व्यंग्य : लाटाको देशमा गाँडो तन्नेरी – Dcnepal

व्यंग्य : लाटाको देशमा गाँडो तन्नेरी

कुनैपनि पद पाएपछि त्यसको मद लागेर हद भएपछि आफ्नो कद सबैभन्दा उँचो भएको भान परेर त्यो पद आर्यघाट पुगेपछि मात्रै बुझाउने र अरुलाई चाहिँ पद प्रतिष्ठा सम्पत्ति आदिको कुनै लोभ लालच नगरि निस्वार्थ जनताको सेवा गर्नपर्छ भनेर सुझाउने महानुभावहरुको कुनै कमी छैन।

पद भन्ने कुरो सानो होस वा ठूलो आआफ्नो ठाउँमा महत्व उत्तिकै हुन्छ र त्यसको रापतापले त्यही अनुसार सबैलाई छुन्छ । जति ठूलो पद भयो त्यसको त्यति नै धेरै माया हुने हुनाले ब्यक्तिले आफ्नो काया रहुन्जेल त्यसमा कसैको कालो छायाँ नपरोस् अनि आफ्नो प्यारो पद अरुले चाहँदैमा नमरोस् भनेर सधैं सोच्ने रहेछ कि क्या हो जस्तो देखिन्छ।

आफूले खाइपाइ आएको पद झट्ट छोडेर चट्ट माया मार्न र त्यसको लागि आफूभन्दा सानासित हार्न पर्यो भने दायाँबायाँ कतै नहेरिकन लाजै नमानि आँशु झार्न कोही पछि नपर्ने रहेछन् भन्ने सबैलाई थाहा भएकै कुरा हो। पहिलेपहिले यस्तो अबस्था आइपर्यो भने हल्ला नगरिकन लाज पचाउने र चुपचाप लागेर इज्जतको साथै हात लागेको माल बचाउने सरल तरिका अपनाउने गरेको सुनिन्थ्यो।

अचेल त ठूलै लगानि लगाएर किनिएको वा अरुबाट छिनिएको पद भएकोले होला जस्तै अबस्था परेपनि त्याग्न वा छोड्न पर्यो भने इज्जत मान प्रतिष्ठा लाज शरम घिन आदि सबै त्याग्ने तर पद चाहिँ ज्यानजाला सकेसम्म नत्याग्ने एकै किसिमको रोग सबैतिर फैलिएको हुनाले सबैको अनुहार नराम्रोसित मैलिएको कुरा ठिक साँचो हो भन्ने हल्ला जताततै सुनेपनि जनताले भने पटक्कै पत्याएका छैनन्। सर्बसाधारण जनताको कुनै पद नभएकोले पदको बारेमा जाबो जनतालाई के नै थाहा हुन्छ र पत्याउनु?

अहिले दलहरुका अधिबेशन हो कि महाधिबेशनको मौसम चलेको र यसमा कोही फुर्ती गर्दागर्दै ढलेको अनि कसैको चाहिँ थाहै नपाइकन भाग्य फलेको देख्दा कताकता क–कसको के–के चलेको थाहै नहुने रहेछ। सधैंभरि पदका आकांक्षी, उपभोगी र अनुभवी भएर पदको मजा लुटिरहेका र समानता, प्रजातन्त्र, लोकतन्त्र, स्वच्छ प्रतिष्पर्धा, निस्वार्थ जनसेवा, देशभक्ती आदिको गफ चुटिरहेका महानुभावहरु पद खुस्कँदा र खुस्कने सम्भावना हुँदा कतिसम्म बिचलित भएर ज्यादै तुच्छ अभिब्यक्ति दिँदै हिँडेको देख्दा देख्नेसुन्नेहरुले पनि जिब्रो टोकेका छन्।

दलका शिर्ष देखि सुगा रटाइवाला साना कार्यकर्तासम्म प्रजातन्त्र लोकतन्त्र आदिका ठूलाठूला गफ दिएर कहिल्यै नथाके जस्ता देखिएपनि सबै दलहरुको आन्तरिक लोकतन्त्र चाहिँ टिके पद्धतिमै टिकेको र लेनदेनमै सबैथोक बिकेको यसपाली अझ राम्ररी सबैले जान्न बुझ्न पाए। यो ज्यादै राम्रो बिधि, प्रकृया, पद्धति र उपयोगी तरिका हो।

दल आफ्नै, नेतृत्व आफ्नै, कार्यकर्ता आफ्नै, पदाधिकारी आफ्नै भएपछि चुनावी प्रतिष्पर्धामा गएर बेकारमा आफू आफू बीच प्रतिष्पर्धा गरेर किन समय श्रोत र क्षमता देखाउने कसरतको बर्बादी गर्ने ? जे जसरी नेतृत्व छानेपनि र जस्तो बिधि अपनाएर सबैले मानेपनि आउने यिनै अति सक्षमहरुबाटै हो भनेपछि चुनाव गरेर एकआपसमा पाखुरा सुर्कासुर्की गर्दा कसैलाई फाइदा छैन भनेर नेतृत्वले भनेकोमा कसैले फरक मत राखेर निहुँ खोज्दा भबिष्यमा सुबिधाबाट बन्चित हुँदाको अनुभव चाखेर बस्न पर्छ भन्ने बेलैमा बुझेको राम्रो। शिर्ष नेतृत्वको जोडदार ताबेदारी गर्न नसके कुनैपनि पदको दाबेदारी सही नभएर हावादारी ठहरिन्छ भन्ने त सबैले बुझिसके।

बालकोटे कामरेडको ज्यादै लोकप्रिय दलको महाधिबेशन स्वघोषित महान नेता खुमलटारे कामरेडको निर्बाचन क्षेत्र र उनकै सुपुत्रीको राज्य चलेको महानगरमा सम्पन्न भयो। देशैभरिबाट अनगिन्ती बस, ट्रक, ट्रायाक्टर, निजी गाडी, हवाइ जहाज आदिबाट जानेसम्म, सवारी साधनहरुले तानेसम्म र बजेटले धानेसम्म भिड जम्मा भएको देखियो। नारायणीको किनारमा भएको उद्घाटन सत्रमा भाग लिएपछि त्यो भिड अलपत्र परेपनि बालकोटे कामरेडलाई चाहिँ सबैतिर सत्र पर्‍ याे।

उहिले राणा शासन ताका हुने गरेको चाकडी प्रथालाई लोकतन्त्र हो कि गणतन्त्रमा अझ परिष्कृत तरिकाले पुनर्जिबित गर्न सकेकोमा हाम्रा शिर्ष नेतृत्वलाई आफ्नो परम्पराको जगेर्ना गर्न पर्ने कुरामा कति ठूलो लगाव रहेछ भन्ने रुपमा सबैले बुझिदिन पर्छ।

अस्ति भर्खरै बालकोटे कामरेडको ज्यादै लोकप्रिय दलको महाधिबेशन स्वघोषित महान नेता खुमलटारे कामरेडको निर्बाचन क्षेत्र र उनकै सुपुत्रीको राज्य चलेको महानगरमा सम्पन्न भयो। देशैभरिबाट अनगिन्ती बस, ट्रक, ट्रायाक्टर, निजी गाडी, हवाइ जहाज आदिबाट जानेसम्म, सवारी साधनहरुले तानेसम्म र बजेटले धानेसम्म भिड जम्मा भएको देखियो। नारायणीको किनारमा भएको उद्घाटन सत्रमा भाग लिएपछि त्यो भिड अलपत्र परेपनि बालकोटे कामरेडलाई चाहिँ सबैतिर सत्र पर्‍ याे।

उनले जंगबहादुर शैलीमा ठोकेको निर्णय अनुसार आफै तोकेको ब्यक्तिहरु अति प्रजातान्त्रिक निर्बाचन मार्फत चुनिएर बिभिन्न पदहरुमा सपथ ग्रहण गरेर सपथ ग्रहण समेत गरेको शानदार दृश्य देखेर जनता दंग परे। देशभरिबाट आएका र त्यही कारणले जाममा परेर कार्यक्रममा सहभागी हुने मौका पाएका सबैले नारायणी किनारको कार्यक्रमको शोभा बढाएर बालकोटे कामरेडको जनसागर देखाउने इच्छा पूरा गरिदिए।

त्यसै जाममा फसेर उपचारको लागि समयमा अस्पताल पुग्न नपाएका बिरामीले समेत एम्बुलेन्सको छतमा दिनभरि घाम तापेर कार्यक्रमको शोभा बढाउने र झण्डैझण्डै आफ्नो ज्यान नै चढाउने मौका पाएकोमा कृतज्ञता ज्ञापन गरे रे।

आधिकारिक रुपमा मात्रै झण्डै दश करोडभन्दा बढि बजेट सकिएको र अत्यन्त शानदार तरिकाको भनेर बकिएको महाधिबेशनमा टिके प्रथाबाट पदाधिकारि छनौट गरेर ताबेदारहरुको झुण्ड बनौट गर्ने बाहेक अरु काम भएको कसैले महसुस गर्न परेन।

एकदुई जनाले बालकोटेको डिजाइन बिरुद्ध उम्मेदवारी दिने कष्ट गरेपनि केही नष्ट गर्न सकेनन्। बरु बालकोटेको ब्याडबुकमा परेकोले भबिष्यमा उनको कोपभाजन सहितको लुकमा पर्ने पक्का भयो। राणाकालिन पजनी शैलीमा इलेक्सन होइन कि सिलेक्सन नगरेको भए खुमलटारेको क्याम्प छोडेर यता आएकाहरुलाई उद्दार गर्न गाह्रो पर्ने बिषयलाई गम्भिरतापूर्बक सोच्ने हो भने उनले भनेजस्तै यो ज्यादै उचित र प्रजातान्त्रिक अभ्यास हो।

उद्घाटन पछि पदाधिकारी बाहेक अरुले केही नसुनी, केही नबुझी, केही नदेखी अन्यौलमै खानपिन नाचगान भेटघाट घुमफिर सफारी आदि गरेर दश करोड खर्च गराउन ठूलो योगदान पुर्याएर अन्यौलमै घरफिर्ती भएर महिनौंसम्म त्यहाँको कहानी सुनाउने मसला पाए र महाधिबेशनमा भाग लिएको धाकधक्कु लाए। होटल र रिसोर्टको बसाइ, मासुभात खुवाइ, मापसे, आतेजाते सवारी साधनको ब्यबस्था, पकेट खर्च र बाटो खर्च पाएको मान्छेले बालकोटे कामरेडको गुनगान गाएको सुन्नु नै यसको मूल उद्देश्य पूरा हुनुको साथै यसको पूर्ण सफलाता हो भन्ने सबैले राम्ररी बुझेका छन्।

पद पाउनको लागि कुन हदसम्मको लेनदेन र अति स्वस्थ भनेर प्रचार गरिएको र ठूला गफसहितको भ्रम छरिएको अस्वस्थ प्रतिष्पर्धा हुन्छ भन्ने स्पष्ट नमूनासहित महाधिबेशन सुसम्पन्न भयो अनि बालकोटे कामरेडको हुकुम प्रमाँगी अनुसार सबैथोक सुचारु रुपमा गयो।

आफू र आफ्ना आसेपासेहरुको लागि सुबिधाजनक हुने र त्यसैको योग्यतालाई मात्रै छुने अनि अरु पद नपाउनेहरु बाहिर बोल्न र प्रष्टसित मुख खोल्न नसक्नेहरु भुत्भुतिँदै कुनामा बसेर रुने सम्पूर्ण ब्यबस्था मिलाएर स्वघोषित अति लोकप्रिय कामरेडले अर्को कार्यकालको लागि ह्याकुलाले मिचेर आफ्नो र प्रियजनहरुको पद सुरक्षित गरे, चारैतिर मुख घुसारेर चर्नेले मजासित चरे र त्यसो गर्न नसक्ने जति भुतुक्क हुँदै रिसले मरे।

तर कसैले केहि लछार्न र उनको टोलीलाई पछार्न सकेन। टिके बकसे र गाउँफर्के तरिकाले गरिएको पदको बाँडफाँडलाई अत्यन्त प्रजातान्त्रिक हो कि लोकतान्त्रिक भन्ने छाप हानिदिएपछि र महाधिबेशनमा आएका लाखौँ प्रतिनिधिहरुले बुझ्नु न सुझ्नुसित मानिदिएपछि खेल खत्तम पैसो हजम भइहाल्यो।

आउँदो चुनावमापनि मतपत्र च्यात्ने टोक्ने चपाउने धम्काउने तर्साउने आदि सबै फर्मुला लगाउने र सिधासाधा मतदातालाई भगाउने चिरपिरचित तरिका अपनाएर जित्ने ग्यारेन्टिका साथ बाबुछोरीको तयारी देखेर त्यहाँका मतदाताहरुमा अपार उत्साह देखिएको छ। अहिले र भबिष्यको लागि आफ्नो र आफ्नाको पद सुरक्षित गर्ने बाहेक यिनको ध्यानपनि अन्य कुनै बिषयमा देखिँदैन भन्ने बिरोधीहरुको भनाइलाई जनताले पत्याउने कुरै आउँदैन।

उता स्वघोषित महान नेतालेपनि तीन दशकदेखिको अबिछिन्न अध्यक्ष पद जोगाउन भर्चुअल महाधिबेशन गरेर आफ्नो र आफ्ना भित्रियाहरुको पद सुरक्षित गर्न सफल भएको शुभ समाचार सुनेर जनता खुसी भए।

उनकोमा त झन् कसैले बाधा बिरोध केही नगरिकन अध्यक्षलगायत सबै पदाधिकारीहरु उनले तोकेको र यसमा यो उसमा त्यो भनेर ठोकेको भरमा सबैले आँखा चिम्लेर थपडी मारेपछि र यिनले दुबै कुम हल्लाएर आदेश झारेपछि लोकतान्त्रिक र गणतान्त्रिक तरिकाको निर्बाचन सम्पन्न भइ नै हाल्छ, अरु केही प्रकृया वा बिधि पुर्याइराख्न पर्दैन। उनको दलको लागि उनि आफैं नियम कानुन बिधान प्रकृया र संबिधान आदि सबै हुन्। यसमा कसैको बाधा बिरोध र दुईमत हुने सवालै छैन। यतिसम्मको शुद्ध प्रजातान्त्रिक महाधिबेशन अन्यत्र कहिँपनि देख्न सुन्न र अनुभव गर्न पाइन्न। योभन्दा अग्रगामि छलाँग अर्को हुनसक्ने कुरै भएन।

बालकोटे कामरेडले आफ्नो निर्बाचन क्षेत्र र प्रिय सुपुत्रीको राज्य क्षेत्रमा आएर अनि बाबुछोरीलाई गालि गर्न त्यहाँसम्म धाएर महाधिबेशन गरेकोमा यिनले गरेको गुनासो सारै जायज छ। आफ्नो निर्बाचन क्षेत्रलाई बाबुछोरीको पेवा जसरी मतपत्र च्यातेर चपाएर र बिरोध गर्नेलाई धपाएर जितेको र पछिको लागिपनि सुरक्षित आधार क्षेत्रमा त्यसरी आएर चुनौती दिन त नहुने भन्ने यिनको जिकिर जायजै हो।

तर यसमार्फत आफ्नो र छोरीको क्षेत्रमा भएको बिकास देखेर बालकोटे कामरेडसमेत पक्का आत्तिएको हुनपर्छ भन्ने जानकारी गराउन पाउँदा बाबुछोरी निकै मात्तिएको देखेर जनतालाई आनन्द आयो रे। हुनपनि हो, चितवनमा पर्ने पूर्ब पश्चिम राजमार्ग यिनै बाबुछोरीको पालामा बनेको हो, त्यहाँको सिँचाइ आयोजना यिनैको पालामा बनेको हो, नारायणी नदी माथिको पुल यिनैको पालामा बनेको हो, त्यहाँका सबै बन जंगल यिनैको पालामा उम्रेका र बिकसित भएका हुन्।

त्यहाँका सबै बन्यजन्तुहरु यिनैका पालामा जन्मे हुर्के र बढेका हुन्, त्यहाँको बिमानस्थल यिनैका पालामा बनेका हुन्, त्यहाँका पर्यटनका पूर्बाधार शैक्षिक बिकास उपचार सुबिधा आदि सबै यिनैका पालामा बनेका र फस्टाएका हुन्, त्यहाँका बजार ब्यापार र आर्थिक कारोबारको बिकास यिनैका पालामा मात्रै सुरु भएका हुन्, सबै ठूला र राम्रा कामहरु यिनैका पालामा भएका भएपनि बाँदरमुढेको नरसँहार चाहिँ अरुकै पालामा भएको हुनाले यिनिहरुले जिम्मा लिन पर्दैन भन्ने यिनै बाबुछोरीको भनाइ छ।

आउँदो चुनावमापनि मतपत्र च्यात्ने टोक्ने चपाउने धम्काउने तर्साउने आदि सबै फर्मुला लगाउने र सिधासाधा मतदातालाई भगाउने चिरपिरचित तरिका अपनाएर जित्ने ग्यारेन्टिका साथ बाबुछोरीको तयारी देखेर त्यहाँका मतदाताहरुमा अपार उत्साह देखिएको छ। अहिले र भबिष्यको लागि आफ्नो र आप्mनाको पद सुरक्षित गर्ने बाहेक यिनको ध्यानपनि अन्य कुनै बिषयमा देखिँदैन भन्ने बिरोधीहरुको भनाइलाई जनताले पत्याउने कुरै आउँदैन।

राजावादी दलका सदाबहार अध्यक्षलाई उनैका चेलाले अध्यक्ष पदमा हराइ दिएको हुनाले मानसिक रुपमा बिचलित भएर उनले दिएको सारगर्भित अभिब्यक्तिहरु हेर्दा निर्बाचनमा हारेर र पद माया मारेर हिँड्न पर्यो भने सबै अध्यक्षहरुको स्थिति यस्तै हुन्छ भनेर जनताले प्रष्ट तरिकाले बुझ्ने मौका पाए। योपनि जनताको लागि ठूलै उपलब्धि हो।

सबैभन्दा ठूलो प्रजातान्त्रिक दलकोपनि महाधिबेशन चलिरहेको र पदको बाँडफाँड र भागबन्डा नमिलेर सबै भित्रभित्र जलिरहेको देखिन्छ। बुढानिलकण्ठे सभापतिले खाइपाइ आएको र निकै मेहनत गरेर पाएको सभापति पद ज्यानजाला नछोड्ने अनि उनिभन्दा मुनि रहेका सत्र पल्ट निर्बाचनमा भाग लिँदापनि सरकार प्रधान पद पाउन असफल बरिष्ठ नेताले सभापतिभन्दा अन्यत्र थन्कनेतर्फ  बिचार नमोड्ने र सामुहिक उम्मेदवारीको लागि अरुलाई पटक्कै नजोड्ने गरेर देखाएको रमिता हेरेर जनताले चाहिँ भरपुर मनोरन्जन लिइरहेका छन्।

बरिष्ठ नेताले त आफ्नो उम्मेदवारीमा समर्थन गरेर अरु प्रत्यासीहरुले नछोडेमा राजनीतिबाट सन्यास लिन्छु र दल समेत त्याग गरेर सबैलाई देखाइ दिन्छु भन्ने घोषणा गरेर बैठक परित्याग गरेर हिँडेछन्।

बाख्रीको पुच्छर काटेर बोकालाई सन्चो भन्ने खालको उनको अभिब्यक्तिमा कसैले ध्यान दिएको पाइएन। फुर्तिसाथ प्रतिष्पर्धामा उत्रिनु भन्दा बालघुर्की देखाएर लुत्रिनु ज्यादै प्रजातान्त्रिक चरित्र हो भन्ने सबैको ठम्याइ छ। जनतालाई यसरी भएपनि मनोरन्जन दिन सक्नु नेताहरुको ठूलो सफलता हो। आफ्ना बाबुहरुले घिउ खाएको हुनाले हात सुँघाउँदै सभापतिको पद ताक्ने र यसको लागि कार्यकर्ता भाक्ने दिवंगत नेताहरुका केही सुपुत्रहरुलाई भड्खालोमा जाक्ने बन्दोबस्तमा सभापतिको सम्पूर्ण समय र शक्ति खर्च भइरहेको हल्लामा कसैको बिश्वास छैन।

माथिदेखि तलसम्म पदको लागि बाँडफाँड, छिनाझप्टी, लुछाचुँडी, गुट उपगुट, लेनदेन, बार्गेनिङ, उचाल्नेपछार्ने कार्य, लोभलालच, आश्वासन आदि बाहेक क्षमता देखाएर पद पड्काउने भन्दा टिके बकसे आदिमै निर्बाचनलाई अड्काउने प्रयासमै महाधिबेशन सकिने पक्का छ।

यी बाहेक अरु सानाठूला दलहरुमापनि आधा शताब्दिदेखि एकल नेतृत्व गरिरहेका र त्यसैको आधारमा थोरबहुत चरिरहेका अध्यक्ष पदहरु बग्रेल्ती रहेका छन्। सरकारी पद, गैर सरकारी संघ संस्थाहरुका पद, राजनैतिक नियुक्तिका पद, निजी क्षेत्रका पद आदि सबैमा त्यस्तै मारामार छ।

राजावादी दलका सदाबहार अध्यक्षलाई उनैका चेलाले अध्यक्ष पदमा हराइ दिएको हुनाले मानसिक रुपमा बिचलित भएर उनले दिएको सारगर्भित अभिब्यक्तिहरु हेर्दा निर्बाचनमा हारेर र पद माया मारेर हिँड्न पर्यो भने सबै अध्यक्षहरुको स्थिति यस्तै हुन्छ भनेर जनताले प्रष्ट तरिकाले बुझ्ने मौका पाए। योपनि जनताको लागि ठूलै उपलब्धि हो।

अहिले अदालतमा देखिएको लामो लफडापनि पदकै लागि हो। आफुसहित पाँचदलका गठबन्धनवालाहरुलाई पद दिलाउन र बालकोटे कामरेडको सरकारलाई अमिलो पानी पिलाउन संबिधानलाई धोती लगाइदिएर मद्दत गरेको हुनाले प्रधान न्यायमूर्तीको पदलाई सरकारले चलाउन र राजीनामा दिनेगरी गलाउन वा महाभियोगद्वारा ढलाउन नसकेको भन्ने हल्ला कसैले पत्याएका छैनन्।

आफूभन्दा सक्षम योग्य र काबिल कोही नभएको दुहाइ दिँदै तीन दशकसम्म नेतृत्वमा रहँदा आफूपनि राम्रो कामकोलागि मिलेर टाउको जोड्नपनि नसक्ने,अरु सक्षम दावी गर्नेलाई लौ गर भनेर छोड्नपनि नसक्ने, यस्तो किंकर्तब्यबिमुढको अबस्थालाई बुद्धिमत्तापूर्बक तोड्नपनि नसक्ने र यति लामो अनुभबको प्रयोग गरेर राम्रो दिशातिर काम गराइलाई मोड्नपनि नसक्ने अद्भूत प्राणीहरु नेतृत्वमा निरन्तर रहेकोमा जनता खुसी छन्।

यसरी अहिलेसम्मको झण्डै आधा शताब्दिसम्म यही नेतृत्वले काम चलाएको र आफ्नो र आप्mनाको लागि मात्रै मनले कल्पना गर्नसक्ने सबैथोक फलाएको हुनाले यिनिहरुबाटै अर्को आधा शताब्दिसम्मपनि देश चलाएको खण्डमा जनता सुखी र देश समृद्ध हुने कुरामा ढुक्क हुँदै यो तरिका लाटाको देशमा गाँडो तन्नेरी भन्ने उखानसित ठ्याक्कै मिल्न गएको हुनाले जनता दिनदिनै आँसु निल्न पाएर खुसी र सुखी भएर बसेका छन् भन्ने नचाहिँदो हल्लामा शिर्ष लगायत कुनैपनि नेताहरुले बिश्वास गर्ने कुरै हुँदैन

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो