पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दो

डिसी नेपाल
१० पुष २०७८ १७:१७

काठमाडौं। माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ । तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न हेलिकप्टर आउन थालेका हुन् ।

धरानको भेडेटारबाट दसैँको समययता ७० उडान भएका छन् । सो उडान हुँदा ४५० भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताए । सदरमुकाम फुङ्लिङ, पाँचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री रोसार आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए ।

धरानबाट रु ३२ हजारमा एक यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एण्ड टुरका मार्केटिङ म्यानेजर श्रेष्ठ बताए । यस वर्ष हेलिकप्टरमा चढेर पाथीभरा जाने यात्रुको सङ्ख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको जनाइएको छ । यात्रुका हिसाबले एक पटकमा पाँच जना बोक्ने हेलिकप्टरले धरानबाट एउटा उडानमा रु एक लाख ६० हजार आम्दानी गर्ने गरेका छन् ।

फुङ्लिङबाट रु १० हजार, पाँचथरको फिदिमबाट रु २२ र इलामको कन्यामबाट रु ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसोर्टका सञ्चालक सुरेश लिम्बुले बताए । काठमाडौँबाट सिधै आउने यात्रुको सङ्ख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले जानकारी दिए । हेलिकप्टरबाट कति सङ्ख्यामा तीर्थयात्री आए तथ्याङ्क राख्ने नगरेको समितिले जनाएको छ । “हामीले पैदल हिँडेर जानेको चाहिँ तथ्याङ्क राख्ने गरेका छौँ”, काफ्लेले भने ।

दसैँको नौरथ सुरु भएको असोज २१ देखि मङ्सिर १४ गतेसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्याङ्क पाथीभरा क्षेत्र विकास समितिसँग छ ।पाथीभरामा तीर्थयात्रीले चढाएको रु आठ करोड बैंक मौज्दात रहेको छ ।

पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८ को असार मसान्तसम्म रु तीन करोड २७ लाख ३० हजार ७५८ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिमा (समुदायस्तरमा गठित समिति)सँग रु तीन करोड ३३ लाख ३५ हजार २०७ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *