न वंश न विरासत, कांग्रेस महामन्त्रीमा भुँइ मान्छे

डिसी नेपाल
२ पुष २०७८ ६:३६

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको परिणामअनुसार गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् ।

कांग्रेस राजनीतिमा वंश र विरासतको चर्चा हुँदै आइरहेका बेला थापा र शर्माको महामन्त्रीमा भएको विजयले लोकप्रियतालाई पनि स्थापित गराइदिएको छ । कांग्रेस महाधिवेशनको परिणामबाट राजनीतिक तहको वंश र विरासत नभएका भुँइ मान्छे कांग्रेसको निर्णय गर्ने थलोमा पुगेका छन् ।

गगन थापा
२०४६ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा बाल थापाको कांग्रेस सदस्यका रूपमा राजनीतिक यात्राको सुरुवात भएको थियो । त्यसैबखत उनी २०४६ सालमा भएको जनआन्दोलनमा सहभागी बने ।

त्यसपछि २०५१ म स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्त्र क्याम्पसको सदस्य, २०५३ मा सचिव र २०५५ मा उनी सभापति बने । यसैगरी, थापा २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ महामन्त्री बनेका थापाले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरे ।

स्वतन्त्रताका लागि आन्दोलनको नेतृत्व गर्दै गर्दा २०६०÷२०६१ मा राज्यविरुद्धको आरोपमा उनीमाथि राजद्रोहको मुद्दा लाग्यो । त्यसपछि उनी जेल परे । जेलमै रहँदा एम्नेस्टि इन्टरनेसनलद्वारा उनले ‘आस्थाको बन्दी’का उपमा पाए ।

थापाले २०६२–६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान गरे भने २०६४ सालको संविधानसभा निर्वाचनमा देशभरि मुख्य चुनावी प्रचारकका रूपमा अघि बढे । त्यसबखत उनी समानुपातिक उम्मेदवार बनेका थिए भने संविधान सभा सदस्यमा निर्वाचित बनेका थिए ।

२०६७ सालमा भएको १२औं महाधिवेशनबाट उनी सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बने भने २०७ मा संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ उनी निर्वाचित भए ।

२०७२ सालमा सम्पन्न १३औं महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भए । २०७३ सालमा नौ महिना स्वास्थ्यमन्त्री बनेका उनी पुनः २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भए । उनले नौ महिना स्वास्थ्यमन्त्रीका रूपमा उल्लेखनीय सुधारका कामसमेत गरे । हाल उनी संघीय संसदको सदस्य छन् ।

विश्वप्रकाश
नवनिर्वाचित कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको पारिवारिक पृष्ठभूमि कांग्रेससँगै जोडिएको छ । तर, उनका पितापुर्खा कांग्रेसको केन्द्रीय तहमा भने पुगेनन् । शर्माका बुबा पर्शुराम भण्डारी पञ्चायत कालमा भूमिगत अवस्थामा झापा जिल्ला सदस्य थिए ।

धुलाबारी माविमा कक्षा ८ मा पढ्दा उनी नेविसंघको इकाइ सभापति भए । राजनीतिमा शर्माको औपचारिक प्रवेश सोही विन्दुबाट सुरु भयो । २०४३ मा उनी मेची क्याम्पसको नेविसंघको सभापति बने भने २०४७ सालमा जिल्ला सभापति भए । यसैगरी, २०४८ मा शर्मा छोटो समयमा नै नेविसंघको केन्द्रीय सदस्यमा बन्न सफल भए । त्यसपछि उनी २०५३ मा नेविसंघको महामन्त्री हुँदै २०५७ मा नेविसंघको सभापति बन्न सफल भए ।

शर्मा त्यसपछि २०६७ मा सम्पन्न कांग्रेसको १२औं महाधिवेशनका क्रममा झापा जिल्ला सभापतिका लागि उम्मेदवार बने पनि विजयी बन्न सकेनन् । त्यसबखत उनी उद्धव थापासँग पराजित भए ।

यसपछि शर्माको राजनीतिक यात्रा कांग्रेस केन्द्रीय समितितर्फ अघि बढ्यो । उनी १३औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भए । त्यसयता उनलाई कांग्रेसको केन्द्रीय राजनीति फाप्यो । तर, उनी २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने झापा क्षेत्र नम्बर १ बाट पराजित बन्न पुगे ।

शर्मा कांग्रेस प्रवक्ताका रूपमा २०७५ फागुनदेखि जिम्मेवारीमा थिए । उनी हाल कांग्रेसको महामन्त्री बनेका छन् । १३औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित बनेका शर्मा २४ देखि २७ सम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका हुन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *