बुक प्रकाशकहरु अपराधी नै हुन्?

डिसी नेपाल
१९ मंसिर २०७८ ७:४१

नेपाली साहित्यका पारखी एवम् केही लेखकहरुमा एउटा भ्रम छ- प्रकाशकहरुले नवोदित या स्थापित हुन नसकेका लेखकहरुसँग पैसा लिएर किताब छाप्ने काम गरिरहेका छन्, यो ठूलो अपराध हो। यिनीहरुले स्रष्टाहरुमाथि शोषण होइन, घोर अन्याय गरिरहेका छन्।

किताब छाप्ने पैसा अग्रिम नलिई प्रकाशकहरुले नवोदित लेखकहरुलाई मौका दिँदैनन्। लेखकस्वमा ठगेर प्रकाशकहरुले लेखकको चरम शोषणगर्छन्। आदिआदि।

मञ्जरी पब्लिकेशनको कार्यकारी प्रमुख हुनुभन्दा अघि यो पङ्तिकारलाई पनि त्यस्तै लाग्थ्यो। ‘रक्तकुण्ड’को लेखकस्वमा नराम्रोसँग झड्का लागेपछि यस्तो सोच्नु अन्यथा पनि थिएन। तर जब पब्लिकेशनसँग सम्बद्ध भएर पुस्तक छाप्न इच्छुक नवोदित लेखकहरुहरुसँग सम्पर्क गर्न थालियो त्यसपछि मात्रै प्रकाशकहरुको पीडा र समस्या बोध हुनथाल्यो।

निजी अनुभवसमेत समेत समेटिएको आजको यो आलेख नवोदित एवम् स्थापित हुन चाहने लेखकहरुसँग पैसा लिएर पुस्तक छाप्ने चलनकाबारेमा केन्द्रित छ। पुस्तक प्रकाशन पनि एउटा जोखिमको व्यवसाय हो। सिनेमा क्षेत्रका लगानीकर्ताहरु बराबरको जोखिम त नभनौं त्यसको आधा उधि जोखिमचाहिँ पक्का छ। नेपालमा मात्रै होइन, विश्वव्यापी रुपमै।

निर्माताले आफ्नो धनलगाएर निर्माण गरेको सिनेमा हलमा लगाएको तीन दिन भित्रमा चल्यो भने चल्यो नत्र युट्युबमा हालेर वा कम्प्युटरमा बन्द गरेर चित्त बुझाए हुन्छ। फेरि कुनै दिन चल्ला अर्थात् दर्शकले मन पराउलान् र लगानी उठाउन पाउँला भनेर उसले अपेक्षा नै नगरे हुन्छ।

किताबको अवस्थामा पनि उस्तै उस्तै हो। बजारमा पठाएको तीन हप्ता भित्रमा पाठकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो, बजारबाट पुनःमाग हुन सुरु भयो भने भयो नत्र गोदाममा थन्क्याए हुन्छ। बेला बखत आउने पुस्तककालयका अर्डरमा दुई–चारप्रति घुसाउँदै गोदम खाली गराउने उद्देश्य राखे हुन्छ। अहिले प्रकाशकहरुले धेरैजसो पुस्तकमा यसै गर्दै आएका छन्।

छिमेकी भारतकै प्रसिद्ध प्रकाशक संस्था पेन्गुइनले नै कतिपय नेपाली मूलका लेखकहरुका कृति प्रकाशनका लागि आफ्नो लोगो दिए वापत् डेढ लाख भारु लिएका उदाहारण बग्रेल्ती भेटिन्छन्। सम्राट उपाध्याय, मञ्जुश्री थापाहरुका पुस्तक त्यसै गरी छापिएका हुन्।

त्यसो त छापिएर बजारमा गएका किताब कुनै अमुक पुरस्कार पाएपछि चलेका अथवा नयाँ पुस्ताका पाठकहरुले खोजी गरेका केही उदाहारण पनि छन्। यस कोटिमा नयनराज पाण्डेको उपन्यास ‘उलार’, अमर न्यौपानेको ‘पानीको घाम’, सरदार भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’, दमनराज तुलाधरको ‘आत्मकथा’, पद्मजङ्ग राणाको ‘जङ्गबहादुरको जीवन यात्रा’ आदिलाई लिन सकिन्छ। पुरस्कार पाए पछि खोजी भएका कृतिमा अमर न्यौपानेको ‘सेतो धरती’, घनश्याम कँडेलको ‘धृतराष्ट्र’ आदिलाई लिन सकिन्छ।

तीतो सत्य हो, एउटालाई अपवादमा राख्ने हो भने नेपालका प्रकाशकहरु कुनैसँग पनि उल्फाको धन अर्थात् कालो धन छैन, जसले आफूकहाँ आएका हरेक पुस्तक आँखा चिम्लेर प्रकाशित गरुन्।

त्यसैले उनीहरुले आफूकहाँ आउने पुस्तकहरु मध्येबाट एकदमै छानेर, बिक्री भएर लगानी उठ्छ भन्ने विश्वास लागेका पुस्तकमात्रै प्रकाशित गर्ने गरेका छन्। लगानी उठ्ने सम्भावना नदेखेका तर पाण्डुलिपिठि कै मात्रै लागेका पुस्तकहरुमा लेखकलाई लगानी गराएर पनि बजारमा पठाउने गरेका छन्। लगानी उठ्ने नउठ्ने दोधार भएका पुस्तकहरुमा पनि लेखकलाई लगानी गराउने गरेका छन्। यो उनीहरुको बाध्यता हो।

हरेक लेखकले सोच्छ- आफूले लेखेको निकै पुस्तक गतिलो छ। छापिएर बजारमा पठाउनसाथह्वार्ररै बिक्छ। लगानी फुत्तै उक्सिन्छ। प्रकाशकले आफूले लेखेको महत्व बुझिदिएनन्। एक मौका पाउने हो भने लेखकको रुपमा म तुरुन्तै स्थापित हुने थिएँ-प्रकाशकहरु कहाँ पुग्ने हरेक लेखकमा यही मानसिकता हुन्छ।

त्यही कारण उनीहरुले आफ्नो पाण्डुलिपि एउटा प्रकाशक कहाँबाट अस्वीकृत हुनासाथ त्यसमा थप सम्पादन परिमार्जन गर्नुको साटो अन्य अन्य प्रकाशककहाँ धाउन हतारिन्छन्। पाण्डुलिपिभित्र आफ्नो कमजोरी खोज्नु सट्टा प्रकाशकलाई दोष लगाउन उद्दत हुन्छन्।

तर आफूकहाँ आउने अनेक खाले लेखकका अनेकथरि पुस्तक अध्ययन गरेका, आफ्नो छनोट टीमबाट अध्ययन गराएका प्रकाशकहरुमा भने पाण्डुलिपिको दुई अनुच्छेद पढ्दैखेरि पुस्तकको वजन थाहा पाउने सामथ्र्य हुन्छ।

विद्यार्थी पुस्तक भण्डार, एजुकेशनल बुक हाउस, रत्न पुस्तक भण्डार आदि प्रकाशकहरुसँग त लेखकसँगको छिनभरको कुरा गराइबाट पुस्तकको वजन थाहा पाउने घ्राणशक्ति विकास भइसकेको छ। भनिन्छ, उनीहरुले त आफूकहाँ आएको पुस्तकको पाण्डुलिपि पनि पल्टाइराख्नु पर्दैन।

अन्य प्रकाशकहरुले पनि लेखकको कुरा गराइबाटै धेरै कुरा थाहा पाउँछन्। त्यसैले उनीहरुले आफ्नो लगानीको जोखिम उठाउनु भन्दा लेखकलाई लगानी गराउन उचित मान्दछन्। साहित्य वृत्तमा स्थापित हुन नसकेका, स्थापित हुनइच्छुकहरुका हकमा उनीहरुले यसो गर्दै आएका छन्। यो विश्वब्यापी चलन पनि हो।

नवोदित लेखकहरुका हकमा प्रकाशकहरुले सम्पादन खर्च लिने, प्रकाशनका लागि आफ्नो संस्थाको लोगो दिए वापत् निश्चित रकम सेवा शुल्क लिने चलन आम रुपमै चलेको छ। छिमेकी भारतकै प्रसिद्ध प्रकाशक संस्था पेन्गुइनले नै कतिपय नेपाली मूलका लेखकहरुका कृति प्रकाशनका लागि आफ्नो लोगो दिए वापत् डेढ लाख भारु लिएका उदाहारण बग्रेल्ती भेटिन्छन्। सम्राट उपाध्याय, मञ्जुश्री थापाहरुका पुस्तक त्यसै गरी छापिएका हुन्।

तर नेपाली साहित्यभित्रको एउटा वृत्तले नवोदित लेखकहरुसँग पैसा लिएर पुस्तक छापिदिनुलाई ठूलै अपराधको रुपमा चित्रण गर्दै आएको छ। उनीहरुको धारणामा त्यसखाले प्रकाशकहरु समाजबाटै वहिष्कृत गरिनुपर्ने व्यक्तिहरु हुन्। बेला बखत यसखाले आशयका लेख समाचारहरु पत्रपत्रिकामा प्रकाशित पनि हुने गरेका छन्।

सत्य चाहिँ के हो भने लेखकलाई लगानी गराएर प्रकाशित गरिएका पुस्तकमा प्रकाशकहरुबाट न्यायचाहिँ हुनैपर्छ। छाप्नकालागि छापिदिने मात्रै नगरी पुस्तकको गुणवत्ताका अधारमा यथोचित प्रचार प्रसार चाहिँ गरिदिनु पर्छ। ता कि लगानीकर्ता लेखकमा प्रकाशकप्रति गुनासो गर्ने ठाउँ नरहोस्।

नारायण ढकाल, कृष्ण धरावासी, नयनराज पाण्डे, अमर न्यौपाने, बुद्धिसागर, सुविन भट्टराई, राजन मुकारुङ मात्रै होइन, साहित्य क्षेत्रका अधिकांश लेखकहरु टुप्पीबाट आफैँ पलाएका होइनन्, अथक मिहिनेत गरेको पैसा आफैँले लगानी गरेर पुस्तक छपाएपछि मात्रै स्थापित भएका हुन्। धरावासीले त सुरुका आठ पुस्तकमा आफूले लगानी गर्नु परेको कुरा कयौँ ठाउँमा बताएका छन्। नेपालका मात्रै होइन, विश्वका स्थापित भनिएका अधिकांश लेखकहरु सुरुसुरुमा आफैँले लगानी गरेपछि मात्रै स्थापित भएका छन्।

“प्रकाशकलाई पैसा दिएर किताब छपाउनु भन्दा त बरु आफ्नै श्रीमती वा आफन्त कसैलाई प्रकाशक बनाएर आफैँ छाप्नु बेस्।” –यस्तो धारणा पनि लेखकहरुका वृत्तमा सुन्न पाइन्छ। यस्तो काम कतिपय लेखकहरुले गर्दै पनि आएका छन्। तर यसो गर्नु भनेको आफैँ कमाउने लोभमा झन्झटको भारी बोक्नु मात्रै हो। कतिपय लेखकहरुले आफूले छापेका पुस्तक झोलामा बोकेर पसल पसलमा छाड्दै हिँडेको पनि देख्न पाइन्छ।

बिक्रीभएका पुस्तकको पैसा उठाउन जाँदा खेप्नु परेको हैरानीका बारेमा पनि अनेक ठाउँमा सुन्न पाइन्छ। सत्य हो, प्रकाशकको लोगो भएको पुस्तक उसका बिक्री एजेन्ट अर्थात् देशभरका बिक्रेताहरुकहाँ जसरी सजिलैसँग पुग्छ लेखक आफूले छापेका पुस्तक त्यसरी देशभर पठाउन कुनै हालतमा सम्भव हुँदैन। पठाइ हाल्यो र बिक्री भइहाल्यो भने पनि पैसा उठाउन उसले महाभारतको युद्ध गरेभन्दा चर्को हैरानी व्यहोर्नु पर्छ।

प्रस्ट छ– लगानी वापतको पैसा लिएर पुस्तक छापिदिने प्रकाशकहरुलाई महाअपराधी करार गर्ने वृत्तका व्यक्तिहरु आफैँ प्रकाशक हुने हो भने पनि पैसा नलिई त्यस खाले पुस्तक छाप्न सक्दैनन् । त्यसैले केही वर्षयता यो पङ्तिकारले भन्ने गरेको छ– अरुलाई केही आरोप लगाउनु अघि आरोपित पक्षको ठाउँमा उभिएर सोच्ने गरौँ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *