सियस ब्रेन भनिने अचेतन दिमाग भने तर्क सङ्गत दिमाग नभई आफूले जीवनमा भोगेको अनुभवको आधारमा आफ्नो भित्री मान्यताहरू विकास गर्ने दिमाग हो। आफ्नो मनमा गडेको अनुभवको आधारमा आफ्नो अन्तरमनवाट आएको स्व–निर्देशनलाई तर्कसङ्गत रूपमा तौलिएर बिचार गरी रोकेर तर्कसङ्गत फरक निर्णयमा पुग्ने काम चेतन दिमागको हो।

दुर्भाग्यबस मानिसमा मनभित्र गडिएर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोटहरू मस्तिष्कको त्यही अनकन्सियस ब्रेनमा गाडिएर बसेको हुन्छ। जुन मौका पर्नासाथ बारम्बार बल्झिने गर्दछ । मानिस मनोरोगी बन्दछ।

दिमागको ट्रान्स–स्टेट भनिने अर्ध–चेतन अवस्थामा हाम्रो दिमाग सचेतन र अवचेतन अवस्थाको बीचमा फसेको हुन्छ। संक्षेपमा ट्रान्स स्टेटमा मानिस न त पूरा जाग्रत् न त पूरा सपनाको अवस्थामा रहन्छ। कुनै निश्चित अवस्थामा अर्ध–चेतन अवस्थामा हुँदै गर्दा मानिस आफ्नो अर्ध–चेतन अवस्थामा मस्तिष्कले जे सोचिरहेको हुन्छ त्यसैको अनुसरण गरिरहेको भेटिन्छ।

त्यो अवस्थामा निद्रामै सपना देखेजस्तो गरी डराउने, खुसी हुने, हिँड्ने, कुरा गर्ने, बोल्ने, रुनेजस्ता गतिविधि देखिने गर्दछ। झल्याँस्स बिउँझिँदा उक्त गतिविधिबारे जानकारी हुँदा मानिसमा झन् गहिरो सन्देह विकास भए मनोरोगी बनेको समेत भेटिन्छ।

अनुभवहरूले बताएअनुरूप मानिसको भित्री रूपान्तरण गर्ने कार्यमा उसभित्र पैदा हुने आलोचनात्मक सोचले अत्यन्त हस्तक्षेपकारी भूमिका खेली अवरोध पु¥याउने गर्दछ। मस्तिष्क ट्रान्स–स्टेटमा रहँदा आलोचनात्मक सोच पैदा गर्ने दिमाग बाइपास हुने गर्दछ। ट्रान्स–स्टेटमा मानिसलाई रूपान्तरणको प्रयास गर्दा आलोचनात्मक सोचको अवरोध नरहने हुँदा कतिपय अवस्थामा अचेतन दिमागसँग सीधा संवाद सम्भव बन्छ।

अचेतन दिमागसँगको सीधा संवादले भित्री रूपान्तरणको लागि जरुरी हुने सकारात्मक सोच र विश्वास पैदा गरिदिन्छ। सोच र मान्यतामा आएको सकारात्मकताले डर, त्रास घट्ने, आत्मबल बढ्ने हुँदा मानिसलाई स्वस्थ हुने पूर्वाधार विकास गरिदिन्छ। मूलतः सेमी–ट्रान्स–स्टेट वा ट्रान्स–स्टेटमा गरिने मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण, हिप्नोटिजम, मेडिटेसन, योगजस्ता परिवर्तित चेतनाको उपाय मनको भित्री रूपान्तरण लागि उपयोगी बन्छ।

मनोवैज्ञानिक कार्ल जङ्गका अनुसार अचेतन दिमाग सामूहिक अचेतन वा कलेक्टिव अनकन्सेन्ससको ठूलो दायराको सञ्जालसँग प्रत्यक्ष सम्पर्कमा रहने गर्दछ। सामूहिक अचेतनलाई युनिभर्सल अथवा डीप माइन्ड समेत भन्ने गरिन्छ। संसारमा अस्तित्वमा आएका सबै जीवनहरूको अनुभूतिहरूको ऊर्जा समावेश भएर उक्त प्राकृतिक आवरणको निर्माण भएको हुन्छ। नियमित सचेत दिमागको सम्पर्कमा रहेर जिद्दीयुक्त अहङ्कार पक्डेर बसेको अचेत दिमागलाई ट्रान्स–स्टेटमा पु¥याएर गरिने संवादले कलेक्टिव अनकन्सेन्सस सँगको सम्पर्कमा पुर्‍याउँछ।

अचेत दिमाग र कलेक्टिव अनकन्सेन्ससबीच हुने सम्पर्कमा जिद्दी युक्त अहङ्कार समेत कलेक्टिव अनकन्सेन्ससतर्फ विलीन हुँदै जाने प्रक्रिया सुरु हुन्छ। ट्रान्स–स्टेटको संवाद प्रक्रिया केही समय सुचारु राख्न सक्दा अचेत दिमागमा गढेर रहेको गहिरो उदासी, क्रोध वा निराशा, प्रतिस्पर्धा–बदलाको भावना आदि क्रमशः कलेक्टिव अनकन्सेन्ससतर्फ फ्याँकिन पुग्दछ।

मतलब आफ्नो जिद्दीयुक्त अहङ्कार त्याग्न सहयोगी बन्दछ। यसले गर्दा मस्तिष्कको अनकन्सियस ब्रेनको भागमा भित्र–वीजको रूपमा गढेर बसेको पीडा, दर्द, मनोरोग र समाधान नगरिएका आघातका अधिकांश चोटहरू सबै सामूहिक अचेतनको भण्डारमा थन्काई दिएपछि मौका पर्न साथ बारम्बार बल्झिने वीजको अभावमा मानिस समस्या मुक्त बन्न सक्दछ।

परम्परागतरूपमा हाम्रा धामी झाँक्रीहरूले देवी देवताको भाकल, पूजा आदि गर्ने, बिरामीलाई मनोरोगवाट (भूत, प्रेत, मसान, पिचास, डर, चिन्ता आदि) वाट मुक्त गर्न कर्मकाण्डी देखिने अचेत दिमागलाई ट्रान्स–स्टेटमा पुर्‍याएर अचेतन दिमागसँग सीधा संवाद गरी मनोवैज्ञानिक तथा आध्यात्मिक रूपान्तरण गर्ने, हिप्नोटिजम गर्ने, अचेत दिमाग र कलेक्टिव अनकन्सेन्ससबीच सम्पर्क कायम गरी दरिलो आत्मबल निर्माण गर्ने, घरेलु जडीबुटीमार्फत एलर्जीका प्रभाव, हानिकारक जीवाणु र रोगाणुको प्रभाव घटाउने र त्यसले जन्माएको रोग, विकृति र मनोदशाको उपचार गर्ने गरेको यथार्थ आज आएर हामीले बुझ्न सकेका छौं ।

हाम्रा तिनै परम्परागत प्रविधिको वैज्ञानिक आधार पत्ता लगाएर पश्चिमाहरूले जडीबुटी मार्फत प्राकृतिक उपचार , प्लेसिबो ईफेक्ट, एक बिन्दुमा नियन्त्रित भएर गरिने ध्यान, आत्मसम्मोहन, सोमलता–गाँजा– भाँग–काँचो सुपारीजस्ता स्वास्थ्यकर तर हेलुसिनेटिंङ्ग जडीबुटी सेवन पश्चताको सम्मोहन, प्राणायाम र कपाल भाँती जस्ता श्वास–प्रश्वास प्रक्रिया, मन्त्र– पूजा र तपस्या, संगीत–बिट्स र ध्वनिहरू, पेन्डुलमको आवाज र गतिमा ध्यान केन्द्रित गर्न ध्यान, पूर्व रेकर्ड गरिएको गतिशील दृश्य हेरी गरिने ध्यान, वासनादार अगरबत्ती र जडीबुटीमार्फत गरिने सम्मोहन, धर्म कार्य, सामाजिक कार्यहरूमा नाच आदिमा भाग लिएर प्राप्त गरिने शारीरिक र भावनात्मक सन्तुष्टि आदि दिँदै आधुनिक मनोवैज्ञानिक उपचार, जीवाणु तथा रोगाणुको उपचारको उपायहरू संसारभर पुर्याएर अथाह कमाएको देखेपछि हामी झल्याँस्स बनेका छौं।

हाम्रा समाजका विज्ञान र मेडिकल पढेका कतिपय फन्डितहरु त अझै हाम्रा परम्पराको चुरो यथार्थ समाजमा जान नदिन यसलाई रुढीवादी भ्रम भन्दै विदेशी ओखती र सामानको नेपाललाई मनोपली बजार बनाउन कम्मर कसेर लागिरहेका छन्। आफ्नो दलाली धर्म पुरा गरिरहेका छन्।

(खाद्य तथा औषधि विज्ञ, क्यानडा)

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *