बुद्धसँग जोडिएका स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन राष्ट्रपतिको आग्रह

डिसी नेपाल
१६ मंसिर २०७८ १६:५१

बुटवल ।राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धसँग सम्बन्धित स्थलहरूलाई जोडेर एकीकृत योजना बनाउन आग्रह गरेकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल र यससँग जोडिएका कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्ध भूमिहरूलाई एकीकृत योजनाअन्तर्गत ल्याउन आग्रह गरेकी हुन् ।

बुद्धका उपदेशले विश्वभरका शान्तिप्रेमीहरूको ध्यान तानिरहेकोले यस विषयलाई पाठ्यपुस्तकमै समावेश गर्नुपर्नेमा उनको जोड छ । उनले स्थानीय र प्रदेश सरकारले पनि यसतर्फ विशेष ध्यान दिनुपर्ने बताइन् । ‘एकीकृत योजना निर्माणमा होस् वा बुद्धका उपदेश समेटिएको पाठ्यपुस्तक निर्माणमा होस्, स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन् ।

लुम्बिनी विश्वविद्यालयको १७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी लुम्बिनी आएकी हुन् । त्यस अवसरमा उनले लुम्बिनी गुरुयोजना छिटो पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘गुरुयोजनाले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्व बोकेको छ, गुरुयोजना समयमै पूरा भए मात्रै लुम्बिनीको गरिमामाथि उठाउन सकिन्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीको साँस्कृतिक महत्वलाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइन् । ‘मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउनका लागि लुम्बिनीको पुरातात्विक र साँस्कृतिक महत्वलाई पर्यटनसँग जोड्न आवश्यक छ,’ उनले भनिन् । लुम्बिनीको विकासले नै मुलुकको समृद्धिको यात्रालाई अघि बढाउन सक्ने उनको भनाइ छ । ‘बुद्ध धर्म मान्ने मात्र होइन, संसारमा शान्ति चाहने सबैले लुम्बिनीलाई विशेष महत्व दिएका छन्, यसको उपयोग गर्दै समृद्धिको यात्रालाई अघि बढाउनु आवश्यक छ,’ उनले भनिन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलौराकोट र रामग्रामलाई लुम्बिनीसँग जोडेर विकास गर्ने हो भने पर्यटन क्षेत्रले नयाँ उचाइ लिने बताए । बुद्धको दिएको ज्ञान सबै नेपालीले लिन नसक्दा अनुशासित बन्न नसकेको उनको भनाइ छ । उनले यसबाट सबैले शिक्षा लिनुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *