इजरायलमा खोप नलगाएका एक नेपालीको कोरोनाका कारण मृत्यु

डिसी नेपाल
३० कार्तिक २०७८ ११:२१

काठमाडौं । इजरायलमा कोरोना खोप नलगाएका एक नेपालीको मृत्यु भएको छ । इजराइलस्थित तेल अबिबमा रहेको नेपाली दूतावासका अनुसार कोरोनाको खोप नलगाएका झापाका रमेश कुमार विश्कर्माको कोरोनाका कारण मृत्यु भएको हो ।

त्यस्तै, नेपालको सुनसरी स्थायी ठेगाना भएका लाल बहादुर बिष्टको सडक दुर्घटनामा परी निधन भएको छ । पछिल्लो समय इजरायलमा विश्वकर्माको कोरोनाका कारण र बिष्टको दुर्घटनाबाट मृत्यु भएको छ । दुबैजना वैदेशिक रोजगारीको सिलसिलामा ईजरायलमा रहँदै आएका थिए ।

दूतावासका अनुसार परिवारको स्वीकृतिमा स्व.विश्वकर्माको केही दिन अघि ईजरायलमै अन्त्येष्टि भइसकेको छ भने स्व.बिष्टको पार्थिव शरीर नेपाल आइपुगिसकेको छ ।

कोरानाका कारण मृत्यु भएका रमेश विश्वकर्माले कोरोनाको खोप नलगाएको दूतावासले उल्लेख गरेको छ । साथै, दूतावासले कोरोना खोप लगाउनेहरुमा मृत्युदर निक्कै कम हुने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेकाले हालसम्म पनि कोरोनाको खोप नलिई ईजरायल तथा साईप्रसवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कुनैपनि द्विविधा नराखी यथाशीघ्र खोप लगाउन आग्रह गरेको छ ।

त्यसैगरी, सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको देखिएकोले (साईप्रसमा झनै बढी) सडक सुरक्षामा यथोचित ध्यान दिन समेत सबै नेपालीलाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *