भक्तपुरको चार पालिकामा फोटोसहितको मतदाता नामावली संकलन गरिने – Dcnepal

भक्तपुरको चार पालिकामा फोटोसहितको मतदाता नामावली संकलन गरिने

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले यही मंसिर १७ गतेदेखि भक्तपुरको चारवटै पालिकामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । कार्यालयले आज(बुधबार) यसबारेमा जानकारी दिँदै मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलोचरणमा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतदाता नामावली संकलन गरिने भएको जिल्ला निर्वाचन अधिकारी कृष्णबहादुर कुँवरले जानकारी दिए ।

जिल्लामा दुई चरणमा गरिने नामावली संकलनका क्रममा दोस्रो चरणमा चाँगुनारायण नगरपालिकामा पुस ३ गतेदेखि १६ गतेसम्म नामावली संकलन गरिने उनले बताए । भक्तपुर नगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली सङ्कलन गरिने भएकाले नगरपालिकामा टोली नखटाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय रहेको पालिकाको हकमा भने टोली नखटाई नियमित रुपमा दुई कार्यालयबाटै नामावली संकलन गरिने देशव्यापी व्यवस्था निर्वाचन आयोगले गरेकाले भक्तपुर नगरपालिकामा टोली नखटाइने तर दुईवटै कार्यालयबाट नामावली संकलन भने गरिने उनले जानकारी दिए ।

कार्यालयबाट नियमित रुपमा हुँदैआएको फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई पनि जारी राख्दै पालिकामा स्थानीयस्तरमै टोली खटाएर नामावली संकलन गरिने भएको हो । भक्तपुरमा बसोबास गर्ने तर मतदाता नामावली भने आफ्नै स्थायी ठेगाना भएको जिल्लामा राख्न चाहनेले पनि नामावली संकलन गर्न सक्नेछन् ।

भक्तपुर बसोबास गर्ने अरु जिल्लाका बासिन्दाले पनि यहीँबाट सम्बन्धित जिल्लाका लागि नामावली संकलन गर्न सक्नेछन् । कार्यालयले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा तीनजना सम्बन्धित पालिकाले उपलब्ध गराएको कर्मचारी र एकजना निर्वाचन कार्यालयबाट गरी एउटा टोलीमा चारजना कर्मचारी खटिने व्यवस्था गरेको प्रमुख कुँवले जानकारी दिए ।

नामावली संकलन गर्ने टोली भने सम्बन्धित नगरपालिकामा बस्ने भएकाले वडावासी नामावली संकलन गर्न आफ्नो नगरपालिका कार्यालयमा जानु पर्नेछ । निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर जिसीले अन्य जिल्लाका बासिन्दाले नामावली सङ्कलन गर्नुपरेमा, मतदाता नामावली सार्नु परेमा वा मतदाता नामावलीमा भएको त्रुटि सच्याउनु परेमा पनि यहीँबाट हुने जानकारी दिए ।

मतदाता नामावली संकलनका क्रममा नागरिकताको सक्कल र फोटोकपी लिएर आउन र नागरिकतामा स्थायी ठेगाना अन्य जिल्लाको भएमा बसाइँसराइ प्रमाणपत्र वा विवाह भइआएको अवस्थामा विवाह दर्ता प्रमाणपत्र अनिवार्य लिएर आउँन उनले आग्रह गरे ।

कार्यालयका सूचना अधिकारी जिसीका अनुसार भक्तपुरमा २०७७ पुस ५ गते १८ वर्ष उमेर पुगेका एक लाख ८४ हजार ३७१ मतदाता रहेका छन् । जस अन्तर्गत भक्तपुर नगरपालिकामा ५६ हजार ५२६, सूर्यविनायक नगरपालिकामा ४५ हजार ६९२, मध्यपुरथिमि नगरपालिकामा ४० हजार ९४५ र चाँगुनारायण नगरपालिकामा ४१ हजार २०८ मतदाता रहेको उनले जानकारी दिए । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो