‘पर्यटक निर्धक्क घुम्न पाउनु पर्छ’

डिसी नेपाल
४ पुष २०७८ २३:१०

काठमाडौं । पर्यटकीय नगरी पोखरामा घुम्न आउने पर्यटकले आफूलाई सुरक्षित महसुस गर्ने वातावरण तयार गर्न आवश्यक पूर्वाधार र पर्यटकमैत्री वातावरण आवश्यक रहेको पोखरा पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद् र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा ‘पोखरामा पर्यटन व्यवसायमा सुरक्षा व्यवस्थापन’ विषयक अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रमका सहभागी व्यवसायीले पर्यटकले सुरक्षालाई पहिलो प्राथमिकता दिने भएकाले भयरहित वातावरणमा हिँड्डुल गर्न वातावरणको प्रत्याभूत गराउनुपर्नेमा जोड दिएका हुन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रले विभिन्न कठिनाइको सामना गर्नु परिरहेको उल्लेख गर्दै पर्यटकका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको बताए। पर्यटकले घुमफिर गर्दा सुरक्षित महसुस गर्न सके मात्र पर्यटकीय गतिविधि बढ्ने भएकाले सुरक्षालाई प्राथमिकतमा राख्नुपर्ने उनको भनाइ थियो ।

कुनै पनि आपराधिक घटनाले सिङ्गो पर्यटन क्षेत्र नै बदनाम हुने भएकाले पर्यटक घुम्न आउँदा सुरक्षाको प्रत्याभूत गराएर निर्धक्क हिँड्न वातावरण तयार गर्नुपर्ने भट्टराईले बताए । शान्ति सुरक्षाका लागि परिषद् समन्वय गरेर अघि बढ्न तयार रहेको उनले बताए । लेकसाइडका अधिकांश सोलार बत्ती नबल्ने र साँझ परेपछि अन्धकार देखिने समस्या भएपछि व्यवसायीकै पहलमा रु १६ लाख खर्चेर बिजुली बत्तीको व्यवस्थापन गर्नुपरेको उनले स्पष्ट पारे । सरकारले व्यवसायीको मर्का बुझेर प्रभावकारी नीति ल्याउन नसकेको जनाउँदै मौद्रिक नीतिको कार्यान्वयन नहुँदा व्यवसायीलाई निराश बनाएको भट्टराईले धारणा राखे।

गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले पर्यटकीय नगरी पोखरालाई शान्ति सुरक्षा अमन चैनको प्रत्याभूतसहित सुरक्षित गन्तब्यको रुपमा चिनाउन पर्यटन व्यवसायीहरुको साथ र समन्वयको खाँचो रहेको भएकाले सो वातावरण तयारका लागि व्यवसायी र प्रहरीबीच समन्वयको खाँचो रहेको बताए। उनले भने, “व्यवसायीको साथ र सहयोग हुने हो भने कुनै पनि अपराध लुक्न नसक्ने र आपराधिक घटना न्यूनीकरण हुन्छन् । होटलमा आउने पाहुनाको वास्तविक परिचय लिएर मात्र सेवा दिनुहोला ।”

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *