भिडियो एक्स–रे सेवा सुरु

डिसी नेपाल
२६ मंसिर २०७८ २१:१०
24
Shares

काठमाडौं। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो ।

सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख वीरेन्द्रबहादुर केसीले बताए । “जिल्लामा विद्युत्को सेवा नहुँदा हामीले भिडियो एक्स–रे सेवा सुरु गरेका थिएनौं”, उनले भने, “अहिले विद्युत् सेवा नियमित भएका कारणले भिडियो एक्स–रे सेवा पनि दिन थालेका हौं ।”

जिल्लाका नौ वटै स्थानीय तहमा पाइने जडीबुटीबाट औषधि उत्पादन गरी निःशुल्क सेवा दिँदै आएको वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए । “अहिले आयुर्वेद केन्द्रमा आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम, औषधि निर्माण सेवा, बिरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रमलगायत विभिन्न कार्यक्रम निःशुल्क सञ्चालन गरिएको छ”, उनले भने, “हामीले गाउँ–गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।”

बाहिरबाट महँङ्गो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य पाण्डेले बताए । “स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँङ्गो मूल्यमा आयुर्वेदिक औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उनले भन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *