गाउँपालिकाद्वारा जिप दुर्घटनाका घाइते र मृतकका परिवारलाई सहयोग

डिसी नेपाल
१४ मंसिर २०७८ १३:०४
32
Shares

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा सदस्यसहित चारको मृत्यु र चारजना घाइते भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिए । मृतकका परिवारलाई किरिया खर्चका लागि ५० हजारका दरले उपलब्ध गराउने निर्णय भएको उनले बताए ।

बेनीदेखि बेगको सिम जाँदै गरेको ग१ज ७२५१ नम्बरको जिप औँलामा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया विक, चालक दुढबहादुर थापा, यात्रु खिमु पुन र खिमानन्द शर्माको मृत्यु भएको थियो । मृतक र घाइते सबै बेगका हुन् ।

५४ वर्षीय बलबहादुर बिक, २३ वर्षीय मनोज पुन, २० वर्षीय भीम फगामी र ३० वर्षीय ज्ञानबहादुर शेरपुञ्जालाई बेनी अस्पतालले मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको छ ।

प्रहरीका अनुसार जिप सडकदेखि करिब ३ सय मिटर तल खसेको थियो । मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

त्यसैगरी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले आज(मंगलबार) शोक विज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जलि र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका विद्यालयहरु मंगलबारका लागि बन्द गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *