‘मुख्यमन्त्रीज्यू ! राहत होइन, हामीलाई घरबासको व्यवस्था गरिदिनु’

डिसी नेपाल
१ मंसिर २०७८ २२:२०

मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई आगलागी पीडितले तत्कालको लागि राहतसँगै पहिलो प्राथमिकता घरबासको व्यवस्था मिलाई दिन आग्रह गरेका छन् ।

बुधबार बिहान हेलिकप्टरमार्फत राहत ल्याएर सदरमुकाम गमगढी बजार आएका मुख्यमन्त्री शाहीलाई यहाँका पीडितले घरबासको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

कात्तिक २९ गते गमगढी बजारमा भीषण आगलागी भएसँगै पीडितहरू निकै चिन्तामा छन् । अग्नि पीडितले मुख्यमन्त्री शाहीलाई सरकारले राहतको लागि टेन्ट प्रदान गर्दा पनि आफूहरूले कहाँ गाडेर बस्ने भन्ने अवस्थामा रहेकाले वासस्थानको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

‘प्रदेश सरकारबाट राहत प्रदान होला । कहाँ खाने ? कहाँ राख्ने ? ‘, उनीहरूको प्रश्न छ । मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाही बुधबार राहत ल्याएर गमगढीमा पुगेका थिए । तर, राहत वितरण भएन । सरकारबाट राहत कम मात्रामा ल्याइएपछि सबैलाई पुग्ने गरि पछि वितरण गरिने बताइएको छ ।

सोमबार साढे १२ बजे भएको आगलागीबाट २५ घरसहित बहालमा बस्ने ५५ गरी ८० घर परिवार विस्थापित भएका छन् । उनीहरूले आगलागी हुँदा निभाउनलाई पानीसमेत नरहेको भन्दै मुख्यमन्त्री सामु आक्रोश पोखेका थिए ।

मुख्यमन्त्री शाहीले पीडितहरूसँग समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *