व्यंग्य : कुरा ठूलो, खुट्टा लुलो – Dcnepal

व्यंग्य : कुरा ठूलो, खुट्टा लुलो

अहिले सबैतिर ज्यादै ठूला कुरा गर्ने तर त्यो अनुसारको ब्यबहार वा आचरण देखाउन पछाडि पर्ने वा उल्टो बाटोतिर लम्किन अघि सर्ने चलन अति शानदार तरिकाले चलिरहेको, कुनै लाज शरम र घिन नमानिकन यस्तै काम फत्ते गर्नेहरुकै भाग्य बलिरहेको र सबैतिरबाट यस्तैको लागि नोट फलिरहेको अद्भूत दृश्य देखेर जनता खुसीले गद्गद् भएका छन्।

पहिले सामान्य मेच वा सोफाहरुबाट काम चलाईएको देखिएपनि त्यसमा बस्ने ब्यक्तिहरुले जिम्मेवारी अनुसारको काम पूरा गर्न कम्मर कस्ने गरेको देख्ने सुन्ने मानिसहरु अझै जीवित रहेका छन्। केही वर्ष अघिसम्मपनि कुर्सीमा बस्नेहरु निकै जिम्मेवारी बोध भएका र आफूलाई अब्बल साबित गरेर त्यहाँ गएका हुन्थे भन्ने धेरैलाई थाहा भएको हुनुपर्छ। अचेल नयाँ डिजाइनका भब्य आरामदायी महंगा कुर्सी र सोफा आदि फेरिएका अनि त्यसमा बस्नेहरु धेरै ठूलाठूला स्वार्थले बेरिएका देखिन्छन्।

जति ठूलो र राम्रो कुर्सी वा सोफा वा मेचमा बसेपनि त्यसको दायित्व बोध भनेको कुन चराको नाम होला भनेर सोध गर्न पर्ने आवश्यकता देखिइसकेको छ। साना कुर्सीमा बसेपनि वा ठूला कुर्सीमा बसेपनि साना कुरा गर्ने र आफ्नो जिम्मेवारीमा लागि पर्ने मानिसहरु बिरलै पाइन्छन् अनि कुरा मात्रै गरेर त्यो कुर्सीबाट हातलागी गर्न सकिने नगद हाकाहाकी खाइन्छन् भन्नेमा सबैको एकमत देखिन्छ।

काम गर्ने कुनै ढंग वा कुनै रंग नभएपनि कुर्सीमा बसेर खाँदै उघ्राएको देख्दा जनता दंग परेर हर्ष बिभोर छन्। मुखले सबैले अमूल्य भनेपनि र सैद्धान्तिक रुपमा ज्यादै महत्वपूर्ण बस्तुमा गनेपनि ब्यबहारमा ज्यादै तुच्छ र बाकसमा खसालेपछि अनि त्यसको प्रतापबाट आफ्नो प्रतिनिधि भनेर कुर्सीमा बसालेपछि र कार्यकारी जिम्मेवारीमा पसालेपछि आफ्नै प्रतिनिधिले समेत चटक्कै बिर्सेर अर्को चुनावसम्म पटक्कै नसम्झिने जिनिसको नाम हो भोट।

संसारकै सबैभन्दा राम्रो संबिधान बनाइयो र त्यसमा चुट्कीको भरमा पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने बाहेक सबै काम छुमन्तरबाट गरिने प्रतिबद्धता जनाइयो, जुन तहको कुर्सीमा बस्यो त्यही अनुपातमा गनाइयो, भोट हालेर जिताउने जनताको काम गर्ने कुरो पर्यो भने लाचारी देखाउँदै टाउको कनाइयो अनि भेटेजति श्रोतलाई आफ्नो र आफन्तको पोल्टोमा खनाइयो भन्ने कुरो जनताले थाहा पाए जस्तो छैन।

माल पाएर चाल नपाए जस्तो गरेको देखिएपनि चूनावको हल्ला चल्न थालेपछि गाल पर्ला भन्ने सोचेर हो कि अरु कसैको इशारामा हो कुर्सी ओगटेका नेताहरुले जनताको अलिअलि सम्झना गर्न थालेका र एकअर्कालाई होच्याउने नंग्याउने अनि एकअर्कालाई सत्तोसराप गरेर नाकमुख बंग्याउने कार्यको जोडदार सुरुवात गरेका देखिन्छन्।

राष्ट्रिय सभा लगायतका सानातिना चुनावमापनि लुला खुट्टाले एक्लाएक्लै उभिन नसकेर गठबन्धन कायम राख्न परेपछि र चुनावको सामना गर्न नसक्ने स्तरमा झरेपछि बरु दलहरु मिलेर एकता गरे राम्रो हुन्थ्यो होला। चुनाव जित्ने आत्मबिश्वास नभएका कोहीकोही बरिष्ठहरु संसदीय चुनावसम्म नै गठबन्धन कायम रहन्छ भन्ने कुरा गरेर नथाकेका, आफ्नो कामले भन्दापनि अर्काको कमजोरी देखाएर चुनाव जित्ने मनशायले देवीदेवता नभाकेका र गठबन्धनमा बसे बापत चुनाव खर्च भन्दै मोटो रकम खल्तीमा नजाकेका गठबन्धनका शिर्ष नेता भेट्टाउन जनतालाई मुश्कलै पर्ला।

प्रजातन्त्रको पुनस्र्थापना भएदेखि र देश संसदीय ब्यबस्थामा गएदेखि कुर्सीमा बिराजमान भएका चिरपरिचित अनुहारहरु तिनै कुर्सीहरुमा अहिलेसम्म अटाएको अनि उनीहरुले जनता प्रतिपनि हाम्रो केही दायित्व हुन्छ भन्ने सोचलाई दिमागबाट पूरै हटाएको, कुर्सीलाई अलिअलि हल्लाउन सक्नेहरुलाई त्यसैको आमदानीबाट गुलियो चटाएको, खुल्लमखुल्ला रुपमा सकेसम्म धेरै नगद ठटाएको र एउटै समूहले कुनै माखो नमारिकन धेरै कुर्सी फटाएको देख्दा जतिसूकै लाजमर्दो ब्यबहार देखाएपनि आफ्ना प्रतिनिधिहरु यति लामो अबधीसम्म यति महत्वपूर्ण कुर्सीमा अटाएको भनेर जनता ज्यादै प्रफुल्ल भएका छन्।

कुर्सीमा बस्नेहरुका कुरामात्रै सुन्ने हो भने धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टा लूलो भन्ने उखान सम्झेर जनताले रुन्चे हाँसो सहितको मुस्कान दिँदै यति सक्षम ब्यक्तिहरुलाई पटक पटक कुर्सीमा बसाल्न र आफ्नो हैसियतलाई सोचेभन्दा ज्यादै तल्लो स्तरमा खसाल्न सफल भएकोमापनि जनताको खुसीको सीमा नभए जस्तो देखिन्छ।

कुर्सीकै कुरा गर्दा सबैभन्दा माथिल्लो तहमा रहेको शितल निवासको कुर्सीमा बसेका र त्यो कुर्सी हातबाट फुस्केला भन्ने चिन्ताले जे जस्तो काम गरेर भएपनि त्यसमा आफूलाई राखिराख्न कम्मर कसेका व्यक्तित्वले गरेका काम कारबाहीहरुलाई हेर्दा जनता प्रफुल्लीत छन्। आफ्नो कुर्सी लामो समयसम्म टिकाउ हुने शर्तमा नियम कानून सबैलाई तिलान्जली दिएर बिकाउ शैलीमा जे गरेपनि हुने रहेछ।

बिगत सरकारको पालामा त्यहाँबाट ज्यादै सराहनीय तरिकाबाट पदको मर्यादा र प्रतिष्ठालाई पुरै बिर्सेर सरकार प्रधानले जसोजसो बाहुन बाजे उसोउसो स्वाहा गरेकोमा सबैले आहा भन्दै आनन्द मानेका र राष्ट्र प्रधान भनेको त सरकार प्रधानको छापदानी बाहेक केही होइन रहेछ भनेर जानेका छन्। कुरै सुन्ने हो भने वहाँका कुरा साना हुने त सवालै आउँदैन र त्यहाँ बस्नेले साना कुरा गर्नै पाउँदैन भन्ने सबैलाई थाहा भएकै बिषय हो।

कुरा अनुसारका कामपनि गरिदिने र ब्यक्तिगत र दलिय स्वार्थ त्यागेर जनताको कामको लागि अघि सरिदिने हो भने लुला खुट्टा अलि बलियो गरि टेकिन्थ्यो कि भन्ने बुझ्न ढिला नगरे राम्रो देखिन्थ्यो अनि त्यहाँ बस्नेको बारेमा राम्रो इतिहास लेखिन्थ्यो होला।

बिभिन्न घटकमा बाँडिएर संसारका कुनैपनि नेताले देखाउन नसकेको चटक गरेर देशलाई अति बिकसित राष्ट्रभन्दापनि माथिल्लो स्तरमा पुर्याउने कुरा मात्रै गरेर पटक पटक सरकार प्रधानको कुर्सीमा बसिसकेका र मौका पाउनासाथ फेरि बस्ने दाउ छोप्न अनि ज्यादै प्रिय भनेर चर्चा गरिएका ब्यक्तिहरुलाई नै छूरा रोप्न सधैं तम्तयार भएर मौकाको पर्खाइमा रहने र निजी स्वार्थ पूरा हुन्छ भने जेपनि सहने बानी भएका महानूभावहरुका कुरा त साना हून सक्ने अबस्था नै छैन।

कुनै बिदेशीले इशारा गर्यो वा आफू शक्तिमा पुग्ने मौका पर्यो भने दायाँबायाँ कतै नहेरिकन एकअर्कालाई सकेसम्म पेल्न र भित्तैमा पुग्ने गरी ठेल्न अनि व्यक्तिगत स्वार्थ पूरा भयो भने बिदेशीको जस्तो दवाबपनि झेल्न र बिदेशीको निर्देशन अनुसारको भूमिका खेल्न चौबिसै घण्टा तयार भएर बसेका ब्यक्तित्वहरु नै अहिले सत्ताका साझेदार छन्। पाँच दलीय सत्ता गठबन्धन भनिएपनि यी पञ्चतत्वले कुनैपनि बेला आफैं भित्रकालाई चन्दन बनाउन अग्रसर भए भने आश्चर्य मान्न पर्दैन।

बालकोटे कामरेडले चाहे अनुसार खान लगाउन नदिएपछि उनैलाई कुर्सीबाट भगाउन र खल्तीमा नगद जगाउन जनताको नाममा आन्दोलन गर्दागर्दै सूयोग्य प्रधानन्यायमुर्ती र उनको टिमका अति योग्य न्यायमुर्तीहरुसित बिभिन्न पदहरुको साथै अन्य सुबिधाहरुको भागबण्डा मिलाएर अनि उनीहरुको माग अनुसारको भाग दिलाएर गठबन्धनको सरकार बनेको हुनाले उनिहरुको कुरा ठूलो भएपनि खुट्टा कति लूलो छ भन्ने जनतालाई खासै थाहा छैन।

राष्ट्रिय सभा लगायतका सानातिना चुनावमापनि लुला खुट्टाले एक्लाएक्लै उभिन नसकेर गठबन्धन कायम राख्न परेपछि र चुनावको सामना गर्न नसक्ने स्तरमा झरेपछि बरु दलहरु मिलेर एकता गरे राम्रो हुन्थ्यो होला। चुनाव जित्ने आत्मबिश्वास नभएका कोहीकोही बरिष्ठहरु संसदीय चुनावसम्म नै गठबन्धन कायम रहन्छ भन्ने कुरा गरेर नथाकेका, आफ्नो कामले भन्दापनि अर्काको कमजोरी देखाएर चुनाव जित्ने मनशायले देवीदेवता नभाकेका र गठबन्धनमा बसे बापत चुनाव खर्च भन्दै मोटो रकम खल्तीमा नजाकेका गठबन्धनका शिर्ष नेता भेट्टाउन जनतालाई मुश्कलै पर्ला ।

अहिले अपुतालीमा आइलागेको गठबन्धनमा गाँसिएका र आआफ्नो स्वार्थ सिद्धिको लागि पटक पटक असक्षमको पगरिवालासित गाँसिएका महानुभावहरुको कुरा सुन्दा आउँदो चुनावमा सबैको बहुमत आउने र बालकोटे कामरेडले जनताबाट जमानत जफतको उपहार पाउने निश्चित छ।

चुनावलाई मध्यनजर राखेर अहिलेदेखि नै देश दौडाहामा निस्केका बालकोटे कामरेड र त्यसबाट चोइटिएर ठूलो भाग खान गठबन्धनमा जोडिएका र बालकोटे कामरेडसित सामान्य सम्बन्ध समेत तोडिएका स्वघोषित महान नेतासमेतको उपाधीधारी खुमलटारे कामरेड र कोटेश्वरे कामरेडहरु ठाउँठाउँमा पूगेर बेसूरका कुरा गरे जसरी बर्बराएको देख्दा उनीहरुले गर्ने चर्का कुरालाई लुला खुट्टाले धान्न नसकेर धर्मराएको हो कि भन्ने उपबुज्रुकहरुको कुनै कमी नदेखिएपनि जनताले चासो राखेका छैनन्।

जहाँ पुगेर जति ठूलो सभालाई सम्बोधन गरेपनि देश र जनताको स्तर अभिबृद्धि सम्बन्धि कुनै कुरा नगरिकन खाली बालकोटे कामरेडको सत्तोसरापमा मात्रै शब्दहरु खर्च गरेको मात्रै सुनिन्छ अनि यसैबाट प्रभावित भएर जनताद्वारा आफू सजिलै चुनिन्छ भन्ने ज्यादै राम्रो धारणा राख्ने यी शिर्ष कामरेडहरुलाई बालकोटे कामरेडसित कति डर रहेछ भन्ने झल्कन्छ र यिनीहरुको भाषणबाटै यिनीहरुको त्रसित मनस्थिति टल्कन्छ।

त्यसैगरी बालकोटे कामरेडले देशैभरी गरेका दौडाहा सभाहरुमा उनलेपनि धेरैजसो यिनै दुई कामरेडहरुकै खोइरो खनेर तालीको ओइरो पाइरहेको र यसैको आधारमा फेरि दुईतिहाइ बहुमत ल्याएर देखाउने मनको लड्डु घिउसित खाइरहेको अद्भूत दृश्यहरु देखेर जनताले भरपुर मनोरञ्जन पाइरहेका छन्। यही तरिकाले जाने र यिनै मुद्दाहरुलाई यसरी नै चुनावसम्म लाने हो भने गाली गलौजका लागि शब्दहरुकै कमि हुनसक्ने देखिन्छ। आफैं राम्रो र आफूलेमात्रै सबैथोक गर्न सक्ने भनेर बक्ने शिर्षहरुका धाक धक्कु ठूला भएपनि यिनका खुट्टा कति लुला रहेछन् भन्ने त गालीको हानथापबाटै प्रष्ट देखिइ सकेको छ।

सबै स्वार्थीहरुको जोडबलले सत्ता हाँकिरहेका र केही काम नगर्ने बानी भएपनि ज्योतिषीका अनुसार अझै दुई पटक कुर्सीमा बस्ने अबधि बाँकी रहेका सरकार प्रधानले बोलेको राम्ररी नबुझिएपनि कुरा ठूलै गर्ने गरेको बुझिन्छ । आफ्नो लज्जास्पद मत भएरपनि बहुमत साबित गरेर कुर्सीमा बसेका यिनका खुट्टा त कर्कलाकोे पातमा अडेको पानी जस्तै गठबन्धनका अति सक्षम शिर्षहरुले अलिअलि हल्लाईदिए मात्रै भनेपनि कतै टेक्ने समाउने र छेक्ने जमाउने कुनै आधार नभएको मात्रै नभएर भबिष्यमा केही फाइदा कमाउने अनि यसैगरी बालुवाटारमा हल्लिएर रमाउने आधारपनि देखिँदैन।

यिनको आफ्नै दलभित्रका धमिराहरुलाई ठिक ठाउँमा राखेर उचित खुराक दिन नसक्दा यिनका बिरुद्ध उनीहरुले नै सुराक गरिरहेका छन् रे भन्ने हल्लामा यिनको बिश्वास देखिन्न। आफ्नै घर मिलाउन र घरकालाई चित्त बुझ्दोगरी केही दिलाउन नसक्नेले देशलाई केही राम्रो चिज दिन सक्ला भनेर सोच्ने जनताको कुनै कमी छैन। बोल्न पायो भने ठूला कुरा ओकल्ने र जनताको नाममा निकासा भएको बजेटले मुख खोकल्ने गरेपछि लुला खुट्टालाई गठबन्धनको बैशाखी त चाहिन्छ नै।

सबैतिर कुरा बाहेक केही नगर्ने र नगद हात नपरेसम्म कुनै कामको लागि अघि नसर्ने रोग ब्यापक र द्रूत गतिमा फैलिएको अनि कुर्सीमा बस्ने जति सबैको सोचाइ मैलिएको देख्दा भोट खसाल्ने जनतालाई सारै आनन्द आएको हुनुपर्छ। सरकारमा गएका र जिम्मेवार कुर्सीमा भएका सबैले मोलमोलाई, खरिद बिक्री, लेनदेन,भागबण्डा आदिबाटै मोटो रकम खर्च गरेर त्यहाँ पुगेका हुनाले ठूला कुरा र लुला खुट्टाको तालमेल मिलाउन नसकेर अनेक किसिमका जालझेल गरिरहेका छन्।

शिर्षहरुसित निकै महंगोमा मोल छिनेको र लिलाम बढाबढमा किनेको कुर्सीलाई बचाउन अनि यसबाट आउने नगद पचाउन आफ्नो औकातभन्दा ठूला कुरा गरेको सुन्दा जनतालाई राम्रै चुट्किला सुनेजस्तो लागेपनि लुला खुट्टाले चुनावका अप्ठेरा खुड्किला कसरी पार गर्ने होलान् भनेर दयासमेत लाग्न थालेको छ रे भन्ने हल्लापनि कतैकतै सुनिन्छ। सरकारप्रधान लगायत गठबन्धनका शिर्ष नेताहरु र मन्त्रीकोपनि अबस्था एउटै भएजस्तो छ।

आफूलाई दलको बरिष्ठ भनिएपनि र महत्वपूर्ण व्यक्तित्वमा गनिएपनि क्षमता अनुसारको जिम्मेवारी नपाउने अनि नेतृत्वले मान्छेपिच्छे कुरा चपाउने र खाने पाउने ठाउँबाट टाढा धपाउने गर्नाले मचक्क नटेकिने लुला खुट्टामा उभिएर ठूला कुरा गर्दै हिँड्दा कुनदिन थचक्क बसालिने हो थाहा छैन। उता सांसदहरुको त कुरै बेग्लै छ।

स्वार्थले पद हराउँदै र स्वार्थले ब्युँताउँदै आएपनि नेतृत्वले इच्छा अनुसार चराउँदै अनि कुनै जिम्मेवारी बहन नगरेपनि केके न गरेजस्तो ठूलो स्वरमा कराउँदै बसिबसी भत्ता र अन्य दरिलो सुबिधा पचाउँदै बाँदरको पुच्छर सरहको भूमिकामा रहेका माननीयहरुका खुट्टापनि कुरा अनुसारका छैनन्। सांसदलाई चलायमान बनाउने र सही अर्थमा जन प्रतिनिधि हुने भनेर जनाउने जिम्मेवारी बोकेकाहरुले लुला खुट्टा राम्ररी टेक्न नसकेर संसदको सबैथोक रोकेका हुनाले सांसदहरुलाई कूनै जिम्मेवारी तोकेका छैनन्। यिनकापनि कुरामात्रै ठूला हून् भन्ने सबैले बुझिसके।

कार्यपालिका, दलहरु र ब्यबस्थापिकाको खुट्टा लुला हुँदै गएको अबस्थामा न्यायपालिकामापनि नैतिकता गुमाएर अकुत कमाइ हुने कुर्सी धरापमा परेपछि प्रधान न्यायमुर्तीले देखाएको चर्तिकला र कानुन ब्यबसायीहरुको बिरोधकला हेर्दा न्याय प्रणालीमा भएकाहरु सबै नै बिचौलिया, कमिशनखोर सबैभन्दा उच्चस्तरका घुस्याहा हून् कि क्या हो भनेर शंका लागेपनि यसै हो भनि डंका पिट्न सकिने अबस्था छैन।

प्रधानन्यायमुर्ती आफै बिचौलियाको नाइके भएर कानून ब्यबसायीहरुको बिचौलियाको एकाधिकार खोस्ने र नगण्य आमदानी हूने मुद्दामामात्रै अरुलाई पोस्ने गरेकाले यहाँपनि सबैका कुरा ठूला भएपनि खुट्टा चाहिँ ज्यादै लुला रहेछन् भन्ने खुला रुपमा सबैले चाल पाए।

राजनैतिक दलहरु प्रधान न्यायमुर्ती बिरुद्ध आफूद्वारा पालित पोषित र अपराधी तस्कर व्यभिचारी आदिका मुद्दाबाट अकुत आमदानी गर्ने भनेर घोषित वकिलहरुलाई प्रयोग गर्ने अनि प्रधान न्यायमुर्ती कानून ब्यबसायीहरुको बिरुद्ध भाडाका गुण्डा दादा र पेशेबर अपराधीहरुलाई प्रयोग गर्दै प्रहरिको बल प्रयोग गरेर कहिले कून गेट कहिले कून दूलो आदिबाट लुकिलुकी सबैलाई झुक्याएर कार्यालयमा पुगि कसैले समर्थन नगर्ने पेशी तोक्दै र त्यसको आडमा सकेसम्म धेरै नगद ठोक्दै कुर्सी जोगाउन बसेको देख्दा संबिधान कानुन र नैतिकतालाईपनि लाज लागिसकेको हुनुपर्छ।

जेसुकै भएपनि र जतासुकै गएपनि अहिले जिम्मेवार कुर्सीमा बस्नेहरु सबैका कुरा अति ठूला र खुट्टा भने अति लुला हुँदै गएको देखेर जनताको मनमा यिनीहरुप्रति दया पलाउन थालेको हुनाले यस्ता गनाउने भइसकेका बस्तुलाई चलाउन ठिक हुँदैन भन्ने भावनाको बिकास हुँदै गएको हल्ला पत्याउन जरुरी देखिन्न।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो