कथा : सखी

डिसी नेपाल
१० पुष २०७८ ७:१७
232
Shares

त्यतिखेर उनी कक्षा ९ मा पढ्थिन्। नाम थियो— क्रिस्टिना। उनी मेधावी छात्रा थिइन्। सबैकी हाइहाइ भएर आफ्नो विद्यार्थी जीवनलाई अगाडि बढाइरहेकी थिइन्। विदेशीले सञ्चालन गरेको अनाथलयमा हुर्केकी थिइन् उनी। कक्षा ९ को प्रथम त्रैमासिक परीक्षा आउँदै थियो। अचानक एक नौली केटीको स्कुलमा प्रवेश भयो। उनी पनि कक्षा ९ मै भर्ना भएकी थिइन्। उनको नाम सखी थियो। त्यस स्कुलमा अङ्ग्रेजी माध्यमबाट पढाइन्थ्यो। ख्याति आर्जन गर्ने स्कुलहरूमा त्यो स्कुल पनि पर्दथ्यो।

स्कुलको प्रशासन तानाशाही प्रवृत्तिको थियो। टिचरहरूलाई ठाडो नजरले हेर्न पनि नहुने। धेरै सवाल–जवाफ पनि गर्न नपाइने। कडा अनुशासनको नाममा एक प्रकारको अत्याचारै थियो। त्यो बोर्डिङ स्कुलको चार पर्खालभित्र एउटा छुट्टै संसार थियो।

कक्षामा गणित-सर सखीप्रति नतमस्तक हुन्थे। लाग्थ्यो, उनी दरबारकी राजकुमारी हुन्! जाँचको अन्तिम दिन गणित—सरले सखीलाई क्रिस्टिनाको बेन्चमा बस्न दिए। उनले कानैमा मुख लगेर खुसुक्क भने- ‘सखीलाई जोमेट्रीको साध्य प्रुफ गर्न नआउने रहेछ। तिमीले आफ्नो कापीको सार्न दिनू। दरबारसँग नाता जोडिने मान्छे हो। भविष्यमा काम आउँछ क्रिस्टिना।’ उनको दवाब देखेर क्रिस्टिना ट्वाँ परेकी थिइन्!

जाँचमा सखीलाई चोर्न दिएको नतिजा रिजल्ट सुनाउँदा भोगेकी थिइन् क्रिस्टिनाले। गणितमा कमजोर भनिएकी सखीको सबभन्दा बढी अङ्क त्यही विषयमा आएको थियो। सखीले क्रिस्टिनालाई अन्य सहेलीहरूको सङ्गतबाट क्रमशः टाढा टाढा बनाउँदै लगिरहेकी थिइन्। उनी त सखीकी बेस्ट फ्रेण्ड बन्न पुगिसकेकी थिइन्।

उनको यौवनको बाछिट्टा र सुन्दर रूपले छोटे राजाको मर्यादाको दाम्लो झण्डै झण्डै चुँडिने अवस्थामा पुगेको थियो। उनका आँखै खराब। हेर्ने दृष्टिकोण नै दूषित। सुनिन्थ्यो, उनी बहुस्त्री भोगी छन्। तामसी भोजनको कमाल हो भन्थे जानिफकारहरू। त्यसको एक प्रतिनिधि पात्र थिए, छोटे राजा! छोटे राजा उनलाई ‘कृष्टु’ भनेर सम्वोधन गर्दथे। मायालु भावमा माया प्रकट गर्न खोज्दथे। तर क्रिस्टिना नेपाली-सरबाट दीक्षित थिइन्।

एकदिन सखीले क्रिस्टिनालाई सुनाइन्-‘क्रिस्टिना, तिमीलाई मेरो घरमा ल्याउनू भन्नु भएको छ मेरी मामुले। जाने होइन?’

-‘अहँ म त जान्नँ।’ त्यतिखेर क्रिस्टिनाले सोझै भनिदिएकी थिइन्— ‘मलाई तिमीहरूको जस्तो उच्च खानदानी भाषा बोल्न आउँदैन। मैले बोल्दा तलमाथि पर्न गयो भने तिम्रो परिवारले अपमान भएको ठान्न सक्ने छन् । त्यसैले…।’

तर सखीले ढिपी गर्दै भनेकी थिइन्—‘म सिकाइहाल्छु नि क्रिस्टिना। फेरि तिमी त सानै छ्यौ नि। सानी मान्छेले नजानेर बोलेकोमा को रिसाउँछ र? रिसाउँदैनन्।’
त्यसपछि क्रिस्टिना सखीको घरमा बारम्बार जान थालिन्। कहिले करले। कहिले रहरले।

एकदिन नेपाली-सरले क्रिस्टिनालाई एकान्तमा सम्झाएका थिए-‘अचेल तिमी सखीसँग बढ्तै अल्झिरहेकी छ्यौ, जुन तिम्रा लागि हितकर छैन। त्यो दरबारिया केटी हो। तिनीहरूलाई सामन्त र शोषक भन्छौंँ हामीहरू। तिनीहरूले जनताका छोराछोरीको प्रगति देख्न चाहँदैनन्। तिमी पनि सखीसँग बढ्ता हिमचिम नगर।’

नेपाली-सरको उक्त विचारलाई सखीको व्यवहारले गलत सावित गरिदिएको थियो। सखीकोे सद्भावबाट क्रिस्टिना निकै प्रभावित भएकी थिइन्। क्रिस्टिनाको बर्थ डेमा सखीले दामी भित्तेघडी उपहार दिएकी थिइन्। तर त्यो उपहारले धेरै दिन रमाउन दिएन क्रिस्टिनालाई। कारण, सखीले नेपाली—सरको जागीर खाइदिएकी थिइन्। उनले कुरा लगाइदिइछन् प्रिन्सिपललाई। प्रिन्सिपल दरबारमा ट्युसन पढाउन जान्थे।

एसएलसी नामको फलामे ढोका पार गर्ने समय आयो। स्कुलहरूमा कोचिङ क्लासको एउटा लहरै चलेको थियो। एउटै स्थलमा थुनिनु परेको हुन्छ क्रिस्टिनाहरूलाई। टप टेनमा पार्न बोर्डिङ स्कुलहरूबीच अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको थियो।

प्रिन्सिपलले कोचिङ क्लासमा ठाडो निर्देशन दिएका हुन्छन्-‘सुन केटाकेटी हो। हाम्रो स्कुलबाट यो एसएलसीमा हन्ड्रेड पर्सेन्ट स्टुडेन्टहरूले पास गर्नुपर्छ, त्यो पनि डिसटिङसन र फस्र्ट डिभिजन माक्र्स ल्याएर। त्यसैले तिमीहरू सबैले एउटा कुरा ख्याल गर्नुपर्छ। आपूmभन्दा नजान्नेलाई आफ्नो कापी सार्न दिनुपर्छ। जसरी हुन्छ, हाम्रो स्कुलबाट बढी से बढी स्टुडेन्टले बोर्ड टप गर्नुपर्छ। म अरू कुरा जान्दिनँ।’

-‘त्यसो हो भने त पढाइको के भ्यालु भयो र सर?’ हो, यही प्रश्न क्रिस्टिनाको मनमा उम्रेको थियो, बारीमा तोरी फुलेझैं। तर भन्न सकिनन्।

बेकुप मास्टरको हातमा गणितको कापी परेको हुन्छ। ज्यामितिका दुईवटा हिसाब गर्न भ्याएकी हुन्नन् सखीले। तैपनि त्यत्रो अङ्क पाइन्? भावी राजकुमारी सखीलाई सन्तान्नब्बे दशमलब पाँच अङ्क दिइएको थियो! तर क्रिस्टिनालाई ९५ अङ्क मात्र दिइएको रहेछ, जब कि ९९ नम्बर आउनुपर्ने थियो। सखीले दरबारको पावरबारे क्रिस्टिनालाई जानकारी गराएकी हुन्छिन्।

कलेज पढ्ने बेलामा पनि क्रिस्टिनाको झिँगा धपाउन छाडिनन् सखीले। साइन्स कलेजमा भर्ना भइसकेकी थिइन् उनी। तर त्यो कलेजमा नगई शिक्षा क्याम्पसमा भर्ना भइन्, जहाँ क्रिस्टिना पढ्ने गर्थिन्।

एकदिन क्रिस्टिना र सखी कारमा गइरहेका थिए। क्रिस्टिनाले सम्झाइन्—‘मैले भनेकी कुरा मान्छ्यौ भने राजकुमारी बन्ने सपना देख्न छाडिदेऊ सखी। वनकी चरीका लागि वन नै प्यारो हुन्छ। तिमी दरबार पस्यौ भने…।’

– ‘चुप लाग् डाढे केटी!’ एक्कासि सखी रुष्ट भइन्। आमा हो नि! उनले त गालै चट्काइदिइन्। हातसँगसँगै मुख पनि चलाइन्—‘कङ्गाल मान्छेको विचार पनि कङ्गालै हुन्छ भन्थे, हो रहेछ। आज तैँले मप्रति प्रदर्शन गरेकी व्यवहारले प्रमाणित भयो क्रिस्टिना। तँ नालीको कीरा होस्!’

त्यत्ति असभ्यपन देखाएपछि उनले गाडी रोक्न लगाइन्। लौ! क्रिस्टिनालाई त बीचबाटोमै झारिदिइन् सखीले! तर पीर लागेन उनलाई। बरू सखीकोे अन्धो विचारप्रति दया लागेर आयो।

केही वर्षपछिको घटना हो। झमझम पानी परिरहेको थियो। क्रिस्टिना होष्टेलको रुममा बसिरहेकी थिइन्। लेखपढ गरिरहेकी थिइन्, फाइनल जाँचका लागि। उनले झ्यालबाट देखिन्, आर्मीको गाडी आएर आँगनमा रोकियो। आर्मीको क्याप्टेन आएर निम्तो कार्ड दिँदै भन्यो-‘भोलि साँझ दरबारमा पार्टी छ, आउनु होला। म गाडी लिएर आफै आउँछु। हस् त मलाई हतार छ, जान्छु।’

केही वर्षपछिको घटना हो। झमझम पानी परिरहेको थियो। क्रिस्टिना होष्टेलको रुममा बसिरहेकी थिइन्। लेखपढ गरिरहेकी थिइन्, फाइनल जाँचका लागि। उनले झ्यालबाट देखिन्, आर्मीको गाडी आएर आँगनमा रोकियो। आर्मीको क्याप्टेन आएर निम्तो कार्ड दिँदै भन्यो—‘भोलि साँझ दरबारमा पार्टी छ, आउनु होला। म गाडी लिएर आफैं आउँछु। हस् त मलाई हतार छ, जान्छु।’ ऊ गयो।

क्रिस्टिनाले निम्तो कार्ड खोलेर हेरिन्। सखीको छोराको पास्नीको निमन्त्रणा रहेछ। उनी दुविधामा परिन्। छोटे राजाको बदमासीको खबर आइरहेको थियो, सञ्चार माध्यमहरूबाट। कहिले क्यासिनोमा गोलीकाण्ड मच्चाएका हुन्थे। कहिले रेष्टुराँमा बढ्ता जाँड खाएर मान्छे पिटेका घटना सुनिन्थे। छोटे राजा ज्यादै हरामी थिए! केही युवतीसँग गला मिलाउँदा बेसरी अँठ्याइदिन्थे। मान्छे बिखालु हुन् भन्ने कुरा अवगत भएकै हो क्रिस्टिनालाई पनि।

उनको यौवनको बाछिट्टा र सुन्दर रूपले छोटे राजाको मर्यादाको दाम्लो झण्डै झण्डै चुँडिने अवस्थामा पुगेको थियो। उनका आँखै खराब। हेर्ने दृष्टिकोण नै दूषित। सुनिन्थ्यो, उनी बहुस्त्री भोगी छन्। तामसी भोजनको कमाल हो भन्थे जानिफकारहरू। त्यसको एक प्रतिनिधि पात्र थिए, छोटे राजा! छोटे राजा उनलाई ‘कृष्टु’ भनेर सम्वोधन गर्दथे। मायालु भावमा माया प्रकट गर्न खोज्दथे। तर क्रिस्टिना नेपाली-सरबाट दीक्षित थिइन्।

सरले पढाएका थिए— ‘मानिसले तीन चीजबाट जोगिनुपर्छ। र, ती हुन्- राजा, सर्प र आगो। यद्यपि, क्रिस्टिनाको परिस्थिति समुन्द्रको माछाको जस्तो थियो। पानीबाट भाग्न पनि नसक्ने। अनि गोहीको मुखमा पर्ने सम्भावित खतराबाट जोगिन पनि धौ धौ।

सखीको छोराको पास्नीमा स्कुले सहेलीहरू सबै निम्ताइएका थिए। प्रियङ्काको नखरा देखेर क्रिस्टिना नै लजाइन्। सबैले नाचगान गरेर रमाइलो गरे। क्रिस्टिनालाई धेरै पढ्नु थियो। अतः उनले सखीसँग विनम्रता प्रकट गरिन्— ‘छोटी रानी, कृपया म घर जान पाए हुन्थ्यो। मलाई ल्याइदिने क्याप्टेन साहेब कता जानुभयो कुन्नि?’

– ‘घर होइन, होस्टेल भन्!’ बडो खानदानी पोज देखाउँदै छोटी रानीले दुर्वचन लगाइन्—‘कत्ति पढ्नुपर्ने! जति पढे पनि आखिर कुवाको भ्यागुतो न हौ तिमीहरू। धेरै पढेपछि चन्द्रलोकै छुने मन छ?’ उच्च शिक्षा प्राप्तिको मौलिकाधिकारमाथि घातक प्रहार गर्छिन् उनी। क्रिस्टिना चकित परिन्!

उनले भनिन्-‘छोटी रानी साहेब। म बरू पैदलै जान्छु तर राजा साहेबसँग त…।’

-‘के हुन्छ त? राजाले रैतीमाथि अलिकति अधिकार पनि प्रयोग गर्न नपाउनु? सायद तिमीहरू देशमा बहुदल आएको छ भनेर पात्तिएका छौ। तर दरबारको हुकुमी शासन निश्कन्टक छ।’ आमा हो नि! मामुली सामन्तकी छोरीको त्यत्रो फुर्ती? छोटी रानी भएपछि त आफ्नै सहेलीलाई समेत मान्छे गनिनन् सखीले।

क्रिस्टिनाले मनमनै कामना गरेकी थिइन्, पाप धुरीबाट कराउँछ। यो दरबारको विलासिता एक न एक दिन भत्याङभुतुङ भएरै छाड्छ।
– ‘लौन गुहार…गुहार । मलाई बचाऊ …। मलाई …!’

– ‘आमा । आमा, उठ्नोस् न। आमा, उठ्नोस् न छिटो !’ छोरीले भनी— ‘आज पनि उही सपना देख्नुभयो होइन आमा तपाईँले?’ आमासँगै सुतेकी छोरी आजित भैसकेकी थिई। त्यो रात पनि उही सपना देखिछन् क्रिस्टिनाले ।

सपनामा छोटे राजा कालो घोडामा सवार भएर आउँथे। क्रिस्टिनालाई कुल्च्याएर मार्न खोज्थे। पन्ध्रौँ वर्षदेखि त्यस्तै भइरहेको थियो। विपनामै कालो घोडामा होस्टेलको चक्कर नकाटेको दिन हुन्थेन । अन्ततः क्रिस्टिना राजधानीबाटै पलायन भइन्।

वास्तवमा समय निकै वलवान् छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। श्रीपेचतन्त्रको छत्रछायाँमा राज गर्नेहरूको कन्तविजोग भयो। सखीको साख पनि गणतान्त्रिक आलोकमा डढेर स्वाहाः हुन पुग्यो!

छोरीले क्रिस्टिनालाई सम्झाएकी छ-‘यो सब भएको त्यही छोटी रानी उर्फ सखीले दिएकी घडीको कारणबाट हो। आज पनि युनिभरसिटी नजाने होला होइन आमा ? सधैँ उही सपना ? ल पख्नोस् । म एक काम गर्छु।’ छोरीले त्यो टाङटुङे भित्तेघडी झिकी। अर्थात् ऊ नजन्मिँदै आमालाई सखीले उपहार दिएकी लङ्गुरवाला घडी।

लौ जा त! क्रिस्टिनाकी छोरीले त्यो घडीलाई झ्यालबाट हुत्याइदिई। भुइँमा बजारिएपछि छ्वार्लाम्म गरेर फुट्यो। त्यो आवाज सुनेर दुवैलाई आनन्द आयो।

बिहानको चिया पिउने समयमा टी.भी.मा सखी देखिइन्। अचेल उनी समाजसेवी भइटोपलेकी थिइन्। उनलाई देखेपछि क्रिस्टिनालाई ती दिनहरूको सम्झना भयो, जुन दिनहरूमा सहरका कुकुरहरू रोइरहन्थे । रोइरहन्थे।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *