किन दिइयो सिपाहीलाई फाँसी? – Dcnepal

किन दिइयो सिपाहीलाई फाँसी?

श्री ३ प्रधानमन्त्री जुद्ध समसेरका पालामा प्रजा परिषद काण्डका तीन (गङ्गालाल, धर्मभक्त र दशरथ चन्द) अनिचर्खा प्रचार गुठीका शुव्रmराज शास्त्रीलाई मात्रै होइन, एक जना निर्दोेष सैनिकलाई पनि फाँसी दिइएको छ । तर ती अमर सैनिकको नाम हाम्रो इतिहासमा विरलैले मात्रै लिने गरेका छन् । यो आलेखमा उनै अमर सैनिक सुवेदार कुलध्वज बस्नेत कसरी मारिन पुगे भन्ने बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

पहिलो विश्वयुद्धमा झैँ दोस्रो विश्वयुद्धका समयमा पनि नेपालले बेलायतीहरुको सहयोगका लागि प्रशस्त सैनिक पठाएको थियो । पहिलो विश्वयुद्धका समयमा चन्द्र समसेर प्रधानमन्त्री थिए भने दोस्रो विश्वयुद्धका समयमा जुद्ध समसेर मुलुकका सर्वेसर्वा थिए । चन्द्रका पालामा नौ रेजिमेन्ट सैनिक पठाइएकोमा जुद्धले त्यसलाई कमी हुन दिएका थिएनन् । भारतमा रहेका सैनिकहरुको कमान्डिङको कामउनै जुद्ध समसेरका जेष्ठ पुत्र बहादुर समसेरले गरेका थिए ।

त्यसरी खटाइएका सैनिकहरुलाई ब्रिटिश सरकारले खाजा भत्ता वापत् दिनको पचास पैसा अर्थात् एक मोहर दिने निर्णय ब्रिटिशतर्फका सैनिक अधिकारीहरुले सुनाए । यो खबरले दुःखमा बाँचेका गोर्खाली सैनिकहरुले खुसीयाली मनाए ।

खाजा भत्ताबाट केही बचाएर परिवारको पालन पोषणमा खर्च गर्न पाइने कुराले उनीहरुमा निकै उत्साहित बनाएको थियो । तर घोषणा भत्ता वितरण हुने भनेर तोकिएको दिन भन्दा केही दिन अगाडि ब्रिटिश अधिकारीहरुले फेरि अर्को घोषणा गरे– खाजा भत्ता वापत् दिने भनिएको मोहर पैसाको रुपमा नभई त्यति बराबरको खाजाको रुपमा दिइने छ ।

खासमा ब्रिटिशहरुले छल गर्न चाहेका थिएनन् । विकट नेपाली गाउँबाट दुःखपाएर सेनामा भर्ती हुन पुगेका सैनिकहरुलाई पोषण प्रयाप्त मात्रामा पुगोस्, थप तन्दुरुस्त बनुन् भनेर भत्ताको योजना अघि सारेका थिए । तर गोर्खाली सैनिकहरुले खाजाको पैसा बचाउने र परिवारको खर्चको रुपमा पठाउने भन्ने योजना बनाएको थाएपाए पछि पैसा दिने निर्णय बदलेका थिए । अथवा त्यसमा नेपालीतर्फका कमाण्डर बहादुर समसेरले दिएको सल्लाहको पालना गरेका हुनपनि सक्थे ।

तर पैसाको सट्टा त्यस बराबरको खाजा दिने निर्णय सार्वजनिक हुनासाथ सिपाहीहरु एकाएक घाममा सुकाएको मुलाको सागजस्तै हुनपुगे । कतिपय रेजिमेन्टमा असन्तुष्टिको आगो सल्कियो । उनीहरुले व्रिटिश अधिकारीहरुको पूर्ववत निर्णय कायम हुनुपर्ने माग राखे अर्थात् खाजा हैन खाजा भत्ताको पैसा नै पाउनु पर्छ ।

यो माग गोर्खाली सैनिक रेजिमेन्टहरुमा भुसको आगो जसरी सल्किन थाल्यो । कतिपय रेजिमेन्टमा गोर्खाली सैनिकहरुले खाजा बहिष्कार गर्दै पूर्व निर्णय बमोजिम पैसा नै पाउनुपर्ने माग राखे । उनीहरुको यो माग अनसनको स्तरसम्म पुग्यो ।

जुद्ध समसेर राणा। तस्वीर : गुगल

इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरका अनुसार ग्यारिजन ड्युटीमा खटिएका दी महेन्द्र दल रेजिमेन्टमा असन्तुष्टिले अलिउग्र रुप लियो । त्यो देखेपछि ब्रिटिशहरु अलि डराए। गोर्खालीहरु तर्फका कमाण्डर बहादुर समसेरलाई कलकत्ताबाट झिकाएर विद्रोह शान्त गराउने प्रयास गरियो । त्यसबाटपनि उपाय नचलेपछि आन्दोलनमा लागेकाहरुलाई सैनिक ऐन बमोजिम कारवाही गर्न थालियो । त्यस मध्येका अगुवा सुवेदार कुलध्वज बस्नेतलाई पक्राउ गरी थप कारवाहीका लागि नेपालतर्फ चलान गरियो ।

जसै काठमाडौँ खाल्डोमा ल्याइयो, कुलध्वजका पिता कर्णल डम्बरबहादुर बस्नेतलाई चिन्ता हुने नै भयो । उनी छोराको ज्यान बचाउन हारगुहार गर्दै राणा जर्नेलहरुका दरबारमा धाउन थाले । त्यस क्रममा श्री ३ प्रधानमन्त्री जुद्ध समसेरसँग बिन्ती चढाउन बाक्लारजु बाइसधारासँगैको पोखरीमा पनि पुगे ।

त्यस बखत जुद्धनागार्जुन दरबारमा बसोबास गर्थे । बालाजु पोखरीका माछालाई चारो खुवाउन आएको मौका पारेर कर्णेल डम्बर बहादुरले बिन्ती बिसाए, “सरकार, छोरोले बिराएपनि ज्यान माफी होस् ।” जवाफमा जुद्धले “तेरो छोरोलाई माफी दिइहाल्छु त” भन्नमात्रै के लागेका थिए, डम्बरबहादुरले जान्ने भएर बोलिहाले, “सरकार, जङ्गीलाठ मोहन समसेरलाई पनि सबै कुरा जाहेर गरेको छु ।”

डम्बर बहादुरको मुखबाट मोहन समसेरको नामनिस्कना साथ सन्की जुद्धको रिसको पारो छुटिहाल्यो । उनी सरासर दरबार गए र तुरुन्तै नाती नर समसेरका नाममा पत्र लेखे, “चिट्ठी पाउनासाथ कुलध्वजलाई झुन्ड्याएर मकहाँ आउनू ।”

कुलध्वजलाई त्यही दिन काठमाडौंको सानो टुंडिखेलमा फाँसीको सजाय हुन लागिएको थियो । डुँडिखेलको डिलमा फाँसीको मचान बनाइ सकिएको थियो । नाती जर्नेल नर समरेर हजुरबुबाको आदेश लिएर आउने रिसल्लाको बाटो हेर्दै कुलध्वजलाई मचानमा चढाउने, ओराल्ने गरिरहेका थिए ।

कारण, बिहान बिदा गर्ने बेलामा नाती नरलाई आदेश दिएका थिए, “त्यसलाई झुन्ड्याउँला नै जस्तो मेलोमेसो गरी तर्साउने कामचाहिँ गर्नु तर झुन्ड्याई चै नहाल्नू । मैले त्यसलाई माफी दिएको पत्र रिसल्लाको हात नागार्जुनबाट पठाउँछु अनि तिमीले चिट्ठीपढी त्यसलाई छाडिदिनू ।”

यो घटना सन् १९४४ को डिसेम्बर तिरको हो । नाती जर्नेल नर समसेर सानो टुंडिखेलमा हुकुमतामेल गरिरहेका थिए । उनले आफ्नो आत्मकथामा लेखेका छन्, “…त्यसलाई झुन्ड्याउन भनी मचान तयार पार्न लगाई निजकुलध्वजलाई कम्मर पछाडि दुवै हातबाँधी कहिले उकाल्ने त कहिले ओराल्ने काम गरिरहेँ । रिसल्लाले चिट्ठी ल्याउला र त्यसलाई छाडी घर फर्कौंला आतुरताका साथ घडी हेरिरहेको थिएँ । तर धेरै ढिलो गरी रानीपोखरीतिरबाट रिसल्ला घोडा दौडाउँदै आइपुग्यो । लौ, अब बल्ल घर जान पाइने भइयो भनी ठान्दै पत्र खोली हेरेँ । पत्रमा ‘चिट्ठीपाउना साथ कुलध्वजलाई झुन्ड्याएर मकहाँ आउनू ।’ भन्ने आदेश पो देखेँ । आफ्नो आँखालाई विश्वासै गर्न सकिन । एकछिन दिमाग चकरायो । बुढाले पहिले बक्सेको निर्देशनको ठीक विपरित चिट्ठी पढ्दा ज्यादै खिन्न भएँ । हुकुमको तामेल गर्नै पर्‍यो । अनि नाटकको सट्टा साँच्चिकै त्यो अभागी कुलध्वजलाई झुन्ड्याउन लगाई सिधै नागार्जुन गएर हजुरबुबासँग झगडा गर्न पुगेँ ।”

त्यसपछि जुद्धले नाती नरसँग सोधेछन्, “तिमीले कुलध्वजलाई साँच्चिकै फाँसीदिएर आयौ ?” जवाफमा नरले भनेछन्, “हुकुमतामेल नगरेको भएहजुरले मलाई दण्ड दिइहाल्नु हुन्थ्यो नि ।”

नर समसेरको आत्मकथा पढ्दा सुवेदार कुलध्वजको हत्यामा जुद्ध समसेरले पछुतो मानेको देखिन्छ । साथै उनी कुन हदसम्मका सन्की रहेछन् भन्ने पनि प्रस्ट हुन्छ । उनले नातीसँग भनेका छन्, “त्यसको बाउले जङ्गीलाठ मोहन समसेरलाई पनि जाहेर गरेको छु भन्नासाथ मेरा कन्सिरीका रौ तातिहाले । लौ तेरो मालिक मोहन समसेरले जोगाओस् भन्ने मनमा लाग्यो । त्यही रिसको झोकमा कुलध्वजलाई झुन्ड्याएर आऊभनी लेखी पठाएँ ।”

यस घटनाबाट जुद्ध समसेर मोहन समसेरसहितका त्यस बखत पचभैया भनिने चन्द्रपुत्रहरुसँग कुन हदसम्म रुष्ट थिए भन्ने कुरा पनि प्रस्ट हुन्छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो