पदमार्गले यात्रा अवधि छोटियो

डिसी नेपाल
९ पुष २०७८ १७:२९

म्याग्दी ।जिल्लाको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण भएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको पैदलमार्ग निर्माण भएपछि यात्राअवधि छोटिएको हो । स्थानीयवासी राजन केसीले पदमार्ग निर्माण भएपछि एक घण्टाको यात्राअवधि बीस मिनेटमा छोटिएको बताए।

“दुई किलोमिटर उकालो र घुमाउरो बाटोबाट रिसिनचौतारी र बैसरी आवतजावत गर्न एक घण्टा लाग्दथ्यो”, उनले भने, “जङ्गलको बीचबाट ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएपछि आधाभन्दा धेरै समय र दूरी घटेको छ ।” चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडको सहयोगमा एक हजार ५०० मिटर लामो र दुई दशमलव पाँच मिटर चौडाइ भएको पदमार्ग निर्माण भएको छ ।

प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत बैसरी–रिसिन चौतारी पदमार्ग निर्माणका लागि रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख विनियोजन गरेको थियो । आयोजनाको सहयोग पाएपछि स्थानीयवासीले श्रमदान गरेर उकालो र भिरालो ठाउँमा रहेको जङ्गलभित्र ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाएका हुन् ।

भगवतीका बासिन्दा बेनी–जोमसोम सडकमा पुग्न, कालीगण्डकीमा शवदाह गर्न मलामी जान यो पदमार्ग प्रयोग गर्छन् । यो पदमार्ग भएर माझखर्क, ओखरेट हुँदै गाउँपालिकाको केन्द्र मौवाफाँट र पर्यटकीयस्थल रुइसे पनि जान सकिन्छ । रिसिनचौतारीका बासिन्दा दुर्गाबहादुर केसीले पदमार्ग बनेपछि धेरै सुविधा भएको बताए । शवदाहसंस्कार गर्न कालीगण्डकीको घाटमा जाने मलामीलाई पदमार्गले धेरै सुविधा पुगेको केसीले बताए ।

आयोजनाका प्रशासकीय अधिकृत मदन गिरीका अनुसार कम्पनीले रघुगङ्गा गाउँपालिकासँग समन्वय गरेर सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य र विकास गतिविधिका लागि पछिल्लो एक वर्षमा रु १५ लाख बराबर सहयोग गरेको छ । कोरोनाका सङ्क्रमित पहिचानका लागि एन्टिजेन खरिद गर्न रु एक लाख, आइसोलेसनमा बसेकाको खानाका लागि रु ४० हजार र प्रभावित क्षेत्रमा पर्ने बुग्लमा पहिरो नियन्त्रणका लागि बाँस र नेपियरको वृक्षरोपण गर्न रु छ लाख खर्च गरेको छ ।

सुरुङ खन्दा गरिने विष्फोटनको कम्पनका कारण चर्किएका धरमपानीका दुई वटा घरलाई रु ३३/३३ हजार, दुई वटा घरलाई रु ७०/७० हजार मर्मत खर्च उपलब्ध गराएको उनले बताए । बुग्लमा आयोजनाको पहुँचमार्गमा पुग्ने सडकका कारण पहिरोबाट जोखिममा परेको घरका एक वटा घरका धनीलाई रु एक लाख ५६ हजार र अर्का घरका धनीलाई ५६ हजार मर्मत खर्च उपलब्ध गराएको छ । बुग्लमा बालीनालीमा पुगेको रु दुई लाख ५० हजार मूल्य बराबरको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *