अदालतको आदेशपछि निर्वाचनको तयारीमा तुलसीपुर खानेपानी संस्था

डिसी नेपाल
२ मंसिर २०७८ ९:१३

दाङ । लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेसँगै निर्वाचनको तयारी अघि बढेको हो ।

सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ । सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताए ।

गत कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मङ्सिर २५ गतेभित्रै निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । साथै निर्वाचनमा भाग लिनका लागि गत आर्थिक वर्षको महसुल बुझाउन अनुरोध गरिएको छ । कात्तिक १२ गतेसम्म खानेपानीको महसुल नबुझाएमा मताधिकार हुने छैन । हाल खानेपानीका आठ हजार २ सय धारा छन् । संस्थाका ७१ पार्सद्मध्ये ४१ ले बहिष्कार गरेपछि अदालतमा पूर्वकर्मचारी यमुना शाहले रिट दायर गरेकी थिइन् ।

शाहले गत फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गरेकी थिइन् । त्यसपछि निर्वाचन प्रभावित भएको थियो । समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको जानकारी गराएका थिए ।

त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्न जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी तोकेको थियो । रिट निवेदन परेपछि फागुन २२ गते तोकिएको निर्वाचन रोक्न अदालतले आदेश गरेको थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *