कर नबुझाउने करदातामाथि कारबाही सुरु

डिसी नेपाल
११ मंसिर २०७८ ११:२८

धनुषा । लामो समयदेखि कर नबुझाउने करदातामाथि आन्तरिक राजस्व कार्यालयले कारबाही अघि बढाएको छ । कार्यालयका प्रमुख गजेन्द्रप्रसाद यादवका अनुसार दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका करदाताको सूची तयार पारेर कारबाही अघि बढाइएको हो ।

‘कर नबुझाउने करदाताको सूची तयार पारेर पहिलो चरणमा टेलिफोनमार्फत कर बुझाउन आग्रह गर्न थालेका छौं’, उनले भने, ‘दोस्रो चरणमा पत्राचार गरिने र अन्तिममा सूचना प्रकाशन गरी बैंक खाता रोक्का गर्ने लगायत कारबाही गछौं ।’

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कर नबुझाउने ५० करदातामाथि कारबाही गरिएकामा यस वर्ष पनि कारबाही अघि बढाएको प्रमुख यादवको भनाइ थियो ।

उक्त कार्यालयले चालु आव ०७८/०७९ को चार महिनामा १ अर्ब ७३ लाख २८ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यभन्दा २ सय ८ प्रतिशत बढी हो । सो कार्यालयको यस अबधिमा ८३ करोड १८ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य थियो ।

चालु आव ०७८/०७९ मा ३ अर्ब ८९ करोड ७२ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा र चार महिनामै लक्ष्यको ५५ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख यादवले बताए ।

आयकरतर्फ ३१ हजार ९ सय, व्यक्तिगततर्फ ५७ हजार ३ सय ७६ र अन्तशुल्कतर्फ १ हजार ३ सय ४८ गरी ९८ हजार ९४ करदाता रहेको कार्यालयले जनाएको छ ।

यसैबीच कार्यालयले चार जिल्लाका चार उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर सप्ताहअन्तर्गत धनुषाका क्षीरेश्वर डिष्ट्रीलरी, महोत्तरीको अल्का वाइर प्रालि, सिन्धुलीको सिद्धबाबा कन्ट्रक्सन र सर्लाहीको नेपाल भेनियर उद्योगलाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागले निर्धारण गरेको मापदण्डअनुसार राजस्वमा योगदान पुर्याउने, समयमा सही वितरण बुझाउने, बक्यौता बेरुजु नराख्ने र कुनै प्रकारको दण्ड जरिवाना नतिरेकामध्येबाट उत्कृष्ट करदाता छनोट गर्ने गरिन्छ ।

त्यस्तै, उत्कृष्ट कार्य गरेबापत करदाता सेवा कार्यालय मङ्लगवाका कार्यरत जयकिशोर साह, करदाता सेवा कार्यालय बर्दिबासका कार्यरत विजय साह र आन्तरिक राजस्व कार्यालयका राकेशकुमार मिश्रलाई पुरस्कृत गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *