आफ्नै कम्पनीले जेल कोचेपछि साउदी अरबमा बिचल्लीमा परे दामोदर

डिसी नेपाल
९ पुष २०७८ २२:३२

साउदी अरब । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका बुटवल नगरपालिका–११ घर भएका दामोदर क्षेत्री बिगत ११ बर्षदेखि नेपाल फर्कन नपाउदा साउदीमै अड्किएका छन् ।

२०६८ साल असारमा ड्राइभर भिसामा साउदी पुगेका उनी नेपालबाट एजेन्टले ड्राइभर भिसामा भनेर पठाए पनि त्यहाँ पुग्दा लेबर भिसामा पठाइएको थाहा पाएका थिए ।

आफू ठगिएको थाहा पाएपछि उनले ड्राइभर भिसामा परिवर्तन गर्न अनुरोध गर्दा कम्पनीले २५ सय साउदी रियाल मागेपछि कम्पनी छोडेका थिए ।

उनले कम्पनी छोडेपछि जुबेल भन्ने ठाउँमा १ वर्ष अवैध रूपमै काम गरे । त्यहीबेला अवैध कामदारहरूलाई साउदी सरकारले आममाफी दियो र मालिकले काला (१ वर्षपछि पालो–पालो गरेर घर पठाउँछु) भनेपछि त्यहीबेला नै उनले नेपाल फर्कनका लागि आउटपास लिएर बसेको थिए ।

तर, दुर्भाग्य नेपाल उड्नु ‘१०–१५ दिन बाँकी हुँदा उनले चलाएको गाडीको ड्राइभर साइडको अगाडिको टायर पड्कियो र उनले चलाएको गाडी दुर्घटनामा पर्‍यो ।

आफूले चलाएको गाडी अर्को साइडमा गएर उताबाट आएको ट्रेलामा (ठूलो गाडी) ठोकिएर आगलागी भएर दुवै गाडी जलेर नष्ट भयो र अर्को गाडीको चालक पाकिस्तानी नागरिकको घटनास्थलमै मृत्यु भएको दामोदर बताउँछन् ।

दुर्घटनापछि दामोदर पक्राउ परे । त्यस घटनामा मृत्यु हुने पक्षबाट कसैले पनि उजुर नगरेको साउदी अरबको जेनरल कोर्टले जनाएको र घटना नियोजित नभई एक दुर्घटना भएको पुष्टि भयो ।

नियमअनुसार दामोदरले तीन महिना जेल सजाय काटे र जेलबाट निस्कनेबित्तिकै दामोदरलाई पहिलेकै कम्पनीले गाडी चलाउन भन्यो । दामोदरले नेपाल जान चाहेको बताए पनि कम्पनीले अब केस सक्किएकाले आत्तिन नपर्ने र नेपाल जान पाउने भनेर दामोदरलाई आश्वासन दिइरहेको थियो ।

तर‚ गाडी दुर्घटना भएको कम्पनीले दामोदरलाई दुर्घटनामा बिग्रिएको गाडीको क्षतिपूर्ति रकम स्वरूप ७९ हजार साउदी रियाल अर्थात् करिब २५ लाख नेपाली रुपैयाँ माग गर्यो ।

दामोदरले रकम तिर्न नसकेपछि उनलाई दुर्घटना भएको दुई वर्षपछि जेल हालियो । दुर्घटनामा ज्यान गुमाउनेको तर्फबाट उजुरी नपरे पनि उनलाई रोजगारी दिएको कम्पनीले नै जेल हाल्यो ।

सन् २०१७ देखि साउदीको जुवेल जेलमा कैदी जीवन बिताएका उनी सन् २०२१ मार्च २४ मा छुटे । तर‚ त्यसपछि पनि नेपाल फर्किन भने पाएनन् । साउदीको कानुनअनुसार ७९ हजार साउदी रियाल (२५ लाख नेपाली) नतिरेसम्म उनी कानुनी रूपमा नेपाल फर्किन पाउँदैनन् ।

४ वर्षपछि जेलबाट निस्किएका उनले क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटेको ९ महिना भइसक्यो । दूतावासले आश्वासन दिनेबाहेक केही नगरेको उनको भनाइ छ । दूतावासको वकिलले क्षतिपूर्ति तिरेर नेपाल जान सक्ने बताए पनि आफूसँग त्यो रकम नहुँदा उनी साउदीमै छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *