व्यंग्य : जुम्रा केलाउने कि दिमाग खेलाउने ?

डिसी नेपाल
१९ मंसिर २०७८ ६:४९

प्रजातन्त्र, लोकतन्त्र, अरु के के तन्त्र भनेपनि, यो यो उपलब्धि गरियो भनेर औंला भाँच्दै गनेपनि र स्वस्थ्य प्रतिष्पर्धा गरेर बहुमतको आधारमा पद हस्तान्तरण गरिन्छ भन्दै थामिनसक्नु तरिकाले चिच्याएर कनेपनि गाउँफर्के पाराको नियुक्तिको शैली अपनाएर आफ्नो थैली भर्ने बाहेक अन्य कुनैपनि बिषयमा शिर्षलगायतका नेताहरुको ध्यान नभएकोले पद पाउन इच्छुक नेता कार्यकर्ताले ज्यान फालेर शिर्षको चाकडी गर्ने बाहेक अरु कुनै उपाय हालको लागि देखिएन। यो त्यो उ अर्को भन्ने कुरै छैन।

सबैको हालत उस्तै भएको र सबै एउटै बाटोमा गएको हुनाले दलको नाम सिद्धान्त लक्ष्य नीति भावी योजना कार्यदिशा कार्यनीति कार्यक्रम आदि जेजस्ता देखाए सुनाए वा बताएपनि र उफ्रिँदै भाषण गरेर जनता तताएपनि सबै दलको आधारभूत नीति र सिद्धान्त भनेको मै खाउँ मै लाउँ बाहेक अरु केही रहेनछ भनेर नचाहिँदो दोष लगाउने जनतालाई कसले सम्झाउने? अधिबेशन महाधिबेशन, त्यसमा बिभिन्न पदहरुको लागि प्रस्तिस्पर्धात्मक निर्वाचन गरेर नेतृत्व छनोट गर्ने खालको नियमको बनोट सबै दलहरुमा उस्तै देखिन्छ।

नेतृत्वमा पुग्न सक्षम र इच्छुकहरुबीच स्वस्थ प्रतिष्पर्धा गराउने अभ्यासमा जान डराउने र यो पाइएन त्यो पाइएन भनेर बाहिर बाहिर कराउने ब्यक्ति गुनासो गर्दागर्दै हराउने भनेर शिर्ष नेतृत्व थाकेको देखिँदैन। कुरो ज्यादै सही पनि हो। प्रतिष्पर्धाबाट खारिएको नेतृत्वबाट नै जनतालाई सबै दुख कष्टबाट तारिएको र असली प्रजातन्त्रको अभ्यास आफ्नो दलमा मात्रै अघि सारिएको भन्ने भनाइ सबै दलका शिर्षहरुबाट सुन्दा जनता दंग छन्।

आफ्नो र आफ्ना प्रियहरुको बढाइ चढाइ तारिफ र आफ्ना बिरोधीहरुको जानेसम्मको बद्ख्वाइँ गर्दापनि ठूलो प्रतिष्पर्धा भइरहेको र सबै दलमा यो कार्य शानदार तरिकाले गइरहेको देख्दा जनताको खुसीको सीमा छैन। जुन दलको जुन नेताको भाषण सुनेपनि र भोट हालेर जसलाई चुनेपनि उनीहरुका भाषणमा देश र जनताका कुरा दश प्रतिशत जति घुसाएर बाँकी आफ्नो तारिफ र अरुको सत्तोसराप गरेको देख्दा सुन्दा यिनीहरुले आफूलाई कति ठूलो धरापमा परेको महसुस गरेका रहेछन् भन्ने बुझ्न खासै गाह्रो पर्दैन।

दिमागमा डरत्रास भएपछि बोलेको आफैंले थाहा नपाउने गरी बर्बराउने र मुखले ठूलाठूला अपत्यारिला गफ फलाकेपनि प्रतिष्पर्धामा जान धर्मराउने गरेको हुनसक्छ भनेर अड्कलबाजीमा रमाउने र कसैको छेउटुप्पो नबुझिकन आलोचनाको बाटो समाउने मान्छेहरुको पाटो अर्कै छ।

जहाँनिया राणा शासनमा चाकडी प्रथा एकदम बढी भयो, पंचायतमापनि चाकडी प्रथा ज्यादै माथि गयो, प्रजातन्त्र पुनस्र्थापना पछिपनि चाकडी प्रथाले उत्तिकै प्रश्रय पायो, राजतन्त्र हुँदा त चाकडीदारले मात्रै सबैतिर खायो भनेर त्यसमा सुधार गर्न ल्याइएको गणतन्त्रमा त झन शिर्ष नेताहरुको चाकडी प्रथा मौलाएको देखेर देख्ने सुन्नेहरु बौलाएको हो कि जस्तो अबस्था आइसक्यो भनेर महाधिबेशनमा जानेहरुले नै भन्न थालेका भएपनि जनताले चाहिँ त्यति पत्याएका छैनन्।

अध्यक्ष सभापतिदेखि लिएर मुख्य मुख्य सबै पदहरुमा प्रजातान्त्रिक तरिकाको प्रतिष्पर्धा गराइ जसले बढी मत ल्याउँछ उसैले कुर्सी भ्याउँछ भनेर जानेसम्मको प्रचार प्रसार भएपछि यिनीहरुले साँच्चै नै प्रजातान्त्रिक पद्धती अपनाउने सुरसार गरेछन् र भित्री मनबाटै प्रजातन्त्रमा विश्वास गरेछन् भन्नेमा सबैजना ढुक्क भएकोमा अभ्यास देख्दा चाहिँ सबैले थुक्क भन्न पर्ने होकि भनेर सोच्ने मुर्खहरुको अझैपनि बुद्धि पलाएको रहेनछ जस्तो लाग्छ।

आफू जस्तो प्रजातान्त्रिक अरु कोहिपनि छैन भन्दै मच्चिमच्चि कुर्लने र अरु सबै नक्कली हुन् भनेर उर्लने शिर्ष नेताहरुको भाषण सुन्दा राजनैतिक सभामा गरिएको भाषण हो कि हाँस्य कलाकारले प्रदर्शन गरेको हाँस्य कार्यक्रम हो भन्ने बुझ्न नसकेर अलमलमा परेका जनताको भबिष्य झलमलमा पार्ने भनिएका र अत्यन्त शिर्षमा गनिएका नेताहरुले एकअर्काको खुट्टा तानातान र डायलग हानाहान मात्रै गरेको देख्दा राजनीति भनेको एकअर्कालाई खुइलाउने खेल बाहेक अरु केही होइन रहेछ भनेर जनताले बुभ्mन थालेका छन्।

बालकोटे कामरेडले माइक भेट्टायो कि खुमलटारे कामरेड र कोटेश्वरे कामरेडको साथै पाँच दलीय गठबन्धनको पन्चतत्वलाई जानेसम्म, उपलब्ध शब्दकोषले धानेसम्म, खानापिना पकेट खर्च आदि दिएर जबरजस्ती जम्मा गरेर थुपारेको भिडले मानेसम्म, गालीको आकर्षणले जनतालाई तानेसम्म र अरु सबै कुरा छोडेर पेटका किरासमेत पनि मर्ने गरी शब्दबाँण हानेसम्म यो सिलसिला निरन्तर चलिरहने देखिन्छ।

त्यसैगरि स्वघोषित महान नेता भनेरसमेत चिनिएका र बिदेशीहरुद्वारा ठूलो लगानीमा लालपुर्जा नै दिएर किनिएका खुमलटारे कामरेड र मान सम्मान नपुगेर बाक्लो दाल खान हिँडेका कोटेश्वरे कामरेडलेपनि माइक हातमा पर्नासाथ अनि बोल्न सुरु गर्नासाथ बालकोटेलाई सराप्नु बाहेक अर्थोक गरेको देखिन्न। अरु दलहरुकोपनि हालत त्यस्तै भएकोले सबैतिर यस्तै छ।

जो कुर्सीमा छ उसले ज्यान गए कुर्सी छोड्न नचाहने र कुर्सीमा अरु बसेर शक्तिको मजा लिएको हेर्न बाध्य भइरहेकोले कुर्सी हत्याउने दाउ बाहेक अरु कुरामा ध्यान मोड्न नचाहने भएकोले त्यस्तालाई शिर्ष नेताहरुले कुर्सीसित जोड्न नचाहने अचम्मको अबस्था सबै दलहरुमा एकैनासले फैलिएको हुनाले राजनीति नराम्रोसित मैलिएको हो कि जस्तो देखिन्छ।

राजनैतिक दलहरुको महाधिबेशनलाई शिर्ष नेतृत्वमा रहेका अध्यक्ष सभापति उपसभापति महासचिब सचिब केन्द्रीय सदस्य आदि जस्ता पदाधिकारीहरुले जहिलेपनि संकटको रुपमा लिने र यस्ता पदहरुमा निर्बाचन भन्दा सर्ब सम्मति गरेमा दलको एकता कायम रहन्छ भनेर आफ्नो पदलाई सुरक्षित राख्ने र फेरि अर्को कार्यकालको मजा चाख्ने प्रयास गर्नमै समय खर्च गरेको देखिन्छ।

नेतृत्वको छेउछाउमा बसेर नेतृत्ववालाले गरिरहेको शक्तिको अभ्यासको राम्रो भेउ पाएकाहरु निर्वाचन भएमा कोशिश गरेर फुत्त त्यहाँ पस्न र जमेर बस्न पाइन्छ कि भनेर लागिपरिरहेका हुन्छन्। निर्वाचन हुँदा सबै पदका आकांक्षीहरुको अलग अलग प्यानल र गुटको च्यानल मिलाउने अनि म भएँ भने यो गर्छु उ गर्छु यो दिन्छु उ दिन्छु भनेर भरोसा दिलाउने जति प्रयास गरेपनि भइरहेकाहरुले साम दाम दण्ड भेद सबै नीतिको प्रयोग गरि बिरोधीहरुको मुख सिलाउने र बिभिन्न माध्यमहरुबाट लोभ लालचको प्याला पिलाउने गरेर आफ्नो कुर्सी बलियो बनाउने प्रयास गरेको पाइन्छ।

बर्षौंदेखि सँगै जेलनेलसहितको दुख पाएका, शक्तिमा पुग्नुभन्दा अघिसम्म भोकै नाँगै दुख कष्ट गरेर अनेक हण्डर खाएका, यहांसम्म आइपुग्नको लागि रातदिन नभनी चाकडीको लागि अघिल्लो पुस्ताका नेताहरुकहाँ सँगसँगै धाएका र अघिल्लो पुस्ताका नेताहरुलाई हदैसम्मको चाकडीद्वारा रिझाएर यहाँसम्म आएका आफूआफू बीचमा भएको चाटाचाटको सम्बन्ध यही कुर्सीले गर्दा काटाकाटको अबस्थामा पुगेको देख्दा दुबैथरिको स्वार्थ अनुरुपको चित्त दुखाइलाई नाजायज मान्न सकिन्न।

महाधिबेशनमा निर्वाचनद्वारा प्रजातान्त्रिक हो कि लोकतान्त्रिक बिधि अपनाउँदा आफूले धेरै तिकडम गरेर पाएको र आफ्नालाई नै जुधाएर खाइपाइ आएको कुर्सी हातबाट फुस्केला भन्ने डर सर्बसम्मतिको आबरणमा सकेसम्म राणाकालीन पजनी प्रथा अपनाएर आफ्नो भजनी गर्ने समूहलाई पदाधिकारी बनाउन पाए आर्यघाटको यात्रा नगरुन्जेलसम्म लोकतन्त्रको दुहाइमा यस्तो जात्रा देखाइ राख्न सकिन्थ्यो भन्ने ज्यादै प्रजातान्त्रिक सोच र नीति सबै शिर्षहरुले अपनाएकोमा कार्यकर्ता र जनता ज्यादै प्रभाबित छन्।

जोगी बन्न राजनीति नगरेको हुनाले अरुलाई जोगी बनाएर आफू सबैभन्दा त्यागी देखिने उच्चस्तरको भोगी बन्नु नै सबैभन्दा सफल राजनीतिज्ञ हुनु रहेछ भन्ने जनतालेपनि अलिअलि बुझ्न थाले जस्तो छ। हुन त नेताले सबैभन्दा नगर्ने भनेकै आफूलाई भोट हालेर जिताउने जनताको काम हो भन्नेपनि जनताले राम्ररी बुझेका छन्।

त्यो बिषय राम्ररी बुझेपनि सदाबहार फोश्रो आश्वासन, कहिल्यै कार्यान्वयन नहुने उधारो बिकासे प्रतिज्ञा, भोटको तुलनामा हातमा पर्ने ज्यादै नगण्य रकम, एकदुई छाक खान पाइने रक्सी मासु र दालभात आदिको भरमा कुनै कुराको बिचार नगरी तँछाड मँछाड गर्दै त्यही नेतालाई घरिघरी भोट हालेर जिताउनु भन्दा भोट नदिएर त्यसलाई जनताको तहबाटै बिताउनु राम्रो हुने रहेछ भन्ने बुझ्दाबुझ्दै पनि भोट दिएर उबाट केही भलो होला भनेर चिताउनु नै आफ्नो गल्ती हो भन्नेपनि जनताले महसुस गरेका हुन् कि जस्तो छ।

चुनाव अगाडि सबै बुझ्ने तर चुनावमा तिनै नेता र कार्यकर्ताहरुको फस्ल्याङ फुस्लुङमा रुझ्ने जनताको बानीले गर्दा नेताहरुले पाइलै पिच्छे धोका दिएर भोटका पोका कुम्ल्याएका हुन् भनेर हरेक दिन जनताहरु चिया पसलमा गफ चुटिरहेका र त्यही गफबाट मजा लुटिरहेका देखिन्छन्।

भोटको लागि सबैथोक गर्छु भनेर नथाक्ने नेताहरु र नेताहरु कामै नलाग्ने छन् भन्दै बिहान बिहान चिया पसलमा गुट्टी नहाँक्ने जनता देख्दै देखिँदैन। तर चुनावको बेला माइकमा नेता कुर्लेको सुन्नासाथ सबैथोक एकैचोटी बिर्सेर गुटगुटमा जनता उर्लेको देख्दा मदारीले बिन बजाएर सर्प खेलाएको जस्तो गरेपछि नेताका सबै काला कर्तुतहरु जनताका आँखाबाट सेलाएको हो कि जस्तो देखिनु चुनावको ज्यादै राम्रो पक्ष हो। बरु सबै तहका आबधिक निर्वाचनहरुमापनि सर्ब सम्मति गरेर टिके ब्यबस्था मिलाउने र आफ्ना चाकडीदार र आसेपासेलाई चाहेको पद दिलाउने चलन चलाउन अब ढिला नगर्दा बेश होला।

नेताहरुले झुटको खेती र लुटको ब्यापार बनाइसकेको र सिद्धान्त अनुसार काम गर्न सक्ने आफ्नो कुनै औकात छैन भनेर ब्यबहारमार्पmत जनाइसकेको अबस्थामा यस्ता महाधिबेशन वा भेला जति गरेपनि जनताको लागि भद्दा खाले रमिता बाहेक केही हुनेवाला देखिँदैन।

महाधिबेशन भनेको देश र जनताको पक्षमा काम गर्ने खाले नीति सिद्धान्त कार्यक्रम आदिको प्रतिपादनको लागि नभइ हाल भएकाले आफ्नो पद टिकाउने र आकांक्षीले पदको लागि भोट दिनेका अगाडि आफ्नो बोली बिकाउने अभ्यास बाहेक अरु केही होइन रहेछ भन्ने जनतालाईपनि अलिअलि लाग्न थालेको छ।

चुनावको बेला माइकमा नेता कुर्लेको सुन्नासाथ सबैथोक एकैचोटी बिर्सेर गुटगुटमा जनता उर्लेको देख्दा मदारीले बिन बजाएर सर्प खेलाएको जस्तो गरेपछि नेताका सबै काला कर्तुतहरु जनताका आँखाबाट सेलाएको हो कि जस्तो देखिनु चुनावको ज्यादै राम्रो पक्ष हो। बरु सबै तहका आबधिक निर्वाचनहरुमापनि सर्ब सम्मति गरेर टिके ब्यबस्था मिलाउने र आफ्ना चाकडीदार र आसेपासेलाई चाहेको पद दिलाउने चलन चलाउन अब ढिला नगर्दा बेश होला।

यसबाट एउटै दलका नेताहरुको एकअर्कामा पटक्कै बिश्वास नभएको र सबैजना निजी स्वार्थभन्दा एक पाइलापनि बाहिर नगएको प्रष्ट हुन्छ। अहिले भइरहेकाहरुले सकेसम्म र मिलेसम्म आफ्नै निरन्तरताको लागि जे जस्तो कदमपनि चाल्ने र आकांक्षीले जसरीपनि आफू त्यहाँ पुगेर पुरानालाई फाल्ने नीति लिएका हुनाले मतदान हुने बेलासम्मको लागि भएपनि सबै कमजोरीहरुलाई टाल्ने अनि यसका लागि सबैखाले अनैतिक कार्य गर्न सक्नेलाई आफ्नो गुटमा पाल्ने बाध्यता रहेको गोप्य कुरा जनताले बुझिदिन पर्छ।

मुखले बोलेजस्तो लोकतान्त्रिक हो कि प्रजातान्त्रिक तरिकाले मतदान गराउने हो भने धेरै चाँडो आफूले डाँडो काटिने सम्भावना हुनाले बिरोध गर्न सक्नेको भाँडो लुटको धनबाट भरिदिने र भबिष्यमा उनिहरुले चाहेजस्तो गरिदिने भनेर प्रत्येकको मनमा आशाको त्यान्द्रो छरिदिने गरेको देखिन्छ। त्यही भएर खुमलटारे कामरेड त अध्यक्ष भएर बसेको र अझै धेरै बर्षसम्म त्यसैमा कायम रहन कम्मर कसेको चार दशक पुग्न लागिसक्यो।

बालकोटे कामरेडपनि शरीरका पार्टपुर्जा फेरेर भएपनि अझ केही बर्ष अरुले अध्यक्ष पद खाएको हेरेर नबस्ने दिशामा लम्केका छन्। आफ्नै दल भित्रको सदाबहार समस्यालाई कहिल्यै हल गर्न नसकेपनि सबैले सजिलै बुझ्ने किसिमको छल गर्दै आफू जस्तै असक्षमहरुको कमजोरीको फल एक्लै बसिबसी खाइरहेका बुढानिलकण्ठे सभापति यसैमा दंग परेर बसेका छन्।

राजाबादीहरुको पनि भएजति नेताहरुलाई अध्यक्ष दिने र सँगै बस्न नसक्ने भएपछि टुक्राटुक्रामा बाँडिएर अनि खानपिनको झगडामा भाँडिएर आफूखुसी पद लिने ज्यादै प्रजातान्त्रिक अभ्यास गर्दै आएर कहिले फुट्ने कहिले जुट्ने टुंगो छैन। अरु साना ठूला दलहरुको पनि हालत केही फरक देखिँदैन, सबैको उस्तै हो।

मुख्य नेता र उनका भित्रियाहरुको जति धेरै ताबेदारी गर्न सक्यो उति ठूलो पदमा दाबेदारी गरेर पद पाउने पक्का भएपछि नेताको बिरोध गरेर धक्का दिन खोज्ने मुर्खता नगरेको धेरै राम्रो।

जहाँनिया राणा शासनमा चाकडी प्रथा एकदम बढी भयो, पंचायतमापनि चाकडी प्रथा ज्यादै माथि गयो, प्रजातन्त्र पुनस्र्थापना पछिपनि चाकडी प्रथाले उत्तिकै प्रश्रय पायो, राजतन्त्र हुँदा त चाकडीदारले मात्रै सबैतिर खायो भनेर त्यसमा सुधार गर्न ल्याइएको गणतन्त्रमा त झन शिर्ष नेताहरुको चाकडी प्रथा मौलाएको देखेर देख्ने सुन्नेहरु बौलाएको हो कि जस्तो अबस्था आइसक्यो भनेर महाधिबेशनमा जानेहरुले नै भन्न थालेका भएपनि जनताले चाहिँ त्यति पत्याएका छैनन्।

महाधिबेशन नाम दिइएपनि नेता ब्यबस्थापनको काम बाहेक अरु केहि नहुने र यस बाहेकका काम कसैले नछुने गरियो रे भन्ने हल्लामापनि जनताको पत्यार छैन। चुनावमा टिकट, पार्टीका अरु लाभदायक पद, चुनाव पछि मन्त्री आदि दिने आश्वासनहरु त सामान्य नै भइहाले अहिले त आफूलाई बिस्थापन गर्ने वा आफूलाई खुस्काउन ज्यान फालेर लागि पर्ने आफू सरहका नेताहरुलाई सबै दलका नेताले आफूलाई समर्थन जनाइदिने कष्ट गरेमा अबको राष्ट्रपति बनाइदिने आश्वासन दिएर राष्ट्रपति पदलाई सबैभन्दा सस्तो पदको रुपमा प्रचार गर्ने नेतृत्वको कस्तो सोचाइ होला भनेर जनताले चासो राखेका छैनन्।

महाधिबेशन भेला सभा छलफल प्रशिक्षण आदि जे जस्ता नाम दिएर मान्छे जम्मा पार्ने काम गरेपनि एकले अर्कोलाई चर्को स्वरमा गाली गरेर जनतालाई झर्को लाग्ने अबस्था आइसक्दापनि आफ्नो आंगमा नहेरि अर्काको आंग मात्रै कोट्याउने कार्यले आफ्नो पदको आयु छोट्याउने हो कि भन्ने डर बाहेक नेताहरुको दिमागमा अरु केही नभए जस्तो देखिन्छ।

त्यही भएर अर्काको आङको लिखा जुम्रा केलाउने सुकर्मलाई बढाउँदै र भाबी पुस्तालाईपनि त्यहि पाठ पढाउँदै लैजानु भन्दा आफ्नो आङमा उघ्राइरहेको भैंसीलाई ठिक ढंगले ब्यबस्थापन गने तर्फ दिमाग खेलाउने कार्यको थालनी गर्दा राम्रो होला कि?

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *