व्यंग्य : चोरको खुट्टा काट् – Dcnepal

व्यंग्य : चोरको खुट्टा काट्

सबैभन्दा पुरानो प्रजातान्त्रिक दलको महाधिवेशनमा निम्ता मान्न आएका र भर्खरै राजावादी दलको अध्यक्षको पदवी पाएका अनि गाउँघरतिर नेता आउँदा जनताले कुन चाहिँ चोर आएछ भन्छन् भन्ने अभिब्यक्ति दिएर अरु दलका अध्यक्षहरुबाट खप्की खाएका नेताको भाषण सुनेर स्वघोषित महान नेताका रुपमा चर्चित खुमलटारे कामरेड, बालकोटे कामरेड र कोटेश्वरे कामरेडले निकै राम्रोसित मात्रा पुग्नेगरी जवाफ दिने बिचार गरेर बिषय प्रबेश गर्दा श्रोताहरुको साथ नपाए झैं लागेर होला बिषयलाई अन्तै लगेर जोडे र कुरा अन्तैतिर मोडे।

राजावादी दलका अध्यक्षले भर्खरै अध्यक्ष पदका अर्का प्रत्यासी सदाबहार अध्यक्षलाई हराएर आएको हुनाले नेताहरुलाई चोर भन्छन् भन्दै निर्धक्कसित कराएर बोलेका हुन् नयाँ बाछो राम्रोसित हिँड्न नसकेपनि दौडिन खोज्छ भनेर बालकोटे कामरेडले गरेको टिप्पणीबाट उनको भनाइ त्यत्तिमै टरेको देखियो।

स्वघोषित महान नेताले जनताले नेताहरुलाई चोर भनेको सही होइन, तपाईंहरु अति असल मान्छे हुनुहुन्छ भन्ने जवाफ आउँछ र यसैबाट राजावादी अध्यक्षले जवाफ पाउँछ भनेर श्रोताहरुलाई सोधेकोमा उताबाट हो भन्ने जवाफ आयो अनि त्यहाँ बस्ने सबै बरिष्ठ नेताहरुको जमातले जनताको जवाफ पायो। कोटेश्वरे कामरेडले यसै बिषयमा निकै लामो अर्तिबुद्धि दिँदादिँदै र आफ्नोे बोलीबाट आफैंले आनन्द लिँदालिँदै मनभित्र रहेको डरसमेत बकेका हुनाले आफ्नोे धोती फुस्केको चालै पाएनन्।

यसो हेर्दा चोरको खुट्टा काट् भन्दा चोरले दुबै खुट्टा एकैचोटी खुम्चाएर तानेजस्तो र आफ्नो कर्तुतहरुबाट डर मानेजस्तो पो देखियो। नेताहरुले झस्केर आफ्नोे खुट्टा तानेपनि जनताले भने मस्केर ताली बजाइदिएका हुनाले सबैतिरको डाडुपन्यू आफ्नै हातमा भएका नेताहरुले आफ्नोे भागमा जति पस्केर खाएपनि जनतालाई खासै चासो छैन।

जनताको नजरमा साधु बिरालो भइसकेका र खानपिन कार्यमा उन्नति गर्दै त्यो तहसम्म गइसकेका नेताहरुलाई जसले जेसुकै भनेपनि अनि आफूलाई जेसुकैको स्तरमा गनेपनि नेताहरुले चाहिँ एकअर्कालाई धेरै राम्रो स्तरमा राखेकामा कसैको कुनै आपत्ति छैन।

दल भित्रको गुट उपगुट एकअर्का बिरुद्ध कुन हदसम्म जलेको रहेछ भन्नेपनि थाहा पाइयो भनेर कुरा काट्ने मुर्खहरुलाई भन्ने शब्द नै पाइन्न। उद्घाटन समारोहमा चोरको खुट्टा काट्ले मुख्य समारोहलाई नै ओझेलमा पारेको र अन्य अभिब्यक्तिहरुलाई तल झारेको अनि राजावादी दलका अध्यक्षले एकै वाक्यबाट भाइरल भएर बाजी मारेको पो हो कि जस्तो देखियो।

आयोजक प्रजातान्त्रिक दलको महाधिवेशनवाला सभापतिले चाहिँ यसमा कुनै किसिमको टिप्पणी गरेनन् र हलेदो भनेर बुझिसकेपछि त्यसको बिवादमा परेनन्। त्यसो त आफ्नोे मन्तब्य दिँदा मलाई सभापतिमा भोट दिएर जिताउनोस् भनेर आफ्नोे गन्तब्य मात्रै बताए।

देश र जनताको भलाई, उन्नती, प्रगति, समृद्धि वा यस्तै यस्तै नचाहिँदा बिषयमा बोलेर र मनपेट खोलेर केही फाइदा छैन भन्ने बुझेर आफूलाई चाहिएको भोट मागेपछि अनि जितेर भागेपछि को चोर को साधु केही फरक देखिन्न। महाधिवेशनको म्याद थप्दाथप्दा केही नलाग्ने र केही काम नगरी बसेपनि कुर्सी छोडेर नभाग्ने प्रण गरेपछि मिलेसम्म सर्बसम्मति नभए चुनावमा त जानै पर्‍याे।

न दलको काम, न सरकारको काम, न देशको काम, न जनताको काम आदि जस्ता कुनै काम नगरेपनि र पाँचपाँच चोटी सरकार प्रधानको कुर्सी आइलाग्ने ग्रह नटरेपनि भाग्यमा भएपछि खान्न चाहिन्न भन्दापनि केही शिप नलाग्ने रहेछ।

जनताले चोर भनेपनि ठिकै छ, डाँका भनेपनि ठिकै छ, काम गर्न नसक्ने भनेपनि ठिकै छ, श्रीमतीको इशारामा चल्ने र उनले भनेपछि फतक्कै गल्ने अनि जताबाट हातलागि हुन्छ त्यतै ढल्ने भनेपनि ठिकै छ, बोलेको केही बुझिन्न, कहिल्यै काम गरेको देखिन्न आदि आदि जे भनेपनि केही मतलब छैन।

मन्चबाटै भनिएको चोर शब्दको मन्चबाटै प्रतिबाद गर्ने महानुभावहरुले त आफूले त्यो भन्दा निकै ठूलो बिशेषण पाउनु पर्ने र काम सुहाउँदो शब्द आउनु पर्नेमा नआएकोले ठूलै मानहानी भएको सम्झेर बक्तालाई याद गराएका होलान् जस्तोपनि देखियो।

जो जे छ त्यसलाई त्यो भन्यो भने रिसाउने र भन्ने माथि सबै रिस बिसाउने अनि त्यस्तै खालका सबैले त्यसैमा आफ्नोे बोली मिसाउने गरेको ब्यबहारिक अनुभव सबैलाई भएको हुनपर्छ।

कालो बर्णको मान्छेलाई काले भन्यो भने नराम्रोसित रिसाउँछ। होचो कदकोलाई डल्ले भन्यो भने नराम्रोसित रिसाउँछ। अथवा भन्ने हो भने जिउको कुनै अंग अस्वाभाबिक किसिमले सानो वा ठूलो भएकालाई त्यसैको आधारमा राखिएको नामले बोलाइ भने त्यो पनि रिसाउँछ।

त्यसैगरी चोरलाई चोर भन्यो भने, डाकालाई डाका भन्यो भने त्यस्तालाई लाज शरम र राम्रो पनि लाग्दैन तर म त्यस्तो होइन भनेर प्रतिबाद नगरी चुप लागेर भाग्दैन र दुनियाले मलाई वा हामीलाई यसो भने अब सुध्रिन्छु भनेर पनि जाग्दैन अनि मैले यस्तो नचाहिँदो काम पो गरेछु भनेर माफीपनि माग्दैन। चोरपनि अरुले होइन जनताले भनेका र उनीहरुले नेताहरुलाई त्यो स्तरमा गनेका रहेछन्। जाबो जनताले भनेकोमा त डराउन र बिरोध गरेर कराउन पनि परेन।

जनताले त केके भन्छन् केके? जनताले भनेको सुन्ने हो भने बिहान बिहान देशैभरिका चिया पसलहरुमा नेताहरुलाई नै गाली गरेर धेरै चियाको कप खाली गरेको पाइन्छ। दिउँसो काम नपाएर गफ गर्नेहरुको धेरैको कुराकानीको बिषय नै नेताहरु चोरै रहेछन् भन्ने नै हो।

बेलुका भट््टी रेस्टुरेन्ट वा निजी बैठक कोठामा बसेर गिलास रित्याउनेहरुको चर्चाको बिषयपनि यही नै हो। यसो गर्दा सबै नेताहरुलाई बाडुल्की लाग्न पर्ने र कसैले मलाई गाली गरी रहेको छ भनेर बिचार गर्ने अबस्था आउन पर्नेमा त्यस्तो चाहिँ देखिन्न। कसैले सम्झ्यो भने बाडुल्की लाग्छ भन्ने भनाइ सही हुने हो भने नेताहरु त बाडुल्की लागेको लाग्यै भएर बिरामी नै पर्न पर्ने हो।

त्यही भएर पनि जनताले कुरा काटेर, सरापेर, बिरोध गरेर, नाम राखेर, धारेहात लगाएर वा अन्य जुनसुकै बिधि अपनाएर आफ्नोे असन्तुष्टि देखाएपनि नेताहरुलाई केही हुनेवाला छैन। जाबो जनतासित नेताहरुलाई डर भर केही पनि छैन।

जनताले नेतालाई दिने भनेको एउटा जाबो भोट हो र त्यसको लागि चाहिने भनेको नोट हो। त्यति भएपछि अहिले चोर डाँका बदमास जेसुकै भनेपनि र जस्तो चरित्रको भनेर गनेपनि भोट हाल्ने बेलामा कहाँ जालिस् मछली मेरै ढडिया नभइ सुखै छैन।

बिदेशी प्रभु महाप्रभुहरुले चोर भनेको भए, सहकर्मी र सहधर्मी नेताहरुले भनेको भए, उच्चस्तरका बिचौलियाहरुले भनेको भए, ठूला तस्करहरुले भनेको भए, घुसखोरहरुले भनेको भए, कमिशनखोरहरुले भनेको भए, आफैंले भ्रष्ट बनाएका बरिष्ठ कर्मचारीहरुले भनेको भए, न्यायको खुलेआम बिक्री बितरण गर्ने न्यायमूर्तिहरुले भनेको भए।

आफूलाई पाल्ने पोस्ने र कुनै काम नगरी टेण्डर खोस्ने ठेकेदारहरुले भनेको भए, स्वास्थ्य शिक्षा कृषि उद्योग बाणिज्य उर्जा रोजगारी यातायात भू आदिका माफियाहरुले भनेको भए, होलिवाइनसहितको आशीर्वाद दिनेहरुले भनेको भए, देश मास्ने र जनतालाई भड्खालोमा भास्ने अनि धर्म संस्कृति परम्परा एकता आदिको केही काम छैन भनेर जतासुकै बास्ने कार्य बापत ज्याला दिने पश्चिमाहरुले भनेको भए र यस्तै अरु अरु मालिकहरुले भनेको भए डराउने र राजनीतिबाट हराउने अबस्था आउन सक्थ्यो होला।

जनताको त काम नै पछाडि कराउने अनि आँखा चिम्लेर भोट खसाल्न मन पराउने बानि भएकोले केही फरक पर्दैन। तलदेखि माथिसम्मका नेताहरुले सबै नियम कानुन मिच्ने, बाहिर सिद्धान्त नमिलेजस्तो देखाएर खानेकुरामा सबैसित मिलीजुली घिच्ने कसैले बिरोध गर्यो भने बिभिन्न सँगठन नामका लठैतहरु प्रयोग गरी तर्साएर थिच्ने गरेको सबैको अनुभव भएकैले जनताले चोर भन्छन् भनेर नयाँ र काँचो कलिलो अध्यक्षले भनेको हुनपर्छ।

तीन दशकभन्दा बढी समयसम्म शक्ति देखाएर राज्य संचालन गरेपनि बिदेश भक्ति बाहेक जनताको लागि केही नगरेको हुनाले जनताले चोर भनेका हुन् कि भनेर ठण्डा दिमागले सोच्ने भन्दा जनतालाई नै दुख दिएर घोच्ने काम बढ्दै गएको देख्दा बिदेशीले कान निमोठेर दम दिएपछि मात्रै बुद्धि फिर्ने र जसो गरेपनि उतैको ऋण तिर्ने अनि उतैको जिम्मेवारी भिर्ने गर्दा अर्को तिन दशकपनि यसैगरि बित्ने छाँटछन्द देखिन्छ।

जनताले राम्ररी चिनिसकेका भएपनि बिदेशीहरुले ठुलो मूल्यमा किनिसकेका नेताहरु नै सँधैभरि शक्तिमा रहने हुनाले उहाँहरुको बाध्यतापनि जनताले बुझिदिन पर्छ। असल र इमान्दार खेतालो भएपछि जसले बढी ज्याला र सुबिधा दिन्छ उसैको काम सिध्याउन तँछाड मछाड गर्न परिहाल्यो अनि यसैबाट चाहे अनुसारको माल झरिहाल्यो।

कहिले दक्षिणको खेतालो, कहिले उत्तरको खेतालो, कहिले सात समुन्द्र पारिको खेतालो, कहिले युरोपतिरको खेतालो आदि भएर जनताबाट जतिसुकै गाल परेपनि चाहेजति माल झरेपछि कुनै कुराको मतलव छैन। मिठो र जोशिलो गफद्वारा चुनाव जितेर आउने र कामको लागि बिदेशी दुतावासहरुमा धाउने खेतालाहरुलाई जनताले चोर भनुन् कि डाँका भनुन् केही मतलब हुँदैन।

बिदेशीको तलुवालाई स्वादिष्ट हलुवा सम्झेर उनिहरुकै इशारा र निर्देशनमा चलुवा नेताहरुलाई कसैको डर हुने कुरै भएन। राजावादी दलका नयाँ अध्यक्षले यिनीहरुलाई जनताको कुरा लगाएर पुरा अबधि अध्यक्ष खाने बिचार गरेकापनि हुन सक्छन् भनेर एकथरिले मौखिक छुरा चलाएका पनि देखिन्छन्।

समयमा महाधिबेशन गर्न नसकेर म्याद थप्दाथप्दा साँच्चैको कानुनी शासन भएको भए अबैधानिक भइसकेको सबैभन्दा ठुलो र पुरानो प्रजातान्त्रिक दलले कनिकुथी बल्लतल्ल महाधिबेशन गर्दा त्यसको सारै चुस्त ब्यबस्थापन पक्षलाई हेरेर भित्री रुपमा यो दल कति सुस्त किसिमले चलेको रहेछ, दल भित्रकै प्रजातन्त्र कति गलेको रहेछ र नेताहरुको नैतिकता कुन हदसम्म ढलेको रहेछ।

अनि दल भित्रको गुट उपगुट एकअर्का बिरुद्ध कुन हदसम्म जलेको रहेछ भन्नेपनि थाहा पाइयो भनेर कुरा काट्ने मुर्खहरुलाई भन्ने शब्द नै पाइन्न। उद्घाटन समारोहमा चोरको खुट्टा काट्ले मुख्य समारोहलाई नै ओझेलमा पारेको र अन्य अभिब्यक्तिहरुलाई तल झारेको अनि राजावादी दलका अध्यक्षले एकै वाक्यबाट भाइरल भएर बाजि मारेको पो हो कि जस्तो देखियो।

आफूले चोरको उपाधि पाएको महसुस भएर खल्लो अनुभव गरेका बरिष्ठ नेताहरुले तल्लो स्तरको बोली निकाल्न खोज्दा जनताको साथ नपाएर होला कुरा अन्तैतिर घुमाए। जतासुकै पुगेर जस्तोसुकै बकवास भाषण गरेपनि र बिना सन्दर्भका कुरा मात्रै गर्न अघि सरेपनि वाहवाही कमाएका अनि त्यसैमा मक्ख परेर रमाएका र यसै गरिगरि अकुत कमाएका बरिष्ठहरुलाई महाधिबेशनको भाषणले छुट्टै केही सोच्न बाध्य बनाएको छ कि जस्तोपनि देखिन्छ।

घटीमा पनि डबल डिजिट करोड खर्च भएको हुनसक्ने महाधिबेशनको बजेट अरु दलहरुको महाधिबेशनमा जस्तै कहाँबाट आयो भनेर खोज्ने र कुनै जवाफ नआउने बिषयमा चर्चा रोज्ने मुर्खता कसले गर्ला र? उच्चस्तरको खानापिना र बसोबासमा त कसैको कुनै टिप्पणी नसुनिएपनि मत पेटिकाको छनौट र मतपत्रको छपाइ भने निकै चर्चित रहेको पाइयो।

केही वर्ष अगाडि एकजना बामपन्थी मन्त्रीले घरको पानी ट्याँकीमा कुन्नी कति करोड लुकाएर राखेको भन्ने हल्लाले गर्दा अहिलेसम्म त्यसको मूल्य चुकाएर र अलिकति मात्रै भएपनि नैतिकता बाँकी भएको भए जनतासित नजर झुकाएर हिँड्न पर्नेमा ज्यादै ठुलो पुरुषार्थ गरे जसरी छाति फुकाएर हिँडेका छन्।

उनले यसलाई हल्ला भनेपनि वास्तबिकता त्यही हो भन्ने सबैको सोचाइ रहेकोमा जनताको चित्त बुझेको देखिन्न। उबेला नोट लुकाउन सदुपयोग गरिएको पानी टयाँकी यसपाली भोट हाल्न प्रयोग गर्ने सोचकर्ताहरुलाई मान्नैपर्छ र यसलाई ठुलो आविष्कार ठान्नैपर्छ। नोटपनि पानी ट्याँकीमा र भोटपनि पानी टयाँकीमा भनेर भन्नपनि जनतालाई सजिलो भएको छ।

यसबाट प्रायोजक ट्याँकी निर्माताकोपनि निकै प्रचार प्रसार भएको छ। अहिलेको हाइटेक जमानामा हिलटेकबाट काम चलाउने र यसबाट नोट फलाउने बुद्धि हेर्दा दल संचालनको भित्री पाटोलाई लाटोलेपनि अनुमान गर्न सक्छ।

मतदानको लागि आवश्यक पाँचसात हजार मतपत्रपनि एकैचोटि नछापेर बेलाबेलामा सकिएको र यो सामान्य त्रुटी हो भनेर बकिएको सुन्दा सबैले राम्रै चुट्किला सुनेको महसुस गरे। अहिलेको चिसोमा झण्डै बिस घण्टासम्म लिसो लाग्दै लाइनमा बसेर मतदान गर्नेहरुतिर ब्यबस्थापनले ज्यादै बिचार पुर्‍याएको देखियो।

सबैभन्दा रमाइलो सभापतिको मतदानमा भयो। पहिलो चरणमा प्रत्यासी कसैलेपनि चाहिँदो प्रतिशतको मत हरण गर्न नसकेकोले दोश्रो चरणमा एकजना प्रत्यासी बाहेक अरु सबैजना बर्तमान सभापतिको शरणमा गएकोले जतिसुकै नयाँ नेतृत्वको गफ गरेपनि उनको पद कसैले बरण गर्न सकेन।

दोश्रो चरणमा सभापतिले अरु प्रयासीहरुका घरघरमा पुगेर भबिष्यमा यो पद दिन्छु उ पद दिन्छु र अर्को पटक सरकार प्रधानसम्म बनाइदिने ग्यारेन्टि लिन्छु भन्ने ललिपप चटाएपछि थामिनसक्नुका ठूला कुरा गर्दै हिँडेका प्रत्यासीहरु लुरुक्क परेर खुरुक्क उनको समर्थनमा पुगेका देख्दा यिनीहरु बार्गेनिङको लागि मात्रै सभापतिको उम्मेदवार बनेका रहेछन् भन्नेका कुरा पत्याउने सवालै आउँदैन।

उहिले एकजना ठूला ठानिएका र लौह पुरुष समेत भनेर जानिएका नेताले यहाँका जनता भेंडा रहेछन् भनेका थिए। उनको घरैमा भेँडा फार्म खोलेको हुनाले त्यस्तो बोलेको हुनसक्छ भनेर एकथरिले अड्कल काटेकोमा जनता खुसी छैनन्। प्रत्यासीहरुलाई ललिपप रुपी आश्वासनले अड्काए अनि आफूले चाहिँ सभापति पड्काए। यसलाई देख्नेसुन्ने जनताले राम्रो मानेका र उचित हो भनेर जानेका छन्। हुनत जनतालाई जो आएपनि र जो गएपनि कागलाई बेल पाके जस्तै हो।

यो महाधिबेशनको सबैभन्दा चर्चित र चाखलाग्दो बिषय भनेको अनि सबैले महत्वपूर्ण ठानेको चाहिँ राजावादी दलका अध्यक्षले जनताले नेता आउँदा कुन नेता आएछ नभनि कुन चोर आएछ भन्छन् भनेर हानेको तिरले त्यो चरित्रमा ठ्याक्कै मिल्ने र चोर डाँका आदि सबैको भूमिका निकै चलाखी पूर्वक निभाएर जनताको नाममा बजेट निल्ने बरिष्ठ नेताहरुले आफैंलाई भनेजस्तो गरी प्रतिबाद गर्नु नै रह्यो।

जे भएपनि चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा खुम्चाएर तान्छ र चोर पत्ता लगाउने बिधि सरलतातिर जान्छ भन्ने उखानको रुपमा मात्रै सुन्दै आएका जनताले ब्यबहारिक तरिकाले नै जान्न बुझ्न पाउनुपनि यो महाधिबेशनको महत्वपूर्ण उपलब्धि हो भनेमा फरक नपर्ला कि जस्तोगरि एकथरिले गफ गर्ने राम्रै मसला पाएपनि राजनैतिक चोरीबाटै अहिलेसम्म असला माछा खाइ आएकालाई चाहिँ पेच परेजस्तो पनि देखियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो