व्यंग्य : हाकिम जिल्ल परे

डिसी नेपाल
१२ मंसिर २०७८ ११:३८

‘नमस्कार, को बोल्नुभयो होला ?’ मोबाइल फोन उठाउँदै र उताबाट आएको नमस्कार फर्काउँदै बेदप्रसादले सोधे ।

‘ए सर, चिन्नु भएन ? नम्बर सेभ थिएन कि क्या हो ?’, उताकोले फेरि सोध्यो ।

‘खै मैले त चिन्न सकिनँ त । को बोल्नु भयो होला ?’ पिउन भनेर उचालेको चियाको कप टेबलमा राख्दै बेदप्रसादले जवाफ दिए ।

‘आफ्नै मान्छेले यसरी चिन्न छोडेपछि त बर्बादै भयो नि सर । अनि रिटायर्ड भएर पूरै घर बस्ने हो कि कुनै नयाँ जिम्मेवारी लिन कम्मर कस्ने हो ? के बिचार छ सर ?’ आप्mनो परिचय दिनुभन्दा पनि उताबाट अर्को प्रश्न आयो ।

‘तपाइँ को हुनुहुन्छ ? मैले चिनिनँ है’, बेदप्रसादको कुरो उहि रह्याे ।

‘हत्तेरिका सर, त्यति नजिकको मान्छेलाई पनि कस्तो नचिनेको ? म बिशाल के त, तपाइँलाई दुई–तीन चोटी हाम्रो नेता कहाँ भेट्न लगिदिएको र म मार्फत नै तपाइँले गतिलो ठाउँमा सरुवा नियुक्ति लिएको होइन ? यति छिटै यसरी बिर्सन भएन नि सर ।’ बल्ल बल्ल बिशालले आफ्नो परिचय दियो ।

‘ए बिशालजी, तपाइँ पो ? तपाइँलाई पनि नचिन्ने कुरा आउँछ । यो मोबाइलमा तपाइँको नम्बर सेभ रहेनछ । सरकारी मोबाइलमा चाहिँ थियो । रिटायर्ड भएपछि त्यो मोबाइल पनि उतै बुझाइयो । यो नयाँ सेटमा धेरै साथीहरुको नम्बर छैन । धेरै जनासित यि यस्तै परेको छ । माइन्ड नगर्नोस् है ।’ अलि अलि हाँसेजस्तो गरेर कुरा मिलाउँदै बेदप्रसादले भने ।

‘तपाइँ पनि गजबको कुरा गर्नुहुन्छ । त्यति माथिको नीति निर्माण तहमा पुगेर रिटायर्ड हुने कुन चाहीँले सरकारी मोबाइल फिर्ता बुझाउँछ । पुरानो र आउट मोडलको फोन फिर्ता गरेर नयाँ र लेटेस्ट साटियो भन्नु भएको भए मैले पनि पत्याउथेँ । जे होस् ल ठिकै छ । अब रिटायर्ड लाइफको प्लान के बनाउनु भएको छ ? हाम्रा नेताहरुले पनि तपाइँलाई सम्झिनु भएको छ । त्यति माथिल्लो पदमा रहेर त्यत्रो जिम्मेवारी वहन गरिरहेको मान्छे दिन बिताउन गाह्रो परेको छैन भन्या ?’ बिशालले भन्यो ।

‘भर्खरै रिटायर्ड भएकोले सेटल हुँदैछु । खासै गाह्रो परेको छैन । अहिले नै त केहि प्लान बनाएको छैन । पहिला सबैथोक मिलोस् अनि सोचौँला भनेजस्तो लागेको छ ।’ बेदप्रसादले भने ।

‘हिजोअस्ति पनि तपाइँको बारेमा हल्का कुरा भएको थियो । उहाँहरुले कुरा मिल्यो भने तपाइँलाई कुनै नयाँ जिम्मेवारीमा ल्याउन सकिन्छ भन्नुभएको छ । उहाँहरुको सकारात्मक सोच भएको देखेर नै मैले तपाइँलाइ फोन गरेको हुँ । यसो बिचार गर्दै गर्नु होला । तपाइँ जत्तिको क्षमतावान मान्छेले घरमै बसेर समय खेर फाल्न हुँदैन । शरिर र उमेरले साथ दिउन्जेल सहयोग गर्न पर्छ । अरु यताउता मिलाउन हामी छँदैछौँ नि । अहिलेलाई यत्तिको लागि फोन गरेको हुँ । यसरी बिर्सन र नचिन्न चाहिँ भएन है ।’ बिशालले हाँस्दै भन्यो ।

‘नम्बर सेभ नभएर हाे,  बिशालजी । अब त्यस्तो हुँदैन । यसो सम्पर्कमै रहुँ है । म तपाइँहरुको आप्mनै मान्छे हुँ क्यारे । म पदमा भएपनि नभएपनि सहयोगको लागि सँधै तयारै छु । बाँकि त उहाँहरुको बिचार हो ।’ बेदप्रसादले भने ।

‘हस् त बेदप्रसाद सर, यति कुरा भएपछि मैले बुझिहालेँ । म उहाँहरुलाई कुरा राख्छु र तपाइँलाई जानकारी गराउँछु । अहिले फोनमा अरु कुरा नगरौँ । एक–दुई दिनमा भेटेरै कुरा गरौँला है त सर । नमस्कार ।’ यति भनेर बिशालले फोन काट्यो ।

कानमा जोडेर कुरा गरिरहेको फोनलाई दुबै आँखा अगाडि ल्याएर हेर्दै बेदप्रसाद फिस्स हाँसे । अघि पिउनै लाग्दा फोन आएर टेबलमा राखेको चियाको कप उठाएर पिउन खोजेको चिया हिउँ जत्तिकै चिसो भइसकेछ र पिउनै नहुने अवस्थामा गइसकेछ । तातो चिया एक कप ल्याउन काम गर्नेलाई अर्हाएर के भए के भए जस्तो गरि अलमलिए बेदप्रसाद । उनी नीति निर्माण तहमा पुगेर भर्खरै अवकाश भएका बिशिष्ट तहका कर्मचारी ।

सहायक तहबाट सरकारी सेवा सुरु गरेको भएपनि माथिसम्म पुगेर सबैखाले मेवा खान सफल भएका प्रशासक । उनको मेहनत, क्षमता र योग्यताबाटै सहायक तहमा जागिर सुरु गरेको छोटो समयमै अधिकृतस्तरमा सरेको हुनाले यिनलाई जागिरमा सँधैभरी चिट्ठा परेको भनेर उनका समकालीनहरु कुरा गर्छन् ।

मिठो बोल्ने र कतैबाट पनि नफस्ने एकिन गरेर मात्रै खानको लागि ठुलै मुख खोल्ने यिनको बानीले गर्दा खानसम्म खाएर पनि यिनी चोखा इमानदार असल क्षमतवान प्रशासकमा कहलिएर अवकाश भए । यिनले खान मात्रै होइन खुवाउन पनि ज्यादै राम्रोसित जानेका हुनाले माथिल्ला नेताहरुले पनि यिनलाई मानेका छन । जो शक्तिमा पुगेपनि उसित लपक्क भएर रोजेको ठाउँमा थपक्क बस्न सक्ने यिनको खुबिलाई सबैले प्रशँसा गर्ने गरेका छन् ।

जस्तोसुकै परिस्थितीमा पनि कुशलतापूर्वक आफ्नाे दुनो सोझ्याएर खानपिन गर्न र सबैतिरबाट बचेर चर्न सक्ने यिनको खुबी देखेर यिनका समकालीनहरु चकित परे पनि रिस गर्नेहरु चाहीँ यिनको क्षमता देखेर थकित हुन्छन् ।

पञ्चायती व्यवस्थामा यिनी सानै तहमा भएपनि यिनको निकै चल्तिफिर्ती थियो । प्रजातन्त्रमा त यिनको निकै ठुलो उन्नती भएको र यिनको पदको साथसाथै आर्थिक हैसियत पनि निकै माथि गएको देखियो । लोकतन्त्रमा यिनले राम्रो तर् मारेर आफ्नो दर् निकै माथि पुर्याए । गणतन्त्रमा त झन मुख्य मुख्य बरिष्ठहरुलाई यिनी नभइ नहुने भएकोले जस्तोतस्तोलाई यिनले छुँदै नछुने अवस्था आयो ।

अवकाश नहुँदै आयोग वा त्यहि सरहको पद प्राप्त गरेर त्यतै सरुवा जान यिनले हरतरहको कोशिश नगरेका र त्यसको लागि जे गर्न पनि अघि नसरेका होइनन् । होला होला जस्तो भइसकेको र यिनको नाम निर्णय गर्नेहरुको टेबलसम्म गइसकेको पनि यिनले जानकारी पाएका थिए ।

पदको भित्री लिलाम बढाबढमा यिनको स्तर अलि चुकेको हुनाले निर्णायकहरुको निर्णय अर्कोतर्फ झुकेको भन्ने यिनको ठम्याई भएपनि यसबारेमा यिनले कसैसित कुरा गरेका र एक माघले जाडो जाँदैन भन्ने सोचाइबाट तल झरेका छैनन् । यिनले शिर्ष तहका नेताहरुलाई धेरै पटक भेटेर उनीहरुले चाहे अनुसारको काम कुरा र निर्णयहरु गरी उनीहरुलाई रिझाएका भएपनि उनीहरुका बिचौलियाहरुलाई पनि कुनै किसिमबाट बिझाएका छैनन् ।

बिचौलियाहरुलाई उनीहरुको गक्ष अनुसार दानापानी हालेर र उनीहरुमार्फत माथिसम्म गोटि चालेर यिनले सबैलाई ठिक ठाउँमा राखेका हुनाले यिनले जागिरको सबै आनन्द चाखेका छन् ।

यिनले विभिन्न आवरणका धेरै बिचौलियाहरु चिनेका छन् । नेता बिचौलिया, कार्यकर्ता बिचौलिया, पत्रकार बिचौलिया, नेताहरुका एकाघरका पारिवारिक सदस्य नजिकका नातेदार र साथीहरु बिचौलिया, व्यापारी बिचौलिया, ठेकेदार बिचौलिया, साना ठुला कर्मचारी बिचौलिया, शिक्षक प्राध्यापक बिचौलिया, सुरक्षाकर्मी बिचौलिया, न्यायकर्मी बिचौलिया, कार्यालय सहयोगी पिए बिचौलिया, सुरा सुन्दरी व्यवस्था मिलाएर र अरु सबै आनन्द दिलाएर नजिकिएका बिचौलिया आदि आदि सबैसँग यिनको सम्बन्ध नभएको होइन ।

त्यति हुँदाहुँदै र उनीहरुको मागलाई भित्रि मनले छुँदाछुँदै पनि यिनले आँटेको पद नपाएको देख्दा बिचौलियाहरुले आपूmलाई ढाँटेको हो कि भन्ने लागेर अहिले चाहीँ यिनी अलि सतर्क भएका छन् । बिशाल चाहीँ यिनले पनि अरुभन्दा विश्वास गरेको र काम गराउन सक्ने मान्छे भनेर भर परेको व्यक्तिमा पर्छ र उसले यिनको धेरै नै भित्रि कामहरु गर्छ ।

लामो समयसम्म तलदेखि माथिसम्मका सबैलाई चित्त बुझाएर राम्रो र लाभदायक ठाउँमा जागिर खाएको, त्यहाँबाटै राम्रो बन्दोबस्त मिलाउन सफल हाकिमको गिन्तीमा पर्दै आएको र त्यस्तोमा पुग्ने तरिकाको बारेमा राम्रो ज्ञान पाएको हुनाले अवकाशपछि पनि गतिलै ठाउँमा नियुक्ति मिलाउँछु अनि परिवारका सदस्यहरुलाई अझ जागिरको सुख सुबिधा दिलाउँछु भन्नेमा यिनी ढुक्क छन् । उसो त यिनलाई कुनै कुराको केहि कमी छैन ।

राजधानीका मुख्यमुख्य ठाउँमा घर घडेरी जोडेका भएपनि सँधैभरी आँदानीमा खडेरी परेजस्तो देखाउन सक्ने यिनको खुबीलाई चाहीँ मान्नै पर्छ । बिशाललाई यिनले थोरबहुत खर्च गरेर भएपनि एउटा गतिलो नियुक्ति पड्काउने, अरुले लिलाम बढाबढ गर्नुभन्दा अगाडिनै आफूले छड्काउने र उमेर र तोकिएको अवधिसम्म त्यो कुर्सीमा आफूलाई अड्काउने सुत्र लगाउन भित्रभित्र राजी गराइसकेका छन् ।

यहि बिचौलियाको पेशामा निकै बर्ष बिताएर र नियुक्ति लिने र नियुक्ति दिने दुबैको भलो चिताएर काम गरेरै राम्रो व्यवस्था मिलाइसकेको विशाललाई यस बिषयको एउटा विज्ञ नै भनेपनि फरक पर्दैन ।

‘सर नमस्कार ।’ बेदप्रसादको मोबाइलमा फोन गरेर बिशालले भन्यो ।

‘नमस्कार बिशालजी, अनि कुरा भयो त ?’ नमस्कार फर्काउँदै बेदप्रसादले सोधे ।

‘के को कुरा मात्रै हुन्छ सर । म अगाडि बढेपछि काम नै भइसक्यो । भरे चार बजे तपाइँ र मलाई घरमै बोलाउनु भएको छ । सरलाइ उहाँको घर त थाहा छ नि हैन ?’ बिशालले भन्यो ।

‘एक पटक त गएको हुँ ।’ बेदप्रसादले छोटो जवाफ दिए ।

‘हस् सर । पौने चार बजे त्यहिँ भेटौँ । नमस्कार ।’ बिशालले भन्यो र फोन पनि काट्यो ।

बेदप्रसाद ट्याक्सी चढेर ठिक समयमा बिशालले भनेको ठाउँमा पुगे । परिवारका सबै सदस्यहरुलाई अलग अलग गाडीको व्यवस्था गरिदिएका र सबैलाई नगदले भरिदिएका भएपनि यस्तो भेटघाटमा चाहीँ यिनी खुसुक्क ट्याक्सी चढेर लुसुक्क जाने गर्छन् । बिशाल पनि ठिक समयमै आयो ।

अरु काममा अल्छि गरेपनि र नेपाली टाइम भनेर ढुक्क परेपनि यस्तोमा भने उ खतरा मोल्न चाहँदैन । दुबैजना भेटेको केहि समयपछि भब्य बँगला भित्र पसे र सुन्दर बैठकको सोफामा गएर बसे । एकैछिनमा अगाडि पछाडी दुइटा ठुल्ठुला बिदेशी कुकुर र आपूmले बोकेको एउटा सानो कुकुरसहित बढेमानको भुँडी भएका बरिष्ट नेताले बैठकमा प्रवेश गरे । दुबैजना उठेर आदरपूर्वक नमस्कार गरे ।

‘बस्नोस् बस्नोस् । तपाइँहरु ठिक समयमा आउनु भएछ । मलाई पनि ठिक समयमा हिँड्ने मान्छे ज्यादै मन पर्छ । बरु आपैm समयमा कहिँ कतैपनि पुग्न सक्दिनँ । कसरी बित्दै छ त तपाइँको रिटायर्ड लाइफ ?’ सँगैको सोफामा बस्दै बरिष्टले भने । उनी सँगै आएका कुकुरहरु पनि उनको नजिकै दायाँबायाँ बसे ।

‘ठिकै छ हजुर । अहिले आफ्नै व्यवस्था मिलाउनतिर लागेको छु । भेट्न समय बक्सेकोमा आभारी छु हजुर । पहिला पनि मैले हजुरहरुको सेवा गरेकै हुँ । अभैmपनि जिम्मेवारी बक्सेमा सेवाको लागी तयारै छु हजुर ।’ पूरा अदबका साथ दुबै हात जोडेर बेदप्रसादले भने ।

‘अँ तपाइँको बारेमा बिशालले मलाई अस्ति भनेको थियो । मैले हाम्रो टिममा कुरा राखिसकेको छु । कुनै आयोग वा राजदूतमध्ये एउटामा जिम्मेवारी दिने बारेमा सकारात्मक ढँगले कुरा अगाडि बढेको छ । बाँकि कुरा बिशालले गरिहाल्छ । ल त बेदप्रसादजी बेस्ट अफ लक । फेरि भेट भइहाल्छ नि ।’ भनेर बरिष्ठ नेता सानो कुकुर बोकेरै उठे ।
उनको नजिकै बसेका दुइटा ठुला कुकुरहरु पनि जर्याक जुरुक उठे । बेदप्रसादले उठेर नमस्कार गरे ।

बरिष्ट नेता माथ्लो तलामा उक्ले । बिशाल पनि पछिपछि लागेर उनिसँगै माथि उक्ल्यो । बेदप्रसाद बाहिर निस्किए । बाहिर निस्किएर गार्डेनमा उभिएर बिशाललाइ कुर्न थाले। आफूले भर्खर भर्खर जागिर खाँदा र हिँडेर कार्यालय जाँदा यिनले अहिले भेटेका बरिष्ट नेतालाई कहिले काहिँ बाटोमा देख्थे । उबेलामा घेरा फाटेर फाल्ने अवस्थामा पुगिसकेको थोत्रो ढाकाको टोपी, सुकेको जिउमा लगाउँदा ह्याँगरमा झुन्ड्याए जस्तो देखिने मैलो र खुइलिसकेको सर्ट, कहिले ईस्त्रीको सँगत नपरेको र फोहरले कटकटिएको थोत्रो पाइन्ट र तलुवा प्वाल परिसकेको प्लास्टिकको चप्पल लगाएर हिँडेका यिनको बिगत सम्झेर यिनलाइ आश्चर्य लाग्यो । हुनत आप्mनो बिगत पनि लगभग उस्तै उस्तै भएकोले यिनले तुलना गर्न त्यति उचित मानेनन् र आफूसित दाँज्न ठिक ठानेनन् ।

‘जाउँ सर ।’ बिशालले भनेको सुनेर तिन दशक अगाडि पुगेका बेदप्रसाद झस्के ।

‘जाउँ । अनि के भयो त ?’ ढोकातिर बढ्दै बेदप्रसादले भने ।

‘यहाँ नजिकै एउटा राम्रो रेस्टुरेन्ट छ त्यहिँ गएर अरु कुरा गरौँला सर ।’ भनेर बिशाल अघि लाग्यो । गोप्य कुरा गर्न मिल्ने रेस्टुरेन्ट त्यहिँ अगाडि नै रहेछ । उनीहरु भित्र छिरे बिशाललाई सबैले चिन्ने रहेछन् । बिशालले दुइवटा कफि अर्डर गर्यो । दिउँसो भएकोले रेस्टुरेन्ट पुरै खाली थियो ।

‘ल सरलाइ बधाई छ । कुरा मिल्यो ।’ बेदप्रसादसित हात मिलाउँदै र भरोसा दिलाउँदै बिशालले भन्यो ।

‘के मा कुरा मिल्यो ? अलि प्रष्ट भन्नोस् न । उहाँले पछि के भन्नु भयो ?’ बेदप्रसादले सोधे ।

‘तपाइँ जस्तो योग्य मान्छेलाई आयोगमा भएपनि र राम्रो देशमा राजदुत भएपनि तपाइँले चाहेको ठाउँमा जिम्मेवारी दिने काम तुरुन्त हुन्छ तर त्यसको लागि तपाइँले पनि उहाँले भने अनुसारको काम गर्न पर्छ भन्ने भयो ।’ बिशालले भन्यो ।

‘अनि मैले गर्न पर्ने चाहिँ के नि ?’ बेदप्रसादले सोधे ।

‘सर पनि के नबुझे जस्तो, थाहा नपाए जस्तो गर्नुहुन्छ । पार्टिलाई सहयोग गर्न परेन । उहाँले भनेको कुरा सरलाइ प्रष्ट भनिदिन्छु । यि दुबै नियुक्ति मध्ये जुनको लागि भएपनि पार्टिलाई पाँच करोड सहयोग गर्न पर्छ । र त्यो पनि एक–दुई दिनभित्रै गर्नपर्छ भन्ने उहाँको भनाई छ । अब सरको बिचार ।’ बिशालले भन्यो ।

‘त्यत्रो रकम त कसरी सकिन्छ र ?’ बेद प्रसादले भने ।

‘त्यसमा अलिअलि हेर्ने कुरो बेग्लै हो । चारभन्दा घटी त कुरै मिल्दैन । त्यो गर्नु भयो भने कुरो मिल्यो नभए मिलेन ।’ भनेर जानको लागि उठि पनि हाल्यो बिशाल । बेदप्रसाद हाकिम जिल्ल परे ।

‘यो त ज्यादै चर्को भएन र बिशालजी ?’ सानो स्वरमा भने बेदप्रसादले । जान भनेर उठिसकेको बिशाल पनि बस्यो र बुढालाई पगाल्न कम्मर कस्यो ।

‘के कुरा गर्नुहुन्छ सर ? तपाइँ त आप्mनो मान्छे भएको र पहिला देखि यसरी नै हाम्रो सम्बन्ध अगाडि गएको हुनाले यतिमा कुरा मिलाउन अनि तपाइँलाई अघि भने मध्ये कुनै एउटामा नियूक्ति दिलाउन कोशिश गरेको हुँ । म सित तपाइँ जस्ता अवकाशवाला हाकिमहरु अरु पनि लाइनमा छन् । कति त यो भन्दा बढि सहयोग गरेर भएपनि र रकम जति गएपनि तयार हुनेहरु पनि छन् । यसलाई बढि नठान्नोस् र बार्गेनिँग गरेर घट्ला भन्ने पनि नमान्नोस् ।’ बिशालले भन्यो । कफि पनि आइपुग्यो ।

‘मैले सहयोग गर्दिन भनेर भन्न खोजेको होइन बिशालजी । यस्तो हुन्छ भनेर त जागिर खान र कार्यालय जान सुरु गरेदेखि थाहा छ । यति धेरै त कसले सक्ला र ? अनि यो रकम कसलाई बुझाउने हो र काम भएन भने के हुन्छ ? गोलमाल भयो भने त खत्तम हुन्छ नि । त्यत्रो रकम, सुन्दै डर लाग्छ मलाइ त ।’ बिस्तार कफिको कप उचाल्दै बेदप्रसादले भने ।

‘तपाइँ जस्तो अनुभवीलाई मैले बताइराख्ने र लगानीको लागि तताइराख्ने जरुरी होला जस्तो लाग्दैन । तपाइँले जागिर सुरु गर्दादेखि नै आफ्ना गुरुबाट सिकेको र यसैगरी गतिला गतिला ठाउँहरुमा बिकेको सबैलाइ थाहा छ नि सर ।’ अलिअलि हाँस्न खोज्दै र कफि पिउँदै बिशालले भन्यो ।

‘कुरा ठिकै हो । ०४६ साल अघिसम्म लुकिछिपी हजारमा काम हुन्थ्यो । प्रजातन्त्र आएपछि र जनप्रतिनिधिले शासन गर्न पाएपछि अलि खुला रुपमा लाखमा काम हुन थाल्यो। लोकतन्त्र आएपछि त्यहि काम करोडको हाराहारीमा हुन थाल्यो । गणतन्त्र आएपछि यस्को पनि रेट बढेर केहि करोडको भेट नचढाइकन काम नहुने भयो । नयाँ सँबिधान घोषणा भएपछि त त्यहि काम चार पाँच करोड घटिमा नहुने भएछ र यो रेट निकै माथि गएछ । यस्तै हो भने अर्को चुनाव पछि अझ चर्को भएर करोडले डबल डिजिट पारगरेर हामीजस्ता नियुक्ति खान चाहनेहरुलाई ठुलै मार पर्ला जस्तो लाग्यो मलाइ त ।’

भनेर एकै घुट्कोमा बेदप्रसादले कपको कफि रित्याए । ‘ल लामो कुरा गरेर केहि फाइदा छैन सर । भोलि बिहान १० बजे भित्र मलाई जवाफ दिनुहोला र कुरा मिलेमा नियूक्ति लिनुहोला । सबै पदमा यसरी नै नियुक्ति भइरहेको छ र पहिलेदेखि यसरी नै नेताहरुलाई सहयोग हाम्रै हातबाट गइरहेको छ ।

भनेजति सहयोग दिने र नियुक्ति लिने मान्छेहरुको कुनै कमी छैन । बिचार गरेर निर्णय लिनुहोस् र मलाई भोली बिहानसम्ममा जवाफ दिनुहोस्् । नत्र म अर्को मान्छे लिएर जान्छु र यस्ता नियुक्तिहरुमा सहयोग त जसरी भएपनि तान्छु बुझ्नु भो सर । नमस्कार धेरै काम छ म हिडेँ पनि ।’ बेदप्रसादलाई नमस्कार गरेर कफिको कप टेबलमा राख्दै बिशाल बाहिर निस्की पनि हाल्यो । बिशालको कुरा र व्यवहारबाट फेरी पनि जिल्ल परेर कफिको पैसा तिर्न काउन्टरतिर लागे बेदप्रसाद हाकिम ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *